तिहारका लागि विद्युत् आपूर्तिमा विशेष व्यवस्था

लक्ष्मीप्रसाद उपाध्याय

 

काठमाडौँ, कात्तिक २ गते । ‘उज्यालोको पर्व’ मानिने तिहार र तराईको प्रमुख पर्व छठभरिमा देशभरि बिजुली आपूर्ति हुने भएको छ ।
अत्यधिक विद्युत् खपत हुने यी दुई पर्वभरिमा नेपाल विद्युत् प्राधिकरणले बिजुली उपभोक्तालाई २४सै घण्टा बिजुली आपूर्ति गर्ने तयारी गरिरहेको बताएको छ । गत साल लक्ष्मीपूजाको दिनबाट उपत्यकाको लोडसेडिङ हटाउने गरिएको प्रयासले हालसम्म सफलता लिइरहेका बेला यो वर्षको तिहारबाट थप नयाँ सहरलाई लोडसेडिङमुक्त बनाउने योजना पनि बनाएको छ । उपत्यका लगायतका हाल पोखरा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, विराटनगर लगायतका प्रमुख सहर लोडसेडिङमुक्त ठाउँ घोषणा भइसकेका छन् ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार लक्ष्मीपूजाको दिन वर्षमै सबैभन्दा बढी बिजुली खपत हुने भएकाले यस वर्षको लक्ष्मीपूजाका दिनमा एक हजार ३५० मेगावाट बिजुलीको व्यवस्थापन गर्न प्राधिकरणले सबै तयारी पूरा गरिसकेको छ । लक्ष्मीपूजाको दिन औद्योगिक खपत शून्य बराबर भए पनि घरायसी प्रयोग अधिक हुने गर्छ ।
प्रवक्ता अधिकारीले बुधबार गोरखापत्रसँग भन्नुभयो, पोहोर साल लक्ष्मीपूजाको दिन एक हजार ४०० मेगावाट खपत भएको थियो, यो वर्ष औद्योगिक खपत पूर्ण रूपमा बन्द गरिने भएकाले एक हजार ३५० हुन सक्ने अनुमान गरी बिजुली आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणले तयारी गरिरहेको छ । nea
यो वर्षको तिहारका लागि नेपालका आन्तरिक प्रणाली (नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको उत्पादनबाट) करिब आठ सय मेगावाट व्यवस्थापन गर्ने र भारतबाट ४०० मेगावाटभन्दा बढी आयात गर्ने तयारी प्राधिकरणले गरेको छ ।
प्राधिकरणले ढल्केवर–मुजफ्फपुर प्रशारण लाइनबाट कम्तीमा १२५ मेगावाट ल्याउने गरी कार्य भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार हाल यो प्रसारण लाइनबाट ८० मेगावाट आयात गरिँदै आएको छ । त्यसैगरी रक्सौल–परवानीपुर प्रसारण लाइनबाट १९० देखि २०० मेगावाटसम्म आयात गर्ने गरी प्राविधिक तयारी भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
भारतको बिहार प्रदेशको नर्थ बिहार पावर डिष्ट्रिब्यूटर्स कम्पनीबाट पनि कम्तीमा ४० मेगावाट बिजुली आयात गरिने भएको छ । अरू नियमित रूपमा भारतबाट आयात गरिने बिजुलीलाई पनि निरन्तरता दिइने भएको छ ।
यता काठमाडौँ उपत्यकाका लागि तिहारका लागि मात्र भनेर ३५० मेगावाट नियमित आपूर्ति गरिने भएको छ । यद्यपि प्राधिकरणले उच्च विद्युत् खपत हुने उपकरण प्रयोग नगरिदिन सार्वजनिक अपिल पनि गरेको छ ।
प्रवक्ता अधिकारीले भन्नुभयो, प्राधिकरणले प्रसारण लाइन मर्मतसम्भार, ट्रान्सफर्मरको क्षमताको विकास, वितरण लाइनमा सुधार गरेको छ । निजी क्षेत्रका प्रवद्र्धकलाई पावरहाउस प्रभावकारी रूपमा चलाउन आग्रह गरिएको छ । सवस्टेसनको क्षमता अभिवृद्धि र सुधार गर्ने कार्य पनि भएकाले हामी पूरै तयारीका साथ लागि रहेका छौँ ।
गत सालझैँ यो वर्ष पनि तिहारमा सुरु गरिएको उज्यालो नेपाल अभियानलाई वर्षभरि निरन्तरता दिइने भएको छ । जसका लागि प्राधिकरणले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी काम भइरहेको प्राधिकरणले दाबी गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना