प्रविधिमा पहुँचसँगै बढ्दो साइबर अपराध

ramesh bhattaraiरमेश भट्टराई ‘सहृदयी’

 

गर्वको कुरा हो, एक दशक यतालाई मात्र हेर्दा नेपालमा सूचना, सञ्चार तथा प्रविधिमा भएको व्यापक परिवर्तनले धेरै नेपालीको आर्थिकलगायत दैनिक जीवनलाई कायापलट गराइदिएको छ । मानिसले फुर्सदलाई सदुपयोग मात्र गरेका छैनन्, आफ्नो शैक्षिक सामग्री बनाएका छन्, मोबाइल, इन्टरनेट अनि पूरै सञ्जाललाई । फोटो खिच्ने, गीत सुन्ने, भिडियो हेर्ने, रेडियो सुन्ने, खेल खेल्नेजस्ता बहुउपयोगी सामग्री मोबाइल ठूलो साथी बनेको छ । विश्वलाई गाउँ बनाइदिएको छ सञ्चारले । हिजो एउटा कोठाको भित्तामा अडिएको टि.भी.ले विश्व बोल्थ्यो आज एउटा व्यक्तिको गोजीमा भएको मोबाइलले जतासुकै विश्व देखाउँछ । नयाँ परिवर्तनले बाटो पायो, आफन्त र इष्टमित्रको सम्बन्धलाई बढायो, विश्व समाजसँग नाता जोड्यो यो संसारसँग नेपालीले प्रेमको गाँठो कस्न पाए ।
महिनाँै दिन लगाएर परदेशमा परिवार वा आफन्तलाई चिठी पठाएपछि प्रत्युत्तर पाउन महिनौँ दिनको प्रतीक्षा गर्नुपर्ने कुरा ग्रामीण भेगमा आज यस्ता यथार्थ द्रुतगतिमा इतिहास बनिरहेका छन् । प्रत्यक्ष हेरेर भलाकुसारी गर्दा आफन्त टाढिएको महसुस हुनै पाउँदैन रहेछ । धेरै जसो युवा वर्गले मात्र होइन लगभग २२ लाखभन्दा बढीले फेसबुक चलाउने गरेको अनुमान छ । यद्यपि नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जि.एस्.एम्. प्रविधिमा आधारित इन्टरनेट पहुँचको विस्तार र स्मार्टफोन प्रयोगकर्ताको सङ्ख्या बढेसँगै नेपालको ५१.११ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा बाँधिएको जनाएको छ । प्राधिकरणले हाल नेपालमा करिब एक करोड ३६ लाख मानिस इन्टरनेटको पहुँचमा रहेकामध्ये २७ लाख ५० हजारले मोबाइलबाटै यसको प्रयोग गर्ने गरेको तथ्य पेस गरेको छ ।
एकातिर यति धेरै फाइदा हुँदै गर्दा कम्प्युटर, इन्टरनेट, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गरिने गलत प्रयोगको क्रम चुलिएर जन–जीवन कष्टकर र त्रासदीपूर्ण बनेको छ । विदेशी आपराधिक समूहमात्र नभई केही नेपाली पनि साइबर अपराधजस्तो कुकृत्यको जालोमा फसेका खबर सञ्चारमाध्यममा आइरहेका छन् । विज्ञानले फड्को मार्दै गर्दा चोरी पनि वैज्ञानिक तरिकाबाट हुने डर बढेको कुराले धेरै नेपाली मन त्रसित छ । आशातित वैज्ञानिक उन्नति हुनु आफैँमा गौरवको विषय हो तथापि यसकै दुरूपयोग हुँदा व्यक्ति मात्र होइन सिङ्गो देशले अर्थतन्त्रको ठूला दुर्घटनालाई झेल्नुपर्दो रहेछ । कतिपयलाई त थाहा नभएरै ख्याल ठट्टाले यस्ता जघन्य अपराधको पासोमा फसाउन नसक्ला पनि भन्न सकिन्न तसर्थ यसमा जनचेतना र सचेतना त हुनैपर्छ ।
कम्प्युटरलाई आधार बनाएर वा अर्काको कम्प्युटरलाई लक्ष्य बनाई कानुनले निषेध गरेको क्रियाकलाप गर्नुलाई साइबर अपराध भनिन्छ । विद्युतीय संरचनाबाट वैज्ञानिक सञ्जालभित्र हुने गरेका अपराध अर्थात् सूचना प्रविधिलाई दुरूपयोग गरी अरूलाई हानि नोक्सानी पु¥याउने सबै खालका कार्यलाई साइबर अपराध मानिन्छ । इन्टरनेट र एक्सानेट्रसँग जोडेर साइबर अपराधलाई आधुनिक उपकरसँग नाम जुराइए पनि आखिर अपराध अपराधै हुँदोरहेछ । इन्टरनेटसँग जोडिएर गर्ने अवाञ्छनीय कार्य यसमा पर्ने हुनुले यसमा संलग्न व्यक्ति कम्प्युटर तथा इन्टरनेटजस्ता अत्याधुनिक तथा यान्त्रिक उपकरणमा पोक्त बन्ने नै भए । कसैको व्यक्तिगत अवस्था, सामाजिक हानि तथा नैतिक आचरणमा गरिने प्रहारका विषय यसमा समेटिन्छन् । हाल नेपालमा ए.टि.एम कार्डबाट पैसा चोरी भएका संवेदनशील विषयले चर्चा पाइरहँदा सचेत हुनुपर्ने सल्लाह र सुझावलाई लिएर सञ्चारमाध्यम सक्रिय छन् भने प्रहरी सङ्गठन यस्ता गिरोहको खोजी कार्यमा उत्तिकै लागिपरेको छ । ए.टि.एम कार्डले मानिसलाई नगद रकम बोकेर हिँड्दा हराउने, चोरी हुने डरबाट टाढा राख्ने मात्र नभई जुनसुकै बेला आफ्नो खातामा भएको बैङ्कको विद्युतीय मेसिन वा ए.टि.एम बुथबाट पैसा निकाल्न सहज बनाइदिएको हुन्छ । तर आज सुविधा नै सङ्कटको दायरामा पुग्दा जनमानसलाई भयभीत बनाइदिएको छ । विदेशी गिरोह मात्र नभई नेपाली समेत अर्काको ए.टि.एमबाट अनधिकृत रूपबाट पैसा चोर्ने गरेको कुराले नेपाली जनतामा एक हिसाबले त्रास तथा उक्त मेसिनप्रतिको अविश्वास उत्पन्न हुनु स्वाभाविकै हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७१÷०७२ का तुलनामा ०७२÷०७३ मा दोब्बरभन्दा बढी साइबर अपराध गर्नेको सङ्ख्या बढेको पाइनु चुनौतीको कुरा हो । महाशाखाका अनुसार लगभग ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएसँगै साइबर अपराधमा ए.टि.एमबाट पैसा चोरी, बैङ्किङ अनलाइन, चलचित्र प्रतिलिपि, वेभ साइट ह्याक, केटीका नाममा आइडी बनाएर पैसा माग्ने गरेको जस्ता दैनिक सातदेखि दशवटा कुत्सित घटना पाइएको बुझिन्छ । यसमा प्रहरी अनुसन्धान ब्युरोले थालेको अनुसन्धान प्रशंसनीय अवश्य छ यद्यपि एकता र सहकार्यमा सबैको सचेतना नै यस्ता समस्या समाधान गर्ने मूल पक्ष बन्लान् ।
सन् १८२० मा फ्रान्सबाट साइबर अपराध जन्मेको पाइन्छ । फ्रान्सका कपडा बनाउने कारखानाका मालिक जोसेफ मेरी जेक्वार्डले स्वचालित कम्प्युटर मेसिन बनाएकाले त्यहाँका कामदारले हातमुख जोर्ने बाटो गुम्ने भयो भन्ने डरले सो उद्योगको संरचनालाई ध्वस्त बनाउने कार्य गरेको घटना नै यसको सुरुवातको कित्तामा सुरक्षित बन्यो । सूचना प्रविधिको दुरूपयोग बढ्दा समाज र मानव नियम र संरचनाका पर्खाल ढल्न थालिसकेका छन् । मानवता मक्काइरहेकै छ । विसङ्गतिले राज्य नै प्रताडनामा पर्नसक्छ, अतः यसमा ध्यान लगाएर सचेतनाको मार्ग रोज्नु सबैको हितमा नहोला ।
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब आदि वैज्ञानिक उपकरणका माध्यमबाट प्रयोग हुने सामाजिक सञ्जालमा चरित्र हत्याका घटना बढ्नुको कारण असचेतना हो । अनजान व्यक्तिलाई साथी बनाउने, अरूले राखेका तस्वीर, विचार, वा भिडियोलाई लाइक गर्ने, सेयर गर्ने गर्नु पनि जोखिम बन्दै गइरहेको बुझ्न सकिन्छ । गलत इमेल खोलेर धम्की दिने, गाली गलौज गर्ने, गलत सन्देश प्रवाह गर्ने, नैतिक चरित्र हत्या गर्ने, गोप्य सूचना तथा फोटो मागेर गर्नु सबै साइबर अपराधका अपराधी ठहर्छन् । अश्लील भिडियो अर्काकोमा पठाइदिने, भाइरस बनाएर अरूको मोबाइल, कम्प्युटरमा पठाइ सम्पूर्ण तथ्याङ्क नष्ट पारिदिनेजस्ता जघन्य अपराधीले कानुनको माखे साङ्लोमा बाँधिनुपर्ने नियम छ । प्रतिबन्धित लागू पदार्थ, हातहतियार तथा संरक्षित वन्यजन्तुको अङ्ग, छालालाई बिक्री गर्नका लागि विज्ञापन गरिएका अमानवीय कुकर्मले साइबर अपराधको क्षेत्रलाई व्यापक बनाएको छ । कम्प्युटर कार्यक्रमको स्रोत सूत्र चोरिन्छ । जाली नोट छाप्ने कार्य होस् या त नक्कली प्रमाणपत्र बनाउनेजस्ता घृणित कार्यमा विद्युतीय उपकरणकै प्रयोग हुन्छ । सामाजिक दुस्प्रचारले आज विज्ञानको प्रगति अभिशाप बनिरहेको छ । अतः सर्वश्रेष्ठ प्राणीको मानिसको मूल्य स्वतः गिरेको भान हुन्छ । व्यक्तिगत तथा पारिवारिक जीवनलाई सत्यानास गर्न होस् या बदलाको भावना राखेर नै साइबर अपराधलाई हतियार बनाउने कार्य आफैँमा घातक कार्य हो । यसमा पासवार्ड, कम्प्युटरजस्ता स्रोत र साधनलाई सुरक्षित राख्न र सचेतना अपनाउनु बुद्धिमानी होला । गलत सूचना तथा विचार भाइरल बन्ने गरेको हुनाले पनि सचेतना तथा जनचेतना उत्तिकै आवश्यक देखिन्छ । व्यक्तिगत रूपमा मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक तथा सिङ्गो देश तथा पूरा विश्वलाई कुकृत्यको भड्खारामा पार्ने साइबर अपराधले कुत्सित तथा निर्घिणी निच कार्यको संज्ञालाई बोक्छ । यस्ता समस्यालाई आम नागरिकले एकजुट भएर निरुत्साहित पार्नुपर्नेमा सबैको बलबुता प्रयोग हुनैपर्छ किनभने यो आजको जल्दोबल्दो विकराल समस्या हो ।

प्रकाशित मिति: २०७४/६/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना