काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस

चितवन, असोज १७ गते । आउँदो मंसिर २१ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

काँग्रेस चितवनले आज नगर र क्षेत्रबाट सिफारिस सबै २७७ जनाको नाम नै केन्द्रमा पठाउने निर्णय गरेको हो । काँग्रेस केन्द्रीय समितिले जिल्लाबाट ५४ जनाको नाम सिफारिस गर्न आह्वान गरे पनि नगर र क्षेत्रबाट सिफारिस गरिएका नामलाई जिल्ला समितिले काँटछाँट गर्न नसकेपछि सबै नाम टुंगो लगाउन केन्द्रलाई सिफारिस गरिएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुभयो ।

जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका कहलिएका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ । जिल्लाबाट यसअघि मन्त्री र सांसद बनिसकेकाले संघको निर्वाचनका लागि आफ्नो नाम पठाएका छन् । चितवन क्षेत्र नं २ बाट निर्वाचित शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको नाम संघको निर्वाचनमा क्षेत्र नं २ का लागि सिफारिस भएको भएको छ ।

उहाँसँगै जिल्लाका अन्य नेताका नामसमेत संघको उम्मेदवारका लागि सिफारिस भएको छ । यस्तै जिल्लाका तीन सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठको नाम क्षेत्र नं ३ मा संघको निर्वाचनका लागि सिफारिस भएको छ ।

जिल्लाले संघको निर्वाचनमा प्रत्यक्षतर्फ २१ र समानुपातिकतर्फ २८ जनाको नाम सिफारिस गरेको सचिव जोशीले जानकारी दिनुभयो । क्षेत्र नं १ बाट पाँच जना प्रत्यक्ष र आठ जना समानुपातिकतर्फ छन् । यस्तै २ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक तथा ३ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको छ ।

यसैगरी प्रदेशसभाका लागि काँग्रेस चितवनले क्षेत्र नं १(क) बाट प्रत्यक्षमा सात, समानुपातिकमा ११, (ख) बाट ३१ प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।

यस्तै २ नं क्षेत्र (क) बाट प्रत्यक्षमा चार, समानुपातिकमा २७ , (ख) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा २३ जनाको नाम सिफारिस गरिएको छ ।

काँग्रेस चितवनका अनुसार ३ नं क्षेत्रको प्रदेशसभाका लागि (क) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा ३५ तथा (ख) बाट प्रत्यक्षमा सात र समानुपातिकमा २८ जनाको नाम सिफारिस भएको छ ।

जिल्ला समितिले क्षेत्रले पठाएका नाममा राय सुझावसहित केन्द्रीय कार्यसमितिमा पठाएको हो । क्षेत्रले पठाएका नामलाई जिल्लाले काट्न नमिल्ने भएकाले सबैको नाम सिफरिस गरिएको सचिव जोशिले बताउनुभयो ।

यसैगरी काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको नाम भने प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं २ (क) बाट प्रत्यक्षमा सिफारिस भएको छ । संघका लागि चितवनमा तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र छुट्याइएको छ । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना