ब्रह्माण्डीय रहस्य खोतल्ने वैदिक वैज्ञानिक

kamal rijalकमल रिजाल

 

वैदिक मन्त्रद्रष्टा ऋषिमण्डलीमा महर्षि मधुच्छन्दा बिर्सनै नसकिने नाम हो । यसो त उनी पौराणिक ग्रन्थमा पनि प्रायः सुनिने गर्छन् । तथापि पौराणिक ग्रन्थमा भन्दा वैदिक ग्रन्थमा नै उनी बढी खुलेका छन् । खासगरी ऋग्वेद प्रथम मण्डलको एकदेखि १० सम्मका सूक्त उनैद्वारा दृष्ट सूक्त मानिन्छ । संसारमा सर्वप्रथम इन्द्र (जलतत्वको अधिष्ठान), अग्नि (तेजतŒवको प्रतिनिधि), वायु (प्राणतŒव), अश्विनिकुमार
(अकाशतŒवको अधिष्ठान) र मरुद्गण आदि पञ्चमहाभूतको क्षेत्र, गुण, धर्म तथा विशेषता बोध गराउन सक्षम मानिएका यी सूक्तमा कुल १०२ वटा मन्त्र छन् । यसबाहेक ऋग्वेद नवौमण्डलको प्रथम सूक्त पनि उनै मधुच्छन्दाद्वारा साक्षात्कार भएको सूक्त मानिन्छ । पवमान सोम (समग्र ओषधि अर्थात् वनस्पति जगत्को अधिष्ठान) को प्रशस्तिमा गाइएको यस सूक्तमा कुल १० वटा मन्त्र छन् ।
परम योगी, ज्ञानी, ध्यानी गुणी र विवेकी आदि अनेक विशेषणले युक्त महर्षि मधुच्छन्दाले दीर्घ साधनापश्चात् प्राप्त गरेका उपरोक्त ऋग्वेदीय मन्त्र आध्यात्मिक ज्ञानका दृष्टिले जुन उचाइमा रहेका छन्, भौतिक विज्ञानका दृष्टिले पनि उत्तिकै उचाइमा रहेका देखिन्छन् । सर्वप्रथम उनले आफ्ना मन्त्रमा समग्र विश्व ब्रह्माण्डको मूल आधार मानिएका पञ्च महाभूतको उत्पत्ति र विकासक्रम पत्ता लगाई संसारलाई जति आश्चर्यचकित बनाएका थिए द्युलोक, अन्तरिक्षलोक र भूलोकको समग्र रहस्य प्रस्तुत गर्दै तिनमा विचरण गर्ने ग्रह, नक्षत्र तथा प्राणी समुदायका शक्ति, स्वभाव र विचरण क्षेत्रको चित्रण गरी तिनको अध्ययन, अनुसन्धानलाई त्यत्तिकै सहज बनाएका छन् । वस्तुतः उनले त्यतैबेलै द्यावा, भूमिका रहस्य र विशेषताबारे जे जति चर्चा गरेका थिए, तीमध्ये कतिलाई आधुनिक वैज्ञानिकहरू भरखरै आत्मसात् गर्दैछन् भने कतिलाई आत्मसात् गर्ने प्रयासमा देखिन्छन् । अझ कतिलाई त भन्न सकिन्न तत्सम्बन्धी चिन्तन शुरु हुन नै अरू कति समय पर्खनुपर्ने हो यसै भन्न सकिन्न ।
हाल आधुनिक वैज्ञानिकले वायवीय ऊर्जाको महŒवबोध गरी व्यावहारिक प्रयोगमा ल्याउने काम त गरेका छन् तर स्वयं वायुको स्वरूप कस्तो छ भन्नेबारे भने कसैले बताउन सकेका छैनन् र सम्भवतः सक्दा पनि सक्दैनन् । उता महर्षि मधुच्छन्दाले भने हजारौँ वर्षपूर्व नै तिनको विशेषता वर्णन गरेका मात्र छैनन् स्वरूप नै देखाउने काम गसिकेका छन् । (ऋग्वेद १ । ६ । ५ र ७) त्यस्तै आधुनिक वैज्ञानिकहरूले नवसिर्जना वा उन्नति, प्रगतिका लागि कम्पन (भाइब्रेसन) को ठूलो भूमिका हुन्छ भन्ने कुरा गर्न थालेका धेरै भएको छैन तर महर्षि मधुच्छन्दाले भने त्यतिबेलै यसको छिनोफानो गरिसकेका थिए, जतिबेला अनन्तमा वैदिक मन्त्रको खोजी हुँदै थियो । (ऋग्वेद १ । ६ । ४) त्यसैगरी, आधुनिक वैज्ञानिकहरूले द्यावा, भूमिका खर–खजानबारे चर्चा गर्न थालेका पनि धेरै भएको छैन तर महर्षि मधुच्छन्दाले भने यसबारे पनि हजारौँ वर्षपूर्व नै लालमोहर लगाएका मात्र छैनन्, तिनको आवश्यकता र औचित्यका साथै व्यावहारिक प्रयोगको मार्गदर्शन गरिसकेका छन् । (ऋग्वेद ऐ ऐ १०) यसबाहेक सूर्यको शक्ति र सामथ्र्यका साथै उनको उत्पत्ति तथा विकाससम्बन्धी सबै पक्षलाई सर्वप्रथम पत्ता लगाउने व्यक्ति पनि महर्षि मधुच्छन्दा नै देखिएका छन् । (ऋग्वेद १ । ७ । ३)
पौराणिक ग्रन्थमा उल्लेख भएनुसार महर्षि मधुच्छन्दाको विश्वामित्रका जेठा छोरा मानिन्छन् । विश्वामित्रका १०० भाइ छोरामध्ये अघिल्ला ५० भाई पितृ आज्ञाले म्लेच्छ जातिमा परिणत भएपछि उनी जेठा हुन पुगेका हुन् । हुन त विश्वामित्रले राजा हरिश्चन्द्रको यज्ञबाट बचाए ल्याएका शुनसेप नै विश्वामित्रका जेठा छोरा हुन् भन्ने अभिमत पनि भेटिन्छ । तथापि विश्वामित्रका वंशजका नाताले जेठा पुत्र भने मधुच्छन्दा नै हुन् । शुनसेप हरिश्चन्द्रको यज्ञमा विश्वामित्रका कारण प्राणदान पाएकाले मात्र उनका छोरा हुन पुगेका हुन् ।
वैदिक वैज्ञानिक महर्षि मधुच्छन्दाको वेद मन्त्र प्रकटीकरण सम्बन्धी महान् अभियानमा चारपुस्ताको योगदान भेटिन्छ । उनका बाबु विश्वामित्र त यसै पनि सिङ्गै मण्डलको द्रष्टा ऋषि मानिन्छन् । ऋग्वेदको तृतीय मण्डल उनकै मन्त्रहरूको सँगालो मानिएको छ । यसबाहेक ऋग्वेद प्रथम मण्डलको ११ औँ सूक्त मधुच्छन्दाका छोरा जेताद्वारा देखिएको सूक्त मानिन्छ । देवराज इन्द्रको प्रशस्तिमा गाइएको यस सूक्तमा कुल आठवटा मन्त्र छन्, जहाँ इन्द्रको पराक्रम र दानशीलतामाथि सम्यक प्रकाश पार्ने प्रयास भएका छन् । त्यस्तै ऋग्वेदकै १० औँ मण्डलको १९० औँ सूक्त जेताका पनि पुत्र अघमर्षणद्वारा देखिएको सूक्त मानिएको छ । खासगरी भाववृत्त अर्थात सद्भाव र सत्कर्मलाई इष्ट विषय मानी गाइएको यस सूक्तमा कुल तीनवटा मन्त्र छन् । ‘सूर्याचन्द्रमसौ धाता यथापूर्वमकल्पयत् । दिवं च पृथिवीं चान्तरिक्षमथो स्वः । ’ अर्थात् सूर्य, चन्द, आकाश, पृथ्वी, अन्तरिक्ष र स्वर्गलगायत समग्र संसारको. उत्पत्ति र कसरी हुन्छ भन्ने सम्बन्धमा सम्यक प्रकाश पार्ने काम गरेको यो सूक्त पनि आध्यात्मिक ज्ञानका दृष्टिले जति महŒवको देखिएको छ, भौतिक विज्ञानका दृष्टिले पनि उत्तिकै महŒवपूर्ण मानिएको छ । यस सूक्तले सृष्टि प्रक्रियालाई नयाँ सिर्जना नभई पुनः प्रकटीकरण मात्र हो भनेको छ । विधाताले अखिल विश्व ब्रह्माण्डलाई पूर्व कल्पअनुसार प्रकट गर्छन् भन्ने उसको मान्यता छ । यसबाहेक ऋग्वेदमा मधुच्छन्दाका धर्मले भाइ हुन आइपुगेका शुनसेपद्वारा साक्षात्कार भएका सूक्तहरू पनि प्रशस्तै छन् ।
समग्र वेद र वेदान्तमा पारङ्गत मानिएका यी महर्षि कुशल गृहस्थीका साथै याज्ञिकसमेत देखिएका छन् । मनुपुत्र शर्यातिको त उनी कुलगुरु नै मानिन्छन् । उनले आफ्नै नेतृत्वमा दिग्विजय गरी राजा शर्यातिलाई तत्कालीन भूगोलको चक्तवर्ती सम्राट त यसै पनि बनाएकै छन् साथसाथै प्रणदान दिएर दीर्घजीवी र थप यशस्वी बनाउने कामसमेत गरेका छन् । उनी जति शक्तिशाली थिए, त्यति नै सहनशील र क्षमाशील पनि देखिएका छन् । एकपटक परिवन्दवश राजा शर्यातिका मूर्खताको कारण उनको पत्नीको ज्यान गएको थियो । तैपनि उनले विरोधमा एक शब्द बोलेनन् । उनमा यस किसिमको धैर्य र सहनशीलता देखेर राजा शर्याति निकै खिन्न भए र प्रायश्चित्त रूप आफ्नै प्राण दिएर भए पनि गुरुपत्नीलाई बचाएका थिए । मधुच्छन्दा पनि के कम थिए र । यसको ऋण चुक्ता गर्न उनले पनि तत्कालै योगबलले सौर्य शक्ति जगाएर राजालाई पुनर्जिवित गरिदिएका थिए । यस पौराणिक कथामा के कति सत्यता छ त्यो व्यासजी नै जानून् तर यसले मधुच्छन्दाको शक्ति, सामथ्र्य, धैर्य र सहनशीलताको भने राम्रै दिग्दर्शन गरेको छ ।
सदैव परहित र परोपकारमै समर्पित हुँदै आएका महर्षि मधुच्छन्दाका भाइ धनञ्जय पनि उनी जत्तिकै सामथ्र्यशाली थिए । राजर्षि धनञ्जयको नामले परिचित यी ऋषिलाई वर्तमान मन्वन्तरको सत्रौ द्वापरका व्याससमेत भनिएको छ । व्याकरण शास्त्री पाणिनिका समेत पूर्वज मानिएका राजर्षि धनञ्जय गोत्रप्रवर्तक ऋषिमा पनि पर्छन् । अहिले पनि गुरागाईं, हुमागाईं, वस्याल, रिजाल आदि दर्जनौँ थरपरिवारले आफूलाई धनञ्जय गोत्रीय मान्दै आएका छन् । धनञ्जय गोत्रीय परिवारका प्रवरभित्र मधुच्छन्दाको समेत नाम आउँछ । यसबाट महर्षि मधुच्छन्दाको सामाजिक देन र प्रभावबारे पनि केही अनुमान लगाउन सकिन्छ । सम्प्रति मधुच्छन्दाको भौतिक शरीर त हामी माझ छैन तर उनको आध्यात्मिक स्वरूप भने ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम’ को मान्यताभित्र अहिले पनि सुरक्षित रहँदै आएको छ ।

  प्रकाशित मिति: २०७४/६/२२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना