जनावरदेखि मानिसको पूजासम्म



Ram prashad dhitalरामप्रसाद धिताल



  कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिका पाँच दिनलाई ‘यमपञ्चक’ भन्ने गरिएको छ ।  पञ्चाङ्ग निर्णायक समितिले निकालेको पञ्चाङ्गमा समेत तिहारमा पाँच दिन हुने उल्लेख गर्दै यमपञ्चककै संज्ञा दिइएको पाइन्छ तर तिहारको प्रसङ्ग आउने विभिन्न पुराणमा यमपञ्चक शब्दको उल्लेख पाइँदैन ।  
यमपञ्चकलाई पुष्टि गर्न नेपाली समाजमा विभिन्न कथाको प्रसङ्ग चलेको पाइन्छ ।  मृत्युदेव यमराजलाई बहिनी यमुनाले पाँच दिनसम्म आफ्नो अतिथि बनाएको, यमसँग सम्बन्धित भएकाले उनका दूत मानिएका कुकुर र कागको पूजा गरिएको प्रसङ्गहरू लौकिक रूपमा चलेको बुझ्न सकिन्छ ।  राणाकालमा बनेको मुलुकी ऐनमा भने यमपञ्चक उल्लेख गरिएको थियो ।  राणाकालमा यमपञ्चकका पाँच दिनसम्म जुवा खेल्न छुट थियो ।  
    यमपञ्चक शब्दको शास्त्रीय आधार भने पाइँदैन ।  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई तिहार भनिए पनि तीन दिनमात्र विशेष रहेको बुझिन्छ ।  शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार पौराणिक ग्रन्थहरूमा चतुर्दशी, औँसी र प्रतिपदा गरी तीन दिनलाई तिहार मानिएको छ ।  
कृषिकर्म वा गौपालनमा आधारित जनजीवनमा उत्सवको रूपमा यी तीन दिनलाई लिइएको पाइन्छ ।  यस्तै लगत्तै आउने कात्तिक शुक्ल द्वितीयामा मनाइने भ्रातृद्वितीया दिदीभाइ वा दाजुभाइबीचको प्रेम र सम्मानको पर्व मानिन्छ ।
 श्रीमद्भागवतलगायतका पुराणमा दानवराज बलिका विभिन्न सन्दर्भ आउँछन् ।  त्यसमध्ये वामनरूपी भगवान् विष्णुले तीन पाउ जमिन माग्दा दिन नसकी दानी मानिएका दानवराज बलि पाताल भासिनुपरेको सन्दर्भ चर्चित छ ।  तीन पाउ जमिन दिन नसकी पाताल जान निर्देशन दिए पनि विष्णुले वर्षको तीन दिन बलिलाई दिएको बताइन्छ ।  यसको पुष्टि पुराणमा कात्तिक कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदासम्मका तीन रात्रिलाई ‘बलिराज्यत्रिरात्र’ भनिएबाट पनि हुन्छ ।  
त्रिरात्रबाट अपभ्रंश भई तिहार बनेको अनुमान गर्न गाह्रो छैन ।  यी तीन तिथिमा शासकले देशका नागरिकलाई खेल, नाचगान र उत्सवका लागि अनुरोध गर्ने त्यसका लागि वातावरण मिलाइदिएर उत्साहित पानुपर्ने बताइएको छ ।  राणाकालमा जुवा फुकाउने गरेको यसैको एक रूप होला ।  यसैगरी सर्वसाधारणले पनि घरघर र देवालयमा दीपावली गर्ने बताइएको छ ।  तिहारमा देखिने झिलीमिली, उत्सव, देउसीभैलो र तिनमा आउने बलिराजाको प्रसङ्गले पनि यस पर्वको रूपलाई उजागर गरिरहेको हुन्छ ।
बोलीचालीमा यमपञ्चक भनिँदै आएको पहिलो दिन कागको पूजा गर्ने चलन छ ।  यसरी कागको पूजा गर्नाले र भात तरकारी लगायतका पदार्थ खान दिनाले नराम्रा खबर सुन्नु नपर्ने विश्वास गरिन्छ ।  यसैगरी दोस्रो दिन चतुर्दशीमा कुकुरको पूजा गर्ने, खानेकुरा ख्वाउने गर्नाले यमद्वारको यात्रा सहज हुने बताइन्छ तर शास्त्रमा तिहारमा काग तथा कुकुरको विशेष पूजा गर्ने विधान कतै पाइँदैन ।
पौराणिक मान्यताअनुसार काग र कुकुरलाई प्रत्येक दिन घरमा पाकेका खानेकुरा ख्वाउनुपर्छ ।  पहाडी भेगतिर अझै पनि बिहानको खाना पाकेपछि भात, दाल तरकारी पात वा दुनामा राखी काग र कुकुरलाई छुट्याएर बाहिर राख्ने चलन छ ।  यसैले पनि तिहारमा कुकुर र कागको विशेष पूजा गर्ने विधि बताइएको छैन ।  यो लौकिक परम्परा हो ।
कात्तिक शुक्ल त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणमा बताइएको छ ।  त्रयोदशीकै दिन आयुर्वेदका विद्यार्थीहरू धनवन्तरीलाई सम्झिने गर्छन् ।  यसैगरी चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पनि छ ।  यसलाई नरक चतुर्दशी  भनिन्छ ।  
तिहारका तीन रातमध्ये पनि कात्तिक कृष्ण अमावस्या (औँसी) लाई विशेष मानिएको छ ।  साँझ लक्ष्मीपूजा गर्ने विधि पुराणमा पाइन्छ ।  लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि वा दीपमालिका वा दीपावली भनिन्छ ।  लक्ष्मीपूजामा गरिने उत्सवलाई ‘कौमोदिनी–महोत्सव’ भनिन्छ ।  लक्ष्मीपूजाको दिन बिहान गाईलाई लक्ष्मीका रूपमा पूजा गर्ने चलन पनि छ ।  यसैगरी श्रावण पूर्णिमाका दिन हातमा बाँधिएको रक्षाबन्धन डोरो गाईको पुच्छरमा बाँध्ने गरिन्छ ।  
फोहोर ठाउँमा लक्ष्मीको बास नहुने मान्यताअनुरूप घर र वरिपरि सफा सुग्घर राख्ने लिपपोत गरिन्छ ।  पुराणमा ‘लक्ष्मीर्वसति पुष्पेषु...’ अर्थात् लक्ष्मी फूलमा बस्छिन् भन्ने प्रसङ्ग आउँछ ।  लक्ष्मीपूजा, भ्रातृपूजा आदि हरेक कार्यका लागि फूलकै आवश्यकता पर्छ ।  चलेको चलनअनुसार घरका झ्यालढोका सिंगार्नेदेखि पौराणिक मान्यताअनुरूप बाटाघाटा सिंगार्ने, तोरण आदि बनाउने कार्यमा फूलको प्रयोग हुन्छ ।  रात्रिमा झिलिमिली बत्ती बालेर लक्ष्मीलाई आमन्त्रण गर्ने पनि गरिन्छ ।  
  प्रतिपदाका दिन प्रातःकालमा गोबर्धनको प्रतिमा बनाएर पूजा गर्ने, देवालय भएका वा अन्य बाटामा तोरण टाँग्नेलगायतका कार्य गरेर उत्सव मनाउने विधान छ ।  यस्तै गाई, गोरुका जीउमा राता सेता रङले छाप लगाई सिंगार्ने पनि चलन छ ।  उत्सव गर्दै रात्रिमा बलिको पूजा गर्ने विधि पनि बताइएको छ ।  पुराणमा यस दिन उत्सव गरी राम्रो लगाउने, मीठो खानेजस्ता कार्य गर्नुपर्ने बताइएको छ ।  
रात्रिमा पनि देउसी भैलो नाचगान गरेर, पासा आदि खेलेर रमाइलो गर्ने सन्दर्भ आउँछ ।  यस अवसरमा रमाइलो गरेर बिताउनेको वर्ष रमाइलो हुने उल्लेख छ ।  तिहारका तीन दिन विभिन्न प्रकारका उत्सव गर्ने नाचगान गर्नेजस्ता पुराणका निर्देशअनुसार नै देउसीभैलोको परम्परा चलिहेको बुझिन्छ ।  
देउसीभैलोसँगै स्थान विशेषअनुसार बालन, खैंजडी भजनजस्ता संस्कृति चलिरहेका छन् ।  यसको विभिन्न पक्ष भए पनि प्रमुख उद्देश्य मनोरञ्जन गर्ने र गराउने नै हो ।  लोकव्यवहारमा भने गोवर्धनको प्रतीक बनाएर पूजा गर्ने र गोरुको पूजा गरी उनीहरूको अनुकूलको पदार्थ खुवाउने, उनीहरूलाई खुला छोडिदिने चलन छ ।  गोक्रिडाअन्तर्गत शुरु भएको तिहार पर्वमा गाई गोरूप्रतिको सम्मान पनि सान्दर्भिक मान्न सकिन्छ ।        
कात्तिकशुक्ल द्वितीयाका दिन यमुना वा पवित्र नदीमा स्नान गरी यमराजको पूजा गर्ने विधान पाइन्छ ।  पुराणमा यमुनाले यम (राज) लाई स्वागत गरी यसै दिन आफ्नो घरमा भोजन गराएको  र यमले पनि लुगा गहना उपहार दिएर यमुनाको सम्मान गरेको प्रसङ्ग पुराणमा आउँछ ।  
स्कन्दपुराणमा दिदीबहिनीको निम्ता पाएर वा आफैँ उनीहरूको घर जाने, दिदीबहिनीले दाजुभाइको शिरमा तेल घसी सिंगारेर टीका, माला लाइदिने, आफ्ना हातबाट बनेका भोजन गराउने, पानमसला आदि सगुन दिने सन्दर्भ आउँछ ।  यसैगरी दाजुभाइले गच्छेले भ्याएअनुसार लुगाफाटा, अलङ्कार आदि उपहार दिनुपर्ने बताइएको छ ।
पुराणमा भ्रातृद्वितीयालाई दाजुबहिनी र दिदीभाइबीचको स्नेहको पर्व हो तथा मखमली फूलको माला र सप्तरङ्गी टीका लगाउने चलन भाइटीकाको पर्याय बनिसकेका छन् ।  यससँगै ‘दिदीबहिनीले लगाइदिएको मखमलीको माला नओलाएसम्म, तेलको धारा नसुकेसम्म यमदूतले पनि लान नसक्ने’ विश्वास चलेको पाइन्छ ।                          

प्रकाशित मिति: २०७४/६/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना