नारी स्वास्थ्यका अदृश्य बाध्यता

कमला रेग्मी भट्टराई    

 

सरकारले प्रसूति सेवाका लागि भनेर निःशुल्क सेवा, यातायात खर्च मात्र नभई सुत्केरी स्याहार भत्ताले निम्न आय भएका नेपाली जनतामा पक्कै राहत दिएको छ ।  कैयौँ बच्चा र आमाले मृत्युको मुखबाट उम्केर नयाँ जीवन पाएका छन् ।  विभिन्न सरकारी अस्पतालमा सरकारले गरेको लगानीको रकम पनि त मोटै छ ।  हिजोको तुलनामा स्वास्थ्य क्षेत्रमा पनि केही सुधारवादी सोच र प्राविधिक उन्नति बढ्दै गएकाले पक्कै सहजता ल्याएको छ ।  प्रसूति तथा बालस्वास्थ्य सेवाप्रति दिइरहेको सेवा कम प्रशंसनीय छैन ।  त्यसो त स्वास्थ्य सुविधा विकासका विषय चर्चामा छन् ।  सरकारले स्वास्थ्य सेवामा दिइरहेका मिर्गौला, क्यान्सरलगायतका रोगको उपचार सुविधाका कार्यको सक्रियताप्रति जनतामा चासो उत्तिकै छ ।  समाजमा केही अवशेषबाहेक नारी स्वास्थ्यका कर्मसँग जोडिएका विषय, नारीमाथिका हिंसा, त्यसमा पनि अन्धविश्वास र अशिक्षाले पिल्सिएका गहन विषयले सुधारको बाटो पाउँदै गरेको महसुस गर्न सकिन्छ ।  डाक्टरको बोलीभन्दा ठूलो विश्वास त आखिर सर्वसाधारणमा अरू केही हुँदैन ।  अर्को पक्ष यो विषयमा हामीजस्ता सर्वसाधारणलाई ज्ञान र पर्याप्त अनुभव नहुनु नौलो कुरा होइन नै ।  नारी हक र अधिकारका कुरा घर, चोक, सडकदेखि सदनसम्मै उठिरहेकै छन् ।  परिवर्तनका बाटामा पाइला राख्दै गर्दा प्रसव पीडासँग नारीको जीवनमा शारीरिक, मानसिक अनि आर्थिक जटिलता स्पष्टै छ ।  गुप्ताङ्गका रोगलाई लुकाइने अवस्थाबाट अलि–अलि दैलो उघ्रिँदै गर्दा कुनै यस्ता विषय पनि रहेछन्, जुन आधुनिक युगको प्राविधिक स्तरबाट दयनीय बाध्यात्मक पीडा बनिदिँदो रहेछ ।  
नारीको प्रसव वेदनासँग जोडिएको स्वास्थ्य सुरक्षामा सिकारु शिक्षार्थीद्वारा नै स्वास्थ्य परीक्षण गराइने हँदा अल्पज्ञान, अनुभवहिनता र किताबी सीपका कारण गर्भिणीका पेटमा जथाभावी थिचथाच पार्ने मनगढन्ते व्यक्तिगत व्यवहारप्रति विश्वास नहुनु अवश्य नौलो होइन ।  यसको साटो मूल डाक्टरको साथमा रहेर शिक्षार्थीले सिक्नु अवश्य सचेत र वैज्ञानिक हुन्छ ।  सरकारी हस्पिटलका जिम्मेवार डाक्टर नेता, मन्त्री वा आफ्ना नातेदारका समस्या संवेदनशील बन्ने गर्छन् तर सर्वसाधारणका गम्भीर समस्यालाई ध्यान दिन नसकेका गुनासा केही हदमा कम भए पनि आइरहेको सुन्न र भोग्न पाइन्छ ।  जागिर सम्झने तर सेवा नबुझ्ने लोभीपापी प्रवृत्तिसँग घुसखोरी व्यवहार भएका यदाकदाका घटनाका कारण मानिसहरू भई नभई निजी स्वास्थ्य संस्थामा महँगो सेवा शुल्क तिर्न विवश बनेको जनभावनासँग जिम्मेवार निकायले सोच्नुपर्छ ।  नचाहँदा नचाहँदै पनि यी नारीले गरिबीको उच्च चरम यातनासँग जुध्नु परेको छ ।   
नारीले निजी अस्पतालमा प्रसव पीडा खेप्दै गर्दा रकमको बिटो बुझाएका मात्र हुँदैनन्, आफ्ना अमूल्य शरीर पनि कटाएका हुन्छन् ।  निजी हस्पिटलमा पैसाको लोभका कारण आवश्यक र जटिल अवस्थाभन्दा अन्य अति सामान्य अवस्थामा पनि शल्यक्रिया गर्न विवश पारिन्छ ।  कतिपयमा भने दुनियाँका अगाडि महँगो तिरेमा राम्रो उपचार पाइने भ्रमले जरो गाडेको हुँदोरहेछ ।  कथंकदाचित भवितव्य परेमा सामान्य अस्पतालमा लगिएको कारणले दुर्घटना भएको भन्ने नैतिक आरोपबाट बँच्न महँगो शुल्क तिर्ने स्थान रोजेको पनि नपाइने होइन रहेछ ।  प्रायःजसो आवश्यक नभएका गर्भवती महिलालाई पनि समय आउनुपूर्व विभिन्न कारण देखाइ त्रासको स्थिति पैदा गरेर बाध्यात्मक अवस्थामा शल्यक्रिया गराइएका धेरैजसो घटनालाई प्रायः निजी अस्पतालमा राम्ररी नियाल्न सकिन्छ ।  सामान्य अवस्थामा बच्चा जन्माउँदा भन्दा यस बापत बढी रकम असुल्न पाइने अवस्था यसमा जोडिएको हुन्छ ।  महिनैपिच्छे जाँच गर्न बोलाउने त्यसबापत लिइने चर्को र अनावश्यक शुल्कका साथमा शल्यक्रिया गराएर लिइने मोटो रकम असुल हुन्छ ।  जीवनभन्दा ठूलो कुरा पैसा हुन सक्दैन ।  त्यहाँ शरीर घायल पारिएकी नारीको कोमल मनसमेत घायल भइरहेको हुन्छ ।  अर्कोतिर शल्यक्रिया गर्नुसँग आमा तथा बच्चाको स्वास्थ्यको प्रसव जोखिम कम हुने पक्ष पनि जोडिँदो रहेछ ।  फलतः डाक्टर आफूले बोक्नुपर्ने जोखिम प्राकृतिक अवस्थाभन्दा कम हुने पक्ष त्यहाँ हुँदोरहेछ ।  शल्यक्रिया गरिएकी महिला जीवनभरि घाउको भय र पीडासँग बाँचिरहँदा डाक्टरसाब तिनकै पैसामा होली खेलिरहेका हुन्छन् ।  नारी अस्मितासँग जोडिएको प्रसव पीडा र जटिलताले हरेक सर्वसाधारण अशिक्षित परिवार दुःखित हुन्छ ।  एकातिर सन्तान प्राप्तिको खुसी अर्कातिर भर्खरै निजी अस्पतालमा बुझाइएको मोटो रकमको ऋण तिर्नुपर्ने पीडा जोडिएको हुन्छ ।  सरकारले यस्तो संवेदनशील पक्षमा सचेत बन्नैपर्छ ।  हस्पिटलमा पार्टीको होइन मानवताको राजनीति हुनुपर्छ ।  लाजमर्दो कुरा हो, त्यहाँ पनि गुट र जातपातको विचार जोडिएका घुर्मैला दृश्य देखिन्छन् ।  मानव अधिकारमै प्रहार भएको नैतिक धृष्टतामा सरकारले गरेको लगानी अपूर्ण र जनविश्वाससँग कमजोर बन्ने कारण निष्पक्ष अनुगमन र कडा कानुनको अभाव हो ।  
स्टेचरमा बोकेर बिरामीलाई शहरका अस्पतालमा दौडाउने दृश्य झनै भयानक लाग्छ ।  रक्तस्रावका कारण कैयौँ नारीले ज्यानै गुमाउनुपर्ने विडम्बना गाउँतिर छँदै छन् ।  कतिपय पक्षमा भएका अन्धविश्वास छोडेर जडीबुटीजन्य पदार्थ प्रयोग गर्दै सुत्केरी स्याहार गर्ने ग्रामीण शैलीविज्ञानलाई भने वर्तमानका पुस्ताले सिक्नैपर्छ ।  अर्को पक्षमा गरिबी र लापरबाहीका कारण कति परिवारमा त चाहेर पनि चेतना र ज्ञानको अभावका कारण सुत्केरी अवस्थाको स्याहार राम्ररी हुँदैन ।  परिणाममा दीर्घकालीन रोगले ती नारी थलिन्छिन् ।  छोरा जन्माए राम्रो स्याहार पाउने तर छोरी जन्मेमा सुत्केरी आमाको खुलेर सेवा नहुने अवस्थाका अवशेष आज पनि छन् ।  साथमा बच्चाको स्वास्थ्यले पनि जोखिम बहन गर्नै परेको हुन्छ, फलतः कुपोषणको शिकार बन्छ ।  नेपालजस्तो मुलुकले दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुकको उपाधि पाएको लज्जास्पद पक्षसँग पनि यी व्यवहारले कता न कता छोएकै हुन्छन् ।  दिनहीन गरिब वर्गदेखि करोडपतिसम्मको सङ्गमस्थल भनेकै स्वास्थ्यालय हुन्छ ।  कतिपयका लागि त कमाएको ठूलो रकम बुझाउनुपर्ने अन्तिम थलो अस्पताल बनिदिन्छ भने कैयौँले ऋणको पोको शिवाय हातमा शून्य बोकेर शोकको पीडासँगै ढोकाबाट बाहिरिनुपर्छ ।   
जनचेतना बढ्दै जाँदा प्रसूति सेवा चाहेर अस्पतालतिर आकर्षित बन्नेको सङ्ख्या बढ्नु अत्यन्तै सकारात्मक पक्ष हो ।  नारीका वेदना र बाध्यतामा शिक्षित नारीसमेत संवेदनहीन बनेका तितो व्यवहारबाट कैयौँ गर्भवती महिला र तिनका परिवार पीडित हुन्छन् तर बाहिर राम्ररी पर्दामा आउँदैनन् ।  नारी हिंसा, चेलीबेटी बेचबिखन, बलात्कार त्यसमा पनि आफन्तबाटै बलात्कृत हुने कुत्सित कर्म, कमजोर सम्झने प्रवृत्ति र संस्कारका केही विकृतिले पनि नारी हकमाथि कुठाराघात पारिएको छ ।  यी र यस्ता पीडासँग जोडिएको मनोवैज्ञानिक पक्षमा सरकारी अस्पतालले विश्वास जित्न सकोस्, लगानीअनुसार व्यवहारमा उत्पादन हुनु आवश्यक छ ।  

प्रकाशित मिति: २०७४/६/३१
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना