राजनीतिक ध्रुवीकरण

nirmal k acharya_1निर्मलकुमार आचार्य


 

यसै पनि अनुमान लगाउन नसकिने नेपालको राजनीति पछिल्लो समय झनै अचम्म ढङ्गबाट बढेको छ ।  जुन प्रकार र मति, गति अनुसार राजनीतिक ध्रुवीकरण बढिरहेको छ, त्यो हेर्दा कसैले पनि ठोकुवासाथ यसै हुन्छ भन्नसक्ने अवस्था छैन ।  यही असोज १७ गते  नेकपा (एमाले), नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीबीच निर्वाचनमा तालमेल र त्यसपछि पार्टी एकीकरण गर्न भएको ६ बुँदे सहमतिले स्वदेशी, विदेशी सबैलाई छक्क मात्र तुल्याएको छैन, भावी राजनीतिक दिशा र दशा कस्तो हुने हो ? कौतूहल समेत जगाएको छ ।  
वामपन्थी गठबन्धन प्रक्रिया अघि बढेसँगै मुलुकमा लोकतान्त्रिक गठजोडको काममा पनि सक्रियता छ ।  वाम र लोकतन्त्रका नाममा बढेको राजनीतिक ध्रुवीकरण कतिका लागि चासो, कतिका निम्ति चिन्ता त कतिपयका हिसाबमा ठीक वा बेठीक रहेका छन् ।  संविधानको पूर्ण कार्यान्वयन नभएसम्म सबैखाले राजनीतिक दल एक भएर जानुपर्नेमा अर्कै अभ्यास थालिनुले चिन्ता बढाएको जनाउने एकथरी छन् भने राजनीतिक स्थायित्व तथा प्राप्त उपलब्धिको रक्षाका लागि ठूलै शक्ति बनाएर बढ्नु उपयुक्त रहेको तर्क दिने पनि कम छैनन् ।  यसरी हेर्दा तीव्र बन्दो राजनीतिक ध्रुवीकरणका सम्बन्धमा ‘मुण्डे मुण्डे मतिर्भिन्नाः’ भनिए झैँ विविध धारणा सार्वजनिक भइरहेका छन् ।  ‘वादे वादे जायते तŒवबोधः’ सूक्ति यतिखेर सान्दर्भिक बनेको छ ।  अनेक धारणाको मन्थनबाटै सही अर्थ पहिल्याउन मद्दत पुग्नेमा दुईमत रहोइन ।  
नेपालको राजनीतिमा दल मिल्नु र टुट्नुको खास कारण भेटिँदैन ।  छोटै राजनीतिक इतिहासमा पनि प्रायः सबै दल टुटफुटको भागिदार बनिसकेका छन् ।  नेपाली काँगे्रस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दल, राप्रपा आदि सबैजसो दलले टुट्दाको तीतो घुट्को र मिल्दाको स्वादिलो रसपान गरिसकेका छन् ।  राजनीतिक दल मिल्दाखेरि अनेक उपलब्धि हासिल भएका र फुट्दा अर्थ न बर्थका काम भएका उदाहरण पनि अनेक छन् ।  राजनीतिक दल फुट्दा वा जुट्दा स्वरूपमा जे जस्तो पन देखिए पनि सारमा कुनै विशेष तŒव नरहने गरेका वास्तविकता समेत जगजाहेरै छै ।  दल फुट्दा होस् वा जुट्दा विदेशीको हात रहेको देख्ने, सुन्ने, सुनाउने क्रम पनि चलेकै छ ।  प्रदेश तथा केन्द्र÷सङ्घको चुनावका मुखमा भएको वाम ध्रुवीकरणका पछाडि पनि विदेशीको हात रहेको विश्लेषण हुनु अनौठो होइन ।  जहाँ वाम ध्रुवीकरणका गतिलाई चिनिया प्रभाव बताइँदैछ भने लगत्तै थालिएको लोकतान्त्रिक गठबन्धनका पछाडि भारतीय प्रभाव दर्शाउने पनि उत्ति नै छन् ।  यसमा कुनै विदेशीको हात, पाउ नभई राष्ट्रिय आवश्यकताको उपज जनाउनेको पनि कमी छैन ।  स्वदेशी, विदेशी जजसको चाहना, प्रभाव अथवा सामयिक आवश्यकताकै कारण भए पनि बढेको ध्रुवीकरणको परिणाम के कस्तो आउने हो ? त्यसैमा सार्थकता, निरर्थकता निहित रहेको छ ।  
वर्तमान संविधानको व्यवस्था अनुरूप कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्ने अवस्थामा चुनावी गठबन्धनद्वारा लक्ष्य हासिल गर्न खोज्नुलाई अन्यथा पनि मान्न मिल्दैन ।  उस्तैखाले आस्था, विचार तथा सिद्धान्त मिल्ने दलबीच गठबन्धन हुनु स्वाभाविक तथा दूरगामी महŒवको ठहरिन सक्छ ।  त्यस्ता दल एकीकरणकै बाटामा लाग्नु न केवल ती दलसम्बद्ध नेता, कार्यकर्ताका लागि अपितु मुलुककै लागि पनि उपयुक्त देखिन्छ ।  धेरै नेता वा प्रशस्त दल हुनु लोकतन्त्रका लागि वरदान साबित हुने कुरो होइन ।  यसको उदाहरण विगतमा देखिएकै छ ।  धेरै राजनीतिक दल हुँदा अस्थिरता बढ्ने भएकाले पनि मन, वचन मिल्नेहरू आपसमा मिल्दा लोकतन्त्रलाई फल्ने, फुल्ने अवसर रहन्छ नै ।  थोरै राजनीतिक दल हुँदा राजनीतिक स्थिरतालाई मद्दत पुग्नुका साथै प्रमुख प्रतिपक्षी दल पनि उत्तिकै बलशाली रहनु अर्को वैशिष्ट्य हुनेछ ।  
छिमेककै उदाहरण लिने हो भने पनि भारतमा राजनीतिक स्थिरतालाई ध्यानमा राखेर नै गठबन्धनको अभ्यास बढेको हो ।  भारतमा एनडीए र यूपीए गठबन्धन छन् ।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग÷एनडीए) को नेतृत्व भारतीय जनता पार्टी (भाजपा)ले गरेको छ ।  यस गठबन्धनको प्रारम्भ सन् १९९८ को निर्वाचनताका भारतीय जनता पार्टीको पहलमा भएको थियो ।  यसमा त्यतिखेर सहयोगी समता पार्टी, शिरोमणि अकाली दल र शिव सेनाबाहेक अल इन्डिया अन्ना द्रविड मुनेत्र कडगम र बीजू जनता दल सहभागी थिए ।  गठबन्धनकै कारण सन् १९९८ देखि २००४ सालसम्म सत्तामा रह्यो ।  सन् २०१५ को सेप्टेम्बर महिनाको  स्थितिअनुसार यस गठबन्धनमा ३५ सदस्य दल छन् ।  
उता भारतीय राष्ट्रिय कंगे्रसको नेतृत्वमा संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) छ ।  ब्रिटिशकालीन राज्यसत्ताकै बखत सन् १८८५ डिसेम्बर २८ तारिखमा स्थापना भएको भारतीय राष्ट्रिय कंगे्रस भारत स्वतन्त्र भएपछि अर्थात् सन् १९४७ देखि भारतको प्रमुख पार्टीको रूपमा रहँदै आएको थियो ।  त्यतिबेलादेखि सन् २०१६ सम्म भएका १६ आम निर्वाचनमा कंगे्रसले ६ वटा चुनावमा पूर्ण बहुमत र चार वटामा सत्ता गठबन्धनको नेतृत्व ग¥यो ।  सन् २००४ को आम चुनावपछि बनेको यूपीएमा भारतीय राष्ट्रिय कंगे्रस, राष्ट्रिय जनता दल, राष्ट्रिय लोक दल, झारखण्ड मुक्ति मोर्चा, जम्मु एन्ड काश्मिर नेशनल कन्फरेन्स, इन्डियन युनियन मुस्लिम लीग, सोसलिस्ट जनता (डेमोक्रेसी), केरला कंगे्रस (एम), रिभोल्युसनरी सोसलिस्ट पार्टी, बोडो ल्यान्ड पिपुल्स फ्रन्ट, कम्युनिस्ट पार्टी अफ इन्डिया आदि छन् ।  
भारतमा कुनै एक दलले बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धनको संस्कृति चलेकामा विमति छैन ।  गठबन्धनको प्रभाव, शक्ति र महŒवका कारण नै यो त्यहाँ अपरिहार्य पक्ष बनेको छ ।  हुनत पछिल्लो चुनावमा भाजपाको उल्लेख्य विजय नभएको होइन, तैपनि गठबन्धनको आवश्यकतालाई नकार्न सक्ने स्थिति छैन ।  एनडीए वा यूपीएमा पनि सबै दल उस्तै प्रकारका सिद्धान्त, आस्था तथा विचार बोक्ने दल नरहेको प्रस्टै छ ।  चुनावी तालमेल, स्वअस्तित्व रक्षा एवं बलबद्र्धनका लागि अनुकूल गठबन्धनमा सामेल हुने क्रम चलेकै छ ।  बेलाबखत संख्या कम–बेसी वा यताउता भए पनि सत्ताधारी अथवा विपक्षीका लागि गठबन्धन त्यहाँको संस्कृति बनेको छ ।
नेपालका सन्दर्भमा पनि थोरै राजनीतिक दल हुनु, जुनसुकै नामका भए पनि गठबन्धन हुनु आफैमा नकारात्मक कुरो होइन तर गठबन्धन कति कसिलो, भरिलो र गतिलो हुने हो ? प्रतीक्षाकै पक्ष बनेको छ ।  वाम ध्रुवीकरण होस् वा लोकतान्त्रिक ध्रुवीकरण कति भरपर्दो रूपमा अघि बढ्ने हुन्, यसमा आम चासो रहेको छ ।  नेतृत्वबीच ससाना कुरामा मन नमिल्दा पनि गुट बनेका, दल फुटेका र रडाको मच्चिएका उदाहरण हेर्दा आशावादी हुने ठाउँ कमै छ तर रत्नाकर ‘वाल्मीकि’ बन्नै सक्दैनन् भन्न पनि मिल्दैन ।  यस अर्थमा गठबन्धनमा लाग्ने हरेक दलका नेता, कार्यकर्ता ज्यादै गम्भीर, इमानदार तथा क्रियाशील हुनैपर्छ ।  
इतिहास पल्टाउने हो भने राजनीतिक दलका सहमति व्यङ्ग्यात्मक बन्दै आएका छन् ।  सहमति गर्न हतारिने तर त्यसको मसी सुक्न नपाउँदै सहमति तोड्न हौसिने प्रवृत्ति पनि बेजोडकै छ ।  अहिलेकै गठबन्धनको सहमति पनि चुनावी तालमेलको सन्दर्भलाई लिएर बिरसिलो बन्दै गएको विदितै छ ।  आफूले चाहे जस्तो नहुँदा गठबन्धनमै बस्न नचाहने वा छाड्नखोज्ने परिपाटीले सुखद आभास गराएको छैन ।  केन्द्रमा तालमेलको सुगन्ध रहे पनि मोफसलसम्म त्यसको सौरभ फैलन नसकेको अवस्था पनि छ ।  यसैलाई अचुक मौका ठानी हैसियतभन्दा बढी ‘बार्गेनिङ’ (भयादोहन) पनि भइरहेकै छन् ।  वाम वा लोकतान्त्रिक गठबन्धनमा जान चाहने तथा अलग्गै शक्तिकेन्द्र निर्माण गर्ने उपायको खोजी पनि कतिपय दलले गरिरहेकै छन् ।  
समग्रमा भन्ने हो भने राजनीतिक ध्रुवीकरण बढिरहेको त छ तर यसको कार्यगति कसरी बढ्ने हो ? यसको ज्ञान भविष्यकै गर्भमा रहेको छ ।  गठबन्धनमा सामेल हुनुको अर्थ सबैले बढी भाग नै खोज्ने हो भने निश्चय पनि मिल्नसक्ने कुरो हुँदैन ।  गठबन्धनलाई राष्ट्रिय आवश्यकताकै रूपमा लिने हो भने सम्बद्ध हरेक दलले के कति पाउने होइन, के कति छाड्ने ?  चिन्तन जरुरी छ ।  ‘मैं खाउँ मैं लाउँ, सुखसयल वा मौज मैं गरुँ’ जस्ता विकृत् भावनाले गठबन्धनको मर्मलाई केवल धरापमा पार्नेछ ।  राजनीतिक ध्रुवीकरणका जतिसुकै उम्दा पक्ष भए पनि ‘प्रथम ग्रासे मक्षिका पातः’ को स्थिति आउन नदिन सरोकारी सबै दत्तचित्त हुनैपर्छ ।  जहाँसम्म वाम एकता वा लोकतान्त्रिक एकताको प्रश्न छ, यसमा कसैले पनि एक अर्कामाथि हिलो नछ्यापे हुन्छ ।  दुवैथरी आफ्ना मूल धर्मबाट विचलनमा पर्दै आएको यथार्थलाई कसैले लुकाउन नसक्ने वस्तुस्थिति छ ।  मुलुक र मुलुकवासीका निम्ति अब के कसरी कदम बढाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित तुल्याउने ? यतातिर सोच, जाँगर एवं इमानदार सक्रियता अपेक्षित छ ।  

प्रकाशित मिति: २०७४/६/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना