नेपाली ‘ब्रेन गेन’ (सम्पादकीय)

शनिबारदेखि काठमाडौँमा सुरु भएको गैरआवासीय नेपाली सङ्घको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन विगतको समीक्षा, भावी कार्यक्रम तय र नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ । नयाँ नेतृत्वले सङ्घको सुदृढीकरण, भूकम्पपछिको पुनःनिर्माण, सामूहिक लगानी लगायतका एजेन्डामा जोड दिएको छ । ७७ मुलुकका एक हजार पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको यो सम्मेलनले ‘भिजन २०२० एन्ड वियोन्ड’ नामक प्रस्ताव पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको सम्मेलनमा नेपालको समृद्धिमा गैरआवासीय नेपालीले साझेदारी गर्नुपर्नेमा जोड दिइएको थियो । करिब ५० लाख नेपाली विदेशमा रहेको, कुल गार्हस्थ उत्पादनको एक चौथाइभन्दा ठूलो हिस्सामा विप्रेषण भित्रिरहेको र मुलुकको समृद्धिका लागि पुँजी, प्रविधि र सीपको आवश्यकता भइरहेको अवस्थामा यो सम्मेलन महŒवपूर्ण छ । २०६० सालको यसैबेला काठमाडौँमा सम्मेलन गरी गैरआवासीय नेपाली सङ्घ स्थापना भएको थियो । विदेशमा आर्थिक तथा सामाजिक रूपमा सफलता हासिल गरेका केही गैरआवासीय नेपालीको अगुवाइ र नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा ‘नेपालका लागि नेपाली’ नारा लिएर सुरु भएको सङ्घको स्थापनाताका मुलुकको कायापलट नै गर्ने शक्तिका रूपमा गैरआवासीय नेपालीलाई लिइएको थियो ।
अहिले झण्डै डेढ दशक बित्नलाग्दा ती प्रतिबद्धता, आश्वासन र अपेक्षा वास्तविक धरातलमा उत्रिएका छन् । गैरआवासीय भारतीयको सिको र चीन, दक्षिण कोरिया, भियतनाम लगायतका मुलुकको अनुभवबाट यो अभियान सुरु भएको थियो । खासगरी नेपाली नागरिकता त्यागिसकेका नेपालीका लागि जन्मभूमि आउँदा उठाउनुपर्ने झमेला र भिसा शुल्कको समस्या थियो । लगानी र सामाजिक सेवा गर्न लक्ष्य भए पनि गैरआवासीय नेपालीको त्यसबेलाको प्रमुख एजेन्डा नेपालीसरहको व्यवहार र सामाजिक सम्मान नै थियो भने नेपालले विदेशमा गएर सफलता हासिल गरिसकेका व्यक्तिबाट पुँजी, प्रविधि र सीप भित्रिने सजिलो माध्यमका रूपमा लिएको थियो । डेढ दशकपछि आइपुग्दा स्थापनाकालको अपेक्षा अनुरूप नभए पनि यी दुवै पक्ष लाभान्वित भइसकेका छन् । संविधानले गैरअवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिसकेको छ । गैरआवासीय नेपालीले पनि व्यक्तिगत वा सामूहिक रूपमा लगानी गरेका छन् । पर्यटन, जलविद्युत्, शिक्षा, स्वास्थ्य, बैङ्क तथा वित्तीय क्षेत्रमा लगानी भएको छ । २०७२ सालको भूकम्पलगायत विभिन्न समयमा कल्याणकारी क्षेत्रमा पनि व्यक्तिगत र सामूहिक लगानी भएको छ । भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा छ सय घर निर्माण गर्ने काम अगाडि बढेको छ । मुलुक र मुलुकबासीले गैरआवासीय नेपालीबाट धेरै लाभ लिनसक्थे तर यति मात्रै उपलब्धि हुनुपर्ने अवस्था आउनु पनि सन्तोषजनक नै हो ।
जन्मभूमि नेपालले गैरआवासीय नेपालीलाई दिने सुविधा र सामाजिक हैसियत कायम गर्ने अवसर दिएको छ । त्यसैले गैरआवासीय नेपालको आधारभूत चासो सम्बोधन भइसकेको छ । अब मुलुक र मुलुकबासीका लागि गर्ने गैरआवासीय नेपालीको पालो हो । मुलुक सङ्क्रमणकालीन अवस्थाबाट मुक्त भइसकेको र राजनीतिक स्थिरता बहाली भइसकेको अवस्थामा गैरआवासीय नेपालीले मुलुकको आर्थिक–सामाजिक रूपान्तरणमा योगदान दिनसक्नुपर्छ । केही लोककल्याणकारी कार्यमा गरिनेबाहेक सबै लगानी आपसी लाभमै हुनेछ र त्यसलाई दानदातव्यका रूपमा दुवै पक्षले लिनुहुँदैन । शिक्षा, स्वास्थ्य, पर्यटन, जलविद्युत्, सूचनाप्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा प्रशस्त लगानीका अवसर छन् र त्यसमा मुलुकलाई वैदेशिक लगानीको आवश्यकता छ । यो आवश्यकता गैरआवासीय नेपालीबाटै हुनसक्छ भने अर्काे पक्षलाई आग्रह गर्नुपर्दैन । अन्तर्राष्ट्रिय रूपमा राज्यको संयन्त्रभन्दा व्यापक रहेको गैरआवासीय नेपाली सङ्घको सञ्जालका माध्यमबाट विश्वमा नेपाली कलासंस्कृतिको विस्तार र प्रवद्र्धन गर्न गैरआवासीय नेपाल महŒवपूर्ण माध्यम बन्नसक्ने सम्भावना छ । यसका लागि सुदृढ, सक्षम र व्यक्तिगत, सानो समूहगत तथा राजनीतिक रूपमा अविभाजित गैरआवासीय नेपाली सङ्घ गैरआवासीय नेपाली र नेपाल दुवै पक्षको हितमा हुन्छ ।

प्रकाशित मिति: २०७४/७/१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना