दलीय एकता र उपेक्षित समुदायका मुद्दा

tc wagleत्रिभुवनचन्द्र वाग्ले 

      

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा दुई ठूला दल नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र्र) बीच चुनावी तलमेल गर्दै पार्टी एकीकरण गर्न शुरु गरिएको गृहकार्यपछि नेपाली राजनीतिमा नयाँ बहस शुरु भएको छ । त्यसो त नेपालमा कम्युनिस्टको विभाजन र एकीकरण नौलो विषय होइन तर हाल देखिएको ध्रुवीकरण भने विभिन्न हिसाबले अर्थपूर्ण छ ।
यो प्रक्रियामा केही संशस, केही अनुत्तरित र केही सोझा सवाल जवाफ छन् । पहिलो कुरा यो हतारमा, करिब राष्ट्रिय प्रजातान्त्रिक पार्टीको शैलीमा एकीकरणमा जाने देखिएको छ । यसका पछाडि रहेका कारणमा अहिले नै अनुमान लगाउन र ती पार्टीले भनेका कुरामा विश्वास गरिहाल्न सकिने अवस्था छैन । ती पार्टीहरू आफैँमा कति स्पष्ट भएर तालमेल र एकीकरणमा गरेका हुन् भन्ने कुरा केही समयपछि सतहमा आउनेछ । एकीकरणको हतारोले कुनै राजनीतिक सङ्कट वा अध्यायलाई विल्कुल सङ्केत गर्दैन भन्ने छैन । केही दिनअघि सर्वोच्चका केही न्यायाधीशको नियुक्ति वैधानिकताको प्रश्न उठाउँदै निवेदन दर्ता गर्न गरिएको प्रयास र अन्य आन्तरिक परिवेशमा पनि यो तालमेल तथा एकीकरणको गन्तव्य र उद्देश्य खोज्न सकिन्छ ।
एमाले र माओवादी केन्द्रीबीच केही व्यावहारिक पक्षमा आसमान जमिन अन्तर छन् । खासगरी, जातीय र तराई मधेशका मुद्दामा यी दलबीच व्यापक दूरी छ । कार्यकर्तामा प्रतिस्पर्धात्मक भावना छ । कुन पार्टी असली कम्युनिस्ट हो भन्नेमा मनोवैज्ञानिक द्वन्द्व छ । जनवाद छोडिसकेको एमाले र जनवादलाई गन्तव्य बनाएरहेको माओवादी केन्द्रबीच शासकीय र पार्टी विधानमा दर्जनौँ भिन्नता छन् । यति हुँदाहुँदै पनि यी दुई दलको जन्म, पूर्खा÷नेता आदिका कारण यिनीहरू बीचको तालमेल वा एकतालाई अस्वाभाविक भन्न मिल्दैन । नेपालमा एकातिर प्रजातान्त्रिक धारको नेपाली काँग्रेस र अर्कोतिर वामपन्थी धारको एमालेको क्रियाशीलताले दुई दलीय धु्रवीकरणलाई निम्त्याएकै थियो । अमेरिका, बेलायत, फ्रान्समा बहुदलभित्र दुई दलीय ध्रुवीकरणको राजनीति स्थापित भइरहेका छन् । पछिल्ला दशकमा भारतमा गठबन्धनमार्फत यस्तो अभ्यासले आकार लिँदैछ ।
नेपालको संविधानअनुसार कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना क्षीण भएकाले यी दललाई एकीकृत हुन थप प्रेरित गरेको देखिन्छ । चुनावपछि सरकार सञ्चालनका सन्दर्भमा गठबन्धन बनाउनु छ भने त्यसको अगाडि नै तालमेल गरेर वा पार्टी एकीकरण गरेर बहुमत प्राप्त गर्न गरिने राजनीतिक पहललाई दुरगामी भन्नुपर्छ ।
द्वन्द्वरत माओवादीलाई एमालेको समेत सहयोग र सहभागितामा नेपाली काँग्रेसको नेतृत्वमा चुनावी राजनीतिको मूलधारमा ल्याउन गिरिजाप्रसाद कोइरालाले गर्नुभएको योगदानले नेपाल नयाँ राजनीतिक अभ्यासमा प्रवेश गरेको छ । एकीकरणपछि एमाले विगतको माओवादी जस्तै हुने छ वा माओवादी एमाले जस्तै हुने छ भन्ने प्रश्नको उत्तरमा अबको नेपाली राजनीति खासगरी वामपन्थी आन्दोलनले आकार लिनेछ । परम्परागत कम्युनिज्मको सम्भावना नरहे पनि नेपालमा विकसित बृहत् कम्युनिस्ट शक्तिले विश्वको प्रजातान्त्रिक धारबाट सुरक्षित रहनुपर्छ । त्यो भनेको पार्टी वा व्यवस्थाको नाम जे राखे पनि आवधिका निर्वाचन, स्वतन्त्र न्यायपालिका, शक्ति सन्तुलन र पृथकीकरण, संवैधानिक सर्वोच्चता र मानवअधिकारको संरक्षणमा विश्वस्त रहेकोमा उसले प्रजातान्त्रिक विश्वलाई आश्वस्त गराउनुपर्छ । कुनै पनि शक्तिले प्रजातान्त्रिक शासन व्यवस्थाका यस्ता विशेषता अँगाल्नु भनेको ऊ प्रजातान्त्रिक हुनु हो । विकसित पछिल्लो घटनाक्रमलाई यस सन्दर्भमा पनि हेरिनुपर्छ ।
वामपन्थी तालमेल र एकीकरणले नेपालमा प्रजातान्त्रिक शक्तिबीचको तत्काल एकीकरणलाई आवश्यक देख्न सकिन्छ तर यो प्राथमिक कार्य होइन । यस्तो अवस्थामा प्रजातान्त्रिक शक्तिबीच स्थुलतः गरिने एकीकरणभन्दा वैचारिक एकीकरणमा ध्यान दिनुपर्ने हुन्छ । प्रजातन्त्रमा साना पार्टी पनि रहनुपर्छ । तिनका विचारलाई सम्मान गर्नुपर्छ तर एउटा ठूलो प्रजातान्त्रिक शक्ति नेपाली राजनीति वृत्तमा किनारा लागेको छ । त्यसैले मूलतः काँग्रसले प्रजातान्त्रिक मधेशवादी शक्ति, राष्ट्रिय प्रजातान्त्रि पार्टी वा अन्य यस्ता दलसँग सङ्गठनात्मक एकाकार गर्नुभन्दा उनीहरूले उठाएका राजनीतिक सवालमा वैचारिक निकटता कायम गर्नु आवश्यक छ । यसका लागि तराई मधेशका मुद्दा, संवैधानिक राजतन्त्र, धार्मिक स्वतन्त्रता
(निरपेक्षको सट्टा) जस्ता विषयलाई वैचारिक सम्मान दिनुपर्छ । यी केही विषयमा बहस र जनताको निर्णय शिरोपर गर्न सक्ने उदार नेपाली अहिलेको आवश्यकता हो ।
केही समयअघि दरबार निकटस्थ व्यक्तिलाई पार्टीमा प्रवेश गराउँदै तत्कालीन नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘दरबार वरिपरि असाध्यै राष्ट्रवादी व्यक्ति रहेका छन्’ भन्नुभएको थियो । यसलाई काँग्रेसले पनि महसुस गर्नुपर्छ । चुनावअघि गरिएका पार्टी एकीकरण वा तालमेल नेपाली सन्दर्भमा टिकाउ देखिएका छैनन् । तराई मधेशको सन्दर्भमा त यस्तो अभ्यास बदनाम नै भएको छ तर पछिल्लो पटकको पहलले विगतकोभन्दा धेरे गुणा वजन राखेको छ भन्नेमा काँग्रेसजन स्पष्ट हुनैपर्छ ।
यो तालमेल र एकीकरणको अभ्यासले स्थापनाकालदेखि झण्डै सात दशक नेपाली राजनीतिमा निर्णायक र नेतृत्वदायी भूमिकामा रहेको नेपाली काँग्रेसको वैकल्पिक शक्ति उभार हुने सम्भावना देखिएको छ । त्यसो भयो भने अबको नेपाली राजनीति वामपन्थी नेतृत्वमा पुग्नेछ । काँग्रेसले सङ्गठनात्मक नेतृत्व गुमाउँदै जानेछ । नेपालको राजनीतिमा प्रजातान्त्रिक धार कमजोर हुनेछ तर नेपाली काँग्रेसका सबै सम्भावना सकिएका भने छैनन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको काँग्रेसी नारामा सबै प्रजातान्त्रिक शक्ति अटाउन सक्नेछन् । यो नेतृत्व कौशलता काँग्रेसले देखाउन सक्नुपर्छ ।
दुई ठूला वामपन्थी शक्तिको एकता अभ्यासले साना दल, उपेक्षित वर्ग तथा जाति र क्षेत्रका मुद्दा ओझलमा पर्ने देखिएको छ । सशस्त्र युद्ध शुरु गर्दा जातीय तथा क्षेत्रीय नारा उल्लेख नगरेको माओवादीले ती समुदायको ध्यानाकर्षण गर्न पछि यस्ता नारा दिएको थियो । एमालेलाई आदिवासी, जनजातिमैत्री पार्टी होइन भनेर त्यहाँभित्र आदिवासी जनजाति तथा केही हदसम्म मधेशीले विद्रोह गरेका थिए । ठूला दलको एकीकरणले यस्ता वर्ग, क्षेत्र तप्का उपेक्षित हुने सम्भावना देखिएको छ ।

 प्रकाशित मिति: २०७४/६/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना