बढ्दैछन् आन्तरिक पर्यटक

काठमाडौँ, असोज २३ गते । पर्यटकीय सिजन सुरु हुँदै गर्दा नेपालमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ । विशेषगरी दसँैतिहारजस्ता चाडपर्वमा हुने लामो बिदाका कारण बढेको पारिवारिक घुमघामको प्रवृत्तिले प्रमुख पर्यटकीय क्षेत्रका होटल व्यस्त बनेका हुन् । विदेशी पर्यटकले समेत घुमघामका लागि रोजाइँमा पार्ने यो समयमा आन्तरिक पर्यटकको चापबाटै पर्यटन व्यवसायी उत्साहित देखिएका छन् । अक्टोबर तथा नोभेम्बरमा नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने गरेको तथ्याङ्क छ । 

दसैँको टीका सकिएपछि आन्तरिक पर्यटकको चाप पोखरामा अत्यधिक बढेको क्षेत्रीय होटल सङ्घ पोखराका अध्यक्ष भरत पराजुलीको भनाइ छ । उहाँका अनुसार भूकम्पपछि यस वर्ष पोखरामा सबैभन्दा धेरै आन्तरिक पर्यटक भित्रिएका छन् । यसबीचमा होटलमा कोठा थपिदा पनि ९० प्रतिशतसम्म ‘अकुपेन्सी’ पुग्यो’ उहाँले भन्नुभयो, यो हाम्रा लागि नै नयाँ अनुभव बन्यो । पोखरालाई आधार मानेर युवाबीच मनाङ, मुस्ताङजस्ता ठाउँमा घुम्ने प्रचलन बढ्न थालेपछि त्यस क्षेत्रका होटलमा यो समयमा चाप बढेको हो । यसबाहेक पारिवारिक घुमघामका लागि पोखरा प्रमुख रोजाइमा रहेकोले पनि आन्तरिक पर्यटकको सङ्ख्या बढेको पराजुलीको भनाइ छ । पूर्णिमापछि कार्यालय सुरु भएका कारण अकुपेन्सी केही घटे पनि यो विस्तारै बढ्ने उहाँले बताउनुभयो ।
चितवनमा पनि दसँै आसपासमा आन्तरिक पर्यटकको चाप उत्साहजनक रहेको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो । दसैँपछि केही दिन होटल व्यस्त रहेको र बुकिङका लागि बुझ्ने क्रम बढिरहेको उहाँले जानकारी दिनुभयो । अघिल्ला वर्षको तुलनामा आन्तरिक पर्यटकको चाप बढ्दै गएको पनि उहाँको भनाइ छ । टे«किङ, पर्वतारोहण सकेर फर्कने विदेशी पर्यटकको रोजाइमा चितवनका होटल पर्ने गर्छन् । अबको दुई हप्तामा विदेशी पर्यटकको पनि चाप निकै बढ्छ, घिमिरेले भन्नुभयो ।
उपयुक्त मौसम तथा पारिवारिक भेटघाटको अवसर मिल्ने भएकाले पनि चाडपर्वको बिदामा नेपालीबीच स्वदेशमै घुम्ने प्रचलन बढेको छ । यस्तै प्रचलनका कारण पर्यटकीयस्थलका होटलले विशेष छुटसहितका प्याकेज पनि सार्वजनिक गरेका थिए । पर्यटकीय गन्तव्यसम्म पहुँच सम्भव बनेपछि पछिल्लो समय मनाङ, मुस्ताङ, रारा, कालिन्चोकलगायतका क्षेत्रमा पनि आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पूर्वका इलाम, पाँचथरलगायत जिल्लामा पनि यतिबेला आन्तरिक पर्यटक घुमघामका लागि निस्कने गर्छन् ।


रारामा पर्यटक बढे

नेपालको सबैभन्दा ठूलो ताल रारा तालमा एक सातामा आन्तरिक पर्यटक ह्हवात्तै बढेको छ । दसँै सकिएलगत्तै राराताल अवलोकन गर्नेको अहिले कर्णाली राजमार्गमा भीड देखिन थालेको छ । गएको एक सातामा मात्रै करिब ६ हजारले राराताल अवलोकन गरेको अनुमान गरिएको स्थानीय होटल व्यवसायी गोपालबहादुर बलमे जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पर्यटकलाई खाना खुवाउन र बास व्यवस्थापन गर्न भ्याई नभ्याई हुन गरेको छ । यो प्रक्रिया ३,४ वर्षदेखि निरन्तर चलिरहेको छ । rara lake

रारामा पुगेर जुम्ला फर्किनुभएका काठमाडौँका रामबहादुर श्रेष्ठले रारामा भीड देख्दा अच्चम लागेको बताउनुभयो । उहाँले अहिले नाग्म सिंजा गमगडी राजमार्गमा हरेक ५÷१० मिनेटमा पर्यटकको गाडी जाने गरेको र राराको नजिकै पनि सयौँ गाडी लाइन लागेको भेटिएका बताउनुभयो । शाहले रारा अवलोकन धेरैको आकर्षण भए पनि पर्यटकलाई बस्ने पर्याप्त होटल नभएका कारण खान पिन र बसाइँमा समस्या भएको बताउनुभयो ।
यो सिजनमा यहाँ नेपाली पर्यटकको भीड विगत तीन वर्षदेखि बढिरहेको छ । रारा अवलोकन गरेर जुम्लामा आई विश्राम लिनेको भीड पनि उत्तिकै छ । अहिले जुम्ला हुँदै रारा जाने र राराबाट जुम्लामा फर्किने क्रम बढिरहेको छ । यसले गर्दा जुम्लाका होटल खचाखच भरिएका छन् ।
काठमाडौँबाट रारा जुम्लामा अवलोकन गर्न पुगेका पत्रकार ऋग्वेद शर्माले बिदा लिएर रारा सहितको यहाँको पर्यटकीय सम्भावना अवलोकन गर्न आएको बताउनुभयो । उहाँले ३६ घण्टाको यात्रा गरेर गाडीमा जुम्ला पुगेको अब हिँडेर डाँफे लेक हँुदै मुगु रारा जाने बताउनुभयो ।
क्यानेडियन ११ जना पर्यटक र १६ जना लसोलुका नेपाली नामग्याल लामाले गाइड गरेर एक महिनाका लागि जुम्ला रारा अवलोकनका लागि आएको बताउनुभयो । यसैगरी राराताल अवलोकन गर्ने, डुङ्गा चढ्ने, टेन्टमा बसेर रमाउन पनि उत्तिकै रहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना