वाम गठबन्धन: कार्यदलले सके आधा काम

लक्की चौधरी

 

काठमाडौँ, असोज २३ गते । वाम गठबन्धनअन्तर्गत बनाइएका दुई कार्यदलले करिब आधा काम सकेका छन् । वाम गठबन्धन गरेका तीन दल नेकपा (एमाले), नेकपा माओवादी (केन्द्र) र नयाँ शक्तिले उम्मेदवारका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न एउटा र चुनावी घोषणापत्र लेख्न अर्को गरी दुईवटा कार्यदल गठन गरेका थिए ।
साझा चुनावी घोषणापत्र निर्माण गर्ने समितिका संयोजक वामदेव गौतमले घोषणापत्र मस्यौदा करिब ५० प्रतिशत सकिएको बताउनुभयो । दुई भागमा प्रारम्भिक घोषणापत्रको मस्यौदा निर्माण गर्ने मुख्य जिम्मेवारी एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाउनुभएको छ । संयोजक गौतमका अनुसार ज्ञवालीलाई कार्यक्रमिक भागको मस्यौदा गर्ने जिम्मेवारी दिइएको छ भने नेता श्रेष्ठलाई सैद्धान्तिक भागको मस्यौदा गर्ने जिम्मेवारी दिइएको छ । kp prachanda and baburam
दुवै नेताले मोटामोटी घोषणापत्रको मस्यौदा निर्माण गरेर समितिमा बुझाएपछि मस्यौदालाई प्रमुख तीन दलका शीर्ष नेतासँगको परामर्शका आधारमा अन्तिम रूप दिने तयारी भएको संयोजक गौतमले बताउनुभयो । अबको तीन दिनभित्र घोषणापत्रको अन्तिम रूप तयार भइसक्ने उहाँले जानकारी दिनुभयो । आगामी निर्वाचनमा तीनवटै दलको धारणा समेटिने गरी साझा घोषणापत्र निर्माण हुने उहाँले बताउनुभयो ।
त्यस्तै क्षेत्र निर्धारण कार्यदलका संयोजक ईश्वर पोखरेलले तीनचार चरणको बैठक बसेर गृहकार्यको काम अगाडि बढाइएको बताउनुभयो । “गृहकार्यको करिब धेरै काम भइसकेको छ । तीनवटै दलका शीर्ष नेतासँगको आपसी परामर्शमा त्यसलाई अन्तिम रूप दिन्छौँ”, पोखरेलले भन्नुभयो । दुईतीन दिनभित्र कार्यदलले काम सम्पन्न गर्ने पोखरेलले बताउनुभयो ।
संयोजक पोखरेलले क्षेत्र निर्धारण गर्दा २०६४ र २०७० सालमा भएको संविधान सभा निर्वाचन तथा स्थानीय तहको निर्वाचन परिणामलाई मुख्य आधार बनाइने बताउनुभयो । सोही आधारमा गठबन्धनका तीन दल र अन्य तालमेल हुने दलसँग सिट सङ्ख्या विभाजन गरिने उहाँले जानकारी दिनुभयो । दलले पाएको मतसङ्ख्या तथा व्यक्तिको लोकप्रियतालाई समेत सिट वितरणको आधार बनाउने तयारी कार्यदलले गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना