अठार लाख बिरुवा मौज्दात

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ८ गते ।  ताप्लेजुङ जिल्ला पछिल्लो समय अलैंचीको बिरुवामा आत्मनिर्भर बन्दै गएसँगै जिल्लामा हाल करिब अठार लाख अलैंचीको बिरुवा मौज्दात रहेको छ ।  उत्पादित अलैंचीका बिरुवा जिल्लाभित्र खपत हुन नसकेको र अन्यत्र पनि बिक्री  नहुँदा ठूलो परिमाणमा बिरुवा मौज्दात रहेको हो ।  
पछिल्लो वर्ष जिल्लाका किसान आफैंले नर्सरीमार्फत गुणस्तरीय बिरुवा उत्पादन गर्न थालेका छन् ।  गुणस्तरीय अलैंची बिरुवाको माग बढ्न थालेपछि पछिल्लो केही वर्षयता जिल्लाकै किसानहरू बिरुवा उत्पादन गर्नतर्फ लागेका थिए ।  हाल आएर बिरुवा उत्पादक किसानले जिल्लाको मागभन्दा करिब तीन गुणा बढी अलैंची बिरुवा उत्पादन गरेका र यहाँ खपत भएकोबाहेक बाँकी बिरुवा जिल्ला बाहिर निकासी हुन नसक्दा मौज्दात रहेको हो ।  जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा करिब वार्षिक पाँचदेखि छ लाख मात्र बिरुवाको माग हुने गरेको छ ।  सोही मागअनुसार यस वर्ष जिल्लामा छ लाख अलैंचीका बिरुवा खपत भएको जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि विकास अधिकृत मित्रलाल पौडेलले जानकारी दिनुभयो ।  
जिल्लाका विभिन्न १५ वटा नर्सरीबाट गएको वर्षसम्ममा कुल २४ लाख बिरुवा (बेर्ना) उत्पादन भएको र उक्त उत्पादित बिरुवामध्ये छ लाख जिल्लाभित्रै खपत भई बाँकी बिरुवा मौज्दात रहेको पाडेलले बताउनुभयो ।  आजभन्दा तीन÷चार वर्ष अघिसम्म ताप्लेजुङमा अलैंचीको खेतीका लागि अन्यत्रबाट बिरुवा ल्याउनुपर्ने अवस्था थियो ।  हाल लाखौं अलैंचीका बिरुवा अन्यत्र पठाउन सक्नेगरी उत्पादन भएको छ ।
विगतका वर्षहरूमा अलैंचीका बिरुवा नपाएर किसानले समयमा रोप्न नपाएको अनुभव रहेकोमा हाल बिरुवामा जिल्ला आत्मनिर्भर भई अन्यत्रसमेत बिरुवा पठाउनसक्ने क्षमता बनाउनु ठूलो प्रगति भएको जिल्ला कृषि विकास कार्यालयको बुझाइ छ ।  aalaichi_1
कृषि विकास कार्यालयका अनुसार किसानलाई कार्यालयले उपलब्ध गराउने अनुदानको बिरुवा र किसान आफैंले खरिद गर्ने गरेको बिरुवासमेत गरी जिल्लामा खपत हुनेभन्दा बढी उत्पादन हुन थालेपछि अहिले अलैंची बिरुवा मौज्दात रहन गएको हो ।  त्यसो त अघिल्लो वर्ष ताप्लेजुङमा उत्पादन भएको लाखौं बिरुवा काभ्रे, बाग्लुङलगायतका जिल्लामा बिक्री भएको कार्यालयले जनाएको छ ।  यस वर्ष भने ती जिल्लाबाट कसैले सम्पर्क नगरेकाले बिरुवा बिक्री हुन नसकेको कार्यालयले जनाएको छ ।
यता किसानले भने आपूmले उत्पादन गरेको अलैंची बिक्री गर्न नपाउँदा आम्दानी लिनबाट वञ्चित हुनुपर्ने भएको बताएका छन् ।  फुङ्लिङ नगरपालिका ७ हिटीमा अलैंची नर्सरीमार्फत बिरुवा उत्पादन गर्दै आउनुभएका किसान भगिमान सुनुवारले अत्यन्तै न्यून मात्र बिरुवा बिक्री भएको बताउनुभयो ।  सुनुवारले यस वर्ष अलैंची बिरुवाको माग नै नभएको र समयमा बिरुवा बिक्री नभइदिँदा घाटा व्यहोर्नुपर्ने अवस्था आउनसक्ने चिन्ताले सताउन थालेको बताउनुभयो ।  सुनुवारजस्तै अन्य नर्सरी सञ्चालन गर्दै आएका किसानले पनि बिक्रीयोग्य बिरुवा समयमा बिक्री गर्न नपाउँदा सोचे जस्तो आम्दानी लिन नपाएको र घाटा नै लग्ला कि भन्ने चिन्ताले सताउन थालेको बताउँछन् ।  यो वर्ष बिरुवा बिक्री नभए पनि आउँदो वर्ष बिक्री गरिएला भन्ने आशा रहेको किसान नरेन्द्र लिम्बूको भनाइ छ तर, यो वर्षझैँ आउँदो वर्षमा पनि बिक्री नभएमा वा अहिलेकै अवस्था रहे बिरुवाट घाटा लाग्न सक्ने लिम्बूको भनाइ छ ।
ताप्लेजुङ नेपालकै सबैभन्दा धेरै अलैंची उत्पादन हुने जिल्लाको रूपमा चिनिन्छ ।  यस जिल्लामा साविक ५० गाविसमध्ये ४९ गाविसका करिब चार हजार १५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गर्ने गरिएको छ ।  उक्त क्षेत्रफल बराबरको खेतीबाट वार्षिक दुई हजार ४०० मेट्रिक टनभन्दा बढी अलैंची उत्पादन हुने र अलैंचीबाट साढे पाँच अर्ब रुपियाँ बराबर आम्दानी हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना