चुनाव सुनिश्चित (सम्पादकीय)

आगामी मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि आइतवार उत्साहपूर्वक र शान्तिपूर्ण रूपमा मनोनयनपत्र दर्ता सम्पन्न भएको छ ।  पहिलो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।  यसमा ३२ लाख २८ हजार ८७१ मतदाता छन् भने निर्वाचन आयोगले चार हजार ४६५ मतदान स्थल र दुुई हजार ९४६ मतदान केन्द्र तोकेको छ ।  निर्वाचन कार्यक्रमअनुसार आइतवार साँझ उम्मेदवारको मनोनयन दर्ता सूची प्रकाशन भएको छ भने सोमवार उम्मेदवारको विरोध उजुरी दिने र मङ्गलवार नाम फिर्ता लिएर अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न दिने कार्यतालिका छ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची भने दलले असोज २९ गते नै आयोगमा बुुझाइसकेका छन् ।  दोस्रो चरणको निर्वाचनका लागि भने असोज १६ गते मनोनयन दर्ता हुनेछ ।  संविधान कार्यान्वयनको जिम्मेवारी सहज र निर्धारित समय तालिकाभन्दा अघि नै भइरहे पनि विभिन्न राजनीतिक घटनाक्रमले नागरिकमा केही चिन्ता र आशङ्का नबढाएको होइन ।  
कहिले संविधानले नै तोकेको माघ ७ गतेसम्मको म्यादमा निर्वाचन सम्पन्न गर्न गाह्रो पर्छ भन्ने त कहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले पनि आशङ्का जन्मायो ।  मतपत्रसम्बन्धी सर्वाेच्च अदालतमा परेको रिट र सरकार पुनः गठन लगायतका घटनाले पनि विभिन्न अड्कलबाजी गर्ने वातावरण बनाएको थियो तर सबै आशङ्कालाई गलत साबित गर्दै मुलुक निर्धारित समयअघि नै सहजरूपमा लोकतान्त्रिक सुदृढीकरण र राजनीतिक सङ्क्रमणको अन्त्य गरी राजनीतिक स्थायिŒव र आर्थिक समृद्धिको दिशामा अघि बढेको छ ।  गठबन्धन निर्माण गरेर वा तालमेल गरेर चुनावमा सहभागी हुने भएकाले यो निर्वाचन अझ बढी कौतूहलपूर्ण बनेको छ ।  एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएपछि केही पार्टी गाँभिएका छन् भने नेपाल लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा समाहित भएको छ ।  मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले पनि अर्काे गठबन्धन बनाएका छन् ।  ‘थ्रेस होल्ड’को व्यवस्थाले सिर्जना गरेको  बाध्यताले कुनै न कुनै गठबन्धन वा चुनावी तालमेलमा लाग्न साना दल पनि बाध्य भएका छन् ।  गठबन्धन र तालमेलकै कारण चुनावी मैदानमा यसपटक भने उम्मेदवारको सङ्ख्या घट्ने देखिएको छ ।  निर्वाचन आयोगको तयारी पनि चुस्त रुपमा अगाडि बढेको छ ।  
मतदाता सूची प्रत्येक निर्वाचन क्षेत्रमा पुगिसकेको छ भने यो साताभरमा समानुपातिक तर्फका करिब एक करोड ८० लाख मतपत्र छाप्ने काम सक्ने योजना छ ।  पहिलो चरणको चुनावका लागि उम्मेदवारको मनोनयनपत्र नै दर्ता भइसकेको र उम्मेदवारको सूची नै प्रकाशन भइसकेपछि अब अब निर्वाचनप्रति कुनै आशङ्का गर्नुपर्ने अवस्था छैन ।  आइतबार भएको उम्मेदवार मनोनयन दर्तापछि मतदाता र उम्मेदवारबीच केही ठाउँमा असन्तुष्टिका स्वर सुनिएका छन् ।  केही ठाउँमा उम्मेदवारको सही छनोट नभएको भन्ने आवाज पनि उठेका छन् ।   केही ठाउँमा दलले उम्मेदवार छनोटमा असावधानी देखाएका छन् ।  विगतमा झैँ चुनावकै मुखमा दलबदल गर्ने परिपाटी पनि नदेखिएका होइनन् तर पनि समग्रमा चुनावी गतिविधि सकारात्मक रूपमा अगाडि बढेको छ ।  संविधानसभाबाट नयाँ सङ्घीय शासन प्रणालीअन्तर्गत हुन लागेको यो पहिलो निर्वाचन भएकाले पनि लोकतन्त्रको सबलीकरण, आर्थिक समृद्धि र नागरिकको अधिकार रक्षाका लागि निकै महŒवपूर्ण छ ।  यो निर्वाचन नयाँ संविधान कार्यान्वयनको महŒवपूर्ण कडी हो भने मुलुुकलाई सङ्क्रमणकालबाट मुक्त गर्दै राजनीतिक स्थायिŒवको जग पनि हो ।  त्यसैले यस निर्वाचनलाई स्वच्छ, मर्यादित र निष्पक्ष ढङ्गले सफल बनाउनुु मुलुक र जनताका लागि आवश्यक छ ।  

प्रकाशित मिति: २०७४/७/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना