दशैँ–तिहारपछि जाँतमा व्यस्त सुदूरपश्चिम


रामदत्त मिश्र


जात्रा भन्नाले सबै नेपालीले बुझ्छन् तर यसलाई सुदूरपश्चिमबासीले जाँतका रूपमा पनि बुझ्छन् । यो समयमा सुदूरपश्चिमा बाजागाजाको धुनमा रमाउने समय हो । त्यसमा पनि दमाहा यस क्षेत्रका प्रमुख बाजा हो । तिहारको बिदाइसँगै यहाँ जात्रा (जात) को वातावरण हुन्छ । विभिन्न मठमन्दिरमा यस्ता जात्रा सम्पन्न भइसकेका छन् भने केही स्थानमा अझै हुन बाँकी छन् । यो प्रक्रिया कार्तिक शुक्ल पूर्णिमा तथा कार्तिक शुक्लभरि नै यस क्षेत्रका विभिन्न देवीदेवताका स्थानमा पूजा र जाँत हुन्छ । कात्र्तिक शुक्ल षष्ठीका दिन जैसेरामा कैलपालको जाँत हुन्छ । त्रयोदशीका रात्रि भागेश्वर, सहस्रलिङ्ग, केदार, मल्लिकार्जुन, महादेव, सिगास, काफलीजस्ता शिवालयमा पूजा र भोलिपल्ट मेला (जाँत) हुन्छ । अनि डोटीको शैलेश्वरी भगवतीको जाँत यही कात्तिक १८ गते पूर्णिमाका दिन हुँदैछ । यसरी भन्नुपर्दा प्रदेश नं. सात अर्थात् सुदूरपश्चिमाञ्चलमा दशैँ–तिहारपछिको अवधि देवी भगवतीको जाँतका लागि प्रसिद्ध छ ।
सुदूरपश्मिाञ्चलका प्रायः सबैजसो शक्तिपीठ शैलेश्वरी, दुर्गा, उग्रतारा, मैलौली, निङ्लाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी, डाकेश्वरीमा चतुर्दशीका रात्रि रतेडी र पूर्णिमाका दिनमा जाँत हुन्छ । उग्रतारा जाँतको निधो सोह्र होमका आधारमा गरिने हुँदा कार्तिक आँैसीदेखि सोह्रौँ दिनमा जाँत हुन्छ । यसलाई डाँडागन्ती भनिन्छ । देवीका स्थानको यस दिन लाग्ने मेलालाई द्यैजाँत भनिन्छ । देवीको स्थान भएका ठाउँलाई देमाडौँ भन्ने गरिन्छ । पूर्णिमाका दिन दिपायल–सिलगढी नगरपालिका स्थित दुर्गाको मेला लाग्छ । यसैदिन कालागाड (कलावती) मा देवीको जाँत हुन्छ । यस पर्वका बीचमा सुदूरपश्चिमबासी खेतबारीमा गहँु छर्न व्यस्त हुने गरेको भए पनि जात्रालाई विशेष महŒव दिई उपस्थित हुने गर्छन् तर गाउँमा जुठो परेको भए मन्दिरमा उपस्थित हुने गर्दैनन् । जात्रामा अधिकांश वृद्धवृद्धा दिउँसो गएर धुपबत्ती बाल्न जान्छन् भने अरू राति विभिन्न बाजागाजाका साथ रमाइलो गर्न जाने गर्छन । यी कला संस्कृतिका पाटा हिजोआज लोप हुँदै गएको जस्तो आभास पनि पाइन थालेको छ ।
दार्चुलास्थित शैल्य शिखर मालिकार्जुन नेपाल सरकारले २०६५ सालमा देशकै सातौँ धाम घोषणा गरेको हो । यस मन्दिरमा पनि कार्तिक वा मङ्सिर महिनामा जात्रा र भदौ महिनाको गौरा पर्व लाग्ने गर्छ । यस मालिकार्जुन मन्दिरबाट पाँच हजार मिटरको उचाइमा श्री शैल्य शिखरधाम छ । यस शैल्य शिखरधाममा विशेषगरी असार शुक्ल चर्तुदशी र कार्तिक शुक्ल त्रियोदशीका दिन जात्रा लाग्ने गर्छ । श्री शैल्य शिखरधामको दर्शन गर्न महिलाको हकमा विवाहित र पुरुषको हकमा व्रतबन्ध गरेकाले मात्रै जान सक्छन् । मालिकार्जुन गाउँपालिकामा लटिनाथ, कैलपाल र बालिचन देवताको मन्दिर पनि छ । यसको ऐतिहासिक कुरा गर्दा श्री शैल्य मालिकार्जुन देवता भारतको कत्यूर भन्ने ठाउँबाट मालिकार्जुनको शैल्य शिखरमा आएका हुन् भन्ने किंवदन्ती रहेको पाइन्छ । भारतमा भएको धार्मिक दङ्गाका बखत १६ औँ सताब्दीतिर नेपाल विभिन्न राज्य उपराज्यमा विभाजन थियो । कर्णाली प्रदेशअन्तर्गत डोटीराज्यमा मल्ल वंशका राजा शासन गर्थे । भारतमा भइरहेको धार्मिक हिंसाका बेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए । हुँदाहुँदै भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दु आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य इतिहासबाट पुष्टि हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको रिठाचौपाता आई रिठा भन्ने ठाउँमा बास बसेको श्रुति छ । त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पुजन गरेको मानिन्छ । त्यति बेला डोटी राज्य विस्तारणको क्रममा भारतका गढवाल, देहरादून आदि ठाउँ पुगेका इतिहास छ ।
महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिककालदेखि हरेक वर्ष आषाढ शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रियोदशीका दिन विधि विधानबमोजिम पूजा, दर्शन गरिन्छ । विशिष्ट खालको नीति नियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शनले बिघ्न बाधा हट्ने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मानसम्मानका साथै मुक्ति प्राप्त हुने कुरामा विश्वास गरिन्छ । मालिकार्जुनसम्बन्धी एक चर्चित भजन यस्तो छ ः
विद्या वुद्धि दिने सभक्ति भरने यै देव मालिकार्जुन ।
तोडछन् बन्धन जो समस्त जनका दिन्छौ नयाँ जीवन । ।
शोभा धाम आगीथरै शिखरको सानिध्य कैलासको ।
हो यात्रा मड दार्चुला शिखरको सम्पूर्ण हिन्दुत्वको ।

 

प्रकाशित मिति: २०७४/७/११

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना