पुनहिलमा दैनिक पाँचसय पर्यटक

touristबेनी (म्याग्दी), कात्तिक ६ गते ।   म्याग्दीको प्रसिद्ध पर्यटकीय क्षेत्र घोडेपानीको  पुनहिलमा पर्यटकको ओइरो लागेको छ ।  सरद ऋतुको आगमन सँगै यहाँको भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा  वृद्धि भएको हो ।  आन्तरिक र बाह्य गरी दैनिक करिब पाँच सय पर्यटकले घोडेपानी र पुनहिलको भ्रमण गर्ने गरेको व्यवसायी बताउँछन् ।
दसैँ तिहार बिदाका समयमा चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृश्य अवलोकन गर्न पर्यटकको भिड लाग्ने गरेको हो  ।  समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको घोडेपानीका होटल व्यवसायी टेकसर बुदुजा पुनले बताउनुभयो ।  पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि  घोडेपानीमा रहेका होटल भरिभराउ भएका छन् ।  
दैनिक २५० जना बाह्य र त्यतिकै सङ्ख्यामा आन्तरिक पर्यटक भ्रमणमा आउने गरेको घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख वीरेन्द्र महतोले बताउनुभयो ।  कार्यालयका अनुसार, वि.स. २०७४ वैशाखदेखि भदौसम्म १४ हजार २३४ जना विदेशी पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।  
असोज महिनाको अन्तिमसम्म  छ हजार  विदेशी पर्यटक घोडेपानी क्षेत्रमा भित्रिएका छन् ।  तथ्याङ्क नराखिए पनि काठमाडौँ, चितवन, पोखरा लगायत देशका विभिन्न ठाउँबाट भ्रमणमा आउने आन्तरिक पर्यटकको चापसमेत बढेको घोडेपानीका होटल व्यवसायी  पुनले बताउनुभयो ।  नेपालीमा घुम्ने संस्कारको विकास, यस क्षेत्रको प्रचार प्रसारले आन्तरिक पर्यटक बढ्ने क्रम जारी छ, बुद्धजाले भन्नुभयो ।
कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा भएर घोडेपानी पुग्न सकिन्छ ।  घोडेपानीमा बास बस्ने पर्यटक सूर्योदय र हिमशृङ्खलाको सौन्दर्यमा रमाउन एकाबिहानै करिब एक घण्टा पैदल हिँडेर पुनहिल पुग्दछन् ।  पर्यटकको आवास सुविधाको लागि घोडेपानीमा दैनिक सात सय  जना क्षमताको २२ वटा होटल सञ्चालनमा छन् ।  
पर्यटकको आगमन बढ्दै गएपछि परम्परागत होटललाई आधुनिकीकरण, सुविधा थप र क्षमता विस्तार भइरहेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका उपाध्यक्ष सुशिल पुनले बताउनुभयो ।  घोडेपानीमा बास बस्न दैनिक एक  हजारदेखि एकहजार ५०० रुपियाँसम्म न्युनतम बजेट आवश्यक पर्छ ।
घना गुँरासे जङ्गलको बीचमा रहेको थुम्कोमा अवस्थित पुनहिलबाट सूर्योदयका साथै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु, गुर्जा, चुरेन, निलगिरि लगायतका १६ वटा हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।  नवलपरासीको गैडाकोटबाट कलेजका ६० जना साथीसँगै भ्रमणमा आएकी रजनी विश्वकर्माले पदयात्राको क्रममा भएको थकान र दुःखलाई पुनहिलको सौन्दर्यले भुलाएको अनुभव सुनाउनुभयो ।   
सूर्योदय, पहाडी भूगोल, शान्त वातावरण र दर्जनौँ मनोरम हिमशृङ्खलालाई एकै ठाउँबाट अवलोकन गर्न पाउँदा आफू दङ्ग परेको थाईल्यान्डबाट आएकी मेरिनाले बताउनुभयो ।  असोज–कात्तिक र चैत–वैशाख यस क्षेत्रको मुख्य पर्यटक याम हो ।  पुस–माघमा हिउँ खेल्न र चैत–वैशाखमा पाखाभरी ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको थप आकर्षण हो ।  
पोखरादेखि नजिक र छोटो अवधिमा भ्रमण गर्न सकिने भएकाले घोडेपानी पुनहिल पर्यटकको रोजाइमा परेको पथप्रदर्शक अमृत सुवेदीले बताउनुभयो ।  पोखरादेखि नयाँपुल हुँदै तिखेढुङ्गासम्म सवारीसाधन र त्यहाँबाट पदयात्रा गरी एक दिनमा घोडेपानी पुगिन्छ ।  घोडेपानी घान्द्रुक भएर धेरैजसो पर्यटक अन्नपूर्ण बेसक्याम्पसम्म पुग्ने गरेका छन् ।
स्थानीयवासीले घोडेपानी हुँदै पुनहिल पुग्नको लागि पदमार्ग निर्माण गरेका छन् ।  पुनहिलका संस्थापक स्वर्गीय टेकबहादुर पुनको स्मृतिमा भ्युटावर निर्माण भएको छ ।  गाउँका विभिन्न नाकामा प्रवेशद्वार बनाएका छन् ।  पूर्ण सरसफाइयुक्त गाउँ घोषित घोडेपानीको आमा समूहले मासिक रूपमा पदमार्गलाई सरसफाई र मर्मत गर्छन् ।  
पर्यटकलाई आकर्षित गर्न पुन मगरहरूको ऐतिहासिक र साँस्कृतिक पहिचान झल्काउने मगर सङ्ग्रहालय सञ्चालन गरिएको आमा समूहकी उपाध्यक्ष ललिता पुर्जाले बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना