वाम एकतापछि कांँग्रेसको यात्रा

Shanti krishna adhikariशान्तिकृष्ण अधिकारी


नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले केही दिनअघि चुनावी एकता गरेपछि नेपाली राजनीतिक मञ्चमा नयाँ तरङ्ग सिर्जना हुन पुगेको छ ।  भावी दिनमा गएर नेपालमा सबै वामहरूलाई समेट्दै एउटै वाम पार्टी बनाउने र विश्वमै औँलामा गन्न सकिने मात्र कम्युनिस्ट शासन भएका मुलुक रहेको अवस्थामा एक मुलुक थप्दै नेपाललाई समेत कम्युनिस्ट राज्य बनाउने सपना बोकेको भए पनि हाललाई भने चुनावी मोर्चा मात्रै बनाइएको छ ।  वाम एकता गरेका यी दुई दलका शीर्ष नेताकै भनाइबाट साम्यवाद सम्भव छैन भन्ने तर्क सुन्नमा आइरहेका छन् र बदलिँदो विश्वमा विश्वव्यापी लहरलाई छोड्न असम्भव हुने कुरा सुनिएकै छ ।  दुवै दलभित्रैबाट असन्तुष्टिका स्वर व्यापक रूपमा आउन थालेबाट पनि यो एकताले कत्तिको दिगो रूप लिन्छ, अहिल्यै अनुमान गर्न कठिन छ ।  यद्यपि, यो चुनावी तालमेलले अन्यत्र ठूलो प्रभाव पार्छ या पार्दैन हेर्न बाँकी नै छ तर मुलुकको सबैभन्दा ठूलो र पुरानो दल नेपाली काँग्रेसभित्र भने हलचल पैदा गरेको अनुभव गरिँदैछ ।
साम्यवाद सम्भव छैन भनेर दुवै दलका नेताले भनिरहेकै छन् ।  माक्र्सवाद र लेनिनवादलाई आफ्नो सिद्धान्त बनाएर हिँडेको एमाले र माओवादलाई मूल आदर्श मानेको माओवादी केन्द्र दुवै दलले न त आफ्नो सिद्धान्तमा परिवर्तन गरेका छन् न कुनै सम्मेलन वा अधिवेशनबाट दीर्घकालीन परिवर्तित हुँदै वाद परिवर्तन गर्ने घोषणा गरेका छन् ।  त्यसैले यो तालमेल चुनावसम्मका लागि मात्र हो भनेर आँकलन गर्न कठिन छैन ।  नेपालजस्तो सानो राष्ट्रमा धेरै दलको अस्तित्व रहँदा राजनीतिक अस्थिरता उत्पन्न भई विकासले अग्रगति लिन नसकेको महसुस भइरहेकै बेला यस किसिमको एकता हुनु उत्तम मान्न सकिन्थ्यो तर नेपालका वामपन्थी स्थिर छैनन् र यी दलको मित्रता दिगो हुन सक्दैन भन्ने नेपालको वाम इतिहासले प्रष्ट पारिसकेको हुँदा यो एकतामाथि पूर्णतः भर पर्न सक्ने अवस्था देखिँदैन ।  तथापि, वामहरू र लोकतन्त्रवादीलाई ध्रुवीकरणको आरम्भ गर्ने मार्ग प्रशस्त गरेको हुँदा नेपालको राजनीतिमा एउटा सुखद शुरुवात गरेको तथ्यलाई सबैले स्वीकार्नै पर्छ ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले यो एकता सत्ता स्वार्थ प्रेरित छ र यसले सबै वामलाई एक ठाउँमा ल्याउन सक्दैन भनी दिएको प्रतिक्रियाबाट पनि वामपन्थीहरू एक ठाउँमा आउँछन् भन्ने अनुमान गर्न त गाह्रो छ तर लोकतन्त्रवादीलाई भने समन्वय गर्ने अवसर प्रदान गरेको देखिन्छ ।
वास्तवमा यो एकता नेता–नेता बीचमा मात्र भएको एकता हो ।  माओवादी र एमालेका कार्यकर्ताका बीचमा रहेको तूष पूर्ण रूपमा मेटिइ नसकेको वर्तमान अवस्थामा नेतृत्वबीचको सत्तास्वार्थको एकताले कार्यकर्ता तहमा सम्मिलन गराउँछ भनेर सहजै विश्वास गर्न सकिन्न ।  भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कतिपय ठाउँमा एमाले र माओवादीबीचमा चुनावी तालमेल भएका थिए भने कतिपय तहमा काँग्रेस र माओवादीको एकता गरियो ।  जुन ठाउँमा कार्यकर्ता तहमा एकता गरिएको थियो ती ठाउँमा सोचेअनुरूपको नतिजा हात लागेको देखिन्छ भने जति ठाउँमा नेतृत्वले सहमति कायम गरे त्यहाँ प्रतिकूल असर परेको समेत देखियो ।  माओवादी केन्द्रमा अधिकांश कार्यकर्ता सिद्धान्त वा आदर्श बुझेर–पढेर भन्दा पनि व्यक्तिगत स्वार्थका कारण लागेका अराजनीतिक व्यक्ति भएको हुँदा त्यस्ताले टिकट पाएको ठाउँमा पुराना एमालेलाई पचाउन र माओवादीलाई भोट माग्दै हिँड्न निश्चय नै गाह्रो पर्ने देखिन्छ ।  यस्ता कारणले गर्दा चाँडै नै यो एकता भङ्ग हुने सम्भावना पनि त्यत्तिकै टड्कारो रूपमा देखिन्छ ।  यति हुँदाहुँदै पनि वाम तालमेलले केही न केही नेपाली काँग्रेसको अस्तित्वमा प्रहार त गर्छ नै त्यसैले पनि नेपाली काँग्रेस सल्बलाएको पाइएको छ ।
सिद्धान्त, आदर्श, राजनीतिक सोच, कार्यशैली कुनै पनि कुरा नमिल्दा नमिल्दै पनि एमाले र माओवादी केन्द्र मिलेको देखेर नेपाली काँग्रेस पनि त्यसैगरी तालमेलै हुन नसक्ने दलसँग कुरा गर्न अघि सरेको देख्दा नेपाली राजनीति क्षणिक स्थायित्वतर्फ मात्र अग्रसर भएको अनुभव गरिँदैछ ।  कार्यगत शैली मात्रै भिन्न भएका तर विविध कारणले विभाजित हुन पुगेका एउटै आदर्श बोकेका दलको एकता दीर्घकालीन हुन सक्छ ।  सत्तास्वार्थका कारण विभाजित भएका तर गल्ती स्वीकार्दै एउटै राजनीतिक सोच भएका दलका बीचको तालमेलले बलियो सङ्गठन निर्माण गर्न सक्छ ।  जस्तो कि नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक बीचको भनौँ या नेकपा एमाले र नेकपमा मालेका बीचमा भएको पार्टी एकताले दिगो स्वरूप लिएको छ, भलै पार्टीको आन्तरिक राजनीतिमा भागबण्डाले ठाउँ लिएको होस् ।  व्यक्ति हिंसाबाट राजनीति आरम्भ गरेको दल र पुरानो वामदल बीच एकता हुँदा वा राजावादी राप्रपा र लोकतन्त्रवादी काँग्रेसबीच तालमेल हुँदा कतै कुहिएको एउटा आलुले बोरै बिगारे जस्तो सबै भताभुङ्ग हुन सक्ने अवस्था वा परिणामको कल्पना गरे जस्तो देखिँदैन ।
इँटको जवाफ पत्थरले भनेजस्तै एमाले र माओवादी तालमेल पछि नेपाली काँग्रेसले राप्रपा, राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक, राजपा, सङ्घीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमलाई बोलाएर एकताको प्रस्ताव अघि सा¥यो ।  राजपाभित्रका केही नेता र लोकतान्त्रिक फोरममा सम्म त अधिकांश नेता काँग्रेसबाटै प्रशिक्षित छन् र केही हदसम्म भए पनि लोकतान्त्रिक एवं राष्ट्रवादी सोच बोकेका छन् ।  राप्रपा नामधारी तीनवटै दल पुराना पञ्चको दल हो र कुनैले खुलेयामै राजा पुनःस्थापित गर्ने भनिरहेका छन् भने कुनैले अन्तर्यमा त्यही सोच राखेका छन् ।  समग्र मधेश एक प्रदेश भन्दै राजनीतिक दलको स्वरूप लिएका मधेशवादी दलहरू आफैँमा त एक हुन नसकेर टुक्रा–टुक्रामा विभाजित छन् भने नेपाली काँग्रेससँग कहिलेसम्म मन मिलाउन सक्लान् यसै भन्न सकिन्न ।  यस प्रकृतिका दलसँगको चुनावी एकता कत्तिको फलदायी हुन्छ गम्भीर छलफल गरेर मात्र निर्णय लिन उचित हुन्छ न कि वामहरूले एकता गरे हामी पनि गरौँ भनेर हचुवाका भरमा ।  फेरि अर्को कुरा राजपा र सङ्घीय समाजवादीले १६५ सिटमा ५७ सिट दावा गरिसके ।  अरू चार वटा दल पूरै बाँकी छन् ।  अन्य दलले पनि त्यसैगरी हैसियतभन्दा बढी माग गर्दै गए भने नेपाली काँग्रेसका लागि के बाँकी रहन्छ र के का लागि तालमेल गर्ने सोच्न जरुरी छ ।  विगतको चुनावी नतिजालाई केलाउँदै ७० प्रतिशतको हाराहारीमा काँग्रेसलाई र तीस प्रतिशत सिटमा अन्य दललाई विभाजन गर्दा मिल्ने हो भने तालमेल स्वीकार्दा हुन्छ अन्यथा कम सिट जित्न त यसै छँदैछ भन्ने कुरालाई हेक्का राख्न सक्नुपर्छ ।  चुनावी तालमेलले कथंकदाचित धेरै सिट आइहाले पनि ‘सुपर ग्लु’ लगाएर टाँसेको धातु जति बलियो हुन्छ, विभिन्न सोचको एकता पनि त्यस्तै हुने कुरामा धेरै सोची रहनै पर्दैन ।
काँग्रेस वाम एकताबाट साँच्चै सचेत भएको हो भने बरु आफैँभित्रको सच्चा एकता गर्नेतर्फ अग्रसर हुनुपर्छ ।  नेताका कारण कार्यकर्तामा फुट हुने अवस्था सिर्जना हुन नदिई गुट उपगुट स्थापना गरेर बसेका शीर्ष नेताले काँग्रेस एक भएको सन्देश दिन सके मात्रै पनि वाम एकताले काँग्रेसको कुनै रौँ उखेल्न मुस्किल पर्ने देखिन्छ ।  अहिलेकै अवस्थामा तेरो र मेरो भन्दै कार्यकर्तालाई विभाजित गर्ने हो भने लोकतान्त्रिक एकताको कुनै अर्थ रहँदैन ।  बरु विगतमा किसुनजी र गिरिजाबाबुले गरेजस्तो एकता गर्ने हो भने कसैसँग तालमेल नगरे पनि काँग्रेस एक्लै अगाडि बढ्न सक्छ ।  


प्रकाशित मिति: २०७४/६/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना