समाजशास्त्र विज्ञान वा फेसन

निर्मल भण्डारी

 

      
केही दिन अगाडि, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा करिब ६५० भन्दा बढीको युवाको भीड थियो  । ६०  प्रतिशतभन्दा बढी महिला देखिन्थे, जसमा विवाहित महिला देखिन्थे, उक्त भीड समाजशास्त्रको स्नाकोत्तरमा भर्ना हुनका लागि प्रवेश परीक्षा दिनेको रहेछ ।
समाजशास्त्र विषयप्रतिको मोह देखेर दङ्ग परे । परीक्षामा सामेल हुन आएकी, वृन्दा (नाम परिवर्तन) थापाले भनिन्, घरमा बस्दा–बस्दा अल्छी लाग्यो । दिन कटाउनै मुस्किल भयो । श्रीमान्ले पनि पढ्ने भए पढ भन्नु भयो । अनि यहाँ आएको ।  यसबाहेक समाजशास्त्र विषय रोज्नुमा यो उनको तर्क थियो– यो विषय पढ्न सजिलो छ र आफैँ गफ हानेर लेखेर पनि पास हुन सजिलो छ । हाम्रै समाजको कुरा त होनी, अरू विषय त गाह्रो हुन्छ । उनको समाजशास्त्र विषयप्रतिको बुझाई एक किसिमले झस्काउने खालेको थियो ।  
के साँच्चै समाजशास्त्र सजिलो विषय हो ? के समाजशास्त्र भनेको हाम्रै गाउँ समाजको कुरा मात्र हो ? महिलाको मात्र सहभागिता बढी देखिने विषय हो ? इन्टरनेशनल सोशियोलोजी एशोसिएसनका अनुसार करिब ९७ मुलुकमा समाजशाास्त्रको पढाई हुन्छ । समग्रमा ५२ प्रतिशत महिला अध्ययन गरिरहेको देखिन्छन् । तुलनात्मक रूपमा हेर्दा महिलाको बढी मोह यसै विषयमा देखिएको सत्य छ । नेपालमा पनि पुरुषको तुलनामा महिला विशेषगरी विवाहितको नै लर्काे छ ।
घरधन्दा गर्ने, अलि–अलि पढ्ने अनि परीक्षाको दिन आएर परीक्षा दिने । पास गर्ने । सर्टिफिकेट लिने । मात्र डिग्रीको लागि  हो । यसो भन्नेको सङ्ख्या पनि कम छैन तर वास्तवमै समाजशास्त्र के हो ? समाजशास्त्र भित्र खोजिनुपर्ने कुरा के हुन् ? उदाहरणका लागि अमेरिका शक्तिशाली हुनुमा आर्थिक र राजनीतिक कारणमा मात्र हो वा त्यसभित्र कस्तो समाज लुकेको छ, यो खोज्न जरुरी छ । समाज खोज्ने काम समाजशास्त्रले गर्छ । नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाह हुन् भनेर हामीलाई इतिहासले त्यही सिकाएको छ । समाजशास्त्रीले अब यसरी सोच्छ । के साँच्चै उनैले बनाए त विशाल नेपाल वा अन्य सामाजिक कारण के छ ? यही खोज्छ समाजशास्त्रले । यो शास्त्रले समाजका समस्याको गहिराइमा गएर, कुनै प्रतिपादित सिद्धान्तमा बसेर विश्लेषण गर्ने गर्छ, जुन त्यति सजिलो विषय होइन । यसलाई आममानिस वा विद्यार्थीले बुझे जस्तो सजिलो छैन । हिजोआज यो विषयलाई फेसन नै बनाइएको छ । वास्तवमा समाजशास्त्र एउटा विज्ञान हो, यो तार्किक छ । कसैले हावाको भरमा दिएको उत्तरले समाजशास्त्रको अर्थ बोक्दैन ।
समाजशास्त्री प्रा. चैतन्य मिश्रका विचारलाई प्रस्तुत गर्ने हो भने समाजिक परिवर्तन नै समाजशास्त्रको जग हो । परिवर्तन नहुँदो हो त समाजशास्त्र आवश्यक नै पर्दैनथ्यो । जुन–जुन विषयका कारण समाजमा परिवर्तन हुन्छन्, ती सबै कारण नै समाजशास्त्रको जननी हुन् । यदि यो भनाइसगँ सहमत हुने हो भने समाजलाई बुझ्न सजिलो छैन । समाजका हरेक अङ्ग–अङ्गलाई बुझ्नका लागि सामाजिक दृष्टिकोण चाहिन्छ, सामाजिक हेराइ र विश्लेषण चाहिन्छ । हामीले देखिरहेको सामाजिक, मूल्य मान्यता, संस्कार, नीति, धर्म, विचार र राजनीतिले रुमलिएको छ । समाज परिवर्तन हुने एउटै मात्र कारण नभई विविध कारण हुन सक्छन् ।  
समाज आफैँमा जटिल छ । विश्वको इतिहासलाई केलाउने हो भने फ्रान्सका सामाजिक दार्शनिक अगस्ट कोंटले सन् १९३८ मा समाजशास्त्रको प्रतिपादन गरे । त्योभन्दा पहिला १६ औँ शताब्दीमा विभिन्न शास्त्र नआएका होइनन्, समाजका बारेमा कुरा नभएका पनि होइनन् ।  १९ औँ शताब्दीतिर आएर परिपक्वतातिर बढ्दै गएको थियो । पछि इमाइल दुर्खाइम, हर्वट स्पेन्सर, कार्ल माक्र्सले समाजशास्त्रमा इँटा थप्ने काम गरे । पछि नव समाजशास्त्रीले विश्वभरि नै व्यापकाताका साथ यस विषयलाई अघि बढाए ।
एउटा समाजलाई हेर्नका लागि अर्थशास्त्री, राजनितिक शास्त्री, मनोवैज्ञानिक शास्त्री, वातवरणविदको व्याख्या फरक हुन्छ, किन मानिसले पैसा कमाउन सकेनन्, वा धेरै मानिसले धेरै पैसा कमाउन सके । किन महिला राजनीतिमा सक्रिय हुन सकेनन् ? किन गर्छन् आत्माहत्या यी सबै हेर्ने आफ्नै विधा र सिद्धान्त छन् । फ्राइडको मनोवैज्ञानिक सिद्धान्त, माक्र्सको द्वन्द्वात्मक भौतिकवादका परिधिभित्र बसेर छुट्टाछुट्टै अनुसन्धान गर्नुपर्छ  । कुनै पनि विश्वव्यापी समाजशास्त्रीय सिद्धान्तमा रहेर गरिने अध्ययनले मात्र समाजको वास्तविकता बुझ्न सकिन्छ, जहाँ विज्ञानको प्रयोगले वास्तविकतालाई उजागर गर्छ ।
हाम्रो देशमा समाजशास्त्रलाई हल्का रूपमा हेर्न खोजेको बुझिएको छ । धेरैको मुखबाट यस्तै कुरा सुन्नमा आइरहन्छन् । सबैले पढ्न सक्ने अनि सजिलै डिग्री हासिल गर्न सकिने रूपमा लिइएको छ । वास्तवमा यो त्यस्तो होइन । समाजशास्त्रलाई यति हल्का रूपमा बुझ्नु हँुदैन र बुझाउन पनि हुँदैन । समाजशास्त्र एउटा विज्ञान हो । यो महासागर पनि हो । समाजशास्त्रभित्र तथ्यको विश्लेषण हुन्छ । तथ्यलाई प्रमाणीकरण गरिएको हुन्छ । प्रयोगशालाबाट विश्लेषण गरिएको हुन्छ । अनि मात्र तत्यलाई बाहिरन्छ ।
समाजशास्त्रले हामीलाई हाम्रो जीवन र जगत्सँग गाँसिएका सबै भौतिक–आध्यात्मिक वस्तु वा भाव, जन्म–मृत्यु, चेतना–ज्ञान, प्रेम–घृणा र अन्य सबै संवेदना लगायत राजनीति, अर्थतन्त्र, संस्कृति आदिको निर्माण र पुनःनिर्माण रहस्यमय तरिकाले, आफ्सेआफ वा दैवी कारणले हुने होइन भन्ने बुझाउँछ । यो सबै हाम्रो समाज र संस्कारले बनाएको हुन्छ । यी माथिका कुरा बुझ्न समाजशास्त्रीय विश्लेषणको जरुरी छ ।
एकै छिन हेरौँ, महिलाले गर्ने काममा ज्याला किन कम पाउँछन् वा दिइने चलन छन् ? पुरुष महिलाभन्दा किन स्वतन्त्र छ वा महिलाले किन स्वतन्त्र हुन पाएनन् ? शहरको तुलनामा गाउँमा अझै पनि मातृ तथा शिशु मृत्युदर किन बढी छ ? किन बढिरहेको छ आत्महत्या ? किन फेरिँदैछ हाम्रा संस्कार, यस्ता विषयको जो कोहीले उत्तर दिन सक्छन् तर  एउटा समाजशास्त्रीले दिने उत्तर फरक हुन्छ । समाजशास्त्री एउटा सिद्धान्तमा बसेर सामाजिक पक्षलाई केलाउँदै उत्तर दिन्छन् । यिनीहरूको उत्तर दिनलाई सामाजिक पक्षलाई अवलोकन गर्छन्, तथ्य सङ्कलन गर्छन् ।  तथ्याङ्क जोड–घटाउ हुन्छ । तथ्याङ्कको प्रशोधन र विश्लेषण गरिन्छ । अनि मात्र तथ्य बाहिरिन्छ । त्यस कारण समाजशास्त्र विज्ञान हो ।
संसारमा विकास हुँदै आएको छ समाजशास्त्र । पछिल्लो समयमा विश्वभरि नै यसको माग बढ्दो छ । समुदाय विकासमा (एनजिओ, आइएनजिओ ) काम गर्न चाहेनेहरूका लागि महŒवपूर्ण विषय बनेको छ । यसका माग दिन प्रतिदिन बढ्दो छ । यसको अर्थ समाजशास्त्रको अध्ययनले समाजको संरचना, समाजिक अन्तर सम्बन्ध, समाजिक पृष्ठभूमिलाई बुझ्न सकिने मान्यता छ ।
यसरी समाजलाई बुझ्न सूक्ष्म अध्ययनको खाँचो छ । समाजशास्त्रलाई बुहारी शिक्षा, सजिलो शिक्षा वा फुर्सदको लिइने शिक्षाको रूपमा हेरिनु हुँदैन । यसको मर्मलाई व्यापकताका साथ अगाडि बढाउनुपर्छ । समाजशास्त्रभित्रको सम्भावनालाई उजागार गर्नुपर्छ ।
अब विगतका वर्ष जस्तो समाजशास्त्रलाई हेरिने प्रवृत्तिमा क्रमिक रूपले परिवर्तन आइरहेको छ ।  नियमित र निरन्तरको समाजको अध्ययनले मात्र कुनै पनि समाजलाई बुझ्न सकिन्छ । पारिवारिक मित्रता, पारिवारिक तनाव, पारिवारिक खुसी अनि पारिवारिक रोदनलाई समाजिक दृष्टिकोणबाट हेर्न सकिन्छ, नयाँ–नयाँ सिद्धान्त प्रतिपादन गर्न सकिन्छ । समाजशास्त्रबाटै वास्तविक सामाजिक पक्षको चित्रण गर्न सकिन्छ, जसबाट समग्र समाजको वास्तविकता बुझ्नका लागि सहयोगी हुन्छ । समाजशासास्त्रीय दृष्टिकोणले समाजको विकासमा टेवा पुग्नेछ ।

 

प्रकाशित मिति: २०७४/६/३०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना