सङ्घीयताका आयाम

rajendra kiratiराजेन्द्र किराती

 


गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिकलगायतका प्रगतिशील मुद्दा सङ्घर्षको जगमा स्थापित भएको हो । यसको उठान नितान्त सैद्धान्तिक तथा राजनीतिक आयाममा भएको थियो । सार्वभौमतः सङ्घर्षबाट स्थापित एजेन्डाको संस्थागत विकास र कार्यान्वयन निरन्तर सङ्घर्षमा नै निर्भर हुन्छ । सङ्घर्ष रक्षात्मक हुँदा राजनीतिक मुद्दा असुरक्षित मात्र होइन बिसर्जन हुने खतरा हुन्छ । रक्षात्मक राजनीतिमा एजेन्डाको सैद्धान्तिक आयाम कमजोर हुन्छ भने भावनात्मक वा प्राविधिक आयाम हावी हुन थाल्छ । यही वस्तुगत राजनीतिक सेरोफेरोमा सङ्घीयता सहितको संविधान जारी गरियो, जसको कारण सङ्घीयताको सैद्धान्तिक तथा राजनीतिक आयाम कमजोर हुन पुग्यो । यस आलेखमा सङ्घीयताको सैद्धान्तिक तथा भावनात्मक आयामको सवालमा चर्चा गरिएको छ ।
सैद्धान्तिक आयाम ः
यो सङ्घीयताको सबैभन्दा महŒवपूर्ण आयाम हो । यसलाई राजनीतिक आयाम पनि भनिन्छ । यसमा सङ्घीयताको सारतŒव अन्तरनिहीत हुन्छ । मूलभूत रूपमा यसमा स्वायत्त राज्यमा अपनाइने राजनीतिक दृष्टिकोण, पद्धति, विधि, शासकीय चरित्र र प्रक्रिया समेटिएको हुन्छ । वास्तवमा सङ्घीयता भनेको वर्ग अन्तरविरोधपूर्ण समाजमा विद्यमान रहेका अगौटे र पछौटे जनसमुदाय बीचको खाडललाई सम्याउने आधारभूत साधन हो । समाजमा यसरी दुईथरि समुदाय अस्तित्वमा रहेसम्म पुँजीको पूर्ण र समानुपातिक आकारमा विकास निकै कठिन हुन्छ । प्ुँजीको विकासविना समानता र सामाजिक न्यायको पद्धतिगत वा संस्थागत कार्यान्वयन सम्भव हुँदैन । यही पछौटे समुदायलाई अगौटेको समानान्तर रेखामा ल्याउनको लागि अपनाइएको सङ्क्रमणकालीन राज्य रूप नै सङ्घीयता हो । एकात्मकतावादी केन्द्रीय सत्तामार्फत पाउन नसकेका जनअधिकार र सुविधा जनताका घरघरमा पु¥याउने माध्यम नै सङ्घीयता हो । यो उत्पीडन र विभेदमा पारिएका बहुसङ्ख्यक जनतालाई शासन सत्तामा प्रत्यक्ष सहभागी गराउने समावेशी राज्यप्रणाली हो ।
मूलतः साम्यवादीले सङ्घीयतालाई सैद्धान्तिक आयाम वरिपरि व्याख्या गर्छन् । उनीहरूको दृष्टिकोणमा सङ्घीयता भनेको भावनामा आधारित टुक्रे भौगोलिक जातीय राज्य हुँदै होइन । भूगोल, सिमाना, प्रशासनिक सुगमता, सदरमुकाम बन्दोबस्ती, सीमाङ्कन र सामथ्र्यजस्ता प्राविधिक आयाम यसले गौण ठान्छ । यो साङ्गोपाङ्गो मानव उन्मुक्तिको उन्नत चेतनातर्फ उन्मुख स्वशासन हो । यो उत्पीडित वर्गीय दृष्टिकोण वाप द्धतिमा आधारित हुन्छ । अन्यथा यो केवल एकात्मक केन्द्रीकृत राज्य रूपको क्षेत्रीय एकाई जस्तो मात्र हुन जान्छ तर भूगोल नमिलेर वा सदरमुकाम टाढा भएर मात्र यसको उठान पटक्कै गरिएको होइन । यसको सारभूत उद्देश्य उत्पीडनको अग्रगामी र न्यायिक राजनीतिक व्यवस्थापन नै हो, जुन सैद्धान्तिक आयाममा आधारित सङ्घीयताबाट मात्र सम्भव हुन्छ । यस कारण सङ्घीयताको गोलमटोल र अमुक पदावलीमा रुम्मलिनु भन्दा यसको आयाममा छलफल जरुरी देखिन्छ ।
पहिचानवादी आयाम ः
यो सङ्घीयताको दोस्रो महŒवपूर्ण आयाम हो । साधारण अर्थमा पहिचान भन्नाले कुनै पनि जनसमुदायको मौलिक इतिहास, धर्म, संस्कृति, रीतिरिवाज, परम्परा र मूल्य मान्यतालाई जनाउँछ तर प्रतिकात्मक अर्थमा पहिचान भन्नाले उत्पीडित जनताको सम्पूर्ण अधिकार सुनिश्चिततालाई बुझाउँछ । अर्थात् केन्द्रीकृत सामन्ती राज्य व्यवस्थाले सम्पूर्ण उत्पीडितलाई पहिचान वा अधिकारबाट वञ्चित गरिएको विरुद्धमा यो मुद्दा उठाइएको हो । उत्पीडितले सङ्घीयतालाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक समानताको प्रस्थानबिन्दु मानेका छन् । खोसिएका सबै अधिकार, गुमेको पहिचान पुनः प्राप्ति अनि समानता र न्यायको प्रत्याभूति दिलाउने शासकीय प्रारम्भ बिन्दु नै सङ्घीयता हो । पहिचान प्रधान आयाममा आधारित सङ्घीयताबाट मात्र उत्पीडितको मर्म र भावनाको सम्बोधन गर्ने हैसियत राख्छ ।
भौगोलिक आयाम ः
भौगोलिक आयाममा आधारित सङ्घीयतामा सङ्घभित्रको स्वायत्त राज्यको चाक्लाबन्दी गर्ने नीति प्रधान हुन्छ । नरमकरम भूगोलको सीमाङ्कन वा बाँडफाँट गर्दै सदरमुकाम बन्दोबस्ती यस आयाममा अन्तरनिहीत हुन्छ । ठूलो र विकट भूगोलमा यो आयाम औचित्यपूर्ण हुन्छ तर सानो भूगोलमा यो केवल विकेन्द्रीकृत तल्लो एकाई जस्तो मात्र हुन जान्छ । यद्यपि, नजिकै सदरमुकाम व्यवस्थापनले धेरै सहजता बढ्नेमा दुईमत छैन तर भौगोलिक कित्ताकाट र सदरमुकाम व्यवस्थापन जति नै मिलाए पनि यसमा उत्पीडित वर्गीय शासकीय चरित्र वा पद्धति भएन भने राजनीतिक अर्थ रहँदैन । भौगोलिक प्लटिङ वा विभाजन नै समानता र न्यायको कुञ्जी हुन सक्दैन । खास गरेर समान अधिकार र न्यायको लागि नै यो मुद्दा उठाइएको हो । राजनीतिक आयाम द्वारा निर्देशित प्रादेशिक स्वायत्त राज्य रूप नै खाटी सङ्घीयता हो । सार्वभौमतः राजनीतिक आयाम प्रधान भए मात्र सङ्घीयताको सारतŒवमा पुग्न सकिन्छ तर औसत सङ्घीयतावादी भूगोल र सिमानामा भावनात्मक ब्ल्याकमेलिङ गर्दैछन् । यो ढोँगी, भ्रामक, गलत र खतरानक प्रवृत्ति हो । यसमा सरोकारवाला असाध्यै सचेत हुनुपर्छ ।
प्रशासनिक आयाम ः
साधारणतया यसले केन्द्रीकृत प्रशासनिक संरचना र सेवालाई विकेन्द्रीत गर्छ । काठमाडौँ धाउनुपर्ने बाध्यताबाट उन्मुक्ति हुने सवाल कम महŒवपूर्ण छैन । नजिकै र छिटोछरितो सरकारी सेवा सुविधा लिनु जनताको अधिकार हो तर यो आफैँमा पूर्ण र बनिबनाउ समाधन भने होइन । मूलभूत मुद्दा भनेको स्वायत्त राज्यले अपनाउने शासकीय वर्ग चरित्र, पद्धति, विधि र प्रक्रियामा अन्तरनिहीत हुन्छ । सत्ताको चरित्र प्रगतिशील भएन भने प्रशासनिक सुगमताकै भरमा उत्पीडित वर्गले उन्मुक्ति पाउन सक्दैन । प्रशासनिक सुगमता नै निर्णायक हुने भए काठमाडौँका उत्पीडितले समानता र न्याय पाइसक्नुपर्ने थियो । त्यो भ्रम मात्र हो । सोलोडोलो सुविधा र सेवा त पाँच विकास क्षेत्रको विकेन्द्रीकरण अवधारणामा पनि उपभोग गरेकै हो तर सबै उत्पीडित उन्मुक्त त हुन सकेनन् । तसर्थ, मूल पक्ष राजनीतिक आयाममा आधारित स्वायत्त राज्य नै हो ।
सामथ्र्यको आयामः
यसमा कुनै पनि स्वायत्त राज्यअन्तर्गत प्राकृतिक स्रोत–साधनको बाँडफाँट केन्द्रित हुन्छ । खनिज, जलस्रोत, जङ्गल, उर्वर जमिन, पर्यटकीय स्थललगायतका प्राकृतिक स्रोतको उपलब्धता र पहुँच प्रत्येक स्वायत्त राज्यको आधारभूत पूर्व शर्त हो, हरेक राज्यमा धेरै–थोरै यसको उपलब्धता हुन्छ नै । पँुजीवादी प्राविधिक आयाममा भावनात्मक व्यापार गर्न सिपालु हुन्छन् । उनीहरूको मूल मुद्दामा सामथ्र्य पर्छ तर असली सङ्घीय राज्य रूपमा सामथ्र्यको सवाल सहायक नै हुन्छ । मूलतः सङ्घीय स्वरूपमा पनि अन्तरप्रदेशस्तरीय सम्बन्ध र सम्झौता अनिवार्य हुन्छ । एउटाले अर्कोबाट आयत–निर्यात गर्नैपर्छ । स्वशासनमा सिमानामा फलामे पर्खाल खडा गरिन्न । बरु स्वायत्त राज्य बीचको द्विपक्षीय र बहुपक्षीय सम्बन्ध अझ संस्थागत, सुदृढ, सहज र व्यावहारिक हुन्छ । त्यसैले सामथ्र्यको आयाम कमजोर हुनेबित्तिकै सबै पक्ष कमजोर हुन सक्दैन ।
नामाङ्कनको आयामः
ऐतिहासिकता र पहिचानको आधारमा नामाङ्कन गर्नु सबैभन्दा वस्तुवादी र उत्तम विकल्प हो । हिमाल, पहाड, नदीनाला र धार्मिकस्थलमा आधारित नाम दोस्रो विकल्प मात्र हुनुपर्छ । यसले प्रतिकात्मक रूपमा समानता र न्याय प्रत्याभूतिको सकारात्मक थालनी गर्छ । मूलतः नामले सम्बन्धित स्वायत्त प्रदेशको आधारभूत पहिचानको प्रतिनिधित्व गर्नुपर्छ । तथापि, यो प्राविधिक आयाम नै हो । नामकै भरमा अधिकार सुनिश्चित हुँदैन । त्यसैले नामाङ्कनको सवालमा धेरै तरङ्गित हुनु भावनात्मक पक्ष मात्र हो । नाम जे भए पनि अनि सिमाना खोला वारिपारि जता भए पनि मुख्य सवाल भनेको अधिकारसहितको स्वशासन नै हो, जुन राजनीतिक आयाममा आधारित सङ्घीयताले मात्र सुनिश्चित गर्न सक्छ ।
तसर्थ, सङ्घीयताको सोलोडोलो शब्दावली आफैँमा पूर्ण होइन । यसको आयाम वा अन्तरवस्तुको चरित्र महŒवपूर्ण पक्ष हो । एक थान सङ्घीयता भए बनिबनाउ समाधान देख्नु एउटा अधारभूत र यथास्थितिवादी मनोगत अति हो । यसमा जानै हुँदैन, अर्को सामन्ती एकात्मकतावादी अति हो । राजनीतिक आयाममा आधारित सङ्घीयता उत्पीडित समुदायको मर्म, भावना र आवश्यकता हो । किनकि, सङ्घीयतामा अन्तरनिहीत आयामले नै स्वशासनको राजनीतिक वर्ग चरित्र, पद्धति र विधि निर्धारण गर्छ । प्राविधिक आयामले केवल चुनावी मसलासहित व्यापारमा बाजी मारे पनि समानता र न्याय सुनिश्चित गर्न सक्दैन । त्यसैले अग्रगामी राजनीतिक आयामबाट निर्देशित सङ्घीयता सत्य हो भने अरू सबै प्राविधिक आयाम भ्रम हुन् । यसमा सबै उत्पीडितले गम्भीर हेक्का राख्न जरुरी देखिन्छ ।

  प्रकाशित मिति: २०७४/६/१८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना