प्रदेश १ मा आसन्न निर्वाचन चुनाव प्रचारप्रसारमा तीव्रता

नारायण काफ्ले

काठमाडौँ, कात्तिक १२ गते ।  मङ्सिर १० गते पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवारको मनोनयन सम्पन्न भइसकेको छ ।  उम्मेदवारहरूले चुनाव चिह्न प्राप्त गरी आ–आफ्ना निर्वाचन क्षेत्रमा प्रचारप्रसार सुरु गरिसकेका छन् ।  पहिलो चरणमा उच्च हिमाली र पहाडी जिल्लामा निर्वाचन हुँदैछ ।  
हिमाली क्षेत्रमा बढ्दै गएको मौसमी चिसोलाई निर्वाचनको माहोलले तताएको छ ।  मङ्सिर १० गते प्रदेश १ का सात जिल्लामा निर्वाचन हुँदैछ ।  प्रदेश १ का १४ मध्ये सात जिल्लामा निर्वाचन हुँदैछ ।  प्रतिनिधिसभातर्फ ६ र प्रदेशसभामा १४ सिटका लागि उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।  
संविधानसभा सदस्य निर्वाचन २०७० मा दुई सिट रहेको ताप्लेजुङ प्रतिनिधिसभामा एकै क्षेत्र छ ।  संविधानसभा सदस्य निर्वाचन २०७० मा ताप्लेजुङका दुवै क्षेत्रमा नेकपा
(एमाले) विजयी भएको थियो ।  यसपटक प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट एमाले सचिवसमेत रहनुभएका योगेश भट्टराई चुनावी मैदानमा हुनुहुन्छ ।  भट्टराईका प्रतिस्पर्धी नेपाली काँंग्रेसका केशव दाहाल हुनुहुन्छ ।  
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको वडागत मतपरिणाममा एमाले ताप्लेजुङमा काँग्रेसभन्दा एक हजार मतले अघि छ ।  एमालेले ताप्लेजुङमा २० हजार ५५१ मत पाएको छ ।  कांँग्रेसले १९ हजार ५७२ मत पाउँदा माओवादी केन्द्रले चार हजार ३६६ मत ताप्लेजुङमा पाएको छ ।  एमाले उम्मेदवार भट्टराईलाई वाम गठबन्धनको समेत साथ भएका कारण यो क्षेत्रमा वाम उम्मेदवारको उपस्थिति बलियो देखिएको विगतको तथ्याङ्कले देखाएको छ ।  
यसैगरी मङ्सिर १० मा नै चुनाव सम्पन्न हुन गइरहेको पाँचथरमा संविधानसभाका दुवै सिट काँग्रेसले जितेको थियो ।  अहिले पाँचथरमा पनि एउटामात्र निर्वाचन क्षेत्र छ ।  पाँचथरमा पनि वाम र लोकतान्त्रिक गठबन्धनकै प्रतिस्पर्धा हुनेछ ।  काँग्रेसका भीष्मराज आङदेम्बे र वाम गठबन्धनबाट वसन्तकुमार नेम्बाङ चुनावी मैदानमा हुनुहुन्छ ।  आङदेम्बे संविधानसभा सदस्यमा पाँचथर–२ बाट निर्वाचित हुनुभएको थियो ।  स्थानीय तहको पछिल्लो मतपरिणाममा पनि काँग्रेस करिब एक हजार आठ सय मतले एमालेभन्दा अघि छ ।  काँग्रेसको वडागत मत पाँचथरमा २७ हजार ७७६ छ ।  एमालेले २६ हजार ६७ मत पाउँदा माओवादी केन्द्रको १४ हजार ३५१ मत छ ।  एमाले उम्मेदवार नेम्बाङलाई माओवादीले साथ दिएको छ ।  स्थानीय तहको मतपरिणामअनुसार वाम गठबन्धन पाँचथरमा पनि अगाडि देखिएको छ ।  prade s 1
सङ्खुवासभामा पनि स्थानीय तहको मतपरिणाममा काँग्रेस थोरै मतले अगाडि छ ।  एमालेभन्दा करिब तीन सय मतले काँग्रेस अगाडि छ ।  काँग्रेसले स्थानीय तहमा वडागत रूपमा २७ हजार ४६१ मत पाएको छ ।  एमालेले २७ हजार ११० मत पाउँदा माओवादी केन्द्रको ६ हजार ५६१ मत छ ।  सङ्खुवासभामा लोकतान्त्रिक गठबन्धनलाई सघाएको राप्रपाको एक हजार २५ र सङ्घीय समाजवादी फोरमको ५५७ मत छ ।  वाम गठबन्धन स्थानीय तहको मतपरिणामअनुसार केही बलियो देखिन्छ ।  सङ्खुवासभामा २०७० को संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्र काँग्रेसले जितेको थियो ।  
संविधानसभा सदस्य निर्वाचनमा भोजपुरका दुवै क्षेत्र एमालेले जितेको थियो ।  स्थानीय तहको मतपरिणामअनुसार पनि भोजपुरमा एमाले प्रतिनिधिसभामा काँग्रेसभन्दा अगाडि छ ।  भोजपुरमा एमालेले २५ हजार ६६५ मत पाउँदा कांँग्रेसले २० हजार ६१ मत पाएको छ ।  माओवादी केन्द्रले १२ हजार ७६९ मत पाउँदा सङ्घीय समाजवादी फोरमले दुई हजार ९१६ मत पाएको छ ।  भोजपुरमा वाम गठबन्धनका तर्फबाट माओवादीका सुदन किराती र लोकतान्त्रिक गठबन्धनका तर्फबाट उमेशजङ्ग रायमाझी प्रतिस्पर्धामा हुनुहुन्छ ।  
संविधानसभा निर्वाचनमा काँग्रेस विजयी भएको खोलुखुम्बुमा स्थानीय तहमा पनि काँंग्रेस अघि छ ।  काँग्रेसले स्थानीय तहमा १२ हजार ७१८ मत पाएको छ ।  एमालेले १२ हजार २२५ मत पाउँदा माओवादी केन्द्रले नौ हजार ४४४ मत पाएको छ ।  वाम गठबन्धन दुवैको मतभन्दा सोलुमा काँग्रेसको मत आठ हजार ९५१ कम छ ।  सोलुमा काँग्रेसका बलबहादुर केसी र माओवादी केन्द्रका हेमकुमार राई प्रतिस्पर्धामा हुनुहुन्छ ।
कांँग्रेसको पकड क्षेत्रमध्येकै एक मानिने ओखलढुङ्गामा स्थानीय तहमा बहुमत स्थानमा जित हासिल गरेको छ ।  काँग्रेस एमालेभन्दा स्थानीय तहको मतपरिणाममा दुई हजार २७० मतले अगडि छ तर माओवादीसहितको वाम गठबन्धनभन्दा काँग्रेस करिब सात हजार मतले पछि छ ।  
काँग्रेसले स्थानीय तहमा ओखलढुङ्गामा २६ हजार १०५ मत पाएको छ ।  एमालेले २३ हजार ८३५ मत पाउँदा माओवादीले नौ हजार ६९६ मत पाएको छ ।  संविधानसभा सदस्य निर्वाचनमा भने ओखलढुङ्गाका दुई क्षेत्रमा काँग्रेस एमाले एक–एक स्थानमा विजयी भएका छन् ।  दुवै निर्वाचित सांसद रामहरि खतिवडा र यज्ञराज सुनुवार अहिले प्रतिस्पर्धामा हुनुहुन्छ ।   
खोटाङमा संविधानसभा सदस्य निर्वाचनमा दुवै क्षेत्रमा एमाले विजयी भएको थियो ।  प्रतिनिधिसभामा सदस्य निर्वाचनमा खोटाङमा एक क्षेत्रमात्र छ ।  दुई निवर्तमान सांसद विशाल भट्टराई र सरस्वती वजिमय प्रतिनिधिसभामा प्रतिस्पर्धामा हुनुहुन्छ ।  स्थानीय तहको वडागत मतपरिणामअनुसार खोटाङमा वाम गठबन्धन अगाडि छ ।  जहाँ एमालेको मत सबैभन्दा बढी छ ।  
खोटाङमा एमालेको २४ हजार ६०३ मत छ ।  काँग्रेसले २२ हजार ७९३ मत पाउँदा माओवादी केन्द्रको १६ हजार ७४५ मत छ ।  राप्रपाले खोटाङमा ८३४ मत पाएको छ ।  सङ्घीय समाजवादी फोरमको दुई हजार ४३३ मत छ ।
स्थानीय तहको मतपरिणाममा दलहरूले पाएको जनमतका आधारमा मतदान भएको अवस्थामा सात जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ ।  कतिपय क्षेत्रमा उम्मेदवारको व्यक्तित्व र प्रभावका कारण मतपरिणाम फरक पर्नसक्ने आँकलन गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना