नेप्सेमा गिरावटले दिएको सन्देश

sarojसरोज अधिकारी

 

शेयर बजार सुस्ताएको छ । बजारमा चाडबाडको असर अझै परेको देखिएको छ । मुलुकका प्रमुख वामदल एकै कित्तामा आएर चुनाव लड्ने अप्रत्याशित घोषणालाई बजारले सकारात्मक रूपमा नलिएको अवस्था अनुमान छ । दशैँ बिदा सकिएर वामदल एकतापछि आइतवारको कारोबारमा नेप्सेमा झण्डै ३३ अङ्कको उच्च गिरावट देखिएर नेप्से परिसूचकाङ्क एक हजार ५०० को हराहारीमा आइपुगेको छ । विगतमा लगानीकर्ता मुलुकमा स्थानीय तहको चुनाव सकियो, अब दुई तहको निर्वाचन सम्पन्न हुन्छ भन्ने कुराको मात्र लेखाजोखा गरेर बसेका थिए तर अहिले चुनाव हुन्छ अनि वाम गठबन्धनले बहुमत ल्याउँछ र सरकार बनाउँछ, जसको आर्थिक नीति विगतमा पनि शेयर बजारमैत्री थिएन र अब पनि हुँदैन भन्ने मनस्थितिले काम गरेको कारण बजारमा लगानीकर्ता उत्साहित भएर लगानी बढाउने अवस्थामा रहेको पाइँदैन । जसको स्पष्ट उदाहरण वाम एकताको समाचारसँगै बजार दोहोरो अङ्कले घट्नुलाई लिन सकिन्छ । नेपालका वाम पार्टीहरू सरकारमा गएका बखत सस्तो लोकप्रियताका लागि वितरणमुखी बजेट, जसले आफ्नो भोट बैङ्क जोगाओस् भन्ने कुरामा नै बढी फोकस गर्ने तर स्वतन्त्र रूपले चल्ने आर्थिक क्रियाकलापको बढावाका लागि खासै काम नगर्ने भएकोले पनि लगानीकर्ता बजारमा आकर्षित हुन नसकेको अवस्था छ । आगामी तिहार र छठ पर्वसम्म बजारमा सामान्य उतारचढाव आए पनि कारोबार भने उच्च हुन सक्ने अवस्था छैन । जसलाई स्वाभाविक रूपमा लिनुपर्ने हुन्छ । त्यसको अतिरिक्त नेपाल राष्ट्र बैङ्क तथा बीमा समितिले तोकेको चुक्ता पुँजी पु¥याउन होडमा कतिपय बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीको हकप्रदको बाढी आउने क्रम पनि जारी नै रहेका बेला बजारमा शेयरको आपूर्ति अझै केही समय कायमै रहने निश्चित छ, जसले बजारमाथि जानका लागि बाधा पु¥याउने सम्भावना पनि उत्तिकै देखिन्छ । बजारमा हाल कतिपय कम्पनीको हकप्रदमा नबिकेका शेयरको लिलामी खुलेको अवस्थामा लगानीकर्ता त्यसतर्फ पनि आकर्षित भएकोले पनि दोस्रो बजारमा खासै ध्यान नगएको जस्तो देखिएको छ । केही समयअघि एभरेष्ट बैङ्कको लिलामीको शेयरमध्ये कतिपय लगानीकर्ताले एक सय रुपियाँमा नै शेयर पार्न सफल भएको कुराले पनि कतिपय लगानीकर्तालाई शेयर लिलामीमा उठाउँदा हुने रहेछ भन्ने ज्ञान खुलेको र त्यसले लिलामीमा लगानीकर्ताको भीड बढ्न थालेको छ । चुनाव नजिकिँदै गरेको समयमा केही समयपछि लगानीकर्ता पुनः चुनावमा व्यस्त बन्नुपर्ने अवस्था सिर्जना हुने देखिएकोले बजारमा खासै सकारात्मक प्रभाव तत्काल पर्ने अवस्था देखिँदैन । हकप्रद, लिलामीमा शेयर, वाम एकता, नेप्से सुधारका प्रयासको कछुवाको गतिमा अघि बढ्नु, शेयरको बढ्दो आपूर्ति, चर्को ब्याजदर जस्ता थुप्रै कारण देखिएको अवस्थाले केही समय बजारमा गिरावट वा स्थिर हुने अवस्था कायम भए पनि लामो समयका लागि लगानी गर्नेका लागि भने अहिले सुअवसर नै हो भन्न सकिन्छ । लिलामी शेयर किने पनि दोस्रो बजारमा शेयर खरिद गर्दा पनि राम्रा कम्पनी जसले भविष्यमा राम्रो प्रतिफल दिन सक्छन्, त्यस्ता कम्पनीको शेयर सस्तिएको अवस्था हो अहिले ।
शेयर बजार सधैँ एकै बिन्दुमा रहिरहँदैन । हालै मात्र दलाल कम्पनीको एसोसिएशन तथा लगानीकर्ताको सङ्गठनले अर्थ राज्यमन्त्रीलाई भेटेर बजार सुधारका लागि विविध विषय समेटिएको सुझाव दिएका छन् । नेप्सेका महाप्रबन्धक नियुक्तिसँगै बजार सुधारका लागि नेपाल सरकार, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडिएस कम्पनी र नियामक निकाय नेपाल राष्ट्र बैङ्क तथा बीमा समितिलगायतका संस्थाले आ–आफ्नो स्थानबाट पहल गर्ने प्रतिबद्धतासहित कार्य अगाडि बढेका छन् । तत्काल विविध कारणले बजार ओरालो लागेको भए पनि भविष्यमा भने बजार उच्च बिन्दुमा पुनः जाने सम्भावना छ । त्यसका लागि हाल बजारमा देखिएको शेयरको उच्च आपूर्ति खपत गर्ने खालको माग सिर्जना हुने वातावरण निर्माण, गैरआवासीय नेपालीलाई बजारमा भिœयाउने, शेयर दलाल सङ्ख्या थप्ने र बैङ्क तथा वित्तीय संस्थालाई शेयर दलालको काम गर्ने अनुमति प्रदान गर्ने जस्ता कुरा तत्काल अघि बढाउनु जरुरी देखिन्छ । त्यसको अतिरिक्त अनलाइन ट्रेडिङको कार्यलाई तीव्रता दिँदै अघि बढाउनुपर्ने, कमसिनको दर घटाउने, लामो समयसम्म शेयर होल्ड गर्नेलाई पुँजीगत लाभकरमा विशेष छुटको व्यवस्था गर्ने जस्ता कार्यले बजार सुधारमा मद्दत पु¥याउने देखिन्छ । तिहार र छठ पर्वपश्चात् चुनावको वातावरणले बजार सुधारमा खासै सहयोग नगरे पनि चुनावपश्चात् स्थिर सरकार आएको अवस्था र त्यसले लिने आर्थिक सुधारको रणनीतिपश्चात् भने बजार माथि जान सक्ने अवस्था सिर्जना हुन सक्छ । चुनावपश्चात् वाम गठबन्धन वा लोकतान्त्रिक गठबन्धन जस्कोसुकै सरकार बने पनि मुलुकमा राजनीतिक स्थायित्वसहित बन्ने स्थिर सरकारले लिने आर्थिक नीति शेयर बजारमैत्री हुन्छ वा भोट बैङ्क सुधार्ने र कार्यकर्ता पोस्ने मात्र हुन्छ सो हेर्न बाँकी नै छ । जे होस् चुनावपश्चात् वा आगामी केही महिनाभित्रमा बजार सुधारका धेरै काम भइसक्ने र स्थिर सरकारले मुलुकको आर्थिक विकासका लागि कोर्ने नीतिमा शेयर बजारमैत्री नीतिको प्रतीक्षा गर्दै राम्रा कम्पनीको शेयर खरिद गर्दा भने हुन्छ । वाम एकताले भने शेयर बजारलाई तत्काल रूपमा केही नकारात्मक सन्देश प्रवाह गरेको भए पनि नेपालका वाम शक्तिका नेता तथा कार्यकर्ता उच्च गतिमा पुँजीवादतर्फ आकर्षित भएको र उनीहरूको जीवनशैली पनि विलासी नै भएको मात्र नभएर शेयर बजारमा उनीहरूको ठूलै लगानी रहेको सन्दर्भमा त्यसले खासै नकारात्मक असर पारिहाल्ने देखिँदैन । आगामी सरकारले लिने आर्थिक नीति र बजार सुधारको दिशामा हुने कार्यको गति, ब्याजदर कहिले घट्छ साथै, बजारमा हाल देखिएको आपूर्तिअनुसारको माग सिर्जना नै बजार माथि जाने प्रमुख आधार हुन् ।

 प्रकाशित मिति: २०७४/६/२५

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना