कसरी खुसी हुन्छिन् लक्ष्मी ?

रत्नबहादुर बस्नेत

 

हामी हरेक वर्ष कार्तिक कृष्ण औँसीको दिन (साँझ) धनकी अधिष्ठात्री देवी लक्ष्मीको श्रद्धाभक्तिपूर्वक विशेष पूजा गर्छौं, जुन आज बिहीवार राति हामी नेपालीले लक्ष्मीको आराधनासहित पूजाआजा गर्दै छौँ । नेपाली समाजमा यस दिन लक्ष्मीपूजा गर्नाले लक्ष्मी प्रसन्न भई कृपा प्रदान गर्नुहुन्छ र उहाँको कृपाबाट मानिस धनाढ्य र यशवान् बन्ने धार्मिक आस्था तथा विश्वास छ । के यसो भनिएको भरमा केवल लक्ष्मीको पूजा गर्दैमा लक्ष्मीबाट धनको प्राप्ति भइहाल्छ
त ? निश्चय पनि लक्ष्मी केवल पूजाबाट मात्र प्रसन्न बन्नुहुन्न । हामीले लक्ष्मीपूजा जति गरे पनि संसार धनी बन्ने तर हामी गरिब बन्दै जाने अवस्थाको मूल कारण पनि यही हो । अतः माता लक्ष्मीको प्रसन्नता र कृपाको कामना राख्नेले उहाँप्रति श्रद्धाभक्ति कायम राख्दै पूजा गर्नुको साथै उहाँको अनुकूल स्वभावको निर्माण र कर्म गर्नु र त्यसतर्फ जागरुक बन्नु अनिवार्य छ । यहाँ नीतिशास्त्रमा उल्लिखित लक्ष्मी प्राप्तिका साधन एवम् सद्गुणबारे संक्षेपमा उल्लेख गरिन्छ ।
लक्ष्मी वा धन प्राप्तिको पहिलो र प्रमुख साधन हो– परिश्रम वा उद्यम हो । यी कर्म गर्नेसँग माता लक्ष्मी सधैँ प्रसन्न हुनुहुन्छ तथा अल्छी र निरुद्यमीदेखि उहाँ सधैँ टाढै बस्नुहुन्छ । उहाँ त्यसैलाई सदा सहायता गर्नुहुन्छ, जो परिश्रमी, उद्योगी र साहसी छ । आलस्यता तथा अकर्मन्यताले सधैँ दरिद्रतामात्र निम्त्याउँछ । अल्छी स्वमावले मान्छे अनेक दुःख र दुर्गुणले युक्त भई रोगी, दुःखी र दीनहीन अवस्थामा पुग्छ । उद्यमी पुरुषको पछिपछि धन वा लक्ष्मी आउँछिन् । ‘जिउँदै म¥याको भनी नाम लिनु कसको, उद्यमविना काल बित्यो जसको’ आदिकवि भानुभक्त आचार्यको भनाइमा पनि निर्उद्योगी व्यक्ति जीवन जिउँदै मरेतुल्य छ । सुतिरहने दृष्टिकोणले जीवन आलस्यमय बन्छ । त्यसैले व्यर्थ समय व्यतीत गर्ने अल्छी स्वभावलाई त्यागेर साहस र उत्साहपूर्वक कर्म गर्नुपर्छ, यसैबाट लक्ष्मीको कृपादृष्टि सम्भव छ ।
अर्को लक्ष्मीको प्रसन्नता र प्राप्तिको मुख्य साधन धर्मपूर्वकको आचरणलाई मानिएको छ अर्थात् धर्मविपरीत आचरण लक्ष्मी प्राप्तिको ठूलो बाधक हो । मानिसले चोरी, डकैती, दुस्कर्म र भ्रष्टाचार गरेर पनि बलजफ्ती क्षणभरका लागि धन प्राप्त गर्न त सक्ला तर त्यसबाट सुख नभई केवल भय र विपत सिर्जना हुन्छ । कल्याण नगर्ने र विपत्ति बढ्ने धन वास्तविक सम्पत्ति
(लक्ष्मी) बन्न सक्दैन । आजको मान्छे धनको पछि लागेर धर्म छोडेर जसरी भए पनि धन आर्जन गर्ने ध्याउन्नमा छ तर नीतिशास्त्रअनुसार अन्यायले आर्जन गरिएको धन दस वर्षमा नासिन्छ भनिएको छ ।
जहाँ धर्म हुन्छ, त्यहाँ उत्तम मति र सद्गति हुन्छ । जहाँ सद्गति हुन्छ त्यहाँ सम्पत्ति हुन्छ । नीतिवचन भन्छ– धर्मपूर्वक शुद्ध आचरण गर्नुपर्छ । अमृतभन्दा स्वर्ग टाढा नभएझैँ धन र धर्म पनि अलग हुन सक्दैन । स्वधर्मको पालना र धर्माचरणबाटै मानिस सज्जन र सदाचारी भई शुभकर्म गर्न समर्थ हुन्छ । माता लक्ष्मी शुभ र सत्कर्मकै पक्षपातिनी हुनुहुन्छ । हाम्रा साधनाशास्त्रहरूमा असन्तोष वा अप्रसन्नता (मानिसको असन्तोषीवृत्ति) लाई पनि लक्ष्मी प्राप्तिको बाधकका रूपमा लिइएको छ । सर्वशास्त्रमयी गीताका अनुसार पनि जसको चित्त प्रसन्न छ, त्यसको दुःख नाश भई आनन्द प्राप्त हुन्छ । प्रसन्न चित्त भएको (सन्तोषी) व्यक्तिको विवेक तत्काल ठीक भई स्थिर हुन्छ । स्थिर र विवेकपूर्वकको कर्मबाट सिद्धि प्राप्त हुन्छ । यता, असन्तोषी र अप्रसन्न (चिन्ता र शोकले पीडित) व्यक्ति अस्थिर र अशान्त भई लक्ष्यप्राप्तिका लागि आवश्यक आत्मविश्वास गुमाउन पुग्छ । सन्तोष भनेको हात बाँधेर चुपचाप बस्नु होइन, कर्मको परिणाम स्वीकार गरी थप प्रयत्न गर्नु हो । लोभको भकारी कहिल्यै भरिँदैन । आफ्नो थोरै कमाइमा पनि प्रसन्न बन्न सक्दा असिम सुख प्राप्त हुन्छ । धनको थुप्रो लाग्नु मात्र लक्ष्मीको कृपा होइन, लक्ष्मी भनेको सर्वोपरि आनन्ददायी तथा कल्याणकारी भाव हो । लक्ष्मीको सानो कृपामा पनि असिम सुख प्राप्त हुन्छ ।
त्यस्तै लक्ष्मीको अनुकम्पा प्राप्त गर्ने महŒवपूर्ण साधनमध्ये संयम पनि एक हो भनिएको छ । अर्थात् असंयमी मान्छेले जीवनमा कहिल्यै लक्ष्मीको कृपा प्राप्त गर्न सक्दैन । संयम भनेको आत्माको अनुशासन हो । भनिएको छ, जो संयम अर्थात् आत्मानुशासनमा बस्दैन, त्यो मानिस सधैँ अर्काको दास हुन्छ । यस्तो व्यक्ति धनार्जन गर्न असक्षममात्र बन्दैन भएको धन पनि चाँडै गुमाउन पुग्छ ।
माता लक्ष्मीको उपाशक बनेर सुख र समृद्धिको आकांक्षा राख्नेले संयमको साधना गर्नु आवश्यक ठानिएको छ । मन, बुद्धि र इन्द्रिय संयममा राखी दुष्चरित्र र दुष्कर्मबाट बच्नु जरुरी छ । माता लक्ष्मी दुष्चरित्र र दुष्कर्म मन पराउनुहुन्न । आफ्नो मन, बुद्धि संयममा राखी कर्तव्यकर्ममा दृढ रहेर मातामा प्रीति कायम राख्न सक्षम व्यक्ति नै लक्ष्मीको प्रियपात्र बन्ने सौभाग्य प्राप्त गर्छ । लक्ष्मी प्राप्तिको मूल बाधकका रूपमा नीतिकारहरूले प्रमादलाई पनि उल्लेख गरेको पाइन्छ । प्रमादी बन्नु भनेको मात्तिनु–पात्तिनु हो अर्थात् बेहोशी भई कार्य गर्ने मनस्थिति प्रमाद हो । प्रमादी बनेर कर्म गर्दा मानसिक शक्ति र सन्तुलन गुमाई व्यक्ति धनको वृद्धि नभई विनाशतर्फ उन्मुख बन्न पुग्छ । जति कमाए पनि अझ बढी गुमारहनुपर्ने अवस्था सिर्जना हुन्छ, जसबाट हाम्रो मन वासना र विलासतर्फ आकर्षित भई बेहोशीपन बढ्ने भएकाले अप्रमादी बन्न जोड दिइएको छ । नस्सतमा भनिएको छ– प्रमादमा भय देखेर अप्रमादमा मन लगाउने व्यक्तिको पतन कहिल्यै हुँदैन । जसरी दुर्बल घोडाभन्दा बलवान् घोडा अगाडि (तीव्र वेगले) बढ्छ, त्यसैगरी सज्जन अप्रमादी बनेर जाग्रत भई सदा अगाडि बढ्छ, लक्ष्मीको कृपाप्रसादको भागी बन्छ ।
यसैले पनि व्यावहारिक कार्यकुशलता लागि अप्रमाद आवश्यक छ । अप्रमादी बन्न होसियारी, सजक र जागरुक हुनैपर्छ । अतः उपरोक्त सद्गुणहरूलाई अवलम्बन गर्न सके समृद्धितिर अग्रसर बन्ने बाटो खुल्ने सम्भावना अधिक हुन्छ र यसैबाट लक्ष्मीपूजाको सार्थकता हुनेछ ।

प्रकाशित मिति: २०७४/७/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना