बिरामी र डाक्टरमा द्वन्द्व किन ?

yak p duwadiएकप्रसाद दुवाडी      


बिरामी, बिरामीका आफन्त तथा डाक्टरबीच सुमधुर सम्बन्ध अपेक्षित हुन्छ, जसबाट बिरामीको उपचारमा निकै सहज हुन्छ तर नेपालमा वास्तविकता भने यस्तो छैन । बिरामी वा बिरामीका आफन्त तथा डाक्टरबीच कटु सम्बन्ध तथा मनोमालिन्यको खबर सार्वजनिक भइरहेका हुन्छन् । कतै डाक्टरमाथि हातपात त कतै अस्पताल नै तोडफोडका घटना हाम्रो परिप्रेक्ष्यमा आम भइसकेका छन् । किन यस्तो हुन्छ त अनि कसरी यसको समाधान हुन सक्छ ?
नेपालमा चिकित्सकहरू र बिरामी वा बिरामीका आफन्तबीचको संवादमा निकै समस्या छ, यो नै समस्याको मुख्य जड हो । धेरै चिकित्सकमा संवाद कौशलता अति कम छ र भएकामा पनि अप्रिय समाचार बिरामीका आफन्तलाई सुनाउनु सबैभन्दा चुनौतीपूर्ण कार्य मानिन्छ किनकि कुनै अनपेक्षित मृत्यु भएमा स्वास्थ्य कर्मचारी वा चिकित्सकले त्यो समाचार सुनाउँदा परिवारका सदस्यमा आघात पर्ने धेरै सम्भावना हुन्छ । परिणामतः हुलदङ्गा, मारपिट र आन्दोलनसम्म हुन्छ ।
एउटा अध्ययनअनुसार १७ प्रतिशत बिरामी तथा आफन्तलाई उनीहरूको भावना चिकित्सकले पूर्ण रूपमा इमानदारीपूर्वक बुझ्दैनन् वा बुझन चाहँदैनन् भन्ने महसुस गर्छन् । विज्ञका अनुसार बिरामी तथा आफन्त पहिलेदेखि नै अन्य समस्यामा हुन्छन्, जसका कारण कुनै अप्रिय समाचार सुनाउनु अघि उपयुक्त वातावरण हेर्नुपर्छ वा यस्तो अवस्थामा यस्ता समाचार सुनाउनुहुन्न ।
रोग वा रोगीबारेका अप्रिय समाचार बिरामी वा उसका आफन्तलाई सम्प्रेषण गर्ने कि नगर्ने भन्ने द्विविधा जताततै हुन्छ । त्यो निर्णयले बिरामी वा आफन्तका भावी सोचाइ निर्धारण गर्न मद्दत गर्छ । प्रत्येक परामर्श अघि चिकित्सकले राम्रो संवाद गर्दा आइपर्ने अवरोध कम गर्न प्रयास गर्नुपर्छ । उपयुक्त वातावरण बनाई आपसी सम्बन्ध विकास गर्न चिकित्सकले सम्भावित व्यवधान र अधैर्यता पनि हटाउनु आवश्यक छ, जुन नेपालका अस्पतालमा एकदम कम हुन्छ । बिरामीलाई विशेष लामो परामर्श आवश्यक छ कि छैन भनेर चिकित्सकले पुष्टि गर्नुपर्छ । ती जानकारी प्रदान गर्न र प्रश्नको जवाफ ध्यानपूर्वक दिन लामो समय छुट्याइएको हुनुपर्छ । अप्रिय समाचार संवाद गर्दा बिरामीका नजिकका नातेदारसँग सल्लाह गर्नुपर्छ । अप्रिय समाचार सञ्चार गर्नु अघि उपयुक्त  वातावरण र परामर्शको अवधि,  विकल्प र बिरामीको प्राथमिकताका बारेमा अतिरिक्त योजना चाहिने जानकारको राय छ ।
अस्ट्रेलियाली सरकारले सन् २००४ मा प्रकाशित गरेको बिरामीसँग को सञ्चारबारे चिकित्सकका लागि जारी गरेको आलेखमा केही परिस्थितिमा, थप परामर्श र सहयोग सुझाव आवश्यक हुन सक्ने कुरामा जोड दिएको छ । तत्काल वा प्रारम्भिक पहुँच सेवामा समावेश गर्ने सम्भावना छ कि छैन । अनि रोग निदान गर्दा, उपचार र वा जीवनशैलीमा परिवर्तन वा स्थायी हानि वा मृत्युको जोखिम पनि छ कि भन्ने पत्ता लगाउन तत्काल दिनुपर्ने सेवामा गरिने परामर्श सहयोगी हुन सक्छ । यसले रोगीलाई जानकारी बुझ्न र तिनीहरूले सोध्ने प्रश्नको बारेमा सोच्ने मौका दिन्छ । चिकित्सक थप धैर्यवान् बनेर बिरामी अगाडि आफ्नो व्यक्तिगत निराशा बाहिर निस्कन दिनुहुँदैन । बिरामीका स्वास्थ्य स्थितिको कुल जानकारी दिनुपर्छ, यसबाट पछि नातेदारले रोग निदान र उपचार सन्दर्भमा आउने सम्भावित परिणामका बारे पूर्ण जानकारी राख्ने अवसर पाउँछन् । यसमा पछि हुने असहमति वा सङ्घर्षको सम्भावना न्यूनीकरण हुन्छ ।
अनुभवी चिकित्सकका अनुसार चिकित्सकले एक पटकमात्र नभएर चरणबद्ध रूपमा बिरामीका आफन्तसँग भेट्नुपर्छ । सकारात्मक तथा प्रभावकारी संवाद गर्नुपर्छ । बिरामीसँग पनि नजिकनु राम्रो हुन्छ । बिरामीलाई अप्रिय समाचार सुनाउन चिकित्सकले सूचना प्रविधिको सहायता लिएर उनीहरूका आफन्तसँग सरल भाषामा जानकारी प्रवाह गर्न सक्छन् । यसरी डाक्टरले इमानदार र दयालु भएर कुरा गर्दा बिरामी र आफन्तका डर कमी हँुदै जान्छ ।
यसका अतिरिक्त बिरामी र आफन्तलाई आदरभाव पनि देखाउनुपर्छ । विभिन्न अध्ययनअनुसार चिकित्सकले परामर्शका लागि प्रशस्त समय दिनुपर्छ । चिकित्सक रोगीकेन्द्रित भएर कोठाभित्र छिर्नुपर्छ र खुला र मित्रवत् व्यवहार देखाउनुपर्छ, जस्तै मुस्काइरहनु र रोग निदानका लागि सोधिने प्रश्नबाहेक अनावश्यक नसोधी सकारात्मक व्यवहार प्रदर्शन गर्नु व्यावहारिक हुन्छ । कतै चिकित्सकले रोगी उपचार गर्दा पालाना गर्नुपर्ने विषयले अवरोध पु¥याएको छ कि विचार गर्नुपर्छ । जस्तो कि बिरामी थकित वा उसलाई निद्रा लागेको छ कि, कतै उक्त उपचार धेरै महँगो छ कि, अनि त्यसका विकल्प के–के छन् र कसरी औषधि नियमित सेवन गर्न सकिन्छ भनी विचार विमर्श गर्नुपर्छ ।
धेरै बिरामीका सोचाइमा वा विचारमा चिकित्सक शान्त र सकारात्मक हुनुपर्छ । चिकित्सकले एक भरोसायुक्त वातावरण कायम गरी उपचार किन र उपचार कसरी भनी छलफल गर्नुपर्छ, यसको मुख्य उद्देश्य बिरामीले स्पष्ट बुझ्न सकून् । चिकित्सकले उपयुक्त विकल्पका बारेमा विचार गरी भरोसा दिलाउनुपर्छ । बिरामीको बुझाइको स्तर र पालना गर्न सक्ने क्षमता भिन्न हुन्छ किनकि उनीहरूको जीवनशैली, आर्थिक क्षमता, शैक्षिक योग्यता क्षमता र मनोवृत्ति अलग–अलग हुन्छ ।  
साधारणतया, रोगीलाई हानि होस् भन्ने कुनै चिकित्सक चाहँदैनन् । आफू र रोगीबीच बलियो तालमेल निर्माण गरेर थप कुरा सुन्ने र रोगी अस्पतालसम्म किन आउन प¥यो भन्ने कुरामा थप समय खर्चेर मनन गर्नुपर्छ । चिकित्सकले आफू र रोगीको सम्बन्ध सुधार गरी बिरामीको अवस्था र मनोविज्ञान बुझ्ने व्यावहारिक ज्ञान प्रदर्शन गर्न सक्नुपर्छ ।
व्यावसायिक चिकित्सकले नचाहिँदो परीक्षण र औषधि सिफारिस गर्नुहुन्न तर उनीहरूलाई कुनै रोगका बारेमा पक्का छैन भने सधैँ आफूभन्दा जान्ने वा विज्ञकहाँ पठाउनुपर्छ । अति धैर्यशील भएर थप परामर्श दिएर उनीहरूले सधैँ रोगीका गुनासा सुन्दै तिनीहरूका यात्रा, सम्पर्क र जोखिमसहितका इतिहास विवरण लिनुपर्छ । चिकित्सकले रोगीको समस्या निदानका लागि गैरमौखिक सङ्केत पनि बुझ्न जरुरी छ । त्यसकारण चिकित्सकले सहानुभूतिशील भएर सही आदर देखाउनुपर्छ । सबै बिरामीलाई लामो समय दिएर बिरामीसँग कुरा गर्दा राम्रो मानिन्छ । विज्ञहरूका अनुसार सूचना प्रविधिको प्रचुर विकासका साथै अन्य कारणका फलस्वरूप चिकित्सकले बिरामीको मनोवृत्तिमा हालैका वर्षमा धेरै परिवर्तन आएको तथ्यलाई बिर्सनुहुँदैन, जसको अभावमा बिरामी र चिकित्सका सम्बन्धमा कहिलेकाहीँ समस्या पनि उत्पन्न हुन्छ । त्यसैले रोगीको उपचारका लागि सबैभन्दा राम्रो रोगीकेन्द्रित दृष्टिकोणको प्रयोग गर्नुपर्छ ।
एवं प्रकारले चिकित्सक पनि मानव हुन् भन्ने तथ्य बिरामी तथा उनका आफन्तले पनि मनन गर्नुपर्छ । यसका अतिरिक्त चिकित्सकले पनि बिरामीप्रति कुनै पूर्वाग्रह राख्नु हुँदैन किनकि पीडामा बिरामी हुन्छ । उसको सही उपचार गर्नु चिकित्सकको धर्म हो ।  बिरामीलाई आफ्नो उपचार र अवस्थाका बारे थाहा पाउने पूर्ण अधिकार छ । तिनीहरूलाई उपचार इन्कार वा स्वीकार गर्ने हक दिनुपर्छ । चिकित्सकले कुनै पनि उपचार गर्दा आउने सम्भावित नतिजा र अन्य असरबारेमा पर्याप्त छलफल गर्नुपर्छ । तिनीहरूसँग उपचार विकल्पका बारेमा छलफल गरेर योजना गर्नुपर्छ ।
नेपालमा पनि राम्रा चिकित्सक तथा स्वास्थ्यकर्मी छन्, जो हरदम आफूलाई बढीभन्दा बढी बिरामीको सेवामा तत्पर राख्छन् तर दुःखको कुरा त्यति नै वा अझ बढी अरू पनि छन्, जसको केन्द्रबिन्दु पैसा र राजनीति छ । अझ मूल कुरा त के हो भने यस्ता संवेदनशील कुराका सरकारले नीति बनाएको छ कि छैन, डाक्टरले पढ्ने पाठ्यक्रममा समावेश गरेको छ कि छैन, उनीहरूले लिने इन्टर्नशीप तालिममा हुन्छ कि हुँदैन भन्ने हो । दुःखको कुरा नेपालमा यी कुरा छैनन् । बिरामी तथा उनका आफन्त र डाक्टरबीचको द्वन्द्व सिर्जनाको मूल कारण यही हुन आउँछ ।  

प्रकाशित मिति: २०७४/७/१३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना