वाम एकताको तरङ्ग

kp gautamके.पी. गौतम

 

यसपटकको दशैंमा धेरैका लागि ‘अकल्पनीय चमत्कार’ भयो नेपाली राजनीतिमा । लामो कसरत भए पनि सार्वजनिक हल्ला नगरी एक्कासि नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरणको उद्देश्यसहित हाललाई चुनावी एकताको सहमति सार्वजनिक हुनुलाई चमत्कार ठानियो । खासमा यो सहमति न त चमत्कार नै हो न त भयाक्रान्त विपक्षी राजनीतिक दलका कतिपय नेताले भन्ने गरेजस्तो अप्राकृतिक गठबन्धन वा अधिनायकवादी गन्तव्यको कसरत नै । एकता– विभाजन– एकताको लामो इतिहास बोकेको नेपाली वाम आन्दोलनको स्वाभाविक र आवश्यक सहमति नै हो यो यद्यपि केही वर्षयता एक आपसमा अपाच्य गाली गलौजका भाषा प्रयोग गरी अर्को समूहलाई गलत प्रमाणित गर्न खोज्ने प्रवृत्तिबाट प्रशिक्षित नेता, कार्यकर्ता र समर्थकका लागि लागि यो सहमति त्यति मन परेको भान हुन सकेको छैन । त्यसैले राजनीतिमा तरङ्ग ल्याइदिएको छ ।
केही महिना अगाडि मात्र नेकपा एमालेसँगको सत्ता गठबन्धन तोडेर फरक वैचारिक धारको नेपाली काँग्रेससँग सत्ता र स्थानीय चुनावी सहकार्य गरेको नेकपा माओवादी केन्द्र अनि माओवादी केन्द्रबाट अलग्गिएर बनेको नयाँ शक्ति पार्टीबीचको एकता सरसर्ती हेर्दा आश्चर्यको कुरा नै हो । झन् वामपन्थी धारमा विभाजन र दुरी बढाउन र फरक वैचारिक धारबीच सहकार्य गराएर स्खलित गराउन खोज्ने शक्तिका लागि त झन् यो सहमति आकाशै खसेजस्तो लाग्ने नै भयो । यो एकताले आफ्नो हैसियत खस्काउने भयाक्रान्तहरूले देशमा अधिनायकवादको भूत देखाउन र सर्वसाधारणलाई तर्साउने प्रयास गर्ने नै भए । कतिले यो वाम एकताका बाह्य शक्तिको भारी बोकेर हुँदै गरेको हो भनेका पनि सुनिन्छ । अझ नेपालको राजनीतिमा हालसम्म प्रभावी रहेको एउटा बाह्य शक्तिले त यसका पछाडि अर्को छिमेकीको हात रहेको टिप्पणी गरेको देखिन्छ तर त्यस्तो हात रहेको भनिने छिमेकीको मौनता र जसले आरोप लगाएको छ उसैको छटपटीले प्रष्ट पार्छ– यो नेपालमा आफूले चाहेको कुरामात्र भइरहोस् भन्ने पक्षको इच्छा विपरीतको एकता हो । एकता पक्षधर नेताहरूले भनेकै छन्– राष्ट्रिय राजनीतिक स्थिरता र देश विकासको अभीष्ट राखी विशाल हृदयसहित एकताको सहमति गरिएको हो, यो कसैका विरुद्धको निर्णय होइन, कोही आत्तिनु पर्दैन ।
यही प्रसङ्गमा सम्झनुपर्छ– राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । त्यसैले वाम एकतालाई अनौठो मान्नै पर्दैन । वि.सं. २००६ मा नेपाल कम्युनिष्ट पार्टी गठन भयो । प्रजातान्त्रिक आन्दोलनमा विदेशी प्रभूत्व हावी भएको त्यो अवस्थामा मुलुकको समृद्धि, स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने उद्देश्यसहित गठित नेपाल कम्युनिष्ट पार्टी धेरै वर्षसम्म एउटै थियो तर पछि पार्टी विभाजन भयो । त्यो पार्टीका नाम पछाडि धेरै पुच्छर झुण्डिए । एकले अर्कालाई गद्दारदेखि विदेशीद्वारा परिचालितसम्मका शब्दवाण प्रयोग गरे । अर्कोलाई गलत प्रमाणित गर्न गाली–गलौजका शब्द प्रयोग गर्ने प्रवृत्ति अद्यापि जारी छ स्थानीय तहसम्मै । यति हुँदाहुँदै पनि नेपाल कम्युनिष्ट पार्टीबीच एकता–विभाजन र एकताको प्रक्रिया चलिरहेकै छ । धेरै समूहबीच एकता भएरै बनेको थियो– तत्कालीन नेकपा माले अनि एमाले । माओवादी पनि यही प्रक्रियाबाट बनेको हो । होला कुनै समयमा कुनैले गलत बाटो समाते तर के ती सच्चिनु र एकताको दिशामा अगाडि बढ्नु नराम्रो हो र ? उनीहरूबीच एकता हुँदा विपक्षी वैचारिक धारको पार्टी कमजोर हुने हुँदा यो एकतालाई अप्राकृतिक भन्नु उनीहरूको भयाक्रान्त अभिव्यक्ति मात्रै हो । अप्राकृतिक त वामपन्थी र दक्षिणपन्थीबीचको पार्टी एकता हुन्छ । त्यो पनि मुलुकको विकासका लागि यी दुई वैचारिक धारबीच समेत तत्कालीन कार्यगत एकता अझै आवश्यक छ नेपालमा ।
२०२०–३० को दशकमा भारतको बनारस नेपालका प्रजातन्त्र पक्षीय नेता–कार्यकर्ताको आश्रयस्थल थियो । प्रजातन्त्रवादी नेता बीपी कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल त्यहीं सामान्य सरल जीवन बिताउनुहुन्थ्यो । त्यो कठिन परिस्थितिमा फरक वैचारिक धारका यी नेताबीच लोभलाग्दो मित्रता थियो । बीपीले सहयोग गर्नुहुन्थ्यो पुष्पलाललाई । यी नेताहरूको राष्ट्रिय चिन्तन, सरल र सामान्य जीवन–चरित्रबाट धेरै युवा प्रभावित भए । देशमा प्रजातन्त्र स्थापना भयो तर लगत्तै पार्टीहरूको बेमेल, अराजकता, नेताहरूमा फुट लगायतका कारण प्रजातन्त्र धरापमा प¥यो । पार्टीहरूमा विभाजन भयो । निरङ्कुशता बलियो भयो । पार्टीहरू विभाजन र धेरै नेताहरूको जन्म भयो । कम्युनिष्ट पार्टीकै नामबाट पुष्पलाल, मोहन विक्रम सिंह, निर्मल लामा, तुल्सीलाल अमात्य, नरबहादुर कर्माचार्य, विष्णुबहादुर मानन्धर, कृष्णलाल वर्मा, मनमोहन अधिकारी आदि इत्यादिले अलग भान्सा चलाए । तर पनि यिनै नेताहरूबीच एकता प्रक्रिया पनि चलिरह्यो । अहिलेसम्म आउँदा बढेको वामधारमा ती नेताहरूको ठूलो योगदान छ । अझै पनि अलग भान्सा छन् तर यीमध्येका मूल शक्तिहरू एकता प्रक्रियामा गएर पूर्ववर्ती नेताहरूको योगदानको कदर र असलपनबाट शिक्षा लिँदै अगाडि बढे अन्ततः मूलभान्सा एउटै हुन असम्भव छैन । तिनै नेताहरूले खडा गरेको जगकै कारण हो– देशको संविधानमै समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिने कुरा लेखिएको छ । यो दिशामा जान समाजवादको नारा लगाएर राष्ट्रिय कलकारखाना बेच्ने प्रवृत्तिले सघाउँदैन, समाज कल्याणका कार्यक्रम बनाउने वामधार नै बलियो हुनुपर्छ । त्यो धार बलियो हुँदा ‘प्रजातन्त्रवादी’ धार पनि बलियो हुन कर लाग्छ, राम्रै हुन्छ । त्यसैले प्रजातन्त्रवादी हौँ भन्नेहरू पनि आत्तिने, सानो चित्त बनाउनु आवश्यक छैन । वाम एकताको सहमतिपछि नेपाली काँग्रेसले पनि ‘प्रजातान्त्रिक गठबन्धन’ को प्रयत्न गरिरहेको छ । त्यसो भएमा राम्रै हुनेछ । राजनीतिक पसल घट्नेछन् । प्रतिस्पर्धा बढ्नेछ । राजनीति निस्वार्थरूपमा देश सेवाको निम्ति हुनसक्नेछ । नेताहरूमा मौलाएको व्यापार, दलाली वा जसरी पनि पैसा कमाउने प्रवृत्तिमा लगाम लाग्न सक्नेछ । राजनीति फोहोर भयो । राजनीतिक नेता–कार्यकर्तामा सेवाभाव भएन । यो गलत प्रवृत्ति जतिसक्दो चाँडो नियन्त्रण र अन्त्य गरिएन भने कुनै एक दल–पक्ष होइन, सबै भीरबाट खस्ने दिन निश्चित आउनेछ । त्यसैले राजनीतिक स्थिरता, एकता अपरिहार्य छ ।
हुन त यो वाम एकता चुनावको कसरत हो । संसदीय प्रणालीमा चुनाव जित्ने कुरा सबैभन्दा ठूलो हुन्छ । चुनावमा धेरै सिट जितेपछि सरकार बनाउन र आफ्ना नीति तथा कार्यक्रम लागू गर्न पाइन्छ । अहिलेको मुख्य ध्येय भनेको प्रदेश र केन्द्रको चुनावमा बढीभन्दा बढी सफलता प्राप्त गर्ने कुरामा केन्द्रित छ । वाम एकता व्यवहारमै देखियो भने निःसन्देह वामपन्थीले सोचेभन्दा बढी सफलता प्राप्त गर्न सक्छन् । आफूचाहिँ पछाडि पर्छु भन्ने लोकत्रान्त्रिक भनिने काँग्रेसको विश्लेषण छ । त्यसैलाई लिएर अब साम्यवाद आउने भो, अनिष्ट हुने भो भन्ने अनर्गल कुरा आइरहेका छन् । हिजोसम्म तिनैसँग मिलेर सत्तामा बस्दा केही अनिष्ट नहुने, अधिनायकवादको छनक नपाउने आज वैधारिक धार मिल्ने अर्कोसँग तिनै मिल्दाचाहिँ साम्यवाद आइहाल्ने व्याख्यामा तुक छैन । कम्युनिस्ट पार्टीहरू मिलेर चुनाव लड्न थाले, अब अधिनायकवाद आउँछ भन्दा कसले पत्याउने ? वामपन्थी सहकार्यले पोलिएर अधिनायकवादको भूत देखाउँदैमा चुनावी विजय प्राप्त हुँदैन, जनताको मन जित्ने कार्यक्रम दिनसक्नुपर्छ । पार्टी धेरै भए । नीति मिल्नेहरू एक भएकै राम्रो । त्यसैले सके वाम इतर गठबन्धन विकास गरेर देशमा थोरै राजनीतिक पार्टी बनाउने कसरत गरेको राम्रो ।

प्रकाशित मिति: २०७४/६/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना