पशुबलि प्रथामा रूपान्तरण

hem raj bhusalहेमराज भुसाल

 

आजभोलि बलिप्रथा विशेषगरी पशुबलिलाई धर्ममा गाँसेर धर्मको अपव्याख्या गर्ने चलन बढ्दै गएको छ । यसरी अपव्याख्या गर्ने प्रायःले धर्म, अध्यात्म र संस्कृतिलाई एउटै अर्थमा व्याख्या र बुझ्ने गरेको पाइन्छ तर धर्म, अध्यात्म र संस्कृति फरक कुरा हुन् । धर्म भनेको कार्य अथवा क्रिया हो, अर्थात् कसैमार्र्फत गरिने कर्म हो भने अध्यात्म भनेको ज्ञान, बुद्धि, विद्या, आस्था वा विचार हो । संस्कृति धर्मसँग जोडिएर या नजोडिएर पनि आउने कार्यको परम्परा हो ।
धर्मको बारेमा बुझ्नुपर्दा नेपालमा अहिलेसम्म सबैले स्वीकारेको बृहत् शब्दकोषमा धर्मलाई यसरी अर्थाइएको छ । व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति, प्रकति, स्वभाव । स्वाभाविक गुण, सहज वृत्ति, स्वर्ग प्राप्त गर्र्न सकिने लोक विश्वास भएको पुण्य कार्य, पुण्य कर्म ।
कसैले नकारात्मक सोच नै बनाउने हो र तर्कका लागि तर्क नै गर्ने हो भने यसमा पनि नकारात्मक तर्क गर्ने ठाउँ भेटाउन सकिन्छ । जस्तैः स्वर्ग प्राप्त गर्न सकिने लोक विश्वास भएको पुण्य कार्य भनिएको छ । यसैलाई स्वर्र्ग कहाँ छ ? कसले देखेर आयो ? भन्ने जस्ता प्रश्न खडा गरेर यो अन्धविश्वास हो, रुढीवाद हो भन्ने पनि छन् तर सुख, शान्ति र आनन्द नै स्वर्ग हो । त्यसैगरी, दुःख अशान्ति र तनाव नै पाप हो भन्ने बुझ्नेलाई माथिका प्रश्नको उत्तर आफैँ प्राप्त हुन्छ ।
धर्मअक्षर, धर्मकचहरी, धर्मकर्र्मजस्ता शब्दका अर्थ र चर्चा गरिएका माथिका केही कुरालाई समेत मनन गर्दै धर्मलाई परिभाषित गर्ने हो भने धर्म भनेको समाजमा सदाचार, सद्भाव र सहयोगी भावना जगाई नागरिकलाई अनुशासित बनाई राज्यमा सुशासन कायम गरी सदासदा शान्ति कायम गर्ने गराउने विधि विधान हो । अर्थात् नागरिकमा अनुशासन, सदाचार, सद्भाव र सहयोगी भावनाको विकास गराई असल र शान्तिपूर्ण समाज निर्माण गर्न सुशासनसहितको राज्य सञ्चालन गर्ने विधान नै धर्म हो ।
धर्मसँग जोडिएको छ पशुबलिप्रथा । यदि धर्म राम्रै कुरा थियो भने देवीदेवतालाई अबोध पशुको बलि चढाएर मानिसले पाप कर्म गर्दै आफू रमाउने काम किन चलाए ? यो नै आजको मूल प्रश्न हो । वास्तवमा धर्र्मग्रन्थ कुनैमा कतै पनि देवतालाई पशुपक्षीको बलि चढाएर खुशी पार्नुपर्छ भनेर लेखिएको पाइँदैन तर हाम्रो धार्मिक परम्पराअनुसार देवीदेवतालाई बलि चढाएर मनोकामना पूरा हुने अथवा भगवान खुशी हुने भन्ने मान्यता चल्दै आएको छ । यो पनि किन र कसरी चल्दै आयो, अब अहिलेको परिवेशमा कसरी रूपान्तरण गर्नुपर्छ भन्ने बारे सोचिनुपर्छ । बलि भनेको कसैले आफ्नो या आफूसँग रहेको केही कुरा कसैलाई अर्पण गर्नु, चढाउनु वा दिनु हो । हाम्रो धर्मअनुसार भन्ने हो देवतालाई अर्पण गरिने वस्तु हो । यो हामीले मानेका देवताअनुसार फरक हुन्छ । कसैलाई दूध चढाएर खिरको बलि दिइन्छ भने कसैलाई रगत चढाएर प्राणीको बलि ।
धर्मको अर्थ र परिभाषाअनुसार पनि धर्म तत्कालीन समाजको अवस्था आवश्यकता नागरिकको चाहनालाई दृष्टिगत गरी समाज सञ्चालन गर्न चलाइएको विधि विधान अर्थात् कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य भएकै हुनाले बेला–बेलामा यस्तै व्यवस्था मिलाउने क्रममा विभिन्न चलन चलाइँदै आएका छन् । यी चलनलाई मानिसले कालान्तरमा अर्थ नबुझेर या बुझेर पनि आफ्नो निहित स्वार्थपूर्तिका लागि विकृत रूपमा प्रयोग गर्दै आउने गरेका छन् । फलस्वरूप धर्मको नाममा पाप बढ्दै गएको छ ।
मानिस आदिम साम्यवादको जङ्गली युगदेखि नै मांशाहारी थियो । घुमन्ते जङ्गली युगबाट स्थायी बसोबास र खेतीपातीसँगै पशुपालनको पनि विकास हुँदै आएको हो । त्यसैबेलादेखि आफूले पालेका पशु आवश्यकता र चाहना अनुरूप मानिसले काटमार गरेर खाने चलन थियो । यसै वास्तविकतामा टेकेर हाम्रा अग्रजले तिनै मासु खान पालिएका पशुलाई समय र मौसमअनुसार कुन पशुको मासु कुन मौसमममा कसरी खाने भन्ने तरिका मिलाई धर्मको विधानसंँग जोडेर जतिसुकै बेला नखाने र बेला विशेषले मात्र खाने चलन चलाएको देखिन्छ ।
आजभोलि कतिपय ठाउँमा यो बलिप्रथाले विकृत रूप लिएर चाड मनाउने र खानेभन्दा पनि पशु हत्या गरेर रमाइलो गर्ने नाममा एकै दिन एकै ठाउँमा हजारौँ पशुलाई एकत्रित गरेर अनावश्यक रूपमा पशुलाई मारेर रमाउने उदण्डतापूर्ण हिंसा हत्याको बढावा दिने संस्कृति चल्न थाले । यहाँसम्म कि मासु खाने मान्छे नभएर वातावरण प्रदूषित हुने अवस्था आयो । एकातिर मानिस राक्षसी रूपमा अत्यधिक मांशाहारी भएर तामसी र रोगी भए भने अर्कोतिर हत्या र हिंसाले उघ्ररूप लिएर समाजमा अशान्ति हुन थाल्यो । यस्तो विकृतिलाई रोक्न समयको मागअनुरूप बलिप्रथाको बारेमा नयाँ अवधारणा देखापरे । जसअनुसार देवताले बलि मागेका छैनन्, पशुको पनि बाँच्न पाउने अधिकार हुनुपर्र्छ, हामी सकेसम्म साकाहारी हुनुपर्छ भन्ने जस्ता विचार विकसित भए । जो समय सान्दर्भिक पनि थिए ।
रूपान्तरण ः
समय बित्दै जाँदा एकातिर अर्घाभगवतीको गुठी खेतबाट उत्पादित वस्तुको मूल्यको तुलनामा राँगा र बोकाको मूल्य धेरै गुणा महँगो भयो । गुठीमा पाएको जग्गाको उत्पादनले राँगा, बोका किन्न नसक्ने अवस्था भयो तर धर्मअनुसार चलेको परम्परा कायम राख्ने नाममा परम्पराको विकृति स्वरूप पशु बाल बच्चाको बलि चढाउँदै जान लागियो, जुन बाल पशुहत्याको अपराध थियो । पछि त्यही पनि दिन नसक्ने अवस्था आउँदै गयो । यस्तो अवस्थामा त्यहाँ धर्मलाई कायम राख्दै अहिलेको अवस्था समय र समाजको मागबमोजिम यो परम्परालाई रूपान्तरण गर्नुपर्छ भन्ने सकारात्मक सोचको जन्म भयो । त्यसैअनुसार सम्बन्धित सम्पूर्ण गुठियार तथा सरकारी गुठी भएकोले नेपाल सरकारका प्रतिनिधिसमेतको बृहत् छलफल र तर्क वितर्कबाट निर्णमा पुगेर नयाँ नीति बनाइयो ।
यसअन्र्तगत गुठी जग्गालाई रैतान जग्गाको रूपमा नापनक्सा गराई गुठियारबाट नगद तिरो उठाउन थालियो । उक्त नगद तिरो रकमबाट मन्दिरको पूजा व्यवस्था सञ्चालन गराउने र पशुबलिको ठाउँमा कुभिण्डो, नरिवल आदिको बलि दिने व्यवस्थामा रूपान्तरित भएको छ । यसबाट एकातिर पशुहत्यामा कमी भएको छ । अर्कोतिर धर्मपरम्परा अनुरूप सबैजना भेला हुने पूजा गर्ने, आशीर्वाद लिने दिने नाच्ने गाउने र रमाउने गरी दशैँचाडको परम्परा पनि अझ उमङ्गताका साथ चल्दै आएको छ । यो परिपाटीले समयको परिवर्तनसँगै हरेक कुराको परिवर्तन हुनु जरुरी हुन्छ भन्ने कुरा सिकाएको छ न कि पहिलेका चलन खराब थिए भन्न । बलि दिनैपर्ने नाममा आफूले पाएको गुठीले पुगेन भनेर सानो बच्चाबच्ची, कतै मर्न लागेका पशु खोजेर बलि दिने चलन त्यहाँ मौलाउन लागेको पाप अर्थात् विकृति थियो । जुन बेलैमा नियन्त्रण भई नयाँ व्यवस्थापनमा समयसापेक्ष रूपान्तण भयो । सबैको आस्था र भावनाको पनि कदर भयो र धर्म पनि कायम भयो । यसले समाजमा विकृत रूपमा बढ्दै गएको बलिप्रथालाई कम र व्यवस्थित गर्ने बाटो देखाएको छ । यो रूपान्तरणको नमुना सबैका लागि अनुकरणीय हुने देखिन्छ । दशैँ सकिए पनि अरू धेरै चाड छन्, जहाँ बलिको नाममा एकै दिनमा हजारौँ पशुहत्या हुन्छ । त्यसैले अब सर्वप्रथम जहाँ–जहाँ सरकारी गुठी अनुरूप पशुबलि दिने परम्परा छ, त्यहाँ अर्घाभगवतीको सिको गर्दै गएमा क्रमशः पशुबलि प्रथामा कमी आउँदै जानेछ र समय परिवेशअनुसार आउँदै जाने विकृतिको कारणको खोजी र नियन्त्रण गर्न तिर नलाग्ने र यिनै विकृतिको आधारमा धर्मको अपव्याख्या गर्दा नयाँ पुस्ता दिग्भ्रमित भर्ई उनीहरूमा धर्मप्रति नकारात्मक भाव उत्पन्न भएको छ । यसकै कारणले समाजमा नैतिकता, अनुशासन, सदाचार र परोपकारी भावना मर्र्दै गएको छ । फस्वरूप समाजमा बेथिति, विसङ्गत, दुराचार, अविश्वास, हत्या, आतङ्क, चोरी, लुटपाटजस्ता अनेक प्रकारका दुष्कार्यले नै अशान्ति फैलिएको छ ।
त्यसैले अबको पुस्तालाई पाप र धर्मको सही अर्र्थ बुझाउन जसले जुन नामबाट माने पनि धर्मको अर्थ, परिभाषा र मर्र्म एउटै हो । यो असल समाजका लागि अपरिहार्य छ । यो सबैले मान्नुपर्छ । हरेक धर्मावलम्बीमा यदि धर्म छ भने आपसी सद्भाव, आत्मीयता, सम्मान, सदाचार र परोपकारी सोच तथा “बसुदैव कुटुम्बकम्” को भावना हुनुपर्छ भन्ने सिकाउन जरुरी छ ।

  प्रकाशित मिति: २०७४/६/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना