उद्योगपति चौधरी काँग्रेसको समानुपातिकमा

राधा चालिसे

binod-chaudaryकाठमाडौँ, कात्तिक १४ गते ।  विश्वमै ख्यातिप्राप्त मानिने फोब्र्स पत्रिकाको अर्बपतिको सूचीमा बर्सेनि समावेश हुँदै आउनुभएका एकमात्र नेपाली उद्योगपति विनोद चौधरीलाई नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।  चौधरी यसअघि नेकपा (एमाले)बाट समानुपातिक सांसद रहनुभएको थियो ।  नेपाली काँँग्रेसमा प्रवेश गरेपछि चौधरीलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको पार्टी सचिवालयले जनाएको छ ।  
नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगपति चौधरीलाई मङ्गलबार एक पत्र लेख्दै नेपाली काँग्रेसमा स्वागत गर्नुभएको छ ।  देउवाले चौधरीलाई लेख्नुभएको पत्रमा  नेपाली अर्थतन्त्रको विकासमा विशेष क्षमता प्रदर्शन गरेका व्यक्तिहरूलाई नेपालको आर्थिक विकास अभियानको नेतृत्वदायी भूमिकामा नेपाली काँग्रेसले राख्न चाहेको उल्लेख गर्दै भन्नुभएको छ, “नेपाली काँग्रेसले लिएको मुलुकको आर्थिक विकासको अभियानमा तपाईंको सबल, सक्षम र सबैलाई परिचालन गर्नसक्ने भूमिकाबाट नेपालले अपेक्षित नतिजा हासिल गर्नसक्ने विश्वास लिएको छु । ”
उद्योगपति चौधरी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष, नेपाल उद्योग परिसङ्घको पूर्वअध्यक्ष र हाल परिसङ्घकै इमिरेट्स हुनुहुन्छ ।  सभापति देउवाले नेपाली अर्थतन्त्रको समृद्धिमा विशिष्ट योगदान पु¥याउने उद्यमी, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, वर्तमान र पूर्वपदाधिकारीलाई राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफूले आग्रह गर्दै आएको पनि स्पष्ट गर्नुभएको छ ।
खाद्य पदार्थ, विद्युतीय सामग्री उत्पादन गर्ने उद्योग, सवारी साधनहरूको बिक्री वितरणलगायत शिक्षा, स्वास्थ्यका क्षेत्रमा पनि लगानी गर्दै आएका चौधरी मुलुककै सबैभन्दा ठूलो व्यावसायिक घराना सीजी ग्रुपको अध्यक्ष हुनुहुन्छ ।  
उहाँका स्वदेश तथा विदेशमा ८० भन्दा बढी कम्पनी सञ्चालनमा छन् ।  फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको तथ्याङ्अनुसार सन् २०१७ मा चौधरीको कुल सम्पत्ति एक अर्ब ३३ करोड अमेरिकी डलर रहेको छ ।  उहाँले नेपाल, भारत, थाइल्यान्डलगायत विभिन्न देशमा चाउचाउ उद्योग विस्तार गरिरहनुभएको छ ।  
यसैबीच नेपाली काँग्रेस संसदीय समिति (बोर्र्ड)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवार चयनका क्रममा मङ्गलबार केही स्थानका लागि महिला उम्मेदवारको टुङ्गो लगाएको छ ।  
पार्टीका महिला नेतृहरूका लागि अवसर नदिएको गुनासो बढिरहेका बेला पार्टीको सोमबार सम्पन्न बोर्ड बैठकले चार जना महिला उम्मेदवारको टुङ्गो लगाएको हो ।  बैठकले आरजु राणा देउवालाई कैलाली–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।  उहाँ सभापति एवं प्रधानमन्त्री देउवाकी पत्नी हुनुहुन्छ ।
त्यस्तै महालक्ष्मी उपाध्याय (डिना)लाई मकवानपुर–२, सीता गुरुङलाई तेह्रथुम र अम्बिका बस्नेतलाई काठमाडौँ–३ बाट उम्मेदवार बनाउने तयारी गरेको छ ।  झापा–३ बाट कृष्ण सिटौला, पाल्पा–२ बाट हरि नेपाल, पाल्पा–१ बाट विजय घिमिरे, गुल्मी–१ बाट चन्द्र भण्डारी र गुल्मी–२ बाट चन्द्र केसीलाई उम्मेदवार बनाइने भएको छ ।  यसअघि काँग्रेसले खोटाङबाट सरस्वती बजिमयलाई उम्मेदवार बनाइसकेको छ ।  
पार्टीका केन्द्रीय सदस्यहरू सुजाता कोइराला, सीतादेवी यादव, चित्रलेखा यादव, पुष्पा भुसाल लगायतलाई समानुपातिकको सूचीमा समावेश गरिएको पार्टी सचिवालयले जनाएको छ ।   
घोषणापत्र सार्वजनिक हुँदै
यसैबीच नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार घोषणापत्र जारी गर्ने तयारी गरेको छ ।  कुल ८४ पृष्ठको घोषणापत्र पार्टीका शीर्ष नेतृत्वको उपस्थितिमा पार्टी कार्यालय सानेपामा सार्वजनिक गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।  
घोषणापत्र तयारीका लागि केन्द्रीय सदस्य महेश आचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो ।  चार खण्डमा विभाजित घोषणापत्रमा पहिलो खण्डमा पार्टीको राजनीतिक पृष्ठभूमि, दोस्रो खण्डमा पार्टीका ऐतिहासिक विरासत र उपलब्धिका बारेमा चर्चा गरिएको छ ।  तेस्रो खण्डमा पार्टीको अबको सङ्कल्प भन्दै आर्थिक समृद्धिको पूर्वाधार विस्तार, सामाजिक प्रगति, वन वातावरण र विपद् व्यवस्थापन तथा असल शासनको प्रत्याभूतिको सङ्कल्प समावेश गरिएको छ ।  
घोषणापत्रको विशेष खण्डमा प्रदेशहरूको सामथ्र्य र सम्भावनाहरूको पहिचान गर्न विगत २५ वर्षमा भएको विकासको प्रतिफल, आगामी १० वर्षको योजना र एकीकृत सामाजिक सुरक्षा अवधारणा शीर्षकमा आफ्ना घोषणाहरू काँग्रेसले समावेश गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना