शेयर बजारमा सुधारको सङ्केत

sarojसरोज अधिकारी

 

शेयर बजारले पुनः एक पटक उकालो लाग्ने सङ्केत गरेको छ ।  दशँै अघिसम्म ओरालो लागेको बजार गत सोमवार एकै पटक उच्च अङ्कको बढोत्तरीसँगै हरेक दिन सामान्य गतिमा उकालो लाग्दैछ ।  तिहारको बिदाअघि हरियो भएर बन्द भएको बजार बिदापश्चात्को कारोबारमा पनि झिनो बढोत्तरी नै भएको छ ।  मुलुकको राजनीतिमा प्रमुख वाम दल एकै ठाउँमा आएर चुनाव लड्ने निर्णय र पछि पार्टी एकीकरण गर्नेजस्ता विषयले बजारमा पारेको नकारात्मक प्रभाव सकिएझै देखिएको छ ।  चुनाव हुने मिति तय भएको अवस्थामा पनि चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल पनि समाप्त गर्नमा चुनावका लागि तयारी थाल्न प्रधानमन्त्रीले निर्वाचन आयोगलाई दिनु भएको आश्वासन र सरकारले हरेक तवरले सहयोग गर्ने प्रतिबद्धताले अब चुनाव हुने निश्चित भएको छ ।  चुनाव हुने निश्चित हुनु नै बजारका लागि सकारात्मक पक्ष भएको छ ।  अनि चुनावमा हार जितको विषय अहम् नभएको कारण पनि लगानीकर्तामा विश्वास बढेको देखिन्छ ।  लोकतान्त्रिक शक्ति बलियो हुने सिलसिलामा दुई राप्रपालाई एकै ठाउँमा ल्याउने र गच्छदारको पार्टीको काँग्रेस प्रवेशले पनि अहम् भूमिका खेलेको छ ।  यस्तो परिस्थितिमा लोकतान्त्रिक शक्ति मुलुकमा बलियो अवस्थामा नै रहने विश्वास गर्न सकिन्छ ।  उता वाम एकताले पनि आत्तिनु पर्ने छैन भन्ने सन्देश हाल एकता गर्ने वाम शक्ति बारम्बार सरकारमा बसिसकेको छ तत्कालीन वाम नेतृत्वको सरकारले लिएको आर्थिक नीतिको अनुभवले देखाइसकेको छ तर शेयर बजारका लगानीकर्ताको विश्वास भने अझै पनि लोकतान्त्रिक शक्तिको जितमा नै बलियो हुँदै आएको अनुभव छ ।  
शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने राजनीतिक विषयलाई छोडेर नेपाली शेयर बजार सुधारको दिनमा नियमनकारी निकायले चालेको र चाल्ने कदमले पनि बजारलाई तल वा माथि लान मद्दत पु¥याउने निश्चित छ ।  बजार सुधारको दिशामा प्रतिबद्धता जनाइएको र हाल चालिएको कदमको लेखाजोखा गर्दा भने नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकको रिक्त स्थान तीन महिनापश्चात् पूर्ति भएको छ ।  महाप्रबन्धकको आगमनसँगै उहाँले बजार विकासका लागि आफूले पहल गर्ने र आम लगानीकर्ताको हितमा हुने कार्यलाई प्राथमिकतामा राख्ने कुरा सार्वजनिक गर्नुले पनि बजारमा लगानीकर्ताको विश्वास बढेको हो ।  यससँगै लामो समयदेखि रोकिएको लघुवित्त कम्पनीको शेयर कारोबार अबदेखि छुट्टै समूहमा राखेर गर्ने विषयले प्राथमिकता पाएको छ ।  
नेप्सेले लघुवित्त कम्पनीलाई छुट्टै समूहमा राखेर कारोबारको गणना गर्ने विषयलाई अर्को नियमनकारी निकाय राष्ट्र बैङ्कले अनुमति दिएको बताइएको छ ।  नेप्सेका अनुसार हाल विकास बैङ्क समूहअन्तर्गत ७१ वटा कम्पनीको शेयर कारोबार हुने गरेको छ जसमा अहिले ‘घ’ वर्गका वित्तीय संस्था ५३ वटा छन् ।  बजार सुधारको दिशामा गैरआवासीय नेपालीलाई शेयर बजारमा भित्र्याउने विषय अन्तिम चरणमा पुगेको बताइएको छ ।  गैरआवासीय नेपालीको सङ्गठनको चुनाव भर्खरै सकिएको र नयाँ नेतृत्व आएको सन्दर्भमा गैर आवासीय नेपालीको लगानी नेपाली शेयर बजारमा भित्राउने विषय अहम् र महìवपूर्ण बनेको छ ।  बजारको सुधार महìवपूर्ण बनेको अर्को विषय भनेको अनलाईनबाट कारोबार हुने विषय केही समय लाग्ने भए तापनि त्यसको कामलाई तीव्रता दिने कार्य भएकोले पनि बजारमा लगानीकर्ताको मनोबल बढेको देखिन्छ जसले बजारमा सुधारको सङ्केत देखाएको छ ।  
राजनीतिक कारणलाई छोड्ने हो भने हाल शेयर बजार बढन नसक्नुको प्रमुख दुई कारण मध्ये शेयर कर्जाको ब्याजदर उच्च हुनु र शेयरको आपूर्ति बढी हुनु नै देखिएको छ ।  हाल बैङ्क तथा वित्तीय संस्थासँग तरलता प्रशस्त मात्रामा भएको समाचार आइरहँदा आगामी दिनमा चुनाव हुने निश्चित भएकोले बजारमा तरलता अझै बढ्ने निश्चित छ जसले गर्दा बैङ्क कर्जाको ब्याज घटाउन बाध्य हुनुपर्ने अवस्था आउने देखिन्छ त्यसले शेयर कर्जाको ब्याजदर पनि घट्ने हुन्छ जसले बजारमा बढदो शेयर आपूर्तिलाई सन्तुलन गर्नका लागि शेयरको माग बढाउने सम्भावना बढनेछ ।  त्यसैगरी दलाल कम्पनीलाई मार्जिन लेन्डिङको सुविधा उपलब्ध गराउने अवस्थाले पनि बजारमा शेयरको माग बढाउन मद्दत पु¥याउने निश्चित छ जसले बजारलाई थप नयाँ उचाइमा लान मद्दत पुग्ने देखिन्छ ।  हाल शेयर बजारमा देखिएको शेयरको उच्च आपूर्ति अझै केही समय रहने निश्चित छ ।  बैङ्क तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट जारी गरेको बोनस शेयर तथा हाल विभिन्न कम्पनीको जारी भएको हकप्रद शेयर सूचीकृत हुँदा बजारमा शेयरको आपूर्ति बढ्ने निश्चित छ ।  बीमा कम्पनीको पुँजी वृद्धिको समयसीमा चालू आर्थिक वर्षको अन्त्यसम्म भएकोले आपूर्ति अझ केही समय बढ्न सक्छ तर बीमा कम्पनीको हकप्रद तथा बोनस शेयरको आकार ठूलो नुहुनुले भने आपूर्ति ठूलो मात्रामा बढाउने सम्भावना भने न्यून छ ।  त्यसको अतिरिक्त सानो पुँजीको प्राथमिक शेयर निष्कासन र सूचीकरण पनि जारी नै रहेको छ ।  बजारमा शेयरको आपूर्तिको तुलनामा खपत हुने वातावरण निर्माणका लागि शेयरको सुलभ कर्जाका साथै बैङ्कलाई शेयर दलालको अनुमति प्रदान गर्दै मुलुकभरबाट शेयरको कारोबार हुने वातावरण निर्माण गरेको अवस्थामा शेयरको माग पनि बढ्ने, जसले बढ्दो आपूर्तिलाई सन्तुलन गर्न सघाउन पु¥याउने देखिन्छ ।  बैङ्क वित्तीय संस्थालाई शेयर दलालको सेवा दिनका लागि स्वीकृति प्रदान गर्ने दिशामा नेप्से सकारात्मक रहेको देखिएको छ भने बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन नियम पनि अब बाधक नबन्ने देखिएको छ ।  यस्तो अवस्थामा धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैङ्कले सक्रियता देखाउने हो भने मुलुकभरबाट शेयरको कारोबार सहज हुने निश्चित छ  ।  सानो समूहको दबाबमा शेयर बजारलाई राष्ट्रव्यापी बनाउने कार्यमा अब ढिला गर्नु उचित देखिँदैन ।  
शेयर बजारमा लगानी गर्न चाहनेका लागि बजार सस्तिएको वर्तमान अवस्था निकै सहज देखिएको छ जसलाई शेयर खरिद गर्ने मौकाको रूपमा लिन सकिन्छ ।  चुनाव सकिएर मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक उन्नतिको बाटोतर्फ लम्कने अवस्थामा हालको लगानीबाट राम्रो प्रतिफल आउने निश्चित छ ।  बजारमा गरेको लगानी सधैँ जोखिमयुक्त रहने भएकोले लगानी गर्दा कम्पनी सही रोज्न भने सक्नुपर्छ ।  त्यसैगरी बजारमा वर्चस्व भएको बैङ्क तथा वित्तीय संस्थामध्ये धेरैले अबको वर्ष दिने प्रतिफल भनेको नगद लाभांश नै हो ।  त्यस्तो अवस्थामा लामो समयसम्म कम प्रतिफल खाएर धानिनु पर्ने अवस्था भने आउन सक्छ ।  

प्रकाशित मिति : २०७४/७/८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना