स्याउ खेतीमा उदाहरणीय सोक्सी

ramakant sharma_1रमाकान्त शर्मा

 

 

हुन त उनलाई बाबुआमाले राखिदिएको नाम पाल्देन छेदिङ गुरुङ हो, गाउँलेले उनलाई सोक्सी भनेर चिन्छन् । अहिले उनले अहिले झण्डै झण्डै मनाङे स्याउको पर्यायका रूपमा पनि आफ्नो परिचय बनाइसकेका छन् । उनले स्याउ फार्म बनाउनुभन्दा पहिला मनाङमा निकै सीमित मात्रामा स्थानीय जातको स्याउ पाइन्थ्यो । जुम्ला र डोल्पाको स्याउ नेपालगञ्जमा, मुस्ताङको स्याउ पोखरामा जसरी प्रख्यात छ त्यसरी मनाङको स्याउले कुनै स्थानमा ख्याति कमाउन सकेको थिएन । अहिले भने सोक्सीको मनाङको भ्राताङको स्याउ बगानबाट निस्केको स्याउले काठमाडाँैलगायत विभिन्न स्थानमा ख्याति कमाउन थालिसकेको छ ।
फेरिएको परिचय
मनाङ हिमाली जिल्ला भए पनि स्याउ उत्पादन हुने जिल्लाको रूपमा विगतमा चिनिएको जिल्ला होइन । अहिले यिनै सोक्सीको कारण मनाङ स्याउ उत्पादन हुने जिल्लाको रूपमा चिनिन सफल भएको छ । जिल्लाबाट दशैँमा तल झर्ने जोसुकै कर्मचारीले पनि उनको बगानबाट एक कार्टुन स्याउ लैजान भुल्दैनन् । न त माथिल्लो मनाङदेखि तल झर्ने जोसुकैले पनि उनको बगैचाबाट स्याउ लिन बिर्सिन्छन् । ऊनको स्याउ बगैँचामा पस्ने र बस्ने जोसुकै पनि उनको बगैँचाको गोल्डेन, फुजी, गाला जातको स्याउको स्वाद लिन लालायित हुन्छन् ।
सोक्सी र उनको स्याउबारीको आफ्नै कथा छ । माथिल्लो मनाङमा खेती योग्य जमिन कम, अधिकांश समय जमिन हिउँले ढाक्ने, बाली पाक्न ढिला हुने कारणले पनि मानाङवासी व्यापार व्यवसायमा लाग्नुपर्ने बाध्यता थियो । परापूर्व कालदेखि नै मनाङवासीले तिब्बतबाट आउने नुन, उनका स्थानीय उत्पादन, जडीबुटी लिएर जाडो छल्न मध्य पहाडी र मधेश क्षेत्रमा झर्ने र अन्नबाली तथा नगद लिएर फर्कने परम्परा नै बसेको थियो । एक किसिमले भन्नुपर्दा मनाङवासीलाई बाध्यताले व्यापार व्यवसाय सिकायो । राजा महेन्द्रका पालामा मनाङको समस्यालाई बुझी त्यहाँका स्थानीयलाई वैदेशिक व्यापारको सहुलियत दिइयो । यस सुविधाले गर्दा मनाङवासीले वैदेशिक व्यापारको पनि अनुभव प्राप्त गर्ने मौका पाए । सोक्सीका बाबु पनि यसै क्रममा व्यापार व्यवसाय गर्न काठमाडौँमा पुगे । आफूले औपचारिक शिक्षा लिने मौका नपाए पनि सोक्सीका बाबुको चाहना थियो छोरालाई माथिल्लो स्तरको शिक्षा दिने । बाबुले राम्रो शिक्षा दिन सोक्सीलाई दार्जलिङ पठाए । माध्यमिक शिक्षा परीक्षामा राम्रो गरेका सोक्सीले प्रमाणपत्र तहमा विज्ञान सङ्कायतर्फ बायलोजी विषय लिएर पढ्न सुरु गरे । बाबुको व्यवसायमा सहयोग गर्नुपर्ने बाध्यता, त्यसै समयमा विवाह हुनु आदि कारणले विज्ञान पढ्न छाडी मानविकी विषयमा भर्ना भए तर पनि व्यवसायको व्यस्तताले गर्दा उच्च शिक्षा भने लिन सकेनन् । सोक्सीका बाबुले उनलाई पटकपटक भनेको मैले माथिल्लो शिक्षा लिन नपाएको कारणले आफू जन्मेको माटो र स्थानलाई सहयोग गर्न सकिन, तिमीहरूले माथिल्लो शिक्षा लिएर मनाङको सेवा गर्नुपर्छ ।
माटोको आवाज
काठमाडाँैमा जग्गाको कारोबार गर्नेहरू रातारात करोडपति भएको सबैले देखेकै कुरा हो । सोक्सीको पनि जग्गा व्यवसायबाट राम्रै कमाइ भएको थियो र उनको काठमाडाँैमा होटल व्यवसाय पनि थियो । उनी भने मनाङको हावापानी अनुकूल हुने स्याउ खेती गर्न हौँसिए, सम्भवतः मनाङको माटोले उनलाई यसैका लागि बोलायो । मनाङ तथा भ्रताङमा करौडौँ लगानी गरेर स्याउ खेती गर्दा उनका आफन्तले उनलाई मुर्ख पनि भन्न भ्याएका थिए । उनी आत्तिएनन् बरु सरकारले गर्न नसकेको सरकारको जिम्माको काम पनि गर्छु भनेर कस्सिएका छन् ।
मनाङसेवा समाजको स्वामित्वमा रहेको र मनाङमस्र्याङ्दी क्लवलाई आय आर्जन दिइएको भ्रताङको केही जग्गामा स्याउ खेतीका लागि उनले सोच बनाए । त्यहाँ रोपिएका स्थानीय जातका स्याउका बोटहरू भए पनि धेरै उत्पादन दिने खालका थिएनन् । उनले लिनु भन्दा पहिलो त्यो जमिन दुई लाख रुपियाँको वार्षिक लिजमा लिएको अवस्था थियो । मनाङ समाजले जमिनको टेण्डर गर्दा उनले वार्षिक ५७ लाखमा कोटेसन हालेका थिए जुन अर्को प्रतिस्पर्धी कोटेशनको तुलनामा निकै बढी थियो, स्वाभाविक रूपामा उनले सो जग्गा हात पारे ।
स्याउ खेतीको भूत
स्याउ खेतीको भूत चढेपछि सोक्सीले स्याउबारे राम्रै अनुसन्धान गरे । कुन जातको स्याउ कति उचाइमा
हुन्छ ? मनाङको हावापानीमा कुन स्याउ बढी उत्पादनमूलक हुन्छ भनेर अध्ययन गर्न मात्र तीन वर्ष बिताए, त्यो पनि इटली जर्मनलगायतका विभिन्न देशमा आफैँ पुगे तथा छोरासहितको टोलीलाई खटाए । अध्ययन थालेको तीन वर्षपछि मात्र पहिलो खेप विरुवा इटली र सर्वियाबाट झिकाइयो । उनले पहिलो वर्ष सर्वियाबाट ३० हजार र इटालीबाट ४० हजार विरुवा मगाए । हरेक वर्ष विरुवा रोप्ने समयमा थप बिरुवाहरू विदेशबाट झिकाउने गर्छन् ।
थोरै जमिनमा धेरै उत्पादन गर्ने उनको जस्तो प्रविधि नेपालमा पहिलो हो । नेपालमा मात्र होइन यस्तो प्रविधिको स्याउ फार्म दक्षिण एसियाकै ठूलो पनि हो । उनले भारतको कास्मीर र विभिन्न देशमा स्याउ फार्म पनि हेरेका छन्, त्यहाँ पनि त्यति ठूलो व्यवस्थित फार्म नभएको उनले पाए ।
मनाङको स्याउ खेतीमा उनले इटालियन प्रविधिकको सहयोग पनि लिएका छन् । ती प्राविधिकले गत वर्ष एकपटक उनको स्याउ फार्ममा आएर बिरुवाहरूको अवलोकन गरी आवश्यक सल्लाह दिएर फर्किए । यस वर्ष पनि ती प्राविधिक आउँछन् । सोक्सीको अनुभवमा इटलियन प्राविधिक निकै खर्चिला छन् । आउने जाने भाडा, दैनिक भत्ता गर्दा निकै खर्चिलो हुन्छ । अर्काे वर्षदेखि ती प्राविधिकलाई परामर्शको रकम त बुझाउनुपर्छ नै तर उनी नेपाल आउने छैनन् । इन्टरनेटको माध्यमबाट सल्लाह दिने छन् ।
२१ किलो स्याउको सपना
२०७२ सालमा रोपिएका स्याउका बिरुवाबाट २० हजार किलो स्याउ उत्पादन भयो । दोस्रो वर्ष २०७३ सालमा एक लाख ४७ हजार किलो उत्पादन गरे । यस वर्ष उनले चार लाखदेखि साढे चार लाख किलो उत्पादन हुने अनुमान गरेका छन् । यस्तै आउँदो पाँच वर्षभित्र उनको फार्मबाट २१ लाख किलो स्याउ उत्पादन हुने अनुमान गरिएको छ । स्याउ भण्डारण (स्टोरेज) का लागि काठमाडाँै, बेसीशहर, र भ्रताङमा गरी तीन स्थानमा कोल्ड स्टोरहरू बनाइसकेका छन् । स्याउ फार्म नजिकै अर्को ठूलो क्षमताको कोल्डस्टोर पनि बनाउने योजनामा छन् ।
विदेशबाट बिरुवा ल्याएपछि सोक्सीले ती विरुवा आफ्नो बगैँचामा मात्र सीमित राखेनन् । तल्लो मनाङदेखि माथिल्लो मनाङका इच्छुक धेरै किसानलाई प्रविधि सिकाए र बिरुवा दिए । उनका अनुसार बिरुवा लगाएर मात्र हँुदैन, मिहिनेत चाहिन्छ, ‘जसले विरुवा राम्रो स्याहार गरेको छ, उसले राम्रो उत्पादन गरेको छ जसले बिरुवा लग्योे मिहिनेत गरेन उत्पादन गर्न सकेको छैन । हुन त उनको प्रविधि हेर्न नेपालका स्याउ उत्पादन हुने विभिन्न जिल्लाका किसान आएका छन् र बिरुवा लगेका छन् सहयोग लिएका छन् । यसै वर्ष मात्र जुम्लामा एक किसानले चार हजार बिरुवा उनी मार्फत् खरीद गरी लगेका छन् । उनले आगामी वर्षदेखि राम्रो स्याउ उत्पादन गर्ने मनाङका किसालाई डेढ लाख रुपियाँसम्मको पुरस्कार दिने योजना सार्वजनिक गरेका छन् ।
समस्या सडकको
सोक्सीका लागि मुख्य चुनौती भनेको ढुवानी खर्च तथा सडक यातायात नै भएको छ । बेशीशहरदेखि उनको स्याउ फार्मसम्मको कमसल स्तरको र साँघुरो बाटो उनका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ । चीनको खासाबाट काठमाडाँै चल्ने कन्टेनरमा काठमाडाँैबाट बेशीशहर सामान पु¥याउँदा झण्डै १८० किलोमिटर दुरीको भाडा १८ हजारदेखि २० हजार रुपियाँ लाग्छ भने त्यति नै परिमाणको सामान बेशिशहरदेखि उनको भ्राताङस्थित स्याउ फार्मसम्म एक लाख २० हजार रुपियाँ अर्थात् छ गुणा बढी भाडा लाग्छ । यसबाट समग्रमा मनाङे स्याउ काठमाडाँैं लगायतका मुख्य बजारमा पुगिसक्दा भाउ आकाशिएको हुन्छ । परिणामस्वरूप जति गुणस्तरीय भए पनि भारतीय तथा चिनियाँ स्याउसँगको मूल्य प्रतिस्पर्धामा मनाङे स्याउ पछाडि पर्नुपर्छ ।
अबको सपना
हुन त उनले गरे के हँुदैन भन्ने नमुना देखाउन आफ्नो स्याउबारीको कम्पाउण्डमा नै कन्फ्रेन्स हलसहितको आधुनिक सुविधा सम्पन्न होटल पनि निर्माण गरी सकेका छन् । यसबाट उनले मनाङको कृषि अझ विशेष गरेर फलफूल पर्यटनलाई टेवा पुग्ने धारणा बनाएका छन् । यतिमात्र होइन, उनी आफ्नै लगानीमा नेपालका स्याउ उत्पादन हुने गाउँपालिका र नगरपालिकाका कम्तीमा दुई जनाका दरले स्याउ उत्पादनसम्बन्धी तालिम दिने योजनालाई मूर्तरूप दिने प्रयासमा छन् । स्याउको फूल लाग्दा र फल टिप्दा त्यो तालिम दिन सकिए मुलुकभरि स्याउ उत्पादनका स्थानमा निकै सकारात्मक प्रभाव पर्नुका साथै नेपाल स्याउमा आत्मनिर्भर हुनसक्ने विश्वास उनको छ ।

  प्रकाशित मिति: २०७४/६/२१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना