दुवै निर्वाचन सुनिश्चित : यादव

Ayodhi-Prasad-Yadav-faces-parliamentary-hearingकाठमाडौँ, कातिक २ गते । निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुने सुनिश्चित भएकाले त्यसमा कुनै आशङ्का नगर्न र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन सबै मतदातालाई आग्रह गरेको छ ।  ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’को तयारीका विषयमा जानकारी गराउन बुधबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेछ भन्ने विश्वास आयोगले लिएको छ । ” 

मतपत्रका बारेमा सर्वाेच्च अदालतबाट बुधबार नै भएको आदेशबाट निर्वाचनलाई असर पर्छ कि भनी पत्रकारले राखेको जिज्ञासामा प्रमुख आयुक्त डा. यादवले भन्नुभयो, ‘‘अदालतबाट भएको फैसलाको औपचारिक जानकारी प्राप्त छैन । सञ्चारमाध्यमबाट आएका समाचारअनुसार अदालतको फैसलाबाट निर्वाचनको मिति र व्यवस्थापनमा कुनै असर पुग्नेछैन । ’’
आयोगले निर्णय गरेअनुसार समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने तर्फको मतपत्र एउटै पानाको माथिल्लो भाग मतपत्र–१ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा मतपत्र–२ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको छ ।
आयोगले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा कात्तिक ५ गते पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रममा शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सहभागी हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई हार्दिक आह्वान गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि २०७४ कात्तिक ५ गते आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकार प्रयोग गर्नुहुनेछ ।  पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको जानकारी पनि आयोगले दिएको छ ।
समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिनेछ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको डा. यादवले बताउनुभयो । समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा बुधबारसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ भन्दै उहाँले सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने कार्यक्रम रहेको बताउनुभयो ।  
राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारहरूको बन्दसूची ठूलो उत्साहका साथ बुझाएबाट आगामी निर्वाचन व्यापक सहभागिता तथा उत्साहका साथ सम्पन्न हुने सुनिश्चित भएको बताउँदै उहाँले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन हार्दिक अपिल गर्नुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर १० गते आइतबार  र मङ्सिर २१ गते बिहीबार हुँदैछ ।   उक्त निर्वाचनका लागि आयोगले १० हजार ६७१ निर्वाचन स्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरिसकेको छ ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा सात प्रदेशका समानुपातिकतर्फ २२० पदका लागि उम्मेदवारको बन्दसूची बुझाउँदा दलहरूले समानुपातिक तथा समावेशी सिद्धान्तलाई पालना गरेको आयोगले जनाएको छ ।
नेपालको राजनीतिक इतिहासमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकैपटक हुन लागेको यो पहिलोपटक हो । निर्वाचन सम्पन्न गराउन आयोगले यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको छ भने विभिन्न प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको जनाइएको छ ।
मतदाता नामावली ऐन २०७३ अनुसार मतदानका लागि मतदाता परिचयपत्र अनिवार्य भएको हुँदा नयाँ थपिएका मतदाताका लागि परिचयपत्र छपाइ गरी वितरण गरिने आयोगले जनाएको छ । एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ताको हिसाबले करिब २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने जनाउँदै आयोगले मतदाता शिक्षाका क्रममा यसपटक बढीभन्दा बढी नमुना
मतदान गराउने आयोगको नीति
रहेको छ ।   मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य सुरु भइसकेको र नेपालमा बोलिने राष्ट्रभाषाहरूमध्ये विभिन्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न आयोगले प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आयोगले अन्तर्राष्ट्रिय सङ्घ, संस्था र व्यक्तिलाई आवेदन मागेकोमा बुधबारसम्म चारवटा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट सहभागिताका लागि आवेदन प्राप्त भएको छ भने दुई अन्तर्राष्ट्रिय व्यक्तिबाट पर्यवेक्षणका लागि आवेदन प्राप्त भएको आयोगले जनाएको छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय सहयोग नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजदूतहरूलगायत कूटनीतिक नियोगका प्रतिनिधिहरूबाट स्थानीय तहको निर्वाचनमा जस्तै मित्रराष्ट्रलगायत अन्तर्राष्ट्रिय जगत्बाट आवश्यक सहयोग तथा सद्भाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचनको तयारीका लागि आयोग अहोरात्र खटिरहेको र तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।
कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू र अन्य सहभागीहरूले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन छोटो समयमा सफल गराएकोमा आयोगको प्रशंसा गर्नुभएको थियो ।
आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिताको कार्यान्वयन, काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूले निर्वाचन पर्यवेक्षण गर्ने विषय र बदर मतपत्रको सङ्ख्या घटाउने र आयोगबाट गरिएको तयारी सम्बन्धमा कूटनीतिज्ञहरूले राख्नुभएका विभिन्न जिज्ञासाको प्रमुख आयुक्त डा. यादव र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले जवाफ दिनुभएको थियो ।
निर्वाचनको समग्र तयारीका बारेमा आयोगका सहसचिव नवराज ढकालले प्रस्तुतीकरण गर्नुभएको थियो । निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुुधीरकुमार शाह तथा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव बैरागी, अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुङ्गाना र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने लगायतका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा जर्मनी, स्विट्जरल्यान्ड, फ्रान्स, डेनमार्क, श्रीलङ्का र बङ्गलादेशका राजदूत, ईयूलगायत काठमाडौँस्थित विभिन्न देशका दूतावासका प्रतिनिधिहरूको उपस्थिति थियो । साथै यूएनडीपी, जाइका लगायतका सहयोग नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना