धानको मूल्य तोकिएन, व्यापारीको मनपरी

dhan ko mulyaधनगढी, कात्तिक ११ गते । कैलालीमा अझैसम्म धानको मूल्य निर्धारण नहुँदा व्यापारीको मनपरी दररेटमा धानको कारोबार हुन थालेको छ ।
जिल्लास्थित मूल्य निर्धारण समितिले धानको मूल्य निर्धारणमा ढिलाइ गर्दा व्यापारीले आफूखुसी निर्धारण गरेको मूल्यमा धानको कारोबार हुन थालेको हो । हिउँदे खेतीको तयारीमा जुटेका कृषक सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् ।
व्यापारीले अहिले फरक–फरक मूल्यमा किसानको धान खरिद गरिरहेका छन् । ग्रामीण क्षेत्रमा मोटा धान प्रतिक्विन्टल एक हजार सात सय ५० र मसिनो धान एक हजार सात सय ७५ रुपियाँमा खरिद बिक्री भइरहेको जनाइएको छ ।
यस्तै, धनगढीमा मोटा धान प्रतिक्विन्टल एक हजार आठ सयदेखि एक हजार आठ सय ५० रुपियाँमा कारोबार भइरहेको बताइएको छ । धनगढीमा मसिनो धानको मूल्य मोटा धानको तुलनमा २५ रुपियाँ बढी रहेको जनाइएको छ ।
जिल्लाभरि धान भित्र्याउन चटारोसँगै कृषकले बिक्री पनि गर्न थालेका छन् । थ्रेसरमार्फत खेतमै धान दाइँ गरेर खेतबाटै व्यापारीलाई बिक्री गर्ने काम पनि भइरहेको कैलारी गाउँपालिका–७ का स्थानीय कृषक दशीराम चौधरीले बताउनुभयो ।
हिउँदे खेतीका लागि आवश्यक सामग्री किन्ने भन्दै किसानले धमाधम धान दाइँ गर्दै बिक्री पनि गरिरहेका छन्, उहाँले भन्नुभयो, तर अहिले धानको मूल्य भनेजस्तो छैन । व्यापारीले सस्तोमै धान खरिद गरिरहेका छन् । विभिन्न ठाउँमा फरक–फरक मूल्य देखिएको छ ।
हिउँदे खेतीका लागि आवश्यक मलखाद, बीउबिजन तथा इन्धन खरिद गर्ने उद्देश्यले जति सक्दो छिटो धान बिक्री गर्दै आएको किसानले बताएका छन् । जिल्लामा धानको मूल्य निर्धारण भइनसकेको अवस्थामा उनीहरूले बर्सेनि व्यापारीकै दररेटमा धान बिक्री गर्दै आएको देखिएको छ ।
किसानले एउटा उत्पादन बेचेरै अर्को बालीको खेतीपातीका लागि जोहो गर्ने हो, कृषक ज्ञानबहादुर चौधरीले भन्नुभयो, समयमै आवश्यक सामग्रीको व्यवस्था गर्नका लागि हामी किसान सकेसम्म चाँडै धान बिक्री गर्ने गरेका छौँ ।
तिहारपछि धान बिक्री गरेर गहुँ खेतीको तयारीमा जुटिरहेको किसानको भनाइ छ । व्यापारीहरूले पनि जिल्लास्थित मूल्य निर्धारण समितिले मूल्य निर्धारण गर्नुभन्दा अगाडि नै सकेसम्म बढीभन्दा बढी किसानको धान खरिद गर्ने प्रयास गर्दै आएको बताइएको छ । धानको मूल्य चाँडै निर्धारण भएपछि प्रतिस्पर्धा भई आफूहरूले राम्रो मूल्य पाउने किसानले अपेक्षा गरेका छन् ।
किसानले धमाधम धान बिक्री थाले पनि जिल्लामा धानको मूल्य निर्धारण गर्न अझै एक हप्ता लाग्ने बताइएको छ । मूल्य निर्धारणका लागि तयारी भइरहेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीले जानकारी दिएको छ ।
जिल्लामा धानको मूल्य निर्धारण गर्नका लागि स्थानीय बजारको दररेट र सीमावर्ती भारतीय बजारको दररेट सङ्कलनको कार्य भइरहेको संस्थानका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिनुभयो ।
आसपासका बजारको दररेट सङ्कलनपछि मात्रै यहाँ मूल्य निर्धारण गर्नेछौँ उहाँले भन्नुभयो । स्थानीय बजारको दररेट सङ्कलनका लागि कैलाली उद्योग वाणिज्य सङ्घलाई जिम्मा दिएका छौँ भने भारतीय बजारको दररेट बुझ्न टोली गएको थियो ।
भारतीय बजार पलिया र यहाँको स्थानीय बजारको दररेट तुलना गरेर किसानलाई तुलनात्मक रूपमा फाइदा हुने गरी धानको मूल्य निर्धारण हुने संस्थानले जनाएको छ । धान अझैसम्म नसुकेकाले मूल्य निर्धारणमा समस्या भएको संस्थानको दाबी छ ।
सुकेपछि धानको तौल घट्ने गर्दछ, निमित्त प्रमुख पन्तले भन्नुभयो, धान सुकेपछि तौल घट्ने यथार्थलाई समेत मध्यनजर गरेर मूल्य निर्धारण गर्नेछौँ ।
मूल्य निर्धारण समितिका संयोजकसमेत रहनुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले धान खरिदका लागि डिपो सञ्चालन गर्ने उद्देश्यका साथ मूल्य निर्धारणको तयारी भइरहेको बताउनुभयो ।
उहाँले सबै तयारी भएमा एक हप्ताभित्रै धानको सर्वमान्य मूल्य तय गरिने जनाउनुभयो । सबै तयारी पूरा गर्नका लागि अझै एक हप्तासम्म समय लाग्न सक्छ, उहाँले भन्नुभयो ।
यसैबीच, संस्थान यस वर्ष ४५ हजार क्विन्टल धान खरिद गर्ने तयारी गरेको छ । गत वर्ष ५० हजार क्विन्टल किसानको धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको संस्थानले यस वर्ष पाँच हजार क्विन्टल कटौती गरेको छ ।
संस्थानले जिल्लाको टीकापुर, जोशीपुर, भजनी र धनगढीको मोहनपुरमा धान खरिद डिपो सञ्चालन गरेर किसानको धान खरिद गर्दै आएको छ । खरिद गरिएको धानबाट चामल बनाएर खाद्य सङ्कट हुने पहाडी जिल्लामा पठाउने गरिएको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना