मिचाहा तर उपयोगी वनस्पति : जलकुम्भी


devendra aryalदेवेन्द्र अर्याल ‘आँसु’


जलको कुम्भ बोकेका कारण यसलाई जलकुम्भी भनिएको हुन सक्छ । जलकुम्भीमा करिब ९७ प्रतिशतसम्म पानी हुने भएकाले यसलाई जलको भण्डार नै भनिन्छ । त्यसैले यो हरियो छँदा ज्यादै नै गह्रौँ हुन्छ । जब एकपटक घाममा सुकाइन्छ । यसको तौल घटेर १० प्रतिशतमात्र बाँकी रहन्छ । जलकुम्भीलाई मिचाहा र काम नलाग्ने झार भनिन्छ । दक्षिण अमेरिकाबाट विश्वभरि नै फैलिएको यो झार चाँडै नै पानीमा एक ठाउँबाट अर्को ठाउँमा फैलन्छ । पानीमा अक्सिजन कम गर्ने, सूर्यको किरण छेकेर पानीमा रहेका जीवलार्ई बाँच्न कठिनाइ बनाउने र पानीमा अक्सिजनको मात्रा कम गरी जैविक प्रणालीलाई समेत असर गर्ने झारका रूपमा बदनाम कमाएको यो झार पनि बहुपयोगी भएको तथ्य वैज्ञानिकले सार्वजनिक गरेका छन् ।
मिचाहा र बेकामे झारका रूपमा चिनिएको जलकुम्भीलाई बहुउपयोगी साबित गरिदिएका छन् बेलायतको  डिमोन्डफर्ट विश्वविद्यालयका परवेज हरिसको टोलीले । काम नलाग्ने भनेर हेरिएको वनस्पति जलकुम्भीको जरालाई धुलोपारी पानीमा मिसाउँदा आर्सेनिक तìव हटाउन सकिने निष्कर्ष परवेजको अनुसन्धान टोलीले पत्ता लगाएको हो । पानीमा रहेको आर्सेनिक तìव हटाउन विविध खोज तथा अनुसन्धान भएको बेला यस प्रकारको तथ्य सार्वजनिक भएपछि आर्सेनिकबाट पीडितलाई खुसी मिलेको छ ।
जर्नल अफ इन्भ्यारोमेन्ट मोनिटरिङले प्रकाशित गरेको जर्नलमा उल्लेख भएअनुसार आर्सेनिक र आर्सेनेट भनिने दुई प्रकारको आर्सेनिक भएको पानीमा जलकुम्भीको जराको धुलो हालेर एक घण्टापछि परीक्षण गर्दा आर्सिनाइट ९३ प्रतिशत र आर्सिनेट ९५ प्रतिशत कम भयो । त्यसैगरी, बेलायतको एवरडिन विश्वविद्यालयका बायोकेमिस्ट एन्डी महर्गका अनुसार जलकुम्भी पाइने क्षेत्रमा यो अनुसन्धान आर्सेनिक समस्या समाधानको सरल उपाय हो । सस्तो र स्थानीय स्तरमा उपलब्ध सामग्रीको आधारमा तयार गरिएको यो प्रविधि अन्य तुलनामा ज्यादै कम खर्चिलो छ । दक्षिण एसिया र अमेरिका जहाँ आर्सेनिक समस्या छ त्यस ठाउँमा यो प्रविधि बढी प्रभावकारी भएको उक्त जर्नलमा उल्लेख छ ।
आर्सेनिकयुक्त पानी मानव स्वास्थ्यका लागि मात्र अहितकारी होइन, यो पानीले वनस्पतिको सिंचाइ गर्दा त्यसको असर खाद्यान्न र खाद्यचक्रमा समेत देखा परेको छ । जसका कारण वैज्ञानिक बढी चिन्तित देखिएका थिए । अनुुसन्धान टोलीले ढाकास्थित एउटा पोखरीबाट जलकुम्भी सङ्कलन गरी धुलो बनाई निश्चित मात्रामा प्रयोग गर्दा २४ घण्टामा पानीमा आर्सेनिकको मात्रा घटेको थियो । उनीहरूले एक लिटर पानीमा १५ सय माइक्रोग्राम आर्सेनिकमा १३० ग्राम जलकुम्भीको जराको धूलो हालेर उक्त आर्सेनिक हटाउन सफल भएका थिए । उनीहरूका अनुसार एक हजार लिटर पानीलाई आर्सेनिकमुक्त गर्न करिब ३० किलो जलकुम्भीको जरा आवश्यक पर्छ ।
नेपालको तराई क्षेत्रमा भएका अधिकांश पानीका ट्युवेल आर्सेनिकबाट प्रभावित भएकोले यस प्रकारको खोजले त्यसमा राहत पुग्ने देखिन्छ । अनुपयोगी भनिएको जलकुम्भी झारले विश्वका विभिन्न ताल तलैयालाई पुर्दै लगेका कारण यस प्रकारको खोजले ज्यादै हर्षित बनाएको छ । जलकुम्भीले मृतप्रायः बनाएका विश्वका ताल तलैयामा जैविक विविधता नै खतरामा पर्न पुगेको देखिन्छ । जलकुम्भीलाई हाम्रो देशको तराई भेगतिर वायोग्याँस बनाउन प्रयोग गरिएको पाइन्छ । जलकुम्भीलाई प्रशोधित गरी बनाइएको धागोबाट विभिन्न हस्तकलाका सामान बनाउन सकिन्छ । डाँठ र जराबाट कागत तयार गर्न सकिन्छ । यसबाट सुकुल तथा फर्निचर तयार पार्न सकिन्छ । सर्वप्रथम कास्टिक सोडापानीमा एक घण्टासम्म जलकुम्भीलाई भिजाउने, यसोगर्दा त्यसले रेसालाई बचाउँछ । त्यसपछि ५ देखि ६ घण्टासम्म भिजाइएको उक्त जलकुम्भीलाई  घाममा सुकाउनुपर्छ । सुकेको डाँठलाई डोरी बनाएर बाट्ने वा त्यसबाट त्यान्द्रा पनि निकाल्न सकिन्छ । आवश्यक परे रङमा उमालेर रङ्गीन पनि बनाउन सकिन्छ । त्यसपछि उक्त डोरी वा धागोबाट विभिन्न सामग्री निर्माण गर्न सकिन्छ । हाम्रा तालतलैया यसबाट अतिक्रमित भए पनि यसबाट बढीभन्दा बढी लाभ लिने प्रयास गर्नु अत्यावश्यक छ । यसलाई उखेलेर फ्याँक्नुका साथै यसको प्रयोगमा ज्यादा जोड दिनु नै यसको सहजरूपमा व्यवस्थापन गर्नु नै हो ।                               
 


प्रकाशित मिति: २०७४/७/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना