वाम एकताका लागि तीन दलबीच सहमति

काठमाडौँ, असोज १८ गते । मङ्सिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभामा नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र नयाँ शक्ति पार्टीले तालमेल गर्दै त्यसपछि पार्टी एकीकरण गर्न सहमत भएका छन् । सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेको एमाले र संसद् बाहिर रहेको नयाँ शक्तिबीचको नयाँ समीकरणले मौजुदा सत्ता गठबन्धनको भविष्यबारे भने केही बोलेको छैन तर तीन पार्टीबीच एउटै घोषणापत्रमा निर्वाचनमा जाने सहमति भने भएको छ । 

प्राविधिक कारणले निर्वाचनमा एमाले र माओवादी केन्द्र अलग अलग चुनाव चिह्नमा मत माग्नेछन् भने नयाँ शक्ति एमालेकै चिह्न सूर्यमार्फत चुनावमा जानेछ । राजधानीमा मङ्गलबार आयोजित एकीकृत पत्रकार सम्मेलनमा तीन पार्टीका शीर्ष नेताबीच सहमतिपत्रमा हस्ताक्षर गर्दै वामपन्थी एकीकरणको नयाँ उद्घोष गरिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र दुई वर्षअघि माओवादी छाड्नुभएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राजधानीका राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । tin dal
तीन पार्टीबीच एकता गर्ने उद्देश्यका साथ गरिएको समझादारीमा आठ सदस्यीय पार्टी एकता संयोजन समितिको पनि घोषणा गरिएको छ । समितिमा एमालेबाट अध्यक्ष केपी ओलीका साथै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम हुनुहुन्छ । माओावदी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा हुनुहुन्छ भने नयाँ शक्तिबाट संयोजक डा. बाबुराम भट्टराई रहनुभएको छ । समितिमा ओली र प्रचण्ड मुख्य नेता रहनुहुने सहमतिपत्रमै व्यवस्था गरिएको छ ।
एकीकृत पार्टीको सैद्धान्तिक दिशा, राजनीतिक कार्ययोजना, नाम तथा अन्य विस्तृत खाका भने तयार गरिएको छैन । नेताहरूले चुनावसम्म अहिलेकै अवस्थामा जाने र त्यस अवधिमा एकता संयोजन समितिले सबै विषय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गरिने छ । प्रत्येक निर्णय सहमतिको आधारमा लिइने पनि स्पष्ट गरिएको छ । एकीकरणको प्रक्रिया भने निर्वाचनपछि थालिने बताइएको छ । मङ्सिर १० र २१ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले समयबद्ध कार्यक्रम थालिसकेको छ ।
सहमतिअनुसार आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा नेकपा एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत सिट हुनेगरी तालमेल गरिने छ । हस्ताक्षर कार्यक्रममा नेताहरूले नयाँ शक्तिलगायत अन्य दललाई दिएर बाँकी भएको सिटलाई ६०÷४० मा भाग लगाइने स्पष्ट गर्नुभएको छ । तीनै पार्टीबीच सार्वजनिक रूपमा एक अर्को पार्टीप्रति नकारात्मक टिप्पणी नगर्ने सहमति पनि भएको छ ।
चुनाव चिन्ह् आ–आफ्नै
शीर्ष नेताहरूबीच एमालेले प्रयोग गर्दै आएको सूर्य चिन्ह्मा चुनाव लड्ने सहमति भने अन्तिममा प्राविधिक रूपमा नमिल्ने भएपछि हटाइएको छ । निर्वाचन आयोगको कानुनअनुसार एउटै चुनाव चिह्न लिन नमिल्ने भएकाले हाललाई एमाले र माओवादीले आ–आफ्नै चिह्न लिएर चुनाव लड्ने भएका हुन् । यद्यपि नयाँ शक्तिले भने सूर्यचिह्नमै चुनाव लड्ने जनाइएको छ ।
कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी पार्टीबीच एकताको नयाँ अध्याय सुरु भएको बताउनुभयो । कम्युनिस्ट पार्टी एकीकरणको सुरुवात कुनै शक्ति र पार्टीप्रति लक्षित नभई देश र जनताको उत्थानमा परिलक्षित रहेको उहाँको दाबी थियो । आजको कार्यक्रम कम्युनिस्टहरूको एउटै पार्टी निर्माणको उद्घोष हो भन्दै अध्यक्ष ओलीले सामाजिक सद्भावमा आधारित सबै अवसर र सुरक्षाका लागि पार्टी एकीकरणको सुरुवात गरिएको तर्क गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरू साझा पार्टी बनाउने ऐतिहासिक क्षणमा पुगेको बताउनुभयो । “जनता र देशको आवश्यकता पनि यो देशमा एउटै कम्युनिस्ट पार्टी बनाउने छ, त्यसैबाट मुलुकको समृद्धि सम्भव छ” भन्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीको एकीकरणको अभियान कुनै शक्तिप्रति लक्षित नरहेको तर्क गर्नुभयो ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिका लागि ऐतिहासिक आवश्यकताले तीन पार्टीबीच एकीकरण हुन लागेको बताउनुभयो । नयाँ संविधानमा समयानुकूल परिमार्जन गर्दै आगामी निर्वाचनमा कम्युनिस्टको दुई तिहाइ बहुमत ल्याएर स्थायी सरकार निर्माण हुने दाबी उहाँले गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना