चुनावी तालमेलका लागि काँग्रेस छलफलमा

राधा चालिसे

 

काठमाडौंँ, असोज २० गते । नेपाली काँग्रेसले चुनावी तालमेलका लागि संसद्भित्रका साथै संसद्भन्दा बाहिर रहेका राजनीतिक दलसँग पनि छलफल अगाडि बढाउने भएको छ ।
पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बिहीबार बसेको बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि गठनबन्धनमा रहेका छ वटा मुख्य दलका साथै नेकपा माले, नेपाल मजदुर किसान पार्टीसँग पनि छलफल गर्ने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधिले जानकारी दिनुभयो । काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरमसँग बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने सहमति गरेको थियो । nc
त्यस्तै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिक तर्फको उम्मेदवार छनोट र अन्य पार्टीसँगको सिट बाँडफाँट कसरी गर्ने भन्नेबारे आन्तरिक गृहकार्य सुरु गरिएको नेता निधिले बताउनुभयो । राजनीतिक दलहरूले समानुपातिकको उमेदवारको बन्दसूची आगामी असोज २९ गतेसम्म निर्वाचन आयोगमा पेस गरिसक्नुपर्ने भए पनि समानुपातिकका सूची कसरी बनाउने भन्ने विषयमा निर्वाचन आयोगबाट निर्देशिका नआइसकेकोले कसरी तयार गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको उहाँको भनाइ छ ।
कार्यदल गठन
बृहत् लोकतान्त्रिक एकतालाई अगाडि बढाउन बुधबार गठन गरिएको कार्यदलमा काँग्रेसबाट केन्द्रीय सदस्य विमलेन्द्र निधि, डा. मीनेन्द्र रिजाल र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ । त्यस्तै कार्यदलमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे रहनुभएको काँग्रेस नेता डा. रिजालले बताउनुभयो ।
कार्यदलमा सङ्घीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहनुभएको छ । कार्यदलको बैठक शुक्रबार बिहान ८ बजे बस्ने नेता डा. रिजालले जानकारी दिनुभयो ।
कार्यसमिति बैठक
यसैबीच नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक शुक्रबारका लागि बोलाएको छ । पार्टीको कार्य सम्पादन समितिको बैठकले शुक्रबार पार्टीको केन्द्रीय कार्य समितिको बैठक बोलाउने र वर्तमान राजनीतिक परिस्थिति र आगामी योजनाका बारेमा छलफल गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ८ बजे बालुवाटारमा बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने वा सरकारबाट नेकपा माओवादी केन्द्रलाई हटाउने विषयमा भने कुनै छलफल नभएको बैठकमा सहभागी केन्द्रीय सदस्य निधिले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना