वाम तालमेल

dharmendra jhaधर्मेन्द्र झा

 

नेपाली राजनीति यतिखेर अचानक तरंगित हुन पुगेको छ । तरंग निम्त्याउने श्रेय जान्छ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई । दशैँको उत्तराद्र्धसँगै नेपाली राजनीतिको तापक्रम अचानक बढ्न पुगेको छ । यो ताप र तरंगसँगै नेपाली राजनीतिक वृत्तमा एक चर्चा व्याप्त भएको छ, भरतपुर महानगरपालिकामा छोरी रेणुलाई मेयरमा जिताउन नेपाली काँग्रेससँग हात मिलाउन पुग्नुभएका प्रचण्ड अब त्यहीँबाट संसदीय निर्वाचनमा स्वयं जित्न नेकपा एमालेको शरणमा परेको आँकलन गरिएको छ । यो दुवै परिस्थितिमा चितवनका सन्दर्भमा लाभ माओवादी केन्द्र अर्थात् प्रचण्डलाई र हानि एमालेलाई हुने निश्चित छ । प्रचण्ड नेपाली राजनीतिका यस्ता माहिर खेलाडी हुन पुग्नुभएको छ, जसका चालहरू अनिश्चित हुन्छन् तर लक्ष्य निश्चित । २० वर्षपछि पहिलोपटक दशैँको टीकामा सहभागी हुनु भएका प्रचण्डको यो चालका सन्दर्भमा आमजनता विभिन्नथरि अनुमानमै व्यस्त रहेका बेला दशैँको त्रयोदशीका दिन अर्थात् यही मंगलबार प्रचण्ड र एमालेका अध्यक्ष केपी ओलीद्वारा नेपाली राजनीतिको बुद्धिचालमा एक संयुक्त चाल चालियो । यसबारे धेरैले अनुमान गर्न सकेका थिएनन् । सन्दर्भ हो, वामपन्थी दलबीच कार्यगत एकता । मंगलबार नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच कार्यगत एकता भएको उद्घोष गरिएको छ । हाललाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मूलतः माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल भएको जनाइएको छ । यस प्रयोजनका लागि यी दुवै निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका कुल सिट (प्रतिनिधिसभा र प्रदेशसभा सदस्य) संख्याको ६० प्रतिशत एमालेले र ४० प्रतिशत माओवादी केन्द्रले लिने सार्वजनिक भएको छ । कार्यगत एकतामा सँगै समाहित भएको नयाँ शक्तिको अंकभार भने तोकिएको छैन ।
विगतमा एमालेसँगको गठबन्धन तोडेर काँग्रेससँग नयाँ गठबन्धन निर्माण गरेको माओवादी केन्द्रले १४ महिनामै नयाँ राजनीतिक समीकरणलाई जन्म दिन पुगेको छ । त्यसो त राजनीतिमा केही पनि निश्चित हुँदैन भन्ने आममान्यता हो र झन् नेपालका सन्दर्भमा त यो सधैँ तरल रहने गरेको छ । विश्वका अन्य देशमा पनि राजनीतिक समीकरणहरू बिग्रने र भत्कने गर्दछन्, यसलाई अस्वाभाविक मानिँदैन । नेपालका सन्दर्भमा पनि यसलाई अस्वाभाविक रूपमा लिइनु हुँदैन । अन्यत्र मुलुक र नेपालका सन्दर्भमा भने अवस्था ताìिवक रूपमा भिन्न छ । अन्यत्र यस्ता समीकरण निर्माणका आधार सिद्धान्त, दर्शन, नीति र कार्यक्रम हुने गर्दछन् तर नेपालमा भने राजनीतिक समीकरण निर्माणको अभीष्ट प्रायः सत्तालाई मान्ने गरिएको छ । यसपटकको वाम समीकरण निर्माणको अर्थ, औचित्य र उद्देश्य के हो, अहिलेसम्म स्पष्ट हुन सकेको छैन । तालमेलको उद्देश्य मात्र सत्ता भत्काउने र बनाउने हो भने त्यसको खासै अर्थ छैन तर वामपन्थी शक्ति एक ठाउँ आउने र नेपालको भावी दशा दिशालाई प्रभावित गर्ने उद्देश्य हो भने साँच्चै यसको कालजयी महìव छ ।
नेपाली वामपन्थी आन्दोलनको इतिहासलाई दृष्टिगत गर्ने हो भने यस्ता समीकरणको निर्माणको सन्दर्भ नौलो होइन । यसअघि ०४६ सालको जनआन्दोलनपछि पनि तात्कालीन मालेले यसको नेतृत्व गरी अन्य वामपन्थी दलललाई गोलबद्ध गरेको थियो । वामपन्थी गोलबन्दीपछि तात्कालीन अवस्थामा वरिष्ठ वामपन्थी नेता मनमोहन अधिकारीलाई अध्यक्ष स्वीकार गरी मालेमा रूपान्तरित भयो । पार्टी भने मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जवज) कै नीतिमा अगाडि बढ्यो । एमाले अहिले पनि जवजकै लाइनमा सञ्चालित छ । यसपटक सार्वजनिक भएको वामपन्थीबीचको चुनावी तालमेलको उद्देश्य, आसन्न निर्वाचनमा सहकार्य गरी दुई तिहाई स्थान सुरक्षित गर्ने र भविष्यमा पार्टी एकतामा रूपान्तरित गरिने, रहेको बताइएको छ । उद्देश्य यही हो भने अन्यथा किन मान्ने ? निश्चित रूपमा वामपन्थीको यो पहलले लोकतन्त्रवादीलाई पनि मोर्चाबन्दी गर्न प्रेरित गर्नेछ र भविष्यमा दुई दलीय अवधारणा कार्यान्वयनलाई बल प्रदान गर्नेछ । उद्देश्य यस विपरीत लोकतान्त्रिक शक्तिलाई पाखा लगाउने, लोकतन्त्रलाई मुल्तवीमा राख्ने, संविधानको पूर्ण कार्यान्वयन नहुँदै संविधानबाहिरको (कार्यकारी राष्ट्रपतिको व्यवस्था) मूल्यको वकालत गर्ने, द्वन्द्वकालीन मुद्दाबाट माओवादीले उन्मुक्ति खोज्ने र सत्तामा वामपन्थी कब्जा गर्ने आदि हो भने निश्चय पनि यो चिन्ताको विषय हो । साँच्चै पार्टी एकताकै विषय हो भने राजनीतिक चाल चल्न माहिर प्रचण्डका सामु केही महìवपूर्ण प्रश्न तेर्सिने छन् । पहिलो, देशको प्रथम राष्ट्रपति चयनका बेला किन कार्यकारीको कुरा गरिएन अहिले किन गरिँदैछ ? दोस्रो, शान्ति प्रक्रियाका नेतृत्वकर्ता गिरिजाप्रसाद कोइरालालाई किन राष्ट्रपति हुन दिइएन ? तेस्रो, एमालेसँग सँधै दूरी कायम गर्ने प्रचण्डले संविधान जारी भएपछि एमाले अध्यक्षको नेतृत्वमा किन सत्ता गठबन्धन बनाउनुभयोे ? चौथो, विगतमा मधेशकेन्द्रित दलसँग नजिक रहेको माओवादीको सम्बन्ध ती दलसँग किन चिसियो ? पाँचौँ, एमालेसँगको सत्ता समीकरण तोडेर काँग्रेससँग किन नयाँ समीकरणको निर्माण गरियो ? छैटौैँ, अचानक किन एमालेको नेतृत्वमा वाम तालमेललाई अस्तित्वमा ल्याइयो ? सूक्ष्म रूपले विश्लेषण गर्ने हो भने माथिका प्रत्येक सन्दर्भमा लाभ माओवादीलाई मात्र भएको निष्कर्ष निकाल्न सकिन्छ । यसपटक पनि मात्र सापेक्षित लाभ हानिको कुरा हो भने माओवादीले आफूलाई केन्द्रमा राखेको स्पष्ट छ । यसो हो भने हिजो एमालेसँग अलग्गिएको, काँग्रेससँगको समीकरण संकटमा पारेको र आज पुनः एमालेसँग एकाकार हुन खोजेको माओवादी केन्द्रको भविष्यको उद्देश्य बुझ्न कठीन छैन ।
तीन चरणमा सम्पन्न स्थानीय निर्वाचनको लगत्तै र आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको ठीक अगाडि भएको यो वामपन्थी तालमेलले अहिले कार्यरूप ग्रहण गरे पनि यसको प्रयास तत्काल भएको भने होइन । पछिल्लो समयमा तेस्रो चरणको स्थानीय निर्वाचनको वरिपरि यसको पृष्ठभूमि तयार भएको एमाले नेताका अभिव्यक्तिबाट झल्केको थियो । हो, यो प्रयासले तेस्रो चरणको निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि तीव्रता प्राप्त गरेको हो । तेस्रो चरणको निर्वाचनमा सीटगत आधारमा एमालेको पराजय र प्रादेशिक स्तरमा सङ्घीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी (राजपा) को सफलतापछि एमालेले विगतको आफ्नो नीतिमा परिवर्तन गरेको र वाम तालमेलको प्रयासलाई तिव्रता दिएको स्पष्ट छ । प्रदेश नम्बर दुईमा नेपाली काँग्रेस पहिलो स्थानमा आउनु र क्षेत्रीय दलका रूपमा मधेशवादी दुई दलको प्रादुर्भाव हुनु र यसको प्रभाव भविष्यको दुई निर्वाचनमा पर्ने सम्भावना रहनु वामपन्थीका लागि निश्चय पनि सोचनीय सन्दर्भ थियो । यति मात्र होइन, प्रदेश दुईको निर्वाचनमा एमाले र माओवादीले प्राप्त गरेको लोकप्रिय मत दुई मधेशवादी दलभन्दा बढी भएको पृष्ठभूमिमा वामपन्थीले उक्त मतलाई सीटमा रूपान्तरण गर्न, प्रदेश दुईको निर्वाचनको प्रभावलाई आगामी निर्वाचनमा न्यून गर्न र लोकतन्त्रवादी शक्तिलाई किनारा लगाउने उद्देश्यले हालको तालमेल गरिएको हो भन्ने स्पष्ट छ ।
अहिले तीन वामपन्थी दलबीच कार्यगत एकता गरी भविष्यमा एउटै वामपन्थी दल निर्माण गर्ने उद्देश्यका लागि संयोजन समिति पनि गठन गरिएको छ । यस सन्दर्भमा केही कुरा विचारणीय छ, त्यो के भने केन्द्रमा समीकरण बनाउन जति सहज छ स्थानीय स्तरमा त्यसलाई सहज स्वीकार गराउन त्यतिकै कठीन छ । एमालेभित्र असन्तुष्टिको सम्भावनालाई नकार्न सकिँदैन र यो तालमेलपछि यस्तो असन्तुष्टिको व्यवस्थापन सहज हुने छैन । सिद्धान्ततः एउटै वामपन्थी दल बनाउनु गलत होइन तर नेपालको इतिहास साक्षी छ वामपन्थीबीच जति एकताको प्रयास गरिएको छ त्यतिकै फूट पनि देखिने गरेको छ । पछिल्लो समयमा स्वयं माओवादी त्यसको उदाहरण हो । विचारणीय कुरा अर्को पनि छ, अहिले चर्चामा आएका (तीनवटै ?) वामपन्थी दल मिलेर एउटै दल बनेछन् भने त्यसको मागदर्शक सिद्धान्त के हुने भन्ने त्यो दलको आन्तरिक समस्या होला तर यस अवस्थामा विगतमा द्वन्द्वकालमा मारिएका र उठिबास लगाइएका एमालेका कार्यकर्ताको जिम्मा कसले लिने भन्ने प्रश्नको उत्तर प्राप्त गर्न सहज हुने छैन । यसैगरी प्रश्न अर्को पनि उठ्नेछ, आज एउटै दल बन्नु थियो भने विगतमा विविध वामपन्थका नाममा जनतालाई ध्रुवीकृत किन गरियो ? यस्तै विगतको द्वन्द्वकालका कारण उत्पन्न असहज परिस्थिति (वर्तमान पनि प्रभावित छ । ) को अंशियार एमाले हुने कि नहुने ? भन्ने प्रश्न पनि उत्तिकै महìवपूर्ण छ । यस आधारमा विश्लेषण गर्दा अर्को जिज्ञासा पनि उत्पन्न हुन्छ, आजको कार्यगत एकता र भोलिको एक दल बन्ने निर्णय के स्वाभाविक हो ? राजधानीको राजनीतिक वृत्तमा यसलाई बाह्य प्रभाव र दबाबको परिणामका रूपमा पनि हेर्ने प्रयत्न गरिएको छ । भविष्यमा यो सत्य साबित भयो भने त्यो निश्चय पनि देश र जनताका लागि शुभ हुने छैन ।

 प्रकाशित मिति: २०७४/६/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना