आवश्यकता डिजिटल साक्षरताको

sneha pokhrelस्नेहा पोखरेल

 

सामान्य लेखपढ तथा हरहिसाब गर्न सक्ने क्षमता नै साक्षरताको परम्परागत परिभाषा हो तर साक्षरताको आधुनिक परिभाषाले चाहिँ भाषा, सङ्ख्या, चित्र, कम्प्युटर र अन्य आधारभूत अर्थ बुझ्न, तिनका लाभ तथा उपयोगी ज्ञानको प्रयोग गर्न सक्ने क्षमतालाई बुझाउँछ । विकसित देशमा साक्षरताको दायरा अझै फराकिलो छ र यसले प्रविधि र क्षमतामार्फत जटिल ज्ञानको कुशल पहुँचलाई जनाउँछ । युनेस्कोको परिभाषालाई आधार मान्ने हो भने साक्षरता भनेको विभिन्न प्रसङ्गलाई चिन्न, बुझ्न, अर्थ बताउन, सिर्जना गर्न, कुराकानी र कम्प्युटर प्रयोग गर्न सक्ने सीप हो । यी सबै परिभाषाको एउटै निष्कर्ष के निकाल्न सकिन्छ भने साक्षरता एउटा यस्तो सिकाइ हो, जसले व्यक्तिलाई उसको व्यक्तित्व विकासमार्फत आफ्नो लक्ष्य हासिल गरी गुणस्तरीय जीवनयापनका लागि सहयोग गर्नुका साथै समाजमा उसको योगदानलाई समेत वृद्धि गर्न सघाउ पु¥याउँछ ।
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्कोले यो वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा नै ‘डिजिटल विश्वमा साक्षरता’ भन्ने तय ग¥यो । युनेस्कोले तय गरेको नयाँ नाराबाटै प्रष्ट हुन्छ विश्वव्यापीकरण तथा सूचना प्रविधिको तीव्रतर विकाससँगै विश्वमा साक्षरताको आयाममा पनि परिवर्तन हुँदै गएको छ । अब साँवा अक्षर चिन्नु तथा लेखपढ गर्न जान्नुलाई मात्र साक्षर भन्न सकिने अवस्था रहेन । अहिलेको विश्वमा डिजिटल साक्षरता अनिवार्य बनिसकेको छ । विश्वका विभिन्न देश तथा देशभित्रकै समुदाय र क्षेत्रका बीचमा प्राविधिक खाडल अर्थात् डिजिटल डिभाइड बढ्दै गएको र यसले समुदायमा अनेकौँ चुनौती थपिरहेको परिप्रेक्ष्यमा डिजिटल युगले प्रदान गर्ने अवसरको सदुपयोगका लागि मानिसलाई कस्तो खालको साक्षरता सीप प्रदान गर्ने र कसरी प्रभावकारी साक्षरता नीति र कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय निकै पेचिलो बनिरहेको छ ।
डिजिटल प्रविधिले मानिसको जीवनशैली, कामकाज, सिकाइ तथा सामाजिकीकरणका सम्पूर्ण पद्धतिमा आधारभूत रूपमा परिवर्तन ल्याइदिएको छ । सूचना प्रविधिले मानिसलाई सूचनामा पहुँच स्थापित गराइदिएको छ भने ज्ञानको व्यवस्थापन, नेटवर्किङ, सामाजिक सेवा, औद्योगिक उत्पादनजस्ता जीवनका सम्पूर्ण क्षेत्रमा सुधार गर्ने नयाँ सम्भावनाको दैलो उघारिदिएको छ तर डिजिटल प्रविधि, ज्ञान र सीपको पहुँच तथा क्षमताको अभाव भएका राष्ट्र, समुदाय तथा व्यक्ति भने डिजिटलाइज्ड विश्वमा सिमान्तीकरणमा पर्ने तथा विश्वव्यापीकरणका लाभबाट वञ्चित भई झनै पछाडि पर्ने जोखिम बढिरहेको छ । त्यसैले बहुमुखी साक्षरता शिक्षा डिजिटल विश्वबाट सिर्जित लाभ प्राप्तिका लागि एउटा महŒवपूर्ण सीप बन्न पुगेको छ । वर्तमान डिजिटल विश्वमा ज्ञान, सीप र क्षमताले युक्त मानिस मात्रै साक्षरको परिभाषा भित्र पर्ने अवस्था सिर्जना भएको छ ।
साक्षरता मानव विकाशको आधारभूत खम्बा हो । संयुक्त राष्ट्रसङ्घले साक्षरता, औसत आयु र प्रतिव्यक्ति आयलाई मानव विकास सूचकाङ्कका प्रमुख तीन मानकको रूपमा लिँदै आएको छ । आधारभूत शैक्षिकस्तर प्राप्ति अर्थात् साक्षरता विना मानव विकासको कल्पनासम्म पनि गर्न नसकिने यथार्थलाई मनन गर्दै सबैका लागि सहज रूपमा शिक्षा प्राप्त गर्ने वातावरण र अवसरको खातिर विश्वव्यापी रूपमा विभिन्न प्रयास हुँदै आएको पाइन्छ । यसका लागि विश्वका विभिन्न मुलुकका सरकार तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाले समेत शिक्षा क्षेत्रमा ठूलो धनराशि खर्च गर्दै आएका छन् । सूचना प्रविधिको विकाससँगै शिक्षाको क्षेत्रमा पनि नयाँ तथा आधुनिक शिक्षण सिकाइ विधिको प्रयोग हुँदै आएको छ । अनलाइन शिक्षा, दूर शिक्षाजस्ता आधुनिक शिक्षण विधिबाट धेरै मानिसले जीवनोपयोगी शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् । अहिले यी विषय मानव जीवनका अभिन्न विषय बनिसकेका छन् । सिक्न चाहनेका लागि एक क्लिकमै विश्वभरको सूचना र ज्ञान कम्प्युटर वा मोबाइलकै स्क्रिनमा ल्याउन सम्भव भएको छ । एकातर्फ शिक्षामा व्यापारीकरण तथा निजीकरणसँगै औपचारिक शिक्षा महँंगो हुँदैछ भने अर्कोतर्फ सूचना प्रविधिको विकासले जीवनोपयोगी तथा व्यावहारिक शिक्षा घरमै बसेर अनलाइनमार्फत सिक्न सकिने भएको छ, निःशुल्क रूपमा । डिजिटलाइज्ड भएका सञ्चार माध्यम, अनलाइन, सामाजिक सञ्जाल, विभिन्न वेबसाइटसमेत सूचना र ज्ञानका निकै भरपर्दा माध्यम बनिरहेका छन्, जसले मानिसमा अत्यावश्यकीय साक्षरता सीपको वृद्धिमा सहयोग पु¥याइरहेका छन् । वास्तवमा सूचना प्रविधिको विकासले साक्षरता वृद्धिमा प्रत्यक्ष परोक्ष रूपमा अहम् योगदान पुगिरहेको छ ।
पछिल्लो आधा शताब्दीमा नेपालको शैक्षिक अवस्थाले ठूलै फड्को मारेको भए पनि अझै एकतिहाइ जनसङ्ख्या सामान्य साक्षरताबाट वञ्चित छ । पछिल्लो जनगणनाको तथ्याङ्कअनुसार नेपालमा साक्षरता प्रतिशत ६५ दशमलब ९ रहेको छ । एकातर्फ एकतिहाइ मानिस पढ्न, लेख्न नजान्ने छन् भने अर्कोतर्फ साक्षरताको सवालमा लैङ्गिक खाडल भयानक रहेको छ । नेपालमा पुरुष साक्षरता ७५ प्रतिशत रहँदा केवल ५७ प्रतिशत महिला मात्र साक्षर रहेको तथ्याङ्कले देखाउँछ । विश्वव्यापी तथ्याङ्कअनुसार विश्वमा हरेक पाँच जना पुरुषमा एकजना निरक्षर छन् भने दुईतिहाइ महिला निरक्षर रहेका छन् । दक्षिण तथा पश्चिम एसिया क्षेत्र विश्वमा सबैभन्दा कम साक्षरता भएको क्षेत्र हो, जहाँको औसत साक्षरता दर ५८.६ प्रतिशत रहेको छ । नेपालमा साक्षरता दर मात्र कम होइन, सूचना प्रविधिमा नागरिकको पहुँच पनि सन्तोषजनक छैन । मोबाइल फोनको घनत्व शतप्रतिशत नाघे पनि इन्टरनेटमा सर्वसाधारणको पहुँच गुणात्मक रूपमा बढ्न सकेको छैन । डिजिटल साक्षरता कम भएकै फलस्वरूप सूचना प्रविधि र अनलाइन सामाजिक सञ्जालको दुरूपयोग हुने गरेको अवस्था छ । सूचना प्रविधिले सर्वसाधारण नागरिकको आयस्तर बढाउन वा जीवनस्तरमा सुधार गर्न योगदान गर्नुको साटो उल्टै व्ययभार बढाउने तथा समाजमा विभिन्न खाले विकृति भिœयाउने मुख्य कारक तŒवका रूपमा पनि रहेको कटु यथार्थ पनि छ । समाजमा प्रविधिको ज्ञान तथा प्रयोगको प्रश्नमा ठूलो खाडल अर्थात् डिजिटल डिभाइड पनि उच्च रहेको छ । सरकारी निकाय विद्युतीय शासनमा जान सकेका छैनन् । विद्युतीय सुरक्षा कानुन समयसापेक्ष नहुँदा साइबर अपराध बढिरहेका छन् ।
यी दृष्टान्तलाई दृष्टिगत गर्दा नेपालमा आधारभूत साक्षरतासँगै डिजिटल साक्षरता प्रवद्र्धनको विषय अहिलेको ज्वलन्त मुद्दा बन्नुपर्ने आवश्यक देखिएको छ । विश्वव्यापीकरणले एउटा गाउँजस्तै बनेको वर्तमान विश्वमा साक्षरता सीपको दायरा अक्षर चिनाइको तहबाट डिजिटल ज्ञानको तहसम्म पुगिसकेको छ । अतः सूचना प्रविधिको बढ्दो विस्तारसँगै डिजिटल साक्षरतालाई गहन रूपमा अघि बढाउन नसकिएमा यस क्षेत्रमा गरिएको सरकारी लगानीले आशातीत प्रतिफल दिन नसक्ने मात्र होइन, प्रत्युत्पादकसमेत बन्ने खतरा छ ।

  प्रकाशित मिति: २०७४/६/१८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना