वाम एकताको सैद्धान्तिक तथा प्राविधिक पक्ष

rajendra kiratiराजेन्द्र किराती
     

 

नेपालमा कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भएको  हो ।  २०१९ सालको तेस्रो महाधिवेशन पछि प्रारम्भ भएको फुटको शृङ्खला अझै यथावत् छ ।  फुट, विग्रह र गुटबन्दी यसको पर्याय जस्तै भइसकेको छ ।  मानव समाजको हरेक सत्ता गतिशील र परिवर्तनशील रहिरहरने सार्वभौमिकता अनुरूप पार्टीमा पनि एकता र फुट अवश्यम्भावी हुन्छ ।  सबै एकता सही र सबै फुट गलत हुँदैन ।  यो एकता र फुटको द्वन्द्वबादी साश्वत पक्ष हो ।  ऐतिहासिक भौतिकवादी प्रस्थापना अनुरूप कुनै पनि एकता र फुट जसले समाजको गतिशीलता र परिवर्तनशीलतालाई आत्मसात् गर्छ भने त्यसलाई सही मान्न सकिन्छ ।  परिवर्तन र गतिसापेक्ष नभएको एकता र फुटमा हौसिनु र दुःखित हुनुको कुनै अर्थ रहँदैन किनकि यस्तो एकताले राष्ट्रिय राजनीतिमा गुणात्मक रूपान्तरण नभएर औसतवा यथास्थितिको मात्र हैसियत राख्छ ।  
    पछिल्लो वामपन्थी गठबन्धनले नेपाली राष्ट्रिय राजनीतिमा अनपेक्षित तरङ्ग पैदा गरेको छ ।  नाटकीय रूपमा राजनीतिक सरगर्मी बढेको छ ।  एमाले र माओवादी केन्द्रबीच अप्रत्यासित रूपमा भएको मोर्चाबन्दीले परम्परागत सोच्ने तरिका र मनोविज्ञानलाई चुनौती दिएको देखिन्छ ।  यो घटनाक्रमले राष्ट्रिय राजनीतिलाई तीव्र दलीय ध्रुवीकरणको दिशातर्फ धकेलेको छ ।  परिणाम स्वरूप उता लोकतान्त्रिक लगायतका दलमा पनि तीव्र ध्रुवीकरण भइरहेको छ ।  स्मरण रहोस्, आजको विश्वमा बहुदल भनिए पनि व्यवहारतः दुईटा दलको उपस्थिति हाबी रहेको छ ।  यिनीहरू एउटा वामपन्थी र अर्को दक्षिणपन्थी भनेर पनि चिनिने गरेका छन् तर त्यस्ता दुई ध्रुवीय दलको शासकीय वर्गचरित्र, पद्धति र नीतिगत दृष्टिकोणमा ताŒिवक फरक देखिँदैन ।  अमेरिका, बेलायत र भारतजस्ता मुलुकमा विद्यमान रहेको द्विदलीय वर्गचरित्रलाई हेर्दा यसको सदृश्यता पुष्टि हुन्छ ।
चुनावलाई केन्द्रमा राखेर भर्खरै भएको वाम गठबन्धनले पनि चौतर्फी बहस र छलफलको तरङ्ग पैदा गरेको छ ।  यसले धेरैलाई आश्चर्य र आतङ्कित पारेको छ ।  कतिपयलाई हाउगुजी र निदहराम भएको छ तर यो गठबन्धनलाई अस्वाभाविक र असाधरण मान्न जरुरी छैन ।  मूलतः यो गठबन्धन किन र के का लागि भन्ने यक्ष प्रश्नको वैज्ञानिक र वस्तुवादी उत्तरमा मात्रै यसको ऐतिहासिक तथा राजनीतिक औचित्य भेट्न सकिन्छ ।  अर्थात् यो इतिहासको निर्मम आवश्यकता अन्तर्गत समाजको गतिशील पक्षको अग्रगामी राजनीतिक हल खोज्न सहायक सिद्ध हुनुपर्छ ।  यस अर्थमा यसको ऐतिहासिक महŒव अवश्य नै रहन्छ ।  अन्यथा गठबन्धनदेखि गठबन्धन अनि एकतादेखि एकता मात्रै हो भने परिणाममा औसत यथास्थिति मात्र हात लाग्ने निश्चित छ ।  यसले राष्ट्रिय राजनीतिमा कुनै दूरगामी प्रभाव पर्ने छैन किनकि जनताको चाहना अग्रगमनको मात्र नभएर समानता र सामाजिक न्यायसहितको समृद्धि र शान्तिको छ ।  उन्नत समाजवादी चेतनासहितको समाजवाद र साम्यवादको छ ।  यथास्थिति र औसत व्यवस्था अनि सरकार गठन वा विघटन मात्र आजको इतिहासको आवश्यकता र जनताका चाहना पटक्कै होइन ।
मूलतः यो गठबन्धनले तय गर्ने भावी सैद्धान्तिक राजनीतिक धरातलले यसको औचित्य निर्धारण गर्नेछ ।  यो गठबन्धन र एकता प्रक्रिया सैद्धान्तिक वैचारिक कोणबाट हुने हो भने यसले राजनीतिक प्रक्रियामा रहेका थुप्रै अस्पष्टतालाई चिर्नुपर्छ ।  अग्रगामी अधुरो राजनीतिक यात्रालाई तय गनुपर्छ ।  यसले मूलतः गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पूर्ण आकारमा लागू गर्नुपर्ने छ ।  यस्ता अग्रगामी राजनीतिक एजेन्डामार्फत संविधान कार्यान्वयन गर्न समानता र सामाजिक न्याय स्थापित गर्दै नेपाली मौलिकतासहितको समाजवादीकरणको दिशातर्फ मुलुकलाई दिशानिर्देश गर्नु यसको आधारभूत ऐतिहासिक कार्याभार हो ।  सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गको भाग्य र भविष्य सुनिश्चिततासँग यो गठबन्धनको वैचारिक राजनीतिक साइनो सम्बन्ध हुनु जरुरी देखिन्छ ।  अर्थात् यो तालमेल र एकता मूलतः सैद्धान्तिक तथा वैचारिक पृष्ठभूमिमा हुनु अनिवार्य देखिन्छ ।  यसको रसायन उत्पीडित वर्गसँग जोडिनुपर्छ ।  एकता सिद्धान्त, नीति, एजेन्डा र क्रान्तिकारी आदर्शमा हुनुपर्छ ।  त्यसैले यो तालमेलत र एकता सिद्धान्त र नीति केन्द्रित नभए व्यर्थ मात्र होइन, हात्ती आयो हात्ती आयो फुस्सा हुनेछ ।
यस अतिरिक्त यो परिवर्तनकारी राजनीतिक सङ्घर्षको निरन्तर प्रक्रियाको प्रतिनिधि एकता हुनुपर्छ ।  गतिशील इतिहासको अपरिहार्य आवश्यकतालाई बल पुग्ने हुनुपर्छ ।  नेपाली समाजको अग्रगामी र वस्तुवादी व्यवस्थापनतर्फ परिलक्षित हुनुपर्छ ।  सबैखाले उत्पीडन र विभेदको अन्त्यसँग जोडिनुपर्छ, अर्थात् वर्गीय आधारमा उत्पीडित वर्गमैत्री हुनुपर्छ ।  जनताको परिवर्तनकारी मर्म र भावनामा एकाकार हुनुपर्छ ।  यो परिवर्तनलाई आत्मसात् गर्ने, उन्नत समाजवादी चेतनासहितको साम्यवादी यात्रामा सहयोगी, समानता र सामाजिक न्याय, विकास, समृद्धि र शान्ति स्थापनाको साधन बन्नुपर्छ ।  बृहत्तर जनताको हित र न्यायमा केन्द्रित हुनुपर्छ ।  वामपन्थी एकता हुनुको नाताले यसले मुलुकलाई तीव्र समाजवादीकरण गर्दै साम्यवादी समाज रूपान्तरणको दिशातर्फ डोहो¥याउनुपर्छ ।  यसको मूलभूत सैद्धान्तिक, राजनीतिक तथा नीतिगत पाटो यही हो ।
तर, यो ध्रुवीकरण केवल नेतृत्वको महŒवाकाङ्क्षा, लहड, सनक, व्यक्तिगत स्वार्थ, इगो र प्रतिशोधमा सीमित भयो भने त्यो दुर्भाग्य हुनेछ ।  यो चुनाव जित्ने रणनीति, दलीय आयतन बढाउने कौशल, सरकार गठन विघटन र केही नेता कार्यकर्तालाई भौतिक अवसर जुराउने रणनीतिमा मात्र सीमित भयो भने यसको राजनीतिक मूल्य कौडी बराबर पनि हुने छैन ।  यसो भएपछि गठबन्धन र एकताको औचित्य हुँदैन अनि टिकाउ पनि हुँदैन ।  यो एकताको प्राविधिक पक्ष हुन् ।  त्यतिबेला राजनीतिक मूल्यको आधारमा यो काँग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धन भिन्नाभिन्नै हुने छैन ।  तब यसप्रति बहुसङ्ख्यक क्रान्तिकारी पङ्क्तिको विश्वास गुम्ने छ, अर्थात् प्राविधिक पक्षमा सीमित गठबन्धन र एकताले औसत परिणाम मात्र दिनेछ ।  यसले केवल कुनै दललाई बहुमत प्राप्त होला ।  केही राजनीतिक स्थिरता होला ।  कसैलाई लाभको पद सुनिश्चित गर्ला ।  भौतिक परिवेश अनुकूल होला ।  दलगत, समूहगत, व्यक्तिगत र पारिवारिक स्वार्थ पूरा होला तर उत्पीडितले साँचो उन्मुक्ति पाउने सम्भावना रहँदैन ।  उत्पीडितहरू उन्मुक्त नभएसम्म जुनसुकै राजनीतिक प्रक्रिया, गठबन्धन र एकताको अर्थ र औचित्य पुष्टि हुँदैन ।
वास्तवमा एकता सबैसँग सबै अवस्थामा चाहना राख्नु बित्तिकै सम्भव हुँदैन ।  यो इतिहासको निर्मम घुम्तीमा आवश्यकता र आकश्मिकताको द्वन्द्वात्मकतामा हुने गर्छ ।  आत्मगत तथा वस्तुगत पक्ष परिपक्व हुनुपर्छ ।  सार्वभौमतः सैद्धान्तिक राजनीतिक रसायन मिले मात्र एकता सम्भव हुन्छ ।  राजनीतिक रसायन नमिली निहित स्वार्थमा रिएको टालटुले एकता दीर्घकालीक हुँदैन ।  भावनात्मक र प्राविधिक एकताले समस्याको समाधन दिन सक्दैन ।  समस्या व्यवस्थापनविना राजनीतिक निकास सम्भव हुँदैन साथै, टिकाउ पनि हुँदैन ।  प्राविधिक एकताले गुणात्मक परिणाम सम्भव हुँदैन ।  त्यसैले यो वामपन्थी गठबन्धन र एकता पनि सिद्धान्त केन्द्रित नभएर सरकार गठन र विघटनमा सीमित भयो भने इतिहासमा पुनः अर्को गम्भीर गल्ती ठहरिनेछ ।  जनताले ठूलो धोका महसुस गर्ने छन् ।  त्यसैले सबै सरोकारवाला पक्षले बेलैमा आफ्नो धारण स्पष्ट गरौँ ।  खुलेर बहस छलफल गरौँ ।  सम्भावना, चुनौती र समस्याको विषयमा ठूलो छाती र फराकीलो मनोविज्ञान बनाएर प्रस्तुत हुन सिकौँ ।  साना–साना बन्द कोठरीको सीमा र पर्खाल तोडौँ ।  बृहत्तर राजनीतिक रणनीति प्राप्तिका लागि वैचारिक फोरम सञ्चालन गरौँ ।  सिद्धान्त, विचार, राजनीति र नीतिमा समाधान खोजौँ ।  नयाँ र फराकिलो राजनीतिक मनोवैज्ञानिक संस्कृतिको विकास गरौँ ।  दलगत, समूहगत र व्यक्तिगत निहीत स्वार्थका साँघुरो चेतना त्यागौँ ।  समाजवाद हुँदै साम्यवाद तर्फको उन्नत चेतना विकासतर्फ सोचौँ ।
 माओवादी र एमाले बीचको एकता निकै पेँचिलो देखिन्छ ।  वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोधको साङ्गोपाङ्गो समाधान खोज्न लडिएको दशवर्षे जनयुद्धको स्कुलिङ र एमालेको स्कुलिङ सारभूत रूपमै फरक रहेकोछ ।  जवज र २१ औँ शताब्दीको जनवाद बीचको वैचारिक खाडल गहिरो छ ।  जनयुद्ध र झापा विद्रोह जुनसुकै कोणबाट पनि तुलना गर्न सकिँदैन ।  माओवादीले गरेको विज्ञानमा आधारित राजनीति र एमालेले गरेको कौशलतामा आधारित चुनावी राजनीतिमा पनि आकाश धरती अन्तर रहेको छ ।  नियमतः माओवादीको लाल र एमालेको निपूर्ण स्कुलिङको समायोजन त्यति सहज हुँदैन ।  त्याग र बलिदानको राजनीति र साम, दाम, दण्ड र भेदमा आधारित स्वार्थको राजनीति बीचको मिलनबिन्दु खोज्नु चानचुने सवाल होइन ।  यस्तो सैद्धान्तिक, प्राविधिक तथा व्यावहारिक विषमताको बीचमा पार्टी एकता नै गर्ने सवाल सजिलो छैन ।  
यद्यपि, विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेको बेला वामपन्थी ध्रुवीकरणमार्फत समाजवादीकरण गर्ने अभियानको दूरगामी आवश्यकता र महŒव रहेको छ ।  यस मानेमा तालमेल हुँदै एकताको पहल ऐतिहासिक आवश्यकता भइसकेको प्रतीत हुन्छ ।  यसका लागि दुवै दल सैद्धान्तिक वैचारिक रूपमा स्पष्ट हुनुपर्छ ।  यसले व्यापक र बृहत्तर चिन्तन, सोच र मनोविज्ञानको साथ अघि बढ्ने प्रण गर्नुपर्छ ।  अनि मात्र यसको राजनीतिक हैसियत रहने छ ।  विचार, सिद्धान्त र नीतिमा गरिने एकताले ढिलोचाँडो प्रक्रियामार्फत परिणाम दिने हैसियत राख्छ तर उता गणितीय जोडघटाउ र पदीय भागबण्डा सुनिश्चितताको पेरिफेरिमा गरिएको एकताले परिणाम सुनिश्चित गर्न सक्दैन ।  


प्रकाशित मिति: २०७४/७/१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना