वाम गठबन्धनको घोषणापत्र मस्यौदा तयार

लक्की चौधरी

काठमाडौंँ, कात्तिक ९ गते ।  गत असोज १७ गते छबुँदे सहमति गरी वाम गठबन्धन बनाएका प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आगामी निर्वाचनका लागि घोषणापत्रको मस्यौदा तयार गरेका छन् ।  घोषणापत्रलाई आइतबारसम्म अन्तिम रूप दिई सार्वजनिक गर्ने तयारी गठबन्धनले गरेको छ ।
घोषणापत्रलाई महत्वाकाङ्क्षीभन्दा पनि जनपक्षीय र कार्यान्वयन गर्न सक्ने खालको बनाएको दाबी मस्यौदाकार नेताहरूको छ ।  चुनावी घोषणापत्र मुख्यतः छबुँदे सहमतिलाई आधार बनाएर साझा मूल्य मान्यतामा आधारित निर्माण भएकोे दाबी गरिएको छ ।  
चुनावी घोषणापत्रमा माओवादी केन्द्रका तर्फबाट जनयुद्ध शब्द राख्ने प्रस्ताव आएको भए पनि त्यस विषयमा टुङ्गो लागि नसकेको बताइएको छ ।  मस्यौदा समितिले आफ्नो तहबाट मस्यौदा गरे पनि दुवै दलका शीर्ष नेताहरूसँगको परामर्शपछि त्यसलाई अन्तिम रूप दिइने छ ।  घोषणापत्र मस्यौदा समितिका सदस्य तथा नेकपा एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार चुनावी घोषणापत्रलाई धेरै महत्वाकाङ्क्षीभन्दा पनि कार्यान्वयन गर्नसक्ने खालको बनाउने तयारी भएको छ ।  घोषणापत्र निर्माण गर्न केही ढिला भए पनि मस्यौदा गरिएको घोषणापत्रले मुलुकलाई आर्थिक समृद्धिमा अगाडि बढाउने मुख्य जोड दिएको उहाँको दाबी छ ।  
सचिव ज्ञवालीका अनुसार घोषणापत्रले मुख्यतः पाँच वटा विषयलाई प्रमुखतासाथ उठाइएको छ ।  पहिलो, संविधान निर्माण वामपन्थी शक्तिकै जोडबल र योगदानले निर्माण भएको दाबी गर्दै त्यस विषयलाई प्रमुखतासाथ उठाइएको छ ।  दोस्रो, संविधान निर्माणपछि मुलुक नयाँ राजनीतिक युगमा प्रवेश गरेकाले मुलुकको आर्थिक समृद्धि र देशबाट गरिबी अन्त्य गर्ने विषयवस्तुलाई उठाइएको मस्यौदा समितिका सदस्य ज्ञवालीले जानकारी दिनुभयो ।  
त्यस्तै, तेस्रोमा मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय एकताको विषयलाई प्रमुखतासाथ उठाइएको सचिव ज्ञवालीले बताउनुभयो ।  उहाँका अनुसार चौथोमा समावेशी विकासका लागि समावेशी चरित्रको नीति नियम तथा त्यसको कार्यान्वयनको विषयलाई साथ उठाइएको छ ।  त्यस्तै, पाँचौँमा सुशासनमा जोड दिइएको छ ।  मुलुकमा सुशासन कायम नहुँदासम्म देशमा आर्थिक समृद्धि कायम हुन नसक्ने हुँदा वाम गठबन्धन नेतृत्वको सरकारले सुशासन कायम गर्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता घोषणापत्रमा गर्न लागेको उहाँको तर्क छ ।  uml
त्यस्तै, नेकपा माओवादी केन्द्रका नेता तथा मस्यौदा समितिका सदस्य देव गुरुङका अनुसार मुलुकको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विकासलाई केन्द्रित गरी घोषणापत्र तयार भइरहेको छ ।  मुलुकको संस्थागत विकासका लागि जनपक्षीय र सस्तो लोकप्रियताभन्दा कामकाजी नीति र सिद्धान्तको आवश्यकताअनुरूप घोषणापत्र तयार भइरहेको उहाँले बताउनुभयो ।  
“वाम गठबन्धनको साझा चुनावी घोषणापत्रका रूपमा तयार भइरहेको मस्यौदालाई अनावश्यक र धेरै महत्वाकाङ्क्षी बनाउँदैनौँ, कार्यान्वयनको पाटोलाई मुख्य ध्यान दिई तयार गर्दैछौँ” नेता गुरुङले भन्नुभयो, “यसअघिको निर्वाचनमा दलका चुनावी घोषणापत्रले मतदातामा निराशा मात्रै दियो, अबको घोषणापत्र कार्यान्वयन पक्षलाई मुख्य आधार बनाइएको छ । ”
माओवादी केन्द्रका नेताहरूले जनयुद्ध शब्दलाई चुनावी घोषणापत्रमा पार्ने अभिव्यक्ति बाहिर दिइरहेका बेला एमाले सचिव ज्ञवालीले सो शब्दको विषयमा टुङ्गो लागिनसकेको स्पष्ट गर्नुभयो  ।  छलफलमा प्रस्तावका रूपमा आए पनि त्यसबारे शीर्ष नेताहरूको परामर्शपछि निर्णय लिइने उहाँले बताउनुभयो ।  एमााले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा मस्यौदा गठन गरिएको समितिमा एमालेबाट भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल सदस्य रहनुभएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना