संयुक्त राष्ट्रसङ्घको कमजोर भूमिका

Ram prashad Acharyaरामप्रसाद आचार्य

 


संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभा यसको प्रधान कार्यालय न्युयोर्कमा जारी छ । विश्व शान्ति र सुरक्षाका लागि स्थापना भएको यो संस्थाले अथक प्रयास गर्दागर्दै पनि विश्वमा शान्ति कायम हुन सकेको छैन । आज विश्वमा अशान्ति र अस्थिरता झन् बढ्दै गएको छ । विश्वमा शान्ति स्थापना गरी युद्धलाई अवैध घोषित गर्न स्थापना भएको राष्ट्रसङ्घले स्वतःस्फुर्त रूपमा प्रभावकारी ढङ्गले काम गर्न नपाउँदा अशान्ति र अस्थिरता बढेको हो । आज विश्वका विभिन्न मुलुकमा युद्ध जारी छ भने शान्ति स्थापना गर्ने कार्य चुनौतीपूर्ण बनेको छ । बडापत्रअनुसार यसलाई काम गर्न दिइएको छैन एकातिर भने अर्कातिर यो संस्थामाथि शक्ति राष्ट्रको प्रभावले कायम गरेकाले यसको भूमिका कमजोर भएको धेरैको विश्वास छ । स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपले काम गर्न पाउनुपर्नेमा यसमाथि अनावश्यक हस्तक्षेप, प्रभाव र दबाबले काम गरेकाले राष्ट्रसङ्घको भूमिका कमजोर बनेको कुरामा कुनै शङ्का छैन । यस्तो अवस्थामा यसको भूमिकालाई कसरी बलियो बनाउन सकिन्छ भन्नेबारे गहन चिन्तन गर्नुपर्ने बेला आएको छ । समग्रमा भन्नुपर्दा यसको पुनःसंरचना गर्न जरुरी भएको छ ।
यसपटकमात्र होइन, राष्ट्रसङ्घको ७०औँ महासभामा पनि यसको भूमिका र प्रभावकारिताका विषयमा विचार विमर्श भयो । यो संस्थालाई कमजोर र प्रभावहीन बनाएर विश्वमा शान्ति स्थापना गर्न नसकिने कुरालार्ई सहभागी राष्ट्रका प्रमुखहरूले जोड दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच सिरियाको जारी गृहयृद्ध छिटो अन्त्य गर्ने, उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने विषयमा महŒवपूर्ण कुराकानी भयो । त्यसैगरी, राष्ट्रपति ट्रम्प र चिनियाँ समकक्षी सी जिन पिङबीच पनि साइबर अपराध नियन्त्रण, उत्तर कोरियाको आणविक कार्यक्रम, जलवायु परिवर्तनको असर कम गर्नेलगायतका विषयमा कुराकानी भएको छ । गरिबीका कारण विश्वमा देखिएको द्वन्द्व कम गर्न सन् २०३० सम्म गरिबी हटाउने महŒवाकाङ्क्षी विषयमा पनि महासभामा सहभागी नेताहरूबीच छलफल भएको छ ।
वास्तवमा आज विश्वशान्ति र आणविक हतियार कटौतीका ठुल्ठूला कुरा गरे पनि विश्वमै हतियारको उत्पादन र यसको बिक्रीवितरण घट्न सकेको छैन । हतियारको उत्पादन, भण्डारण र बिक्रीवितरण मानवसभ्यताका लागि सबैभन्दा ठूलो चुनौती बने पनि यसको उत्पादन र बिक्रीवितरण बन्द गर्नेतर्फ ठूला मुलुकले सकारात्मक सोच बनाउन सकेका छैनन् । परमाणु शक्तिलाई मानवहितका लागि विकास निर्माणमा प्रयोग गर्नुको सट्टा परमाणु हतियार बनाउन प्रयोग गरिएकाले आजको विश्व इतिहासकै सबैभन्दा त्रासदीपूर्ण अवस्थामा बाँच्नुपरिरहेको छ । यस्तो अवस्था आउनुमा विश्वका प्रमुख परमाणु हतियार सम्पन्न संयुक्त राष्ट्रसङ्घका पाँच स्थायी सदस्य राष्ट्र अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स प्रमुख जिम्मेवार छन् । यी महाशक्ति राष्ट्र जोसँग विश्वमा रहेका कुल परमाणु हतियारको ९८ प्रतिशतभन्दा बढी हतियार रहेको छ ।
अमेरिकी पूर्वराष्ट्रपति ओबामाले सुरुदेखि नै विश्वशान्ति र हतियार कटौती गर्ने चर्को भाषण दिनुभयो । उहाँले भाषणकै भरमा विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाउनुभयो । तर, दुःखको कुरा उहाँले नोबेल पुरस्कार पाएकै वर्ष अमेरिकामा हतियारको उत्पादन र बिक्रीवितरण गएका वर्षहरूको तुलनामा अरू बढ्यो । वर्तमान राष्ट्रपति ट्रम्प त झन् हतियार नियन्त्रणको पक्षमा हुनुहुन्न । उहाँको कार्यकालमा झन् हतियारको उत्पादन र बिक्रीवितरण बढ्ने देखिएको छ । हतियारकै कारण अमेरिका झन् असुरक्षित बन्दै छ । ओबामाले बन्दुक नियन्त्रणका लागि धेरै प्रयास गर्नुभयो तर सक्नु भएन । ट्रम्प त झन् बन्दुक राख्न पाउनुपर्ने पक्षमै हुनुहन्छ । प्रत्येक अमेरिकी नागरिकलाई आत्मरक्षाका लागि बन्दुक राख्न पाउने अधिकार छ तर यो अधिकारको व्यापक दुरूपयोग भएको छ । गत आइतवार राति लस भेगासमा भएको वीभत्स गोलीकाण्डमा ५९ जनाको ज्यान जानुका साथै पाँच सयभन्दा बढी घाइते भएका छन् । अमेरिकामा बन्दुकआतङ्कको यो उत्कर्ष रूप हो । बन्दुक आक्रमणको एउटै घटनामा यतिधेरै मानिस यसअधि मरेका र घाइते भएका थिएनन् । अब यो घटनाबाट पाठ सिकेर अमेरिकी सरकारले बन्दुकमाथि नियन्त्रण गर्न अविलम्ब प्रयास गर्नुपर्ने दखिएको छ ।
दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा प्रयोग गरेको पहिलो अणुबम जसले चार लाखभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको र लाखौँ मानिस घाइते भएको घटनासँगसँगै स्थापना भएको संयुक्त राष्ट्रसङ्घले युद्धलाई निषेध गरेको छ । युद्ध निषेध गरेपछि विश्वमा युद्ध रोकिने र घातक हतियार नबन्ने विश्वास विश्ववासीले गरेका थिए तर यो उनीहरूको आकाङ्क्षा पूरा भएन । प्रथम र दोस्रो विश्वयुद्धपछि पनि सयौँ युद्ध भए भने असङ्ख्य घातक हतियार बन्नेक्रम रोकिएन । यही हतियारको होडमा हाल विश्वमा २३ हजारभन्दा बढी परमाणु हतियार बनेका छन्, जसले यो धर्तीलाई एकपटक होइन दर्जनौँपटक ध्वस्त पार्ने क्षमता राख्छन् । यस्तो अवस्थामा विश्वशान्ति र सुरक्षा कसरी सम्भव हुन्छ ?
एकातिर विज्ञान र प्रविधिको चरम विकासले मानवसभ्यता चरमबिन्दुमा पुगेर विश्व एउटा सानो गाउँमा परिणत भएको यो बेला अर्कातिर त्यही विज्ञान र प्रविधिले निर्माण गरेको आमविनाशकारी परमाणु हतियारले विश्वको अस्तित्वलाई नै चुनौती दिएको छ । सन् १९४६ देखि अमेरिका र तत्कालीन सोभियत सङ्घबीच सुरु भएको शीतयुद्ध सोभियत सङ्घको पतनसँगसँगै अन्त्य भएपछि विश्वमा छाएको खुसी धेरै दिनसम्म टिक्न सकेन । अमेरिका र रुसबीच भएका विनाशकारी हतियार नष्ट गर्दै जाने र नयाँ विनाशकारी हतियार नबनाउने भनी गरिएका सन्धिसम्झौताको सफल कार्यान्वयन नहुँदा समस्याले झन् विकराल रूप लिएको छ । हिजोसम्म पाँच मुलुकमा सीमित रहेको परमाणु हतियार आज एक दर्जनभन्दा बढी मुलुकमा विकास गरिएको छ । अरू एक दर्जनभन्दा बढी मुलुक परमाणु हतियार बनाउने अभियानमा लागेका छन् । परमाणु हतियारलाई सम्पन्नता र सुरक्षाको प्रतीक ठान्ने प्रवत्तिले विश्वलाई सबैभन्दा बढी असुरक्षित बनाएको छ ।
पहिले नै परमाणु हतियार बनाएर महाशक्ति राष्ट्र बनेका अमेरिका, रुस, फ्रान्स, बेलायत र चीनले आणविक हतियार कटौतीका कुरा गरेका छन् भने अर्कोतिर परमाणु हतियार निर्माण, भण्डार र बिक्रीवितरणको कार्य रोकेका छैनन् । फेडेरेसन अफ अमेरिकी साइन्टिस (एफएएस) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार यतिखेर विश्वमा २३ हजार ३९५ वटा परमाणु हतियार छन् । ती हतियारमध्ये आठ हजार एक सयवटा परमाणु हतियार जुनसुकै बेला पनि प्रयोग गर्न सक्ने अवस्थामा राखिएका छन् । विश्वका नौवटा मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई सुरक्षा दिन्छ कि खतरा ? प्रश्न अनुत्तरित छ ।
आमविनाशकारी हतियारको सबैभन्दा बढी विरोध गर्दै आएका अमेरिका र रुससँग आज सबैभन्दा बढी परमाणु हतियार रहेका छन् । दुवै मुलुकले नचाहेसम्म अरूले चाहेर पनि यो धर्तीलाई परमाणु हतियारमुक्त बनाउन सकिँदैन । सोभियत सङ्घको पतनपछि सन् १९९१ मा अमेरिका र रुसबीच परमाणु हतियार कटौतीसम्बन्धी सम्झौता भएको हो । सम्झौता केबल सम्झौताका लागि मात्र भएकोजस्तो देखिएको छ । सो सम्झौता कार्यान्वयन गर्ने भनी त्यसपछि हालसम्म चार चरणसम्मको वार्ता भएको छ । वार्तामा दुवै मुलुकले हतियार कटौती गर्ने सकारात्मक कुरा गर्छन् तर हतियार कटौती गर्दैनन् । परमाणु हतियारमा एकाधिकारवादी सोच हाबी भएकाले यसको मोह बढेको हो । हतियारको यो होडबाजीले सैनिक खर्च नाटकीय ढङ्गले बढेको छ ।
यस्ता थुप्रै निराशाबीच अमेरिका र रुसबीच परमाणु हतियारसम्बन्धी ठूलो विवाद केही समाधान हुने लक्षण देखिएको थियो । पोल्यान्ड र चेक गणतन्त्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गर्ने तत्कालीन बुस सरकारको निर्णय रद्द गरेर ओबामा सरकारले चरम विवाद कम गर्ने प्रयास ग¥यो तर अहिले ट्रम्प सरकारले ओबामा सरकारको निर्णय खारेज गरिदिएको छ । जसले गर्दा त्यहाँ फेरि हतियारमोह बढेको छ । हुन त केही दिनअघि मात्र रुसी राष्ट्रपति पुटिनले रुससँग रहेको सबै आणविक हतियार नष्ट गरेको घोषणा गर्नुभयो । लोकप्रियताका लागि हो वा साँच्चिकै हो केही दिनपछि थाहा हुनेछ । आशा गरौँ, विश्वका प्रमुख दुई हतियारका च्याम्पियन अमेरिकी र रुसी नेतृत्वले विश्व सुरक्षाका लागि नयाँ कदम चाल्नेछ । आणविक हतियारविहीन विश्वका लागि या विश्वव्यापी रूपमै कडा दबाब दिन जरुरी छ । हतियारको दौडमा लागेसम्म शान्ति स्थापना हुन सक्दैन । अब संयुक्त राष्ट्रसङ्घको भूमिकालाई प्रभावकारी बनाउन हतियार र युद्धको होडबाजी त्याग्नैपर्छ । राष्ट्रसङ्घ बलियो भएमात्र विश्वमा शान्ति सम्भव हुनेछ ।

 प्रकाशित मिति: २०७४/६/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना