तिहारमा साँढे सात करोड बराबरको माला व्यापार

लक्ष्मण दर्नाल    

malaकाठमाडौँ, असोज २९ गते ।  तिहारमा सात करोड ५० लाख रुपियाँ बराबरको फूलको मालाको कारोबार हुने अनुमान गरिएको छ ।  फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारका लागि १५ लाखवटा फूलका माला खरिद गरेको छ ।  प्रतिमाला ३० रुपियाँमा खरिद गरिएको माला प्रतिमाला ५० रुपियाँका दरले बिक्री गर्ने एसोसिएसनले जनाएको छ ।  जसको मूल्य सात करोड ५० लाख रुपियाँ हुन आउँछ ।   
१५ लाख मालामध्ये सयपत्रीको माला ११ लाख, मखमलीको तीन लाख, गोदावरी, गुलाफलगायत अन्य फूलको माला एक लाखप्रति हुने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।  सयपत्रीको  ११ लाख मालामध्ये तीन लाखवटा भारतबाट आयात गरिएको छ भने बाँकी आठ लाखवटा सयपत्रीको माला नेपालमै उत्पादन गरिने छ ।  मखमली, गोदावरी र गुलाफको माला नेपालमै उत्पादन हुने एसोसिएसनले जनाएको छ ।  सयपत्री फूलमा नेपाल आत्मनिर्भर नभए पनि मखमली र गोदावरी फूलमा आत्मनिर्भर रहेको एसोसिएसनले जनाएको छ ।   सात करोड ५० लाख रुपियाँ बराबरको मालाको व्यावसायिक कारोबार हुनेछ तर घरमै फूल उत्पादन गर्ने र टोलछिमेकबाटै काम चलाउनेको संख्या पनि ठूलो रहेको तथा गाउँघरमा फूल उत्पादनको मौसम भएकाले सहरमा बढी कारोबार हुने व्यवसायीहरूको भनाइ छ ।  फ्लोरिकल्चर एसोसिएसनका उपाध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘१५ लाख मालामध्ये तीन लाखवटा सयपत्रीको माला भारतबाट आयात भएको छ अरू सबै नेपालमै उत्पादन गर्छौं । ’
तिहारका अवसरमा तीन करोड ६५ लाख रुपियाँ बराबरको फूल तथा माला नेपालबाट बाहिरिने एसोसिएसनले जनाएको छ ।  उपाध्यक्ष तिमिल्सिना भन्नुहुन्छ ‘तिहारका अवसरमा विदेशमा बस्ने नेपालीले पनि नेपालबाटै फूल तथा मालाहरू मगाउँछन् जसको मूल्य तीन करोड ६५ लाख रुपियाँ बराबरको हुन आउँछ । ’
फ्लोरिकल्चर एसोसिएसन नेपालले तिहारबाहेक वर्षमा एक अर्ब ७१ करोड बराबरको फूलको कारोबार गर्दै आएको छ ।  त्यस्तै तिहारबाहेक वार्षिक सरदर १० करोड रुपियाँ बराबरको फूल, फूलको बीउबिजन र कृषि औजारलगायतका सामग्री भारतबाट आयात गरिँदै आएको छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना