सुपा देउराली : पर्यटकीय गन्तव्य

bhesh raj belbaseभेषराज बेल्बासे

 

अहिले आर्थिक पारदर्शिताको प्रश्न धेरै ठाउँमा उठ्ने गर्छ तर अर्घाखाँचीको सीतापुरमा रहेको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिरको र त्यसको व्यवस्थापकीय गतिविधि भने निकै भिन्न हिसाबले अगाडि बढेको छ ।
मन्दिरको भेटीबाटै यस क्षेत्रका दुईवटा विद्यालयमा झण्डै नौ जना शिक्षकले तलब र सुविधा पुगेको छ । खाँचीकोटमा रहेको आदर्श माध्यमिक विद्यालयमा चार जना र सीतापुरमा रहेको शान्ति निमाविमा पाँच जना शिक्षकलाई मन्दिरकै आम्दानीबाट नियमित तलब खुवाइएको मन्दिर सञ्चालक समितिका अध्यक्ष प्रितमबहादुर थापा बताउनुहुन्छ । मन्दिरको पालैपालो एक महिनाको कमाइ शान्ति निमावि सीतापुर र अर्को महिनाको कमाइ आदर्श मावि खाँचीकोटमा जाने गर्छ । मुलुकका ठूला, प्रतिष्ठित र नाम चलेका मन्दिरमा भक्तजनले चढाएको भेटीको पारदर्शीतामाथि प्रश्नचिह्न उठिरहेको बेला यो मन्दिरले भने भेटीमार्फत पु¥याएको सामाजिक योगदानले मन्दिरको लोकप्रियता झनै उँचो बनाएको छ । राज्यमात्र नभई दातृ निकायलाई नै चुनौती दिने गरी गरिएको उक्त कामबाहेक अन्य सामाजिक सेवामा समेत हात हाल्ने मनस्थितिमा छ समिति । विद्या आर्जन त्यो पनि ग्रामीण तथा विकट क्षेत्रको लागि अहिले सरकारले मात्र होइन दातृ निकायले समेत पैसा खन्याउन थालेका छन् तर करिब साढे दुई दशकदेखि मन्दिरले सो काम शुरु गर्दा अवस्था त्यस्तो थिएन ।
सामाजिक सेवाका कार्यमा समेत हात हालेर जनतालाई ठूलै राहत पु¥याएको सो मन्दिरमा चढाइएको भेटीबाट मात्रै अहिले दैनिक दुई हजार पाँच सयदेखि १० हजारसम्म आम्दानी हुने गरेको छ भने गत वर्ष ६० लाख रुपियाँ आम्दानी भएको छ । मन्दिरलाई अझ व्यवस्थित र पर्यटकीय क्षेत्र बनाउन सके आम्दानी बढाउन सकिने सम्भावना छ । मन्दिरको कमाइको ७५ प्रतिशत रकम ती विद्यालयमा जान्छ भने २५ प्रतिशत रकमले मन्दिरमा पूजाआजा, व्यवस्थापकीय र समाजसेवामा खर्च हुन्छ । समाजसेवामा गरिबलाई आर्थिक सहयोग, छात्रवृत्ति तथा वृद्धवृद्धालाई सहयोग गर्ने गरिएको छ भने सीतापुर खाँचीकोटमा खानेपानीदेखि सडक विस्तारसम्मका लागि मन्दिरको आम्दानी लगाइएको छ । पुजारीबाहेक मन्दिरमा दैनिक व्यवस्थापन समितिका दुई जना, सहयोगी पाँच जना र एक जना चौकीदार छन् । टाढा–टाढाबाट त्यहाँ आउने भक्तजनका लागि बस्ने व्यवस्थाका लागि मन्दिर व्यवस्थापन समितिले मन्दिर नजिकै धर्मशाला बनाउने निर्णय गरेको छ । आवश्यक रकम जुट्न नसक्दा काम शुरु हुन सकेको छैन । धर्मशाला निर्माण भए हुने र त्यसले मन्दिरमा आउने भक्तजनको सङ्ख्या अझै बढ्ने व्यवस्थापनको अपेक्षा छ ।
देशमा रहेका दुर्लभ देवी देउराली स्थलमध्येको सो धार्मिकस्थल झण्डै ४,५०० फिटको उचाइमा अर्घाखाँचीको मध्य भागमा अवस्थित छ । सन्धिखर्क–गोरुसिङ्गे राजमार्गमा आवतजावत गर्ने धर्मात्माको इच्छा पूरा गराइदिने सुपा देउराली स्थानीय क्षेत्रमा आस्थाको प्रतीक मानिन्छ । सुपाखोलाको पश्चिमतर्फ नरपानी र फलामे दुई अग्ला महाभारतको बीचमा रहेको खोचमा अवस्थित छ यो मन्दिर । सयौँ फिट माथिबाट मन्दिरको पूर्वमा खस्ने झरना र खोलाको छङ्गछङ्ग अवाजले त्यहाँबाट आवतजावत गर्ने यात्रुको मन लोभ्याउँछ । मन्दिर परिसरबाट हिमाल, पहाड र तराई क्षेत्र एकैसाथ देख्न सकिने भएकाले पर्यटकीय दृष्टिले सो मन्दिरको छुट्टै महŒव छ । दुरबीनबाट हेर्दा काठमाडौँको केही भाग तथा भारतको गोरखपुरलगायतका शहर देख्न सकिन्छ । तराईको सिरसिरे हावा यही सुपाको छेँडो भएर निरन्तर हिमालतर्फ बतासिने भएकाले यो मन्दिर सदाबहार उच्च शिखर मानिन्छ ।
मन्दिरका कारण अर्घाखाँचीमा आन्तरिक पर्यटन बिस्तारै बढ्दै गएको छ । यातायातको सुविधा नहुँदा केही दशकअगाडिसम्म गाउँ–गाउँबाट मन्दिर जान समस्या हुने गरेको भए पनि अहिले त्यस्तो छैन । जिल्लाको जुनुसुकै गाविसबाट केही घन्टामै मन्दिर पुग्न सकिन्छ । केही वर्षअगाडि नै जिल्लाका सबै गाविसमा मोटरबाटो पुगेको छ । कपिलवस्तुको गोरुसिङ्गेबाट सन्धिखर्क जाने बाटोमा पर्ने सुपा देउराली आसपासका जिल्लाका आन्तरिक पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गरेको छ । सन्धिखर्क–गोरुसिङ्गे खण्डको सडक छेउमा रहेको सो मन्दिर अगाडिबाट दिनहुँ तीन दर्जनभन्दा बढी यात्रुबाहक तथा मालबाहक सवारीसाधन गुड्ने गर्छन्, जसमा हजारौँ भक्तजनले दर्शन गर्छन् । मन्दिरको उत्पत्तिबारे यकिन तिथिमिति भेट्न नसकिए पनि सुपा देउराली देवीको व्यवस्थित मन्दिर २०४२ सालमा बनेको समितिको भनाइ छ । मन्दिरमा खस्ने धाराको पानी अचाएर घण्ट बजाउँदै मन्दिर परिक्रमा गर्दा शरीरमा उच्छवास सञ्चार हुने सुपा देउराली देवीको अपार दैवी शक्ति रहेको मानिन्छ । पक्की बाटोको छेउ तथा भयानक छाँगाको शिरमै मन्दिर अडिएको हेर्ने सबैलाई चमत्कार लाग्छ ।
हप्ताको प्रत्येक शनिवार भाकल गरिएका बलि चढ्ने सुपा देउराली मन्दिर एकादशी, औँसी र पूर्णिमाबाहेक सबै समयमा भाकल चढाउन खुला रहन्छ । पिउने पानी, यात्रु आश्रयको लागि विश्रामस्थलसमेत भएको मन्दिरलाई इच्छाशक्ति पूरा गराइदिने देवी शक्ति केन्द्रका रूपमा मानिँदै आइएको छ ।
सुपा देउरालीको उत्पत्ति
अर्घाखाँची जिल्लामै ग्रामीण पर्यटनले गर्दा आजभोलि दिनदिनै झनै महŒव बढ्दै गएको सुपा देउरालीलाई धार्मिक आस्थामा रहेका जिल्लाबासीले सर्वोपरि ठान्छन् । दुःख परेको बेला भाकल गर्ने र भाकल पूरा भएपछि आफूले भनेको कुरा सुपा देउरालीलाई चढाउने परम्परा रहँदै छ । नेपाल एकीकरण हुनुभन्दा पहिले भुरे टाकुरे राजाको पालादेखि नै सुपा देउरालीको महŒव थियो भन्ने गरिन्छ । जुनकुरा अर्घाखाँची वरपरका बस्तीमा गरिने किंवदन्तीबाट थाहा पाउन सकिन्छ । सुपा देउरालीको भावनामा स्थापना गरिएका अधिकांश पहाडको देउरालीमा राखिएको सुपा देउराली देवीको प्रतीमा र देउराली पार गर्ने मानिसले चढाउने फूलपातीले अर्घाखाँचीका मानिस सुपा देउरालीसँग भावनात्मक सम्बन्ध नै गाँसेका छन् ।
सुपा देउरालीको उत्पत्तिबारे रोचक प्रसङ्ग छ । बाइसे–चौबीसे राजाको पालामा खाँचीकोटका राजकुमार र भारत वलरामपुरको राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्ने कुराको निर्णय भएछ । विवाहको लगनको दिन वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दुलही लिएर अर्घाखाँची फर्कने बेला बाटोमा जन्तीलाई भोज खुवाउने कार्यक्रम भएछ । भोजखाने क्रममा जन्तीबाट खाँचीकोटका राजाले झुक्याएर विवाह गरेका र दुलहीतर्फको जातको प्रसङ्ग निकाल्दा जन्ती बीचमै विवाद उत्पन्न भएछ ।
भोजमा जे–जस्तो विवाद भए पनि दुलही खाँचीकोटसम्म पु¥याउनुपर्ने हुँदा जन्ती बाटो लागेछन् । बाटोमा दुलही बोकेको तामदानबाट रगतको थोपा चुहिन थालेछ । जन्तीहरू आत्तिएर तामदानमा हेर्दा दुलही मृत अवस्थामा रहेको देखेछन् । दुलही नै मृत अवस्थामा देखेपछि सबै जन्ती शोकाकुल हुन पुगे । दुलहीको मृत्युको शोकले खाँचीकोट शोकमग्न हुन पुगेछ ।
भोलिपल्टबाट गाउँमा रोगव्याधी उत्पन्न हुन थालेछ । कसैको गाई मर्ने, कसैको भैँसी मर्ने र गाउँघरमा मानिसको मृत्यु हुन थालेछ । सबै मानिस आत्तिन थालेछन् । गाउँका धामी, झाँक्री र जोखाना हेर्ने जैशीको समेत खैलाबैला भएछ । त्यसैबेला एक जना खनाल थर भएका झाँक्रीले विवाह गरेर ल्याएको राजकुमारी देवीको स्वरूप सुपा देउरालीमा उत्पन्न भएकोले उनको पूजाआजा नगर्दासम्म गाउँमा यस्तै भइरहने बताएछन् । त्यसपछि गाउँलेहरू दुलही लिएर जाँदा तामदानबाट रगतको थोपा झरेको स्थान सुपाखोलाको पश्चिम नरपानी र फलामे अग्लो महाभारत पर्वतको बीच भन्ज्याङमा आएर सुपा देउरालीको प्रतीमा राखी पूजाआजा चलाउन थालेछन् ।
अनौठो दृश्य सुपा देउरालीमा
किंवदन्तिअनुसार आजभन्दा कैयौँ वर्ष अगाडिको कुरा हो एक जना व्यक्तिले रोजगारीका क्रममा भारत जाँदा मन्दिर अगाडि पुगेर हात जोरी बिन्ती गरेछ– ‘हे सुपाकी माई मलाई फौजीमा जागिर मिलाइदेउ यसको बदलामा मैले तिम्रो लागि बाख्राको पाठी चढाउनेछु । ’ यति भनेर भारत छिरेको उसले तत्काल फौजीमै जागिर पाएछ । जागिर पाएपछि उसले देवीका अगाडि गरेको कुरा बिर्सेछ । तीन पटकसम्म मन्दिर अगाडिबाटै ओहोरदोहोर गरेपछि चौथो पटक मन्दिर अगाडिबाटै हिँड्न लाग्दा देवी रिसाएर ढुङ्गे पहरामा उसलाई टाँसेकी हुन् भन्ने विश्वास गरिन्छ । झट्ट सुन्दा यो कुरा अन्धविश्वास जस्तो लागे पनि यसलाई पुष्टि गर्ने आधार ढुङ्गे पहरामा मानिसको छाँया प्रष्टै देखिन्छ ।
नरनारायण बाबाको योगदान
वैशाखे पूर्णिमामा पूजा गरिने स्थानमा २०४० सालमा जिल्लाका बाबुराम रायमाझीले सामान्य मन्दिर बनाएपछि त्यसै मन्दिर संरक्षणका लागि समिति बनेको थियो । त्यसबेलादेखि दैनिक पूजाआजा शुरु भएको मन्दिरलाई पछि पुनःनिर्माण गरिएको थियो । यसमा अर्घाखाँची निवासी स्व. श्रीनरनारायण बाबाले महŒवपूर्ण सहयोग गर्नुभएको थियो । बाबा आश्रम सेवा संस्था माता तीर्थका संस्थापकसमेत रहेका स्व. नरनारायण बाबाको सक्रियतामा करिब डेढ वर्षअघि एक करोड रुपियाँको लागतमा पुनःनिर्माण सम्पन्न भएको सुपा देउराली मन्दिरको चहलपहल झनै बढेको हो । जस्ता पाताले छाएको सामान्य मन्दिरलाई पुनःनिर्माणका लागि राजधानीबाटै लगिएका कालिगढमार्फत अत्याधुनिक स्वरूपमा निर्माण गरिएको छ अहिले सुपा देउराली मन्दिर । बाबाकै सक्रियतामा काठमाडौँ मातातीर्थस्थित श्रीस्वस्थानी पूर्णमस्ता माताको मन्दिर र श्रीत्रिपुरेश्वर महादेवको मन्दिर, नेपालगञ्जस्थित पार्वती मन्दिर, अर्घाखाँचीमा अकल्पेश्वरी थानेदेवी र महादेवको मन्दिरसमेत निर्माण भइसकेका छन् । अर्घाखाँचीमै जन्मेका बाबाको परिकल्पनामा नेपाली धार्मिक, अध्यात्मिक तथा नैतिक जागरण ल्याई राष्ट्रिय एवं मानवीय हित प्रवद्र्धन गर्न र सामाजिक उत्थान गर्न सो आश्रम सञ्चालनमा आएको हो ।
बञ्जिजम्प, प्याराग्लाइडिङ र क्यानोनिङको सम्भावना ः
निरन्तर पानी बगिरहने छहरामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडासम्म पुग्ने साहसिक खेल अर्थात् क्यानोनिङ, डोरीको सहायताले एकैपटक तल खोलामा हाम फाल्ने बञ्जिजम्प र पहाडको टुप्पोबाट चरा जस्तै उडेर दृश्यावलोकन गर्ने अवसर सुपा देउराली पुगेपछि प्राप्त हुने भएको छ । धेरै कौतुहलता, साहस सँगसँगै डर र रोमाञ्चकले भरिएका साहसिक पर्यटनका यी गतिविधिले धार्मिक महŒव बोकेको सुपा देउराली अब पर्यटकीय गन्तव्यमा परिणत हुने भएको छ । सुपा देउराली मन्दिर र यसको पेरिफेरिको क्षेत्र यस्तो बन्ने भयो जहाँ तीनवटै साहसिक खेल पर्यटनका लागि उपयुक्त स्थान बन्ने भएको छ ।
पछिल्लो समयमा पर्यटन सुपा देउराली वरपर रहेको भौगोलिक क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि बञ्जिजम्प, प्याराग्लाइडिङ र क्यानोनिङको सम्भावना उत्तिकै देखिएको छ । देउराली मन्दिर पछाडि रहेका झरनामा क्यानोनिङ, मन्दिर नजिकै सीतखोलाको दुई छेउमा रहेका पहाडमा बञ्जिजम्प तथा मन्दिरभन्दा माथि डाँडामा प्याराग्लाइडिङको सम्भावना देखिएको अध्यक्ष थापा बताउनुहुन्छ ।
निकट भविष्यमै अर्घाखाँचीमा पर्यटक भिœयाउन तथा रोजागारीको अवसर सिर्जना गर्न सुपा देउरालीमा बञ्जिजम्प बन्न लागेको छ भने क्यानोनिङ र प्याराग्लाइडिङको अध्ययन भइरहेको छ ।

  प्रकाशित मिति: २०७४/६/२१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना