नेपालको पहिचान विभिन्न संवत्

shyam rimalश्याम रिमाल

 

‘नेपालको संविधान’ जारी भयो तर परम्परा विपरीत साल लेखिएन । यसअघि नेपाल सरकार वैधानिक कानुन, २००४, अन्तरिम विधान, २००७, नेपाल अधिराज्यको  संविधान, २०१५,  नेपालको संविधान, २०१९, नेपाल अधिराज्यको संविधान, २०४७ र नेपालको संविधान, २०६३ सबैमा विक्रम संवत् जनाउने साल संविधानको नामसँगै लेखिएकै थियो । नेपाः राष्ट्रिय पार्र्टीले त संविधानमा नेपाल संवत् राखिनुपर्छ भनेर माग गरेको थियो । सायद अरू दलले पनि यले संवत्, खज्युक संवत् आदि समावेश गर्न माग गरे होलान् ।   
यसबारे तत्कालीन सभाध्यक्ष सुवास नेम्वाङले नेपाल विविधतायुक्त मुलुक भएको र विभिन्न जातजाति, भाषाभाषीको बेग्लाबेग्लै खाले संवत् प्रचलनमा रहेकाले समावेशी होस् भन्ने आधारमा कुनै पनि संवत् उल्लेख नगरिएको हो भनी २०७२ साल असोज ११ गते स्पष्ट पारिसकेका थिए । अघिल्लो संविधानसभाको विवाद समाधान उपसमितिमा नै सो विषय टुङ्गो लागेकाले त्यसैलाई आधार मानी कुनै पनि संवत् संविधानको नामसँगै समावेश नगरिएको बताइएको छ तर संविधानको अन्तिम भागमा भने २०७२ साल असोज ३ गतेदेखि संविधान लागू हुने उल्लेख गरिएकाले वि.सं. को उल्लेख चाहिँ भएकै छ । नेपालमा वि.सं, ई.सं., नेपाल संवत्, यले संवत्लगायत विभिन्न खालका संवत् अनुसरण गर्ने विभिन्न जातजाति तथा भाषाभाषी रहेकाले सबैलाई अपनत्व होस् भनेर कुनै पनि संवत् उल्लेख नगरिएको नेम्वाङको भनाइ थियो । विश्वमा कतिपय मुलुक र छिमेकी भारतको संविधानको नाममा समेत कुनै पनि संवत् उल्लेख गरिएको पाइँदैन । संविधानको अन्तिम भागको ३०७ धारामा सङ्क्षिप्त नाम र प्रारम्भमा यस संविधानलाई ‘नेपालको संविधान’ भनिने र संवत् दुई हजार बहत्तर साल असोज महिनाको तीन गतेदेखि प्रारम्भ हुने उल्लेख छ ।
नेपालमा संवत्मा हुने राजनीतिको असर यसरी संविधानमा पनि परेको छ तर यो नै पहिलोपटक भने होइन । ंमानदेव र अंशुवर्माले आफू सत्ता र शक्तिमा आएपछि आआफ्ना नाममा संवत् चलाए भने लिच्छविकाल, मल्लकालमा राष्ट्रिय मान्यता प्राप्त भनिएको नेसंलाई पृथ्वीनारायण शाहले काठमाडौँ जितेपछि छाडेर नेसं ८८८ मा शक संवत् चलाएको भनिन्छ तर पछि प्रतापसिंहले तिब्बतसँगको सम्झौतामा चलाएको देखिन्छ । जङ्गबहादुरले निश्चित अवधिको तमसुकमा मात्र नेसंको मान्यता दिए भने चन्द्रशमशेर
(त्रिभुवनकाल) ले चान्द्रमास चलाउँदा तीन वर्षमा तेह्र महिना हुने भएकाले कर्मचारीलाई दिइने तलब घटाउन वि.सं. १९६० देखि विक्रम संवत् चलाएको बताइन्छ । रमाइलो कुरा, पञ्चायती कालको मध्य समयतिर राजेश्वर देवकोटाले राजा महेन्द्रप्रतिको अति राजभक्तिले गर्दा महेन्द्र संवत् प्रचलनमा ल्याउनुपर्छ भन्ने धारणा प्रकट गरेका थिए । नेपाल संवत्का पक्षमा कोलकाताबाट बौद्ध विद्वान् धर्मादित्य धर्माचार्यले र नेपालबाट च्वसापासाका संस्थापक अध्यक्ष प्रेमबहादुर कसाःजूले आन्दोलन चलाइरहेका थिए । नेसंलाई मान्यता दिन नेपाल भाषा मंका खलले करिब ४० वर्षदेखि गरेको आन्दोलन स्वरूप सरकारबाट वि.सं. २०५६ मङ्सिर २ गते संवत्का प्रवत्तक मानिने शङ्खधर साख्वालाई राष्ट्रिय विभूति, २०६० कात्तिक ९ मा उनको हुलाक टिकट प्रकाशन तथा २०६५ कात्तिक ७ गते संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइएको थियो । प्रधानमन्त्रीहरूले आफ्नो लेटरप्याडमा नेसं उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे पनि त्यो लागू भएको देखिँदैन । नेपाल संवत् शुरु गर्ने व्यक्ति, साल र त्यतिबेलाको राजाको स्पष्ट पहिचानसहितको आधिकारिक दस्तावेजविना नै यी सबै काम भए । बालुवाबाट सुन भएको कथा नै सबैले पत्याउनुप¥यो । यी सबै काम हुुनुपूर्व विज्ञहरू सम्मिलित कार्यदलले विश्व र नेपालमा चलेका संवत्हरूको लामो पृष्ठभूमिसहित नेपाल संवत्को प्रामाणिकता पुष्टिको कृति सरकारलाई बुझाएर सरकारले त्यसलाई प्रमाणित गरेको भए यसको आधिकारितामा शङ्का गर्ने ठाउँ हुन्नथ्यो । यसरी मंका खलको नेसं आन्दोलनले केही हदसम्म सफलता प्राप्त गरे पनि मुलुककै नाममा रहेको नेसं व्यवहारमा लागू नभएको गुनासो सो संवत्का अभियानकर्मीको छ ।  
सप्तर्षि, कलिगत, मञ्जुश्री, बुद्ध, श्रीकृष्ण जन्म, लक्ष्मण, महावीर निर्वाण, गुरु नानकशाही, हिजरी, खाल्सा, गुप्त, हर्ष यस्ता नाम गरेका निकै संवत् पढिएको छ सुनिएको छ । ती सबैको आआफ्ना पृष्ठभूमि र प्रयोगभूमि भए पनि हाल नेपालमा प्रचलनमा आएका संवत्मा वि.सं., ई.सं., नेसं र बुद्ध संवत् हुन् । शक र विक्रम संवत् भारतबाट आयातीत भनिए पनि नेपालले धेरै वर्ष चलायो र चलाउँदैछ (हाल शक संवत् हटी वि.सं. मात्र चल्ती) । इतिहासकार डा. रमेश ढुङ्गेल विक्रम संवत् भारतीय राजा विक्रमले चलाएको भन्ने भनाइ गलत भएको बताउँदै यो विश्वमा प्रचलित संवत्हरूकै पुरानो संवत् भएको र सूर्यको गति परिवर्तन र स्थानान्तरसँग यो संवत् जोडिएको नयाँ तथ्य पेस गर्छन् । त्यसो त  सूर्यको अर्काे नाम विक्रम भएकाले विक्रम संवत्को नाम रहेको तथ्य पनि छ । ‘विक्रम संवत्’ (सानुबाबा प्रसाईं, २०६६) का प्रस्तोता दीर्घराज प्रसाईंले आफ्नो खोजमा लिच्छविवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य आदि नामबाट पुकारिने सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाले विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि वि.सं. चालू भएको र यो नेपालको जेठो संवत् भएको उल्लेख गरेका छन् । यसरी खोजी पसेमा नयाँ तथ्य फेला पर्छन्, अध्येताहरूले इतिहासको राम्रो अध्ययन गरी विश्लेषण गरेर सबैलाई बुझाइदिन सक्नुपर्छ । नेसंले राष्ट्रिय मान्यता प्राप्त गरिसके पनि अझै विस्तृत अध्ययन अनुसन्धान भई आधिकारिक दस्तावेज तयार गर्न सकेमा राम्रो हुनेछ ।    
राजतन्त्र र हिन्दु राजधर्मको समाप्ति, धर्म परिवर्तनमा छुटले गर्दा हिन्दु र बौद्ध धर्मावलम्बीबाट इसाई धर्मको अवलम्बनमा वृद्धि र वि.सं., नेसं भन्दा ईस्वी संवत्को नयाँ वर्ष मनाउन युवाका आकर्षणले गर्दा नेपालको मौलिकता नष्ट हुँदै गरेको भनी आफूलाई हिन्दु धर्मावलम्बी र राष्ट्रवादी भन्ने नेपालीले चिन्ता गरिरहेको अवस्था छ । राष्ट्रिय योजना आयोगले समेत आफूले निश्चित गरेका कतिपय सामाजिक लक्ष्यको समयावधि ईस्वी संवत्मै तोकेको स्पष्टै छ । त्यो अन्तर्राष्ट्रिय स्तरमा भएका सन्धि, सम्झौता, प्रतिबद्धता आदि कारणले भएको हुनुपर्छ । नेपाल–भारत मैत्री तथा शान्ति सन्धिमा पनि सन् १९५० जोडिएको स्पष्टै छ । यस्तो स्थितिमा नेपालको मौलिकता कायम राख्न, परम्परालाई चट्टै त्याग गरिनहाल्न र आधुनिकतालाई पनि सँगै लिएर जान वि.सं., नेसं, ई.सं र अझ नेपाली पुत्र सिद्धार्थको नामबाट राखिएको बुद्ध संवत्लाई व्यावहारिक रूपमा सँगसँगै लिएर जानु जाति हुनेछ । यसबाट संवत्का विषयमा रहेका विभिन्न गुनासा र यससँगै भइरहने सम्पूर्ण राजनीति सदाका लागि समाप्त हुनेछ र धेरै संवत् चल्ने मुलुकका रूपमा नेपालको बेग्लै पहिचान बन्ने छ ।

प्रकाशित मिति: २०७४/७/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना