उज्यालोसँगै फर्र्किएको आशा

Junar_babuजुनारबाबु बस्नेत



 

विगत बितेको समयमात्र होइन, आजको आधार हो र भोलिका लक्ष्य पनि हो ।  विगत नसम्झी भोलि सहज हुँदैन, बरु विगत बिर्संदा भोलि अझै कठिन हुन सक्छ ।  एक वर्षअघि निर्वाचनहरू हुने नहुने अन्योल चरम नै थियो ।  सरकार परिवर्तनका तुषहरूले मुख्य राजनीतिक दलहरूमा अविश्वासका गहिरा खाडल थिए ।  आरोप प्रत्यारोपका पर्राहरूले मिडिया बजार मस्त थियो ।  यस्तैमा एक वर्षअघि नयाँ अनुभूति सम्भव भयो ।  तिहारको लक्ष्मीपूजामा पनि बिजुली बत्ती गएन अर्थात् विद्युत् कटौती (लोडसेडिङ) भएन ।  यो अचम्म र अविश्वसनीय चमत्कारजस्तै थियो ।  झण्डै दुई दशकपछि त्यस्तो अनुभूति र अवसर राजधानीवासीलाई आएको थियो ।  विद्युत् कटौतीको हैरानीमै वर्षौं बितेका थिए ।  अर्थतन्त्र त्यसैले तहसनहस थियो ।  त्यसैबेला तिहारलगत्तै राजधानी उपत्यकालाई विद्युत् कटौतीमुक्त गर्न सम्भव छ र हिउँदमा पनि विद्युत् कटौती हुँदैन भन्ने खबर आयो ।  खबरले झनै अचम्मै तुल्यायो ।  तत्काल पत्यार भने कमैलाई भयो ।  कमजोर आत्मविश्वासले होला सही कुरा पत्याउन पनि नेपालीलाई कठिन हुँदै गएको छ ।
सही कुरा सम्पे्रेषणमा खास कडी थियो, कमैले बुझेका थिए ।  फूललाई गोबरहरूले छोप्ने नेपाली विडम्बना जताततै थियो, अझै छँदै छ  ।  मुुलुककै सार्वजनिक  संस्थान नेपाल विद्युत् प्राधिकरण त्यसमा अपवाद हुने कुरा भएन ।  त्यहाँको कार्यकारीमा केही महिना अघिमात्र कुलमान घिसिङको पदस्थापना भएको थियो ।  चिलिमेबाट तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले अन्यायपूर्ण निर्णयले लगभग फाजिलमा बसेकै कारण घिसिङको चर्चा चुलिएकै थियो ।  चिलिमेलाई फूल र स्थानीयको अवसर बनाउन डम्बर नेपालीहरूमात्र थिएनन्, त्यहाँ कुलमानजस्ता कर्मीमौरी पनि थिए ।  त्यसैले पनि राजधानी विद्युत् कटौतीमुक्त हुँदै छ भन्दा चासो अस्वाभाविक हुनु अन्यथा थिएन ।  लक्ष्मीपूजाकै दिन केही विश्वास राजधानीवासीले पाइसकेका थिए ।  धन्य, यो पटकको जस्तो मुसो पनि ट्रान्सफर्मरभित्र पसेनछ ।  मुसा पसेकै कारण विद्युत् भएर पनि यो पटकको लक्ष्मीपूजाको साँझ ७ बजेसम्म झण्डै सात घण्टा भक्तपुरवासी पीडित भए ।  तर, समयमै मुसाको क्षतिलाई यथावस्थामा ल्याउन सक्दा साँझ ७ बजेपछि भक्तपुरमा उज्यालो आउन सक्यो ।  विद्युत् प्राधिकरण कुशल प्राविधिक र व्यवस्थापनकै कारण मुसाको मार लामो खेप्न परेन ।  आशा गरौँ, कुशलकर्मीले मुलुकी मुसाको मारबाट राजनीति र अर्थतन्त्र पनि समयसँगै सफा हुँदै जानेछ ।  अविश्वास विश्वासमा बदलियो ।  मङ्सिर, पुसको चिसोमा पनि विद्युत् कटौती भएन ।  बरु विद्युत् कटौती नहुनेमा उपत्यकाका तीन सहरसँगै बनेपा र धुलिखेल समेटिए ।  भारतबाट थप बिजुली ल्याएसँगै बिस्तारै देशभरि विद्युत् कटौती न्यूनीकरण हुँदै मोफसलमा पनि बिजुलीको पहुँच पु¥याइयो ।  चैत, वैशाखसम्ममा विद्युत् पहुँच देशभरि पुग्यो ।  यो बिजुली औँलादौँला भएर प्राप्त भएको उपलब्धि थिएन ।  व्यवस्थापनको कार्यकुशलताबाट प्राप्त उपलब्धि थियो यो ।  विद्युत् चुहावटका पुरातन छिँड टालिएका थिए ।  विद्युत् चोरी गर्नेहरू कारबाही भोग्न थाले ।  कर्मचारी सङ्गठनहरू र तिनका आडमा कमल ओडेर घिउ खानेहरूको दिन बिस्तारै गए, अझै कतिपयको दिन जान बाँकी नै होला ।  कतिपय उद्योगहरूका लागि चोरीको बिजुलीमा विराम लाग्यो ।  प्राधिकरणको आय बढ्न थाल्यो ।  सरकार र दातृनिकायले बनाएको बिजुली बेचेर पनि घाटामा चल्नुपर्ने संस्थाको नियति वास्तवमै नाजुक थियो ।  व्यवस्थापनका सही कदमले राजनीतिका रङ्गमा अल्मलिएका कतिपय कर्मचारीहरू विस्तारै होशमा आए ।  मुलुकका अन्य सार्वजनिक संस्थानका व्यवस्थापन, कर्मचारी अनि कथित ट्रेड युनियनहरूका लागि प्राधिकरणको यो उपलब्धि ‘इन्टर्न’ गर्ने थलो हो ।  मौका हो ।  तिनले असल अभ्सास भन्दै सिक्न विदेशको टिकट काट्नु जरुरी छैन ।
नेपाल विद्युत् प्राधिकरणको उपलब्धि केवल एउटा सार्वजनिक संस्थानको उपलब्धिमात्र थिएन ।  यो त राष्ट्रको भरोसा र समृद्धिको सपना देख्ने आधार थियो र हो पनि ।  उज्यालो फर्कनासाथ त्यसले मुलुकको अर्थतन्त्रको मुहारमा चमक ल्याइदियो ।  उद्योगधन्दा कलकारखाना चल्न थाले ।  सहज ऊर्जाले राजनीति पनि तनावी भएन ।  ऊर्जा सङ्कटले देशका अर्थतन्त्र लामो समय बन्धक बनेकै हो ।  सामान्य गृहस्थदेखि राष्ट्रिय जीवन पनि तहसनहस बन्यो ऊर्जा अभाव र अव्यवस्थाले ।  उद्योग, कलकारखाना बन्द हुँदा लाखौँ लाख नेपाली युवा बनिबुतो गर्न बिदेसिनुप¥यो ।  पर बसेर पनि हरेक युवाले मुलुकमा अहिले अवसर हेरिरहेको छ ।  राजनीति र पूर्वाधार ठीक हुँदासाथ ऊ देशमा आउँछ ।  कतिपय आइरहेका छन् ।  श्रम र लगानी सिञ्चन गरिरहेका छन् ।
 केही सफलतामै बेइमानको बजार कम भएको छैन, होइन ।  इमान बिरालाकोटी थियो, छँदै छ ।  ऊर्जा सङ्कट ल्याउन बेइमानहरूको भूमिका थियो, खोजी गर्ने कष्ट गरिएन ।  इन्भर्टरको व्यापार मौलाउनेहरू थिए ।  विद्युत् कटौतीले सफलता पाइरहेका बेला पोहोर पनि इन्भर्टरका देशी र विदेशी दलाल व्यापारीहरू शक्तिपीठका घरघर चहारिरहेका समाचार पनि नआएको थिएन ।  अझै तिनले के विश्राम लिएका होलान् र ? जरुरी छ खबरदारीको ।  तिनले प्राधिकरणका कतिपय नाफाखोर कर्मचारी र अधिकारीकै बलमा वर्षांैदेखि कर्तुत गर्दै आइरहेका थिए, स्पष्टै भयो तर कतिपय बेइमानहरू कारबाहीमा परेनन् ।  हरियो घाँसका पानी साँपजस्तै तिनका काला कर्तुत सार्वजनिक भएनन् ।  कतिपय मौका खोज्दै होलान् तर प्राधिकणका कतिपय सञ्चालक भने कारबाहीमा परे ।  पदबाट हात धुनुप¥यो ।  न्यायालयले पनि तिनलाई तह लगायो ।
हो, उज्यालो फर्किएकाले नै हो, गत आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत भयो ।  यो दुई दशकपछिकै उच्च आर्थिक वृद्धिदर थियो ।  मुलुकको विकास निर्माणमा कुनै चमत्कार नभएर पनि मुलुकको उच्च आर्थिक वृद्धिको थालनी भयो तर निरन्तरता कठिन छ भन्ने अहिले आउन थालेको सूचकले पनि सङ्केत गर्छ ।  अर्थतन्त्रको उक्सँदो मुहारका लागि सबैभन्दा मुख्य भूमिका विद्युत् कटौतीको थियो ।  ऊर्जा पहुँचले डिजेल इन्धनको खपत घट्यो ।  उद्योग र सेवा क्षेत्रमा राम्रो उपलब्धि हासिल भयो ।  अर्थतन्त्रमा फेरिएको मुहारले राजनीतिक वातावरणलाई पनि सकारात्मक दिशामा अग्रसर गरायो ।  तनावमुक्त अर्थतन्त्रले राजनीतिलाई पनि आधार दिन्छ ।  त्यसैले पनि हुन सक्छ, जटिल बनेको स्थानीय निर्वाचन असाध्य आरोह–अवरोहबीच पनि सम्भव भयो ।  संविधान कार्यान्वयनको देखिने प्रस्थानबिन्दु थियो त्यो ।  
स्थानीय निर्वाचन तीन चरणमा सम्पन्न हुनु सजिलो पक्कै भएन ।  सरकार परिवर्तनदेखि संविधान संशोधनसम्मको कार्यसूचीको नागबेली यात्राभित्र स्थानीय निर्वाचन सम्भव भएको वास्तविकता चाँडै भुल्न मिल्दैन ।  वैशाख, असार र असोजसम्मका तीन चरणका स्थानीय निर्वाचनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्भव गराउँदै छ ।  संविधान संशोधन असफल भए पनि त्यसले राजनीतिक गन्तव्य सफल बनायो ।  मधेशमा असन्तुष्ट नागरिकलाई राष्ट्रिय मूलधारमा समेट्न  सक्यो ।  राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई स्थानीय निर्वाचनमा सहभागी गराउँदा प्रदेश २ को निर्वाचनमात्रै सम्भव भएन, राष्ट्रिय निर्वाचन सम्भव भए, हुँदै छ ।
अहिले हिमाली ३२ जिल्लाको निर्वाचन प्रक्रिया थालनी भइसकेको छ ।  तिहारको रमझम र छठका झटपट तयारी भइरहँदा ३२ जिल्लामा मनोनयन भएको छ ।  यो बीचमा जस्तासुकै राजनीतिक आँधीबेहरी आए पनि मुलुकले राष्ट्रिय गन्तव्य हासिल गर्दै जाने विश्वास बढेको छ ।  निर्वाचनमा जति नै अविश्वास पैदा गरे पनि अब सम्भव हुँदै छ ।  राजनीतिक समीकरणबाट मूल राष्ट्रिय गन्तव्य तलमाथि परेको छैन र पर्ने पनि छैन भन्ने स्पष्ट सङ्केत मिलेको छ ।  देश सङ्घीयतामा गइसकेको छ र प्रदेश निर्वाचनपछि आउने संरचनाले सङ्घीयतालाई पूर्णतासँगै आर्थिक विकासको बाटो खुल्नेछ ।
 यथार्थमा यतिमात्रै उज्यालोको अर्थ होइन ।  अब ४५६ मेगावाटको माथिल्लो तामाकोसी आउँछ ।  अरू पाइपलाइनका विद्युत् आयोजनाहरू बन्दै छन् ।  ऊर्जामा राष्ट्रिय लगानी बढ्दै छ तर माथिल्लो कर्णाली र अरूणजस्ता आयोजनामा भारतीय कम्पनीको काममा तीव्रता आउन सकेको छैन ।  सीमापारिबाट ल्याएको बिजुलीलाई न्यूनीकरण गर्दै ऊर्जामा आत्मनिर्भर मूल कार्यसूची हो ।  वरपरको दबाब र प्रभाव होइन अनि आस र त्रासमा होइन, आफ्नै कार्यसूचीबाट निर्देशित हुँदै अगाडि बढ्ने आधार निर्माण गर्दै अगाडि बढ्नु जरुरी छ ।  त्यहीं नै मुलुकको समृद्धि छ र छ नेपालीको भाग्य–भविष्य  ।  


प्रकाशित मिति: २०७४/७/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना