झिसमिसे उज्यालो नहुँदै सराङ्कोटमा पर्यटकको घुइँचो

रमेश पौडेल

पोखरा कात्तिक ७ गते ।  नेपालको पर्यटनसँग जोडिएर आउने सहर हो पोखरा ।  अनि पोखरासँगै जोडिएर आउने मुख्य पर्यटकीय गन्तव्य हुन् –फेवाताल र सराङ्कोट ।  अहिले झिसमिसे उज्यालो नहुँदै पोखराको सराङ्कोट डाँडामा आन्तरिक एवम् बाह्य पर्यटकको घुइँचो लाग्नेगरेको छ ।  एक अर्कालाई पनि राम्रोसँग ठम्याउन नसके पनि उनीहरू सखारै उठेर पोखराको चुली सराङ्कोट उक्लिन भ्याउँछन् ।  पोखरा घुम्न आउने अधिकांश पर्यटक सराङ्कोट डाँडा नपुगी हत्पती फर्किदैनन् ।  सराङ्कोट डाँडा पोखरा र आसपासको मनोरम दृश्य अवलोकनका साथै विशेषगरी सूर्योदय अवलोकनका लागि प्रसिद्ध मानिन्छ ।  
दृश्यावलोकनका लागि यो सबैको रोजाइको केन्द्र हो ।  सराङ्कोटबाट देखिने पोखरा र वरिपरिको हिमाली दृश्यका साथै प्याराग्लाइडिङसमेत चर्चित छ ।  पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुले जोड्ने विम्ब हो सराङ्कोट ।
सराङ्कोटबाट सिङ्गो पोखरा उपत्यका र आँखै अगाडि माछापुच्छे«, धौलागिरी, अन्नपूर्ण लगायत दर्जनौँ हिमाल पनि देख्न पाइन्छ ।  फेवाताल र पोखरा बजारदेखि गाडीमा आधादेखि पौने घण्टा लगाएर सूर्योदय र सूर्यास्तको स्वाद लिन सयौँ पर्यटक सराङ्कोट पुग्ने यो ठाउँमा पुग्ने बाटोको अवस्था दयनीय छ ।  पर्यटक सराङ्कोट आसपासको दृश्य चिहाउन प्याराग्लाइडिङमा चराझै उडेर आनन्द लिने गर्दछन् ।  पाँच हजार पाँच सय फिट उचाईमा रहेको सराङ्कोट पुग्न पोखराबाट मोटरबाटोको सुविधा छ ।   पोखरा नगरलाई तल पार्दै केही पक्की र केही कच्ची मोटरबाटो तय गरेपछि गाडीमा आधा घण्टामै पुगिन्छ तर सो ठाउँमा पुग्ने बाटोको अवस्था भने दयनीय रहेको स्थानीयवासी रामबहादुर थापाले गुनासो गर्नुभयो ।
त्यसो त कोही मर्निङ वाकका लागि जान्छन् भने कोही टे«किङ गर्दै दुई घण्टा उकालो हिडेर पनि यहाँ आउन रुचाउँछन् ।  सराङ्कोटको चुलीमा आसपासका दृश्य अवलोकनका लागि टावर बनाइएको छ ।  जहाँ सूर्योदय र दृश्यावलोकनका लागि मात्रै दैनिक दुई हजारभन्दा बढी मानिसको भीड लाग्छ ।  sarankot
सराङ्कोटबाट पोखरालाई तल पारेर हेर्नुको मज्जा बेग्लै हुन्छ ।  दक्षिणी भेगमा फेवाताल लमतन्न सुतेको पाइन्छ भने पोखरा बजार उस्तै सुन्दर लाग्छ ।  उत्तरबाट नागबेली हुँदै बहेको सेतीनदी, रानीवन, काहुँडाँडा, चारैदिशाका सुन्दर गाउँ अवलोकन गर्न पाइने सराङ्कोट प्याराग्लाइडिङका लागि पनि प्रसिद्ध छ ।  
सूर्योदय अवलोकनबारे स्थानीयवासी भन्छन्, असोजदेखि जेठसम्म बिहान ५ बजेदेखि नै सयौँ मानिसको ओइरो लाग्छ ।  कोही घण्टौँसम्म यही रमाउँछन् भने कोही सूर्योदय अवलोकनपछि नै फर्किन्छन्  तर सराङ्कोट पुग्न यातायात सुविधा भए पनि बाटो निकै जोखिमपूर्ण र साँघुरो तथा बिग्रेको छ तर  सराङ्कोट पुगेपछि सबैले यो दुःख भुल्ने गर्दछन् ।  
पर्यटनका लागि सुन्दर नगरी पोखरा आएका संसारभरका नागरिक सराङ्कोट नपुगी फर्किए भने उनीहरूको यात्रा  अधुरै रहन्छ ।   बिदाको समयमा पोखरा भ्रमणमा जाने स्वदेशी पर्यटक प्रशस्त हुनेगर्छन् ।  नयाँ वर्ष, दसैँ तथा बिदाको समयमा यहाँका होटल  भरिभराउ हुने गरेको व्यवसायी बताउँछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना