अस्वस्थ चुनावी प्रतिस्पर्धा राष्ट्रिय समस्या


 Hari prashad bhattraiहरिप्रसाद भट्टराई


लोकतान्त्रिक पद्धति एवं बहुदलीय शासन व्यवस्थामा निर्वाचनका सन्दर्भमा स्वस्थ प्रतिस्पर्धा जहिले पनि अपेक्षित रहन्छ । यो गुण नै प्रजातान्त्रिक व्यवस्थाको सुन्दरतम पक्ष हो । अहिले हामी प्रयोगका हिसाबले ठीक यही प्रक्रियामा छौँ । यतिखेर मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी रन्कोमा होमिएको छ तर कताकता दलहरू तथा तिनीहरूका नेता एवं कार्यकर्ताबाट चुनावी स्वस्थ प्रतिस्पर्धाका सवालमा चुक्न थालिएको हो कि भन्ने प्रतीत हुन थालेको छ, जसलाई मिथ्यासाबित तुल्याउन पार्टीका शीर्ष तह एवं जिम्मेवार नेताबाट समयमै सचेत भई लाग्नु जरुरी छ । यसका लागि आफूसंँगै सम्बद्ध नेता तथा कार्यकार्यतालाई समयमै सचेत तुल्याउनु र सम्बन्धित तहमा तदनुरूपको आज्ञा, निर्देशन जो चाहिने प्रक्षेपण गर्नु, गराउनु आवश्यक छ ।
नयाँ गणतन्त्रात्मक सङ्घीय लोकतान्त्रिक संसदीय संविधानले तोकेबमोजिमको समय सीमामा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सङ्घीय र प्रदेशसभाको निर्वाचन गर्ने तयारीमा मुलुक उन्मुख हुँदै गर्दा विश्व कम्युनिस्ट समाजवादको उद्देश्यअनुरूप नेपालका कम्युनिस्ट एकीकरण गर्ने भन्दै नेकपा एमाले, माओवादी केन्द्रलगायतको वाम गठबन्धनको घोषणा भएपछि नेपाली राजनीतिले एउटा तरङ्ग नै पैदा ग¥यो । यो सँगसँगै निर्वाचनमा पकड जमाउने र भावी सत्ता नै आफ्नो कब्जामा पार्ने त्यस दाउसँगै दलहरूमा आरोप प्रत्यारोप गर्ने क्रमसमेत देखा पर्न थाल्यो । यो राजनीतिक  परिघटनाले स्वभाविक रूपमा अर्को खेमा जन्माउनु स्वाभाविक थियो, जुन नेपाली काँगे्रस पार्टीको अगुवाइमा चुनावी तालमेलको लोकतान्त्रिक गठबन्धन जन्मियो । आवधिक निर्वाचन नजिकिएसँगै दलहरू केही रूपमा विभाजित हुनु स्वाभाविक पनि मान्न सकिन्छ तर एउटा सुखद अनुभूति दिलाउने गरी हालसम्मका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न एवं राजनीतिक स्थायित्वका लागि सँगसँगै यहाँसम्म आइपुगेका, हिँडेका मुख्य दल नै यसरी विभाजित भएर हिँड्नुलाई सुखद मान्न सकिँदैन । यो कुरा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आमनागरिकको ब्यालेट अर्थात् उनीहरूको मतले समेत त्यो सबै प्रस्ट पार्ने छ तर निर्वाचनमा एकीकरण गर्ने गरी होस् वा तालमेल, जे जसरी जाँदा पनि चुनावमा एकअर्कोलाई हराउने र आफूले मात्रै जित्ने नियतले आफू सबै किसिमले ठीक अरू सबै बेठीक भनेर आरोप प्रत्यारोपमा उत्रिनु किञ्चित शोभनीय कुरा होइन । निर्वाचनको बहानामा यसरी अस्वस्थ किसिमले सञ्चार माध्यम टेलिभिजन, रेडियो, पत्रपत्रिका लगायतका सामाजिक सञ्जालमा एकअर्कालाई हिलो छ्याप्ने गरी नेताले बोल्नु तथा आरोप प्रत्यारोपमा लाग्नुलाई किमार्थ राम्रो मान्न सकिँदैन, जुन अहिले भइरहेको छ ।
कहिलेकाहीँ यस्तो हुन्छ, यतिसम्म चल्छ भनेर त्यसरी अगाडि बढ्यौँ भने चुनावी दाउपेचको क्रममा त्यसखाले आरोप  प्रत्यारोपले पछि सम्हाल्नै नसक्ने गरी भयानक रूप लिन बेर लाग्दैन अथवा भनौँ, नचाहँदा नचाहँदै पनि अस्वस्थ त्यस्ता गतिविधिले अलोकतान्त्रिक क्रम निम्त्याउन सक्छ । यदि त्यसो भयो भने त्यतिबेला पछुताउनु शिवाय अरू हातलाग्न सक्दैन । त्यसो गरिए अहिलेसम्म भए, गरेका उपलब्धि गुम्न सक्छन् । त्यसैले समय छँदै नै यस्ता कुरामा सम्बद्ध सबैले ध्यान पु¥याउनु बुद्धिमत्ता हुन्छ किनकि चुनावी प्रतिस्पर्धा आफ्नो ठाउँमा छँदैछ, जुन स्वस्थ रूपले पनि अगाडि बढ्न सकिन्छ भन्ने कुरा सबैले बुझेकै विषय हो । मात्र के हो भने यस कुरामा बुझेर मात्र भएन, विना हेलचेक्र्याइँ इमान्दारीपूर्वक स्वस्थ निर्वाचनका खातिर अगाडि बढ्नु जरुरी छ । यतिखेर यो हेक्का सबैले राख्नु जरुरी छ किनकि प्रोपोगण्डा र झुठ्ठा कुराले जनतालाई केही दिन अलमल्याउन मद्दत पुगे पनि र आफ्नो पक्षमा मताधिकारको प्रयोग गर्न लोभ्याइए पनि त्यो अन्ततः टिकाउ हुँदैन र मुलुक सम्बृद्धिको बाटोमा अगाडि बढ्न पनि सक्दैन । यदि त्यसो हो भने अर्थात् साँच्चिकै सम्बृद्धिको बाटो प्रक्रिने हो भने जनताको मन जित्ने गरी स्वस्थ निर्वाचनको प्रतिस्पर्धात्मक अभियानमा किन खडा नहुने, यो नै अहिलेको अहं प्रश्न हो, जसमा सम्बद्ध सबै घोत्लिनु जरुरी छ ।
यतिखेर मुलुकमा पहिलो चरणको निर्वाचन सन्निकट छ, अर्थात् पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा मुलुक छ । त्यसैले निर्वाचन आयोगले अस्वस्थ प्रतिस्पर्धा नहोस् भनेर निर्वाचनसम्बन्धी आफ्नो सबै तयारी पूरा गरी दलहरूलाई निर्वाचनसम्बद्ध सबै काम कुरामा दललाई सजग तुल्याउँदै निर्वाचन आचारसंहितालाई पूर्णतः पालना गराउन दिनरात अनुरोध गरिरहेको छ किनकि तोकिएको मङ्सिर १० गतेको पहिलो चरणको दुवैखाले निर्वाचनको समानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्य सम्पन्नसँगै प्रत्यक्षतर्फको उम्मेदवारी दिने, दिलाउने कार्य पनि पूरा भइसकेको छ । अर्कोतर्फ पूर्ववत् तोकिएबमोजिम नै यही मङ्सिर २१ गते हुने दुवैखाले दोस्रो चरणको निर्वाचनको मिति पनि घर्किदै छ । यससँगै अबको तीन दिनपछि अर्थात् यही कात्तिक १६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दिने कार्य नजिकिँदै छ । त्यसैले दलहरूलाई यतिखेर दोस्रो चरणको प्रत्यक्षतर्फका उम्मेदवारको टुङ्गो लगाउन भ्याई नभ्याई हुँदा केही चिट्चिटाड नहुने भन्ने पनि होइन । जुन कुनै हदसम्म त्यस्तो स्थितिले पनि अस्वस्थ एवं आरोप प्रत्यारोपमा केही नेता उत्रिएका होलान् भनेर मान्न सकिएला तर यसो भन्दैमा लोकतान्त्रिक शासन व्यवस्थामा त्यसखाले अस्वाभाविक एवं अस्वस्थ चुनावी प्रतिस्पर्धालाई स्वीकार्न सकिँदैन । किनकि त्यस्तो प्रवृत्ति कुनै हालतमा स्वीकारयोग्य हुँदैन, मानिँदैन ।
चुनाव आफ्नो पोल्टामा पार्ने दाउमा लाग्दै गर्दा नेताहरूले मनी, मसल र मुन्द्रेको सहारा लिन पुगेको आमगुनासो आइरहेको छ । प्रजातन्त्रलाई खतारामा पार्ने सूचक हुन् यी सबैखाले प्रवृत्ति । निर्वाचनबाट सत्ता आफ्नो कब्जामा पार्ने उद्देश्यले यदि यसरी नै टिकट वितरण गर्दै जाने हो भने मुलुक सम्बृद्धितर्फ होइन उँदोगतितिर अग्रसर हुने निश्चित छ । अस्वस्थ चुनावी प्रतिस्पर्धाकै उपजस्वरूप यी सबै भइरहेका छन् भन्न अब कठिन छैन । यदि यसो भइरहे मुलुकी सत्ता सधैँ व्यापारी, तस्कर र आपराधिक मनस्थितिका हातमा पुग्ने निश्चित छ भन्न पनि अब हम्मे हुँदैन किनकि चुनाव यति खर्चिलो भइसक्यो कि अब पैसा खर्च गर्न नसक्ने, मसल अर्थात् लडाकु गुण्डा आदि जुटाउन नसक्नेले पार्टीबाट उम्मेदवारी पाउन नसक्ने अवस्था विकसित भइसकेको छ । यो सबै मुलुकका निम्ती निकै चिन्ताको विषय हो । अब पनि यसो भइरहेको खण्डमा  प्रजातान्त्रिक लडाइँको अब कुनै अर्थ छैन, हुँदैन । राजनीति शास्त्रका ज्ञाता, पढेलेखेका, सामाजिक सेवाको भाव बोक्ने तथा प्रजातन्त्रप्रति चिन्तित तर कमजोर, आर्थिक हैसियत भएका कसैका हातमा पनि मुलुकी सत्ता नपर्दा मुलुकको सम्बृद्धि कुन रूपले अगाडि बढ्न सक्छ जानकार जो कोहीले बुझ्ने कुरा हो । त्यसैले कुनै पनि किसिमको अस्वस्थ र आरोप प्रत्यारोपको प्रतिस्पर्धात्मक निर्वाचनमा नउत्रिन सम्बद्ध सबै दल तथा नेताले गम्भीर रूपमा घोत्लिनु, ध्यान पु¥याउनु आवश्यक छ ।

प्रकाशित मिति: २०७४/७/१३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना