जोखिममा मानसिक स्वास्थ्य

aswathmabhakta kharelडा. अश्वस्थामा भक्त खरेल

 

मानसिक, शारीरिक, सामाजिक र अध्यात्मिक रूपमा तन्दुरुस्त रहेको अवस्था स्वस्थ हो भने दिमागका एक वा बढी क्रियाकलापमा गडबडी भएर उत्पन्न हुने अवस्था मानसिक रोग हो ।  मानसिक रोगले भावना, विचार, अनुभूति, चेतनामा भ्रम पैदा गर्छ ।  मानसिक रोगलाई नसर्ने खालका रोगको सूचीमा राखिएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले संसारभर करिब २५ प्रतिशत मानिस कुनै न कुनै रूपमा मानसिक रोगीको रूपमा रहेको उल्लेख गरेको छ ।  नेपालमा राष्ट्रिय स्तरमा सर्वेक्षण नभए पनि स–साना अध्ययनका आधारमा करिब २० देखि २५ प्रतिशत मानिस मानसिक रोगबाट ग्रसित रहेका देखिएका छन् ।  नसर्ने रोगको बहुपक्षीय कार्ययोजना २०७१–२०७७ मा मानसिक स्वास्थ्यलाई मुटु रोग, क्यान्सर, मधुमेहसँगै प्राथमिकता दिइएको छ ।  नेपालमा २२ जिल्लामा १२ प्रकारका औषधि मानसिक रोगीका लागि निःशुल्क वितरण हुने गरेको छ ।
विशेषगरी मानसिक रोगबाट गरिबीको अवस्थामा रहेका व्यक्ति, उपचार पाउन वञ्चित व्यक्ति, बेवारिसे बालबालिका, महिला (विशेषगरी एकल, गर्भवती, सुत्केरी, घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित), ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक समूहमा रहेका व्यक्ति, लैङ्गिक अल्पसङ्ख्यक, कारागारमा सजाय भोगिरहेका व्यक्ति, द्वन्द्व÷आन्दोनलबाट प्रभावित व्यक्ति, पूर्व माओवादी लडाकू, प्राकृतिक विपद्मा परेका व्यक्ति (भूकम्प, बाढी पहिरो, आगलागी), लागू पदार्थ÷मादक पदार्थ दुव्र्यसनमा परेका व्यक्ति, मानव अधिकार उल्लङ्घन तथा विभेदमा परेका व्यक्ति प्रभावित हुने गरेका छन् ।  स्याहार, उपचार, पुनःस्थापना, मनोसामाजिक सहयोग पाउने अधिकार, बोली वचन, शारीरिक, भावनात्मक, दुव्र्यवहार र यातनाबाट मुक्त हुन पाउने अधिकार, आत्मसम्मानका साथ जीवन बिताउन पाउने अधिकार, मानसिक रोगका कारण उत्पन्न अशक्तताको अवस्थामा सामाजिक भत्ता तथा मनोसामाजिक परामर्श पाउने अधिकार, आत्महत्याको प्रयत्न वा आत्महत्याको घटनालाई अन्यथा प्रमाणित नभएसम्म मानसिक स्वास्थ्य समस्या मान्नुपर्ने अधिकारको खोजीमा मानसिक रोगबाट प्रभावित व्यक्ति प्रायः तड्पिरहेका हुन्छन् ।
मानसिक स्वास्थ्य एक्सरेलगायतका स्वास्थ्य परीक्षणबाट पत्ता लाग्दैन ।  यो व्यक्तिको व्यवहारको लक्षणको आधारमा मात्रै पत्ता लगाउन सकिन्छ ।  मानसिक स्वास्थ्य मनोवैज्ञानिक र समाजसँग अन्तर्सम्बन्धित रहेको छ ।  अमिल्दो व्यवहार, एक्लै बसन मन पराउने, झनक्क रिसाउने, नकारात्मक सोच बढी गर्ने, कुनै पनि घटनाको सम्झना गर्न नसक्ने, राम्रो र नराम्रो नछुट्याउने, आफ्नो बिरानो चिन्न नसक्ने, जतापायो उतै एकोहोरो हिँड्ने, समयको पहिचान गर्न नसक्ने, जहाँ पायो त्यही बास बस्ने, जे पनि खानेजस्ता कुराले मानसिक रोगका लक्षण देखाउँछ ।
मानसिक रोगको प्रमुख कारण डिप्रेसन हो ।  एक हप्ता वा बढी लगातार वा दिनहुँ एउटै विषयको समस्यामा कुनै व्यक्ति चिन्तित भइरहन्छ भने यस्ले डिप्रेसन निम्त्याउँछ ।  यो जरो गाडेर, खिल गाडेर बस्छ ।  डिप्रेसनले मानसिक स्वास्थ्य कमजोर पार्छ ।  सबै कुरा नरमाइलो लाग्नु, उदासीपना भइरहनु, खुसी महसुस गर्न असमर्थ हुनु, इच्छा मरेर जानु, नकारात्मक र निराशावादी विचार आउनु, मर्न मन लाग्नु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, बिर्सने बानी भएको महसुस हुनु, जिउ÷टाउको भारी हुनु, गल्नु वा दुख्नु, निद्रा गडबडी हुनु, खाना रुचि कम हुँदै जानु डिप्रेसनका प्रमुख लक्षण हुन् ।
धेरै जोखिममा रहेको व्यक्ति तथा समुदायलाई मानसिक स्वास्थ्य तथा मनोपरामर्श सेवा दिने दक्ष जनशक्ति पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन ।  देशभर करिब १०० मानसिक रोग विशेषज्ञ, २० जना चिकित्सा मनोविद् तथा ७० जना साइक्याट्रिक नर्स उपलब्ध छन् ।  यसैगरी एक सय ५० जना मनोविद रहेका छन् ।  सात सयको हाराहारीमा तालिम प्राप्त मनोपरार्शकर्ता रहेका छन् भने केही सङ्ख्यामा तालिम प्राप्त सामाजिक कार्यकर्ता रहेका छन्
(स्रोत ः मानसिक स्वास्थ्य नीति, २०७३, मस्यौदा) ।  देशमा एउटा मात्र मानसिक अस्पताल, लगनखेल, ललितपुरमा रहेको छ ।  विशेषज्ञ स्तरको सेवा सरकारी तथा निजी क्षेत्रबाट खोलिएका मेडिकल कलेज तथा अस्पतालमा मात्र सीमित रहेको छ ।  मानसिक रोगीका लागि सबै खालका अस्पतालमा गरी लगभग ४४० बेड उपलब्ध छ ।
परम्परागत अवधारणाको सोचले मानसिक रोगबाट प्रभावित व्यक्ति चिकित्सक वा मनोसामाजिक परामर्शदाता समक्ष उपचारका लागि नजाने गरेको विद्यमान यथार्थता हो ।  देवी–देउता लागेको, रिसाएको, भूत, पे्रत, पिचास चढेको, बोक्सी लागेको, ग्रह दशा बिगे्रको (साढेसातको दशा), पूर्व जन्मको पाप, व्यक्तिगत कमजोरी (हुतिहारा, आत्मबल कमजोर भएको), झाँक्रीले हानेको, जिन्दगी भरी औषधी खानुपर्छ भन्ने भ्रम, विवाह गरेपछि निको भन्ने सोचाइले समाजमा जरो गाडेको छ ।  धामी झाँक्री, झार फूक, ग्रह दशा शान्ति, विवाह, भाकल, बाँध्ने, थुन्ने, खोरमा बन्द गर्ने, ठेँट्कोमा हाल्ने, जेलमा हाल्ने, समाजका जान्ने बुझ्नेलाई सम्झाउन लगाउने, धार्मिक पुस्तक सिरानी मुनि राख्ने, बुटी बाँध्ने, छुरी सिरानीमा राखेर सुत्नेजस्ता परम्परागत अभ्यासबाटै मानसिक रोगीको उपचार समेत हुने गरेको देखिन्छ ।  
शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य एक आपसमा अन्तर्निहित रहेका छन् ।  गम्भीर किसिमको शारीरिक समस्या रहेका व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या हुने सम्भावना बढी रहेको हुन्छ ।  मुटुरोग, मधुमेह, दमका बिरामीलाई डिप्रेशन हुने सम्भावना दुईदेखि तीन गुणा बढी हुन्छ ।  गम्भीर खालका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, क्यान्सर हुने भएकाले उनीहरूको आयु सामान्य मानिसको भन्दा निकै कम हुन्छ ।  शारीरिक र मानसिक स्वास्थ्य समस्यालाई सँगसँगै लैजान सकियो भने दुवैखालको जोखिमलाई कम गर्न सकिन्छ ।  मानसिक रोग पनि अन्य रोगजस्तै समयमै उपचार गरे पूर्णरूपमा निको हुन्छ भन्ने सचेतना जगाउन सकिन्छ ।  
मानसिक रोग निको पार्न वा न्यूनीकरण गर्न मानसिक स्वास्थ्य विशेषज्ञले भनेबमोजिम उपचार गर्नुपर्छ ।  दैनिकी जीवनलाई सन्तुलित गर्नुका साथै हरेक दिन आराम गर्न समय निकाल्नुपर्छ ।  साथै शारीरिक स्वास्थ्यको ख्याल गर्नुपर्छ ।  कम्तीमा ७–८ घण्टा सुत्नुपर्छ ।  पोषणयुक्त र सन्तुलित खाना खानुपर्छ ।  मद्यमान, लागूऔषध सेवन गर्नुहुँदैन ।  चिकित्सकले सिफारिस नगरेका औषधि खानु हुँदैन ।  एकान्तमा बसेर अनावश्यक कुराहरू सोच्नु हुँदैन ।  परिवार, हेरचाह गर्ने र भरोसा गर्नेहरूसँग समय बिताउनुपर्छ ।  सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर) मा धेरै समय बिताउनु हुँदैन ।  मानसिक रोगी भएका व्यक्तिलाई विशेष संरक्षण गरेर उपचार गर्नुपर्ने परिवार, समाज, राज्यको जिम्मेवारी हो भन्ने कुरालाई आत्मसाथ गरेर कार्यक्रम सञ्चलान गर्न सकेको खण्डमा अधिकारको समेत संरक्षण हुन सक्छ ।  

प्रकाशित मिति: २०७४/७/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना