आस्थाको पर्व छठ

bhauch_1भउचप्रसाद यादव

खासगरी नेपालको तराई–मधेशमा ठूलो चाडपर्वका रूपमा मनाइने छठ पर्व कात्तिक महिनामा धुमधामका साथ मनाइन्छ ।  विगत केही वर्षसम्म नेपालको तराई–मधेशमा मात्र मनाइने छठ पर्व हिजोआज राजधानी काठमाडौँलगायत मुलुकको प्रायः सबै शहरमा विशेष आस्थाका साथ मनाइने गरिन्छ ।  यस्तै यो पर्व हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीले पनि उत्तिकै हर्ष एवं उल्लासका साथ मनाइरहेका पाइन्छ ।  मुलुकमा जातीय, क्षेत्रीय सद्भावको अभाव खड्किरहेको वर्तमान अवस्थामा पहाडी, मधेशी, हिन्दु, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबीच जातीय क्षेत्रीय सद्भाव र एकता धार्मिक सहिष्णुतालाई अझ मजबुत बनाउनमा मद्दत पु¥याइरहेको छ ।  विशेषतः आर्थिकलगायतका पक्षमा अनुत्पादक भइसकेपछि आफ्ना आमाबुबालाई समेत महŒव दिन छोडिएको वर्तमान समाजमा अस्ताउँदो सूर्यको यस पूजाले समस्त मानव समुदायलाई नैतिक शिक्षासमेत दिइरहेको हुन्छ ।
कात्तिक महिनाको शुरुवातसँगै जनमानसमा एउटा छठ पर्वका कारण छुट्टैै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ ।  यसपालि छठ पर्व कसरी मनाउने, घर–आँगनको सरसफाइ कसरी गर्ने ? मानिसको ध्यान केन्द्रित हुन थाल्छ ।  धार्मिक निष्ठाले भरिएको जनमानसमा एउटा नवीन उत्साहको सञ्चार हुन्छ ।  
मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो पर्वको पहिलो दिन अस्ताउँदो सूर्य र दोस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइन्छ ।  वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ्य शरीरका लागि लाभदायक मानिन्छ ।  सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ ।  
संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ ।  बेबोलोनका निवासीले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलो को रूपमा पूजाआजा गर्ने गरिन्छ ।  जापानीहरू इजानागी र इजानामीलाई आदि पुरुष र आदि नारीको रूपमा मान्ने गर्छन् र यी आदि पुरुष र आदि नारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्छन् ।  त्यसैगरी, मिश्र सभ्यतामा एटम अथवा रे भनेर सूर्यको पूजाआजा गर्ने गरिन्छ ।
नेपालमा अस्ताउँदो सूर्यलाई पूजा गर्दा यसलाई छठी माताको पूजा भनिन्छ भने उदाउँदो सूर्यलाई पूजा गर्दा यसलाई दीनानाथ अर्थात् सूर्यको पूजा गरिएको मानिन्छ ।  वेदग्रन्थमा पनि छठी पूजाको भोलिपल्ट अर्थात् सप्तमी तिथिको देवता सूर्यलाई नै मानिएको छ ।  
छठ पर्वको शुरुवात कहिलेदेखि भयो यसको कुनै लेखाजोखा छैन ।   यसको कुनै एकिन इतिहास छैन् ।   वेदपुराणमा छठी पूजाको शुभारम्भबारे विभिन्न मिथक, किंवदनती भनिएको पाइन्छ ।  अत्रि मुनीको अर्धाङ्गिनी सती अनुसुइयाले कुष्टरोग (कोढ) बाट ग्रस्त आफ्ना पतिको स्वस्थ्य जीवनको कामना गर्दै पहिलोपटक छठी पूजा गरेकी थिइन् भन्ने सूर्य पुरानमा उल्लेख छ ।  त्यसै बेलादेखि नै यस पर्वको शुभारम्भ भएको भन्ने  धेरैको भनाइ छ ।  त्यस्तै साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्राप स्वरूप कुष्टरोग
(कोढ) बाट ग्रस्त श्रीकृष्ण पुत्र साम्ब सूर्यको आराधनाबाट रोगमुक्त भएको चर्चा गरिएको छ ।  त्यसैगरी श्रापबाटै पीडित कवि मयूर भट्टले पनि सूर्यकै उपासनाबाट स्वस्थ्य र सुन्दर शरीर पुनः प्राप्त भएको कथासँग जोडिएर छठ पर्वको प्रारम्भ भएको धेरैको मान्यता छ ।  महाभारतको प्रसङ्गलाई उल्लेख गर्ने हो भने महाभारतकालमा द्रौपदीसहित पाण्डव अज्ञातबासमा रहँदा गुप्तबास सफल होस् भनी द्रौपदीले सूर्यको आराधना गरेकोले महाभारतकालदेखि नै यस पर्वको शुरुवात भएको पनि मान्यता रहेको छ ।  
नेपालको तराई–मधेशमा दीपावलीको दिनदेखि नै यो पर्व शुरु हुने भए पनि खासगरी चार दिनसम्म यो पर्व धुमधामका साथ मनाइन्छ ।  कात्तिक महिनाको शुरुवातसँगै छठी पूजा हुने समाजमा व्रत गर्ने वा नगर्ने कसैले पनि माछा–मासु लगायतको मांसहारी भोजन ग्रहण गर्दैनन् तर छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धी अपनाइन्छ ।  यस दिनदेखि व्रतालुले खानामा लसुन–प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छन् ।  
खासगरी यो पर्वलाई महिलाले मनाउने गरे पनि हिजोआज पुरुषले समेत गर्ने गरेको पाइन्छ ।  यो पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिनलाई नहान–खान भनिन्छ ।  यो दिन व्रतालुले स्नान ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारीको खाना बनाई खाने गर्छन् ।  दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई खरना भनिन्छ ।  यो दिन व्रतालु दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रूपमा ग्रहण गर्छन् ।  छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादको रूपमा पठाइन्छ ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठीका दिनलाई यस पर्वको प्रमुख अंशको रूपमा मानिन्छ ।  यस दिनलाई सँझिया घाट भनिन्छ ।  यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायतका परिकार तेल ध्यूमा पकाइन्छ ।  तयार पारिएका परिकार,  पाँच थरिका मिठाइ, उखुँ ,अदुवा, नरिवल, मूला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर साथै शुद्ध जल र गाईको दूधसहित व्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन्, जहाँ विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम गरिन्छ ।  छठको परम्पारिक गीत तथा मङ्गलमय धुनले त्यहाँको वातावरण झन् उल्लासमय बनेको हुन्छ ।
सूर्य अस्ताउन थालेपछि पहिलो अर्ध दिइन्छ ।  अर्ध दिएपछि व्रतालु घर फर्कन्छन् तर हिजोआज व्रतालुहरू घर नफर्कि त्यही घाटमै रातभरि जाग्राम बस्छन् ।  त्यहाँ कसै–कसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई कोशिया भनिन्छ ।  
भोलिपल्ट कात्तिक सप्तमीका दिन व्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्व यही सम्पन्न भएको मानिन्छ ।  यो पर्वको समापनपछि पनि व्रतालुले प्रसादसहित घरको देवता, इनार, कल (ट्यूवेल) को पूजाआजा गरी प्रसादलाई माग्नेबीच बाँडी त्यसपछि व्रतालु साबिकबमोजिमको अन्नजल ग्रहण गर्छन् ।  राज्यले यस पर्वलाई राष्ट्रिय मान्यता दिई त्यसदिन तराईमा सार्वजनिक बिदासमेत दिइने गर्छ ।  

प्रकाशित मिति : २०७४/७/९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना