ओरालो लागेको देश

pradip nepalप्रदीप नेपाल

 


नेपालका प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव मस्तैले विदेश भ्रमणमा जान्छन् तर तिनीहरु किन विदेश जान्छन् ? के हेरेर फर्किन्छन् ? केही सिकेर आउँछन् कि आउँदैनन् ? नेपालमा कसैलाई थाहा दिनु जरुरी छैन । अरू सानातिनाका कुरा नगरौँ तर विशेष गरेर, प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवसहितका सचिव आफू गएको मुलुकको सामाजिक, सांस्कृतिक क्षेत्रमा आएको परिवर्तन, तिनको विकास प्रक्रिया, प्रगतिका कारण खोज्छन् कि खोज्दैनन् नेपाली नागरिकलाई केही थाहा हुँदैन । जाने, भोजभतेर खाने, दृश्यावलोकन मात्र गर्ने हो मन्त्री र सचिवहरू विदेश भ्रमणमा जानुको सान्दर्भिकता भेटिँदैन ।
सन् १९६० मा नेपाल बराबरको हैसियतमा रहेका, नेपालकोभन्दा कमजोर हैसियतमा रहेका, नेपालभन्दा गरिब, सबै राष्ट्र अहिले नेपालभन्दा अगाडि छन् । यति मात्र होइन, उनीहरू नेपाललाई दान दिने अर्थात् सहयोग गर्ने हैसियतमा पुगेका छन् । किन ? यसबीचमा नेपाल सक्रिय राजतन्त्रबाट फड्को मारेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यो तर आर्थिक, सामाजिक विकासमा हामीलाई उछिन्ने अधिकांश मुलुकले राजनीतिक प्रणालीमा अलिकति पनि फड्को मारेका छैनन् । हिजोको गणतान्त्रिक कोरिया अहिले पनि त्यहीँ छ । मलेसिया अहिले पनि उहिलेजस्तै सल्तनत प्रणालीमा छ । थाइल्यान्डमा राजतन्त्र जस्ताको तस्तै छ तर तिनीहरु नेपालभन्दा कता हो कता माथि पुगेका छन् । हामी झन्–झन् ओरालो झरिरहेका छौँ । किन ?
एउटा मात्र उदाहरण दिउँ, नेपालको शाही वायु सेवा निगम र थाइल्यान्डको रोयल थाई एयरवेज एकैदिन आकाशमा उडेका रहेछन् । अहिले हामी कहाँ छौँ र थाई एयरवेज कहाँ छ ? सबैलाई थाहा छ । थाई एयरवेज अन्तर्राष्ट्रिय उडानको बादशाह भएको छ । हामी पुछारबाट गरिने गणनामा पर्छौं । थाइल्यान्डले, मध्यपूर्वका तेल राष्ट्रको जस्तो ह्वारह्वार्ती डलर भिœयाएको पनि होइन । सन् ९० को दशकमा पनि नेपाली रुपियाँभन्दा थाई भाट सस्तो थियो । हाम्रोभन्दा आधै थियो तर २०१४ मा थाइल्यान्ड पुगेको बेला मलाई थाहा भयो– डेढ दशकमा पैसाको भाउ ठिक्क उल्टो भएछ । थाई भाटभन्दा नेपाली रुपियाँको मूल्य आधै तल झरेछ ।
थाइल्यान्ड, नेपालका ठूला मान्छेका लागि पानी पँधेरो हो । उपचार गर्नु प¥यो थाइल्यान्ड । नेपालमा घुर्की लाएर लुक्न जानुप¥यो थाइल्यान्ड । आरामै गर्न पनि थाइल्यान्ड जानेको लर्को सानो छैन । उनीहरूको विकास र आफ्नो मुलुकको देखिरहँदा पनि हाम्रा प्रधानमन्त्री र अर्थमन्त्रीको निधारमा लाजको सानो धर्सो पनि देखिँदैन ।
दक्षिण कोरियालाई सन् ६० को दशकमा नेपालले चामल पठाएर सहयोग गरेको थियो रे ! आपत्कालीन सहयोग गरेको भए पनि हैसियत बराबरकै थियो भनेर मानिदिउँ तर अहिले दक्षिण कोरिया कहाँ छ ? अनि हामी कहाँ छौँ ? कोरिया हिजोको नेपाल बराबरको साथी थियो । आजको नेपाल दक्षिण कोरियामा कामदार आपूर्ति गर्ने देश भएको छ ।
तिब्बतको प्रगतिको कुरो नगर्दा पनि हुन्छ । दलाई लामाको पालाको त्यो गरिब पठारले पनि सन् २०१४ मा नेपाललाई आर्थिक, भौतिक सहयोग गरेको थियो । नेपाल सरकारले लाजै नमानी त्यो सहयोग थापेको थियो । त्यतिमात्र होइन, अहिलेको नेपाल सरकार नयाँ र समृद्ध तिब्बत मुर्दावाद, हामीलाई पुरानै, अँध्यारो तिब्बत चाहिन्छ भन्नेलाई गोप्य सहयोग गरिरहेछ । नेपालमा पालिरहेको छ । किन ? किनभने अँध्यारो तिब्बत माग्ने आन्दोलनलाई अमेरिकाको आशीर्वाद छ र नेपाल सरकार स्वयं पनि अँध्यारो मन पराउँछ ।
विकासको मापनकेन्द्र विकास होे तर समाजवाद या साम्यवाद भाषण गरेर या बन्दुक पड्काएर आउँदैन । त्यसका लागि पहिले नेताहरूको चेतना रूपान्तरित हुनुपर्छ । सिद्धान्त एउटा मार्गचित्र मात्र हो, गर्ने त व्यक्तिले हो । व्यक्ति प्रधान हो, सङ्गठन गौण हो । विश्वेश्वरप्रसाद कोइराला पनि नेपाली काँग्रेसका सभापति भए, शेरबहादुर देउवा पनि सभापति भए । विचार, निष्ठा, स्वाभिमान, जनताको जीवन उत्थानको यी दुई सभापतिको तुलना गर्न मिल्छ ? बीपी कोइराला र शेरबहादुर देउवाका बीचमा भूगोलको जति लामो दूरी छ, विचारको क्षेत्रमा पनि त्यत्तिकै फराकिलो दूरी छ । बीपीको समाजवादी चेतलाई उहाँकै भाइ गिरिजाप्रसाद कोइरालाले पनि बुझ्न सकेनन् । विचारको हिसाबले भन्ने हो भने बीपीको काँग्रेस र जीपीको काँग्रेस बीच आकाश जमिनको दूरी छ । सोचेर भन्नु पर्दा दुवै नेताले एउटै पार्टीको नेतृत्व गरेका हुन् भन्ने एउटा पनि आधार कहीँ कतै देखिँदैन । भेटिँदैन तर पनि काँग्रेस चलिरहेछ । समाजवाद उन्मुख परिवर्तनकारी काम तिरस्कार गरेर पुँजीवादी उदारवादमा जाँदा पनि बीपी कोइरालालाई खोपीको देउता बनाएर वर्षमा दुई पटक श्राद्ध गरेर आपूmलाई बीपीको उत्तराधिकारी भन्ने ढाँट काम गरिरहेको छ ।
एमाले एकपल्ट चमक्क चम्कियो २०५१–५२ सालमा तर विचारको क्षेत्रमा एमाले अत्यन्तै गतिशील रह्यो । २०२८ सालको उग्रवामपन्थलाई जनमत सङ्ग्रहको विषद बहसपछि त्यसले आफूभित्रबाट बाहिर निकाली दियो र आफूलाई जनताको बीचमा बस्ने कार्यकर्ताको पार्टी बनायो । मजदुर, किसान, युवा, विद्यार्थी, महिलाका मात्र होइन, मानव अधिकारवादीको सङ्गठन बनाएर त्यसले आफ्नो दायरा फराकिलो बनायो । माओत्सेतुङ विचारधारालाई परित्याग गरेपछि त्यतिबेलाका राजनीतिक सङ्गठनसँग मिलेर ०४७ को प्रजातान्त्रिक आन्दोलनलाई नयाँ उचाइमा पु¥यायो । संसारमा सबैतिर पराजित भइरहेको माक्र्सवादलाई पुनःजीवन दियो र पहिलो चुनावमा नेपालको वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित ग¥यो ।
यो सिङ्गो प्रक्रियामा मदन भण्डारीको नेतृत्व रह्यो । नेपाल कम्युनिस्ट पार्टीमा एक दर्जन महासचिव भए । स्वयं तत्कालीन मालेमा पनि पाँच जनाको नाम टाँसियो तर त्यो नेकपा मालेलाई, सिद्धान्त, विचार र सङ्गठनका बलमा ठूलो र जनआधारित पार्टी बनाउने नेतामा मदनकुमार भण्डारीको नाम मात्रै अगाडि आयो । मदन भण्डारीले कोरेको मार्गचित्रलाई जोगाउने र त्यही दिशामा पार्टीलाई हिँडाउने काममा त्यसपछिका महासचिव र अध्यक्षहरूको भूमिका रहन सकेन । ०५१–५२ को सरकारमा मदन भण्डारीको चिन्तन प्रतिबिम्बित भएको थियो तर त्यसपछि एमालेका नेतामा पनि सत्ता–राजनीति हाबी भयो । ०५३ मा पञ्चहरूसँग मिलेर संयुक्त सरकार गठन गरेपछि काँग्रेसले बीपीको श्राद्ध गरे जसरी एमालेले पनि मदन भण्डारीको श्राद्ध शुरु ग¥यो । पछिल्ला दिनमा एमालेका लागि निर्वाचन नै विचारको केन्द्र बन्यो । जनताको बहुदलीय जनवाद, सामाजिक सुरक्षाको प्रत्याभूति जस्ता समाजवाद निर्माणका सैद्धान्तिक र व्यावहारिक अवयव मदन भण्डारीको सालिकसँगै मौन भएर बसे । एमाले सम्पूर्ण रूपमा चुनावी पार्टी भयो । साम, दान, दण्ड, भेद गरेर भए पनि चुनाव चाहिँ जित्नैपर्छ भन्ने चेतना जड भएर बसेको एमालले निकट भविष्यमा जनताको बहुदलीय जनवादलाई आत्मसात् गर्ला भन्ने मलाई लाग्दैन ।
अरू पार्टीको धेरै कुरा गरिरहनु परोइन । माआवादी पार्टीका नेता त एमालेसँग एकीकरण गर्न तयार भएका छन् भने नेपालको राजनीतिमा समाजवाद कहाँ भेटिएला ? नेपाल आर्थिक रूपमा समृद्ध हुन्छ भन्ने विश्वास कसरी गर्न सकिएला ?
यसपालि मलाई एउटा नयाँ कुरो भन्न मन लागेको छ । उत्तरी युरोपका केही मुलुक, फिनल्यान्ड, नर्वेले आफूलाई समाजवादी राष्ट्र घोषणा गरे भने तपाईं पत्याउनु हुन्छ कि हुन्न ? म चाहिँ पत्याउँछु किनभने मैले पाएको पछिल्लो शिक्षा भनेको माक्र्सवादले स्वतन्त्रताको सम्मान गर्छ र स्वतन्त्रताले मात्र समानता सुनिश्चित गर्छ भन्ने माक्र्सवादको आधारभूत निष्कर्ष हो ।
अमेरिकी म्यागाजिन न्यूजविकले घोषणा गरेका कार्लमाक्र्स नेपालमा छैनन् । अब नेपालमा स्टालिनहरू मात्र छन्, जो आफूलाई सर्वज्ञ र अरूलाई मूर्ख ठान्छन् ।

 

 प्रकाशित मिति: २०७४/६/१९

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना