असल राजनीतिक संस्कार

 शङ्करनाथ काफ्ले


निर्वाचन प्रक्रिया आरम्भ भएको अघिल्लो दिन अर्थात् असोज २८ गते रूपान्तरित व्यवस्थापिका संसद्को अवधि स्वतः समाप्त भएको घोषणा भई मुलुक संविधान कार्यान्वयनको महŒवपूर्ण चरणमा प्रवेश गरेको छ ।  दोस्रो संविधानसभाको निर्वाचनबाट गठन भएको संविधानसभा र संविधान निर्माणको ऐतिहासिक र महŒवपूर्ण जिम्मेवारी सम्पन्न गरेर रूपान्तरिक भएको स्वतः विघटित व्यवस्थापिका संसद्ले महŒवपूर्ण जिम्मेवारी पूरा गर्न सफल भएको छ ।  संविधान निर्माण कार्यदेखि त्यसको कार्यान्वयनका लागि गर्नुपर्ने थुपै्र कार्य र बनाउनुपर्ने थुपै्र कानुन बनाएर एउटा जिम्मेवारी पूरा गर्न सफल भएको स्वतः विघटित संविधानसभा र रूपान्तरित व्यवस्थापिका संसद्लाई धन्यवाद दिनैपर्छ ।  
जनताबाट प्रत्याभूत सार्वभौम अधिकारको कुशलतापूर्वक प्रयोग गर्दै समय, आवश्यकता र वातावरण अनुकूलका व्यवस्था लागू गर्न सक्नु व्यवस्थापिका संसद्को जिम्मेवारपूर्ण भूमिका हो भन्न सकिन्छ ।  पक्कै धेरै पक्षका धेरै चाहना र मागलाई यसले सम्बोधन गर्न सकेको छैन तर जे जति व्यवस्थालाई सम्बोधन गरिएका छन्, त्यसलाई ऐतिहासिक र महŒवपूर्ण उपलब्धि नै मान्नुपर्छ ।  
संविधान निर्माणपछि राजनीतिक संस्कारमा धेरै परिवर्तन आउनेछ भन्नेमा जनता विश्वस्त थिए तर तत्काल त्यस खालको लक्षण देखा परेनन् ।  सङ्क्रमणकालीन अवस्थाको नाममा आज पनि राजनीतिक संस्कारलाई धमिलो बनाउने अभ्यास भइरहेका छन् ।  
निर्वाचन पछि संसद्को आकार केही घटे पनि राजनीतिक संस्कारको स्वभावमा तत्काल परिवर्तन हुन सक्ने अवस्था छैन ।  आज एकातिर वाम गठबन्धनको नाममा नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरू गठबन्धित भएका छन् भने अर्कोतर्फ लोकतान्त्रिक गठबन्धनको नाममा नेपाली काँग्रेसलगायत राप्रपा तथा सम्भवतः मधेश केन्द्रित दलहरू एकाकार हँुदैछन् ।  दुई धार बनाएर निर्वाचनमा गएपछि कुनै पनि दलले संसद्मा बहुमत सिद्ध गर्न सक्ने अवस्था नआउन सक्छ ।  त्यो अवस्थामा गठजोरविना सरकार निर्माण असम्भव हुनेछ ।  त्यस अवस्थामा हामी संविधान कार्यान्वयनको नयाँ मोडमा पुगेको घोषणा गरे पनि आजकोभन्दा जटिल समस्या उत्पन्न भई पुनः जम्बो मन्त्रिमण्डल गठन गर्नुपर्ने अवस्था आउन सक्छ ।  त्यो अवस्थामा स्थिरताको लागि भन्दै दलहरूले संविधान संशोधन गरेर हालको अधिकतम २५ जनाभन्दा बढीको मन्त्रिमण्डल गठन गर्न पाइने छैन भन्ने व्यवस्थालाई उल्ट्याउन बाध्य पनि हुन सक्छन् ।
निर्वाचनपश्चात् राजनीतिक शक्तिको अवस्थामा कुनै परिवर्तन हुने अवस्था पनि देखिएको छैन ।  हालकै ठूला राजनीतिक दल नै प्रतिस्पर्धामा रहने छन् ।  कोही अगाडि कोही पछाडि होलान् ।  तसर्थ, पद्धति परिवर्तन गरिए पनि राजनीतिक संस्कारमा तुरुन्त परिवर्तन हुन सक्ने अवस्था छैन ।  आज राजनीतिको भान्सामा बसेर परिवारका सदस्यको असन्तुष्टिलाई सम्बोधन गर्न बाक्लो दालमा पानी थपेर भाग लगाएजस्तै भोलि पनि यिनै राजनीतिक भान्सेहरूले पार्टी परिवारका सदस्यको असन्तुष्टिलाई सम्बोधन गर्न अप्रिय व्यवहार गर्नैपर्ने हुन्छ ।  हामी नयाँ युगमा प्रवेश गर्दैछौँ भन्नेले पहिले नै सुधारको सङ्केत देखाउन सक्नुपथ्र्यो ।  घरमा छोराको बिहे गरेर बुहारी भिœयाउनु अघि रङ्गरोगन गरेर चिटिक्क पारिन्छ ।  बिहे गर्नु अगाडि रङ्ग लगाउन भ्याइएन भने बुहारी भिœयाएपछि तत्काल रङ्ग लगाइँदैन ।  रङ्ग लगाउन अर्को साइत कुर्नुपर्ने हुन्छ ।  हामी संविधान कार्यान्वयनको अन्तिम अवस्थामा पुग्दा सङ्क्रमण र बाध्यताको नाममा केही नकारात्मक काम गर्न पनि पछि परेका छैनौँ ।  सङ्क्रमण र बाध्यता सधैँ जन्मिरहने कुरा हुन् ।  त्यसको उचित समाधान खोजी गर्नुपथ्र्यो ।
निर्वाचनमा गरिने गठबन्धन भनेको ठूला पार्टीले आफ्नो बहुमत सिद्ध गर्ने माध्यम हो ।  निर्वाचनमा आज वाम र लोकतान्त्रिक गठबन्धनको तयारी भइरहेको छ ।  यसको आसय निर्वाचनपछि कि नेपाली काँग्रेस नेतृत्वको सरकार निर्माण गर्ने कि नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्ने हो ।  इमानदार राजनीतिक संस्कार स्थापित गर्ने हो भने गठबन्धनपछि निर्वाचनमा बहुमत सिद्ध गर्ने दलले आगामी पाँच वर्षसम्म निर्वाध रूपमा सरकार चलाउने भन्ने हो ।  बीचमा गठबन्धन भत्कनु वा भत्काउनुहुँदैन ।  एउटा गठबन्धन निर्माण भइसकेपछि कुनै अर्को बहाना झिकेर दोस्रो पक्षसँग पनि साँठगाँठ गरिरहनु राजनीतिकको आदर्श हुन सक्दैन तर त्यसको सङ्केत अझै देखापरिरहेको छ ।  माओवादी केन्द्रको समर्थनमा वर्तमान सरकार गठन भएको थियो ।  व्यवहारतः माओवादीले सरकारविरुद्ध अविश्वास छ भनेको छैन ।  बरु उल्टो सरकारमाथि समर्थन रहेको जनाइरहेको छ तर विपक्षीसँग गठबन्धन गरेर निर्वाचनमा जाने र निर्वाचनपछि एकीकरणसम्म गर्ने भन्ने घोषणा गरेको अवस्थामा माओवादी केन्द्रलाई सरकारमा बस्ने कुनै राजनीतिक अधिकार छैन तर विभिन्न तर्क तेर्साएर द्विविधायुक्त व्यवहार गरिरहेको छ ।  यस्तो अवस्थामा भोलि निर्वाचनपछि कुनै अर्को तर्क तेस्र्याएर स्वार्थका लागि नयाँ गठजोर नगर्लान् भनेर भन्न सकिँदैन ।  यसकारण दलहरूले संविधान निर्माण गरेर मात्र हँुदैन, राजनीतिक संस्कारको पनि निर्माण गर्नु आवश्यक छ ।  हामीले जति नै उत्कृष्ट संविधान निर्माण गरे पनि हाम्रो राजनीतिक संस्कारमा परिवर्तन आउन सकेन भने हामी नयाँ युगमा प्रवेश गर्नै सक्दैनौँ ।  तसर्थ, सचेत र सजग हुनुपर्ने बेला आएको छ ।  दलले इमानदारिता र जनताले सुझबुझपूर्ण निर्णय नगर्दासम्म मुलुक अघि बढ्नै सक्दैन ।
एउटा सानो उदाहरणलाई नै लिन सकिन्छ, वाम गठबन्धनको लागि वाचा गर्दै जनताका सामु हात उठाएर प्रतिबद्धता जाहेर गरेको नयाँ शक्ति नेपाल एक हप्ता पनि नटिक्दै वाम गठबन्धनबाट अलग भएको घोषणा गर्छ ।  डा. बाबुराम भट्टराईको राजनीति आफ्ना लागि हो कि मुलुकका लागि हो भन्ने प्रश्न उठेको छ ।  लोकतान्त्रिक गठबन्धनमा पनि कैयौँ यस्ता घटक देखापरिरहेका छन्, जसले वर्तमान संविधानबाट प्राप्त अधिकारलाई सङ्कुचित बनाउनुपर्छ भनी प्रस्ताव गरिरहेका छन् ।  निर्वाचनमा विजयी हुने आशामा हरेकका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गर्दै गठबन्धनमा टाउको थप्ने कार्य भइरहेको छ ।  हिजो मधेश आन्दोलनको बेलामा मधेशले उठाएका माग पूरा गर्ने छौँ भनी सम्झौता गरी आन्दोलनलाई थमथमाइएको थियो ।  आज उनीहरूसँग भएका कैयौँ सम्झौता कार्यान्वयन हुन सकेको छैन ।  आज हामी स्थिर राजनीतिको सङ्कल्प बोकेर अघि बढिरहेका छौँ ।  यो अवस्थामा आफ्नो शक्ति बढाउनका लागि हुन नसक्ने कुरा पूरा गर्नेछु भनी पुरानै चरित्र देखाउनु कदापि हुँदैन ।  भोलि अर्को खाल्टोमा पर्न सकिन्छ ।  तसर्थ, अबको राजनीति मुलुक र जनताको हितचिताइ गर्नुपर्छ ।  पार्टीगत स्वार्थभन्दा माथि उठेर राजनीति संस्कार अघि बढाइयो भने पक्कै हामीले प्राप्त गरेका सम्पूर्ण उपलब्धिको रक्षा गर्न सक्ने छौँ ।  
प्रकाशित मिति: २०७४/७/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना