अनलाइन विद्युत् महसुल भुक्तानी सेवा विस्तार गरिने

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असोज २८ गते ।  नेपाल विद्युत् प्राधिकरणले सुरु गरेको अनलाइन विद्युत् महसुल भुक्तानी सेवा देशका अन्य प्रमुख स्थानमा पनि  विस्तार गर्ने तयारी भइरहेको छ ।  
परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट सुरु गरिएको यो सेवा विद्युत् उपभोक्ताले सहज महसुस गरेपछि उपत्यकासहित पोखरा र चितवनमा विस्तार गरिएको थियो ।  उपत्यका बाहिरका स्थानबाट पनि उपभोक्ताको सेवा लिने सङ्ख्या उत्साहजनक भएपछि यो सेवालाई पश्चिम नेपालका प्रमुख सहरमा विस्तार गरिन थालिएको हो ।  दोस्रो चरणमा पूर्वी नेपालका प्रमुख सहरमा यो सेवा विस्तार गर्दै लैजाने योजना प्राधिकरणले बनाएको छ ।  
ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीका अनुसार केही दिनभित्रै पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, महेन्द्रनगर, दाङ लगायतका सहरी क्षेत्रमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।  यो सेवा इन्टरनेट सेवाको पहुँच भएका स्थानमा मात्र लागू गरिएको छ । online sewa
मन्त्री शाहीले भन्नुभयो– उपत्यकाको व्यस्त जीवन भएका उपभोक्ताका लागि यो सेवा निकै प्रभावकारी भयो ।  बिल तिर्न घण्टौँ लाइन लाग्नुपर्ने, बिजुलीको बिल तिर्न थप पैसा तिर्नुपर्ने वा बिल तिर्ने व्यक्ति दगुराउनुपर्ने लगायतका झन्झटबाट मुक्त पाएको महसुस गरेका छन् ।  त्यसैले यो सेवालाई देशभर विस्तार गर्ने योजना रहेको छ ।  तत्काल पश्चिम नेपालका प्रमुख सहरमा विस्तार गरिँदैछ ।  
यो सेवालाई नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक उपत्यकाबाट गत भदौ पहिलो साताबाट सुरु गरेको हो ।  प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुङ्गेलले भन्नुभयो– ग्राहकको यो सेवाप्रति निकै उत्साह देखिएको छ ।  कामको व्यस्तताले प्राधिकरणका काउन्टरसम्म पुगेर लाइनमा बसेर बिल भुक्तानी गर्न नसक्ने ग्राहकले त झनै मन पराएका छन् ।  
यो अवधिमा अनलाइन सेवाबाट भुक्तानी गर्ने ग्राहकको सङ्ख्या झण्डै दुई लाखभन्दा बढी रहेको बताइएको छ भने यो अवधिमा दुई करोड रुपियाँभन्दा बढी रकम असुल भएको छ ।  प्राधिकरणका अनुसार दैनिक एक हजार नयाँ ग्राहकले यो सेवा प्रयोग गरेका छन् ।  ती ग्राहकबाट दैनिक औसतमा कम्तीमा पाँच लाख रुपियाँ प्राधिकरणको खातामा जम्मा हुने गरेको छ ।  
उपत्यकाका १९ वटा वितरण केन्द्रबाट सुरुवात गरिएको यो सेवाले प्राधिकरणलाई आधुनिक प्रविधियुक्त बनाउँदै लगेको सरोकारवालाले सराहना गरेपछि प्राधिकरणले देशव्यापी सेवा विस्तार गर्ने योजना बनाएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।  
यो सेवा दिन प्राधिकरणले विभिन्न बैङ्क तथा वित्तीय संस्थासँग सम्झौता गरेको छ ।  सम्झौता भएका बैङ्क तथा वित्तीय संस्थाले आपूmले बिजुलीको बिल भुक्तानीको सेवा दिइरहेको प्रचारप्रसार गर्न थालेपछि यो सेवामा आम ग्राहकले बढी चासो दिन थालेको बताइएको छ ।  यद्यपि प्राधिकरणसँग सम्झौता गरेर पनि हालसम्म नेपाल क्लिनिङ हाउसले सेवा दिन नसकेको बताइएको छ ।  हाल विभिन्न छ वटा बैङ्क तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई थप सेवाका रूपमा बिजुलीको बिल भुक्तानीको सेवा दिन थालेका छन् ।  
इन्टरनेट बैङ्किङ सेवा लिएका ग्राहकले बैङ्क मार्फत र सो सेवा नलिएका ग्राहकले इ–सेवा, इ–पोइन्ट नेपाल र सिटी एक्सप्रेस मनी ट्रान्सफरका विभिन्न काउन्टर मार्फत बिजुलीको बिल तिर्नेगरेका छन् ।  प्राधिकरणका अनुसार देशभरका ३५ लाख ग्राहकमध्ये सहरी क्षेत्रका सबै ग्राहकलाई यो सेवामा सहभागी गराउने योजना रहेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना