हामी किन ओरालो लागिरहेछौँ ?

pradip nepalप्रदीप नेपाल

 

‘म यो राज्यमा शासन गर्छु’ भन्नेसँग, शासन कसरी गर्नुपर्छ भन्ने दृष्टिकोण हुनुपर्छ । त्यो दृष्टिकोण, खालि विकासको नाममा मात्र हुनु हुँदैन । राज्यको विकास भनेको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पनि हो । हाम्रा नेताहरू राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति गर्ने हो भन्छन् । राजनीतिक क्रान्ति सकियो भनेको के हो ? अहिलेजस्तो नेताहरूको मनपरीतन्त्र लोकतान्त्रिक गणतन्त्रको माग थिएन । इमान मरेको राजनीति पनि लोकतान्त्रिक गणतन्त्रको माग थिएन । कम्तीमा पनि नेताहरू, प्रधानमन्त्री र मन्त्रीहरू जनताप्रति समर्पित होऊन् पहिलो चरणमा भन्ने माग थियो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको । खै कहाँ छ यस्तो राजनीति ? नेता र प्रधानमन्त्रीलाई जे मन लाग्यो त्यही गर्न पाइँदैन लोकतान्त्रिक गणतन्त्रमा । पञ्चायत कालमा राजइच्छा सबैभन्दा माथि हुन्थ्यो । आज नेता वा प्रधानमन्त्रीको इच्छा सर्वोपरी भएको छ । प्रधानमन्त्रीलाई नियम कानुन केही लाग्दैन । अहिले पनि प्रधानमन्त्रीको रवाफ ‘जंगेले बोलेपछि बोल्यो बोल्यो’ भन्ने खालको छ । हामी लाटाहरू पार्टीको नाममा प्रधानमन्त्री र ठूला नेताका अप्रजातान्त्रिक कर्मलाई माफ दिँदै जाँदैछौँ । हामी आफैँ पनि जानी नजानी लोकतन्त्रको नाममा ठूला मान्छेबाट चलिरहेको दादागिरीलाई स्वीकार गरेर मुलुकलाई झन्झन् पछाडि धकेली रहेका छौँ ।
राजनीतिबिनाको विकास ठगहरूको गफ मात्रै हुन्छ । एउटा सानो उदाहरण पस्किउँ । म भोजपुर जिल्लामा जन्मिएँ, हुर्किएँ । २०२५ सालको प्रवेशिका परीक्षा उत्तीर्ण गरेर म काठमाडौँमा पढ्न आएँ । त्यतिबेलासम्म भोजपुर जिल्लामा खाद्यान्न आयात गरिँदैनथ्यो । बरु सोलुखुम्बु, संखुवासभा, खोटाङ जिल्लातिर खाद्यान्न निर्यात गरिन्थ्यो होला । २०२० सालदेखि नै भोजपुर जिल्लाबाट झापा, मोरङ, सुनसरी, काठमाडाँैतिर बसाइ सराइ हुन थालेको थियो । पछौटे जिल्ला थियो भोजपुर । त्यसैले पनि भोजपुरको बसाइ सराइ अरु पहाडी जिल्ला भन्दा तीव्र थियो अर्थात् भोजपुर जिल्लाको जनसंख्या बीसको दशकदेखि नै ओरालो लाग्न थालेको थियो ।
बहुदल आएपछि २०४८ सालमा म भोजपुर पुगेँ । भोजपुरको जनसंख्या झनै घटेको थियो तर त्यहाँ खाद्य संस्थानको कार्यालय थियो । पहिले जनसंख्या धेरै थियो तर जिल्ला खाद्यान्नमा आत्मनिर्भर थियो । जनसंख्या घट्दै गयो, जिल्ला खाद्यान्नमा परनिर्भर हुन थाल्यो । ०४८ सालमा तीनवटा निर्वाचन क्षेत्र भएको भोजपुर ०५८ सालमा दुई क्षेत्रमा झरेको थियो तर खाद्यान्न आयातको अनुपात चाहिँ बढेको थियो ।
यस्ता जिल्लाहरू अरु पनि होलान् जहाँ जनसंख्या घट्ने र खाद्यान्न आयात बढ्ने भोजपुरे क्रम चलेको होला । यस्तो किन भयो ? पञ्चायतमा पनि राजा र मन्त्रीहरू विकासका ठूलठूला भाषण गर्थे । राजा वीरेन्द्र स्वयंले ०४२ सालमा सबै जिल्ला सदरमुकाममा गाडी पु¥याउने घोषणा गरेका थिए । भोजपुर जस्तो मध्यपहाडी जिल्लामा समेत बल्लतल्ल ०६५ सालमा बस पुग्यो । त्यसैले राजनीतिबाट बाहिरिएको विकासे भाषणको कुनै अर्थ हुँदैन ।
विकासको पहिलो राजनीतिक सोच– ०५१ मा गठित नेकपा एमालेको सरकारले ल्यायो । सामाजिक सुरक्षासहितको विकास । गाउँ विकास समितिमा सोझै बजेट पठाउने, सामाजिक सुरक्षा भत्ता आरम्भ गर्ने, ‘आफ्नो गाउँ आफैं बनाउँ’ को राष्ट्रिय अभियान चलाउने सोच भनेको राजनीतिक सोच सहितको विकास अभियान हो । त्यस्तो सोच सहितको विकास अभियान त्यसपछिका कुनै सरकारले चलाउन सकेनन् ।
प्रधानमन्त्रीले पाँच हजार, दश हजार, बीस हजार मेगावाट जलविद्युत् उत्पादनको भाषण धेरै गरे । सबै प्रधानमन्त्रीले भाषण गरेको उत्पादनलाई जोड्ने हो भने अहिले नेपालको विद्युत् उत्पादन पचास हजार मेगावाट भैसक्ने थियो तर अहिलेको हाम्रो विद्युत उत्पादन हजार मेगावाट पनि नाघेको छैन । कुनै पनि आयोजनाको भविष्य सुरक्षित छ कि छैन भन्ने पनि हाम्रा प्रधानमन्त्री अथवा मन्त्रीहरूलाई थाहा हुँदैन । नेपालको फराकिलो क्षेत्र भूकम्पीय जोखिमको क्षेत्रमा छ । यस्तो ठाउँमा ठूला बाँधहरू बाँध्नु हुँदैन । यो सामान्य ज्ञानको कुरा हो तर हाम्रा प्रधानमन्त्रीहरू, पञ्चेश्वर (महाकाली) उच्च बाँध, कोशी उच्च बाँध, बुढीगण्डकीको १२ सय मेगावाटको जलाशययुक्त उच्च बाँधका सपना गुलिया मिठाइ जसरी बाँडिरहेका छन् । भूकम्पीय जोखिम र भूकम्प पीडितको व्यवस्थापनमा नेपाल सरकारको अयोग्यता छर्लंग देखिएको छ । भोलि पनि नेपाल सरकारले भूकम्पपीडितको व्यवस्थापन गर्न नसक्ने कुरो निश्चित छ तर त्यो भूकम्पीय जोखिम बोक्न चाहिँ मन्त्रीहरू बाजा बजाउँदै हिँडिरहेका छन् ।
राजनीतिक दृष्टिले हेर्ने हो भने नेपालका सबै जलविद्युत् आयोजनाहरू हिमाली क्षेत्रमा निर्माण गर्नुपर्छ । माथिल्लो तामाकोशी एउटा उपयुक्त आयोजना हो । चिलिमे र यसले निर्माण गर्न लागेका जलविद्युत् आयोजना पनि उपयुक्त स्थानमा निर्माण गरिएका हुन् । बुढीगण्डकीको अधिकतम जलाशय छ देखि सात सय मेगावाट हो । अझ त्यो भन्दा राम्रो र जलाशयमा सबैभन्दा उपयुक्त उत्तरगंगा हो । महाभारत शृङ्खलामा साना बाँधहरू मात्र बनाउनु पर्छ । चुरे क्षेत्रमा त जलविद्युत्को विकल्प, अर्थात् सौर्य ऊर्जा उपयुक्त हुन्छ । नेपालका कुन प्रधानमन्त्रीले जलविद्युत् विज्ञहरूसँग बसेर उनीहरूको परामर्श लिएर काम गरेका छन् ? कसैले पनि गरेका छैनन् । होडबाजी चलेको छ यहाँ । तैले पाँच हजार मेगावाट भनिस्, म दश हजार भन्छु भन्ने पारामा होड चलेको छ तर भाषणको होडले पाँच मेगावाट बिजुली पनि उत्पादन हुँदैन ।
सबैभन्दा नराम्ररी ओरालो लागेको हाम्रो शिक्षा हो । उहिले हामी केटाकेटी छँदा बालवर्ग भन्ने एउटा कक्षा हुन्थ्यो । त्यसलाई अहिलेको नर्सरी भन्दा हुन्छ । त्यसपछि तीन कक्षासम्म हामी एउटा मात्र किताब पढ्थ्यौं– ठूलो वर्णमाला । त्यो ठूलो वर्णमालामा स्वर, व्यञ्जन, गणितको जोड, घटाउ, गुणा र भाग हुन्थ्यो । अंग्रेजीको ए देखि जेड सम्म पढ्नु पथ्र्यो । अंग्रेजी पुस्तक हामीले एकै चोटी कक्षा चारमा पढ्न पाउँथ्यौँ तर कक्षा नौ र दशमा हामीले प्रोज सेलेक्सन र पोइट्री सेलेक्सन पढ्नु पथ्र्यो । ती किताबमा हुन्थे विलियम शेक्सपियरका कविताहरू, क्याथरिन म्यान्सफिल्डका लेखहरू । अहिलेका बच्चाहरू हैँ हैँ गर्दै गह्रुङ्गा झोला बोक्छन् तर त्यो झोलामा हिजोको आधा ज्ञान पनि हुँदैन ।
हामी नेपालीकै वंशज बस्ने सिक्किममा सामुदायिक र निजी विद्यालयमा एउटै पाठ्यक्रम पढाइ हुन्छ । धनी र गरीब दुबैले शिक्षाको एउटै अवसर पाउँछन् । माध्यमिकसम्मको शिक्षा निःशुल्क छ । १२ कक्षा पास गरेपछि अगाडि नपढ्ने, तर कुनै योजनासहितको काम गर्नेलाई शैक्षिक ऋण दिने चलन छ । ठूलठूला गफ गर्ने हामी नेपालका नेपाली भने शिक्षाको नाउँमा ठग्ने बाहेक अरु केही काम गरिरहेका छैनौँ । निजी विद्यालयको पाठ्यक्रम यूरोप, अमेरिका, अस्ट्रेलिया निर्यात गर्ने हिसाबले बनाइन्छ । सामुदायिक विद्यालयको पाठ्यक्रम गाई भैँसी हेर्नेका लागि बनाइन्छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ भन्छन्– पढेर अर्काको नोकर हुनु हुँदैन, आफैं गरिखाने हुनुपर्छ । हाम्रो मानस, सन्तानले १२ कक्षा पास गरेपछि अमेरिका वा अस्ट्रेलिया छिर्न कम्प्युटरमा औसरको खोजी गर्ने हुन्छ । के हामी एक दर्जन शिक्षाविद्लाई काममा लगाएर सबैको लागि एउटै प्राथमिक वा माध्यमिक, एउटै प्राविधिक शिक्षाको व्यवस्था गर्न सक्दैनौँ ? सक्छौँ । किनभने रोजगारीमूलक शिक्षा नेपालको लागि हो विदेशीनेका लागि होइन ।
नेपाल कृषि प्रधान देश हो, यो सबैले भन्छन् । कृषि प्रधान भन्ने वित्तिकै कृषि, पशुपालनमा सबैभन्दा बढी ध्यान दिनु पर्छ तर नेपालमा दाल चामल सबै आयात हुन्छ । अरबौँको मासु आयात हुन्छ । तिहारको तीन दिनको लागि करोडौंको पूmल आयात हुन्छ । नेपालका नेता, ठूला व्यापारी वा कुरा बिक्नेहरूले ठूला कुरा गर्नु बेकार छ ।

 प्रकाशित मिति: २०७४/७/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना