तरकारीको भाउ थोकमा सस्तियो, खुद्रामा घटेन

vegetablesकाठमाडौँ, कात्तिक १४ गते ।  तिहार र छठ सकिएसँगै कालिमाटीस्थित थोक बजारमा तरकारीको भाउ केही सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो महसुस गर्न सकेका छैनन् ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको एक साताको बीचमा तरकारीको भाउ ५१ प्रतिशतसम्म सस्तिए पनि खुद्रामा किन्ने उपभोक्ताले त्यो अनुभव गर्न नपाएको बताएका छन् ।  
कङ्लकी निवासी विन्दु अधिकारीको अनुभवमा तिहारपछि तरकारीको भाउ सस्तो भने पनि वरपरको पसलमा झन् महँगो भएको अनुभव सुनाउनुभयो ।  समितिका अनुसार तिहारको मुखमा बढी खपत भएका तरकारीमा  गोलभेंडा,  काउली, बन्दा, च्याउ, बोडी, परवर, मुला, काँक्रो, मोटरकोसा, सिमी, आलुलगायतका तरकारी महँगिएको थियो, अहिले थोक बजारमा केही सस्तो भएको छ तर खुद्रा बजारमा त्यस्ता तरकारी झन् महँगामा बिक्री गरिरहेका छन् ।  कालिमाटीकै खुद्रा बजारमा थोकको तुलनामा कुनै पनि तरकारीको भाउ सस्तो भएका छैनन् ।  
कालिमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्याङ्क अनुसार तिहारको समयमा थोक बजारमै प्रतिकेजी १३५ रुपियाँ पुगेको स्थानीय काउली अहिले घटेर ९५ रुपियाँमा झरेको छ ।  यस्तै बन्दा, भन्टा, बोडी काँक्रो, सिमी, मुला, गोलभेंडा, आलुको मूल्य पनि तिहारको भन्दा १५ देखि ५० प्रतिशतले घटेको छ भने सुकेको प्याज भने १० प्रतिशतसम्म बढेको छ ।
कालिमाटी तरकारी बजारमा विगत एक दशकदेखि तरकारीको थोक व्यापार गर्दै आउनुभएका विदुर कार्कीले तिहारमा तरकारीको माग बढी खपत हुने गरेकाले माग बढी हुँदा मूल्य केही बढी हुनु स्वभाविक भएको र अब क्रमशः घट्ने प्रतिक्रिया दिनुभयो ।  बजारमा माग अनुसारको तरकारी आउन नसक्दा पनि थोकमा त्यति ठूलो परिणाममा तरकारी सस्तो हुन नसकेको उहाँको भनाइ छ ।  
कालिमाटीका खुद्रा तरकारी व्यापारी धर्मेन्द्र दासले दुई÷तीन दिनयता थोक बजारमा केही तरकारीको भाउ थोरै सस्तिएको छ तर खुद्रामा सस्तो गरी बिक्री गर्नसक्ने गरी सस्तो नभएको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, केही तरकारीमा प्रतिकेजीमा दुईदेखि १० रुपियाँसम्म सस्तो भएको छ त्यसले खुद्रामा खासै असर गर्दैन, खुद्रामा घट्नका लागि त कम्तीमा १० देखि २० रुपियाँसम्म घट्नुपर्छ अनि मात्रै यसको प्रभाव देखिन्छ ।  
कालिमाटी तरकारी बजार समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले तरकारीको भाउ अघिल्लो साताभन्दा केही सस्तो भए पनि अझै मागअनुसार  आपूर्ति हुन नसकेको बताउनुभयो ।  उहाँका अनुसार सामान्य अवस्थामा तरकारी बजारमा दैनिक ७५० देखि ८०० टनसम्म तरकारी आउने गरेकोमा अहिले दैनिक ५०० टनको हाराहारीमा मात्रै भित्रिएको छ ।  लौका, हरियो फर्सी, घिरौला बोडी, करेलालगायत केही तरकारीको सिजन सकिएको छ ।  काउली र बन्दाको उत्पादनमा पनि कम भएको छ, उहाँले भन्नुभयो, तर काउली र गोलभेंडाको माग अत्यधिक बढेको छ ।  जसले गर्दा भाउ खासै सस्तिन सकेको छैन् ।  
उपत्यकामा विशेषगरी नुवाकोट, धादिङ, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट पनि तरकारी भित्रिन्छ ।  हाल स्थानीय उत्पादनले मात्रै बजारको माग धानिरहेको छ ।  भारतबाट प्याज मात्रै आयात भएको श्रेष्ठको दाबी छ ।  तिहारका लागि केही व्यवसायी घर गएकाले पनि भाउ बढेको समितिको अनुमान छ ।  
समितिका अनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७५ प्रतिशत माग धानेको छ ।  सामान्य अवस्थामा कालिमाटी तरकारी बजारमा दैनिक ८५० टनसम्म तरकारी भित्रिन्छ ।  व्यवसायीले कालिमाटी बजारबाट खरिद गरेपछि पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् ।  
बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा महँगिए पनि बजार अनुगमन र हस्तक्षेप गर्न जिम्मा पाएका निकाय मौन बसेका छन् ।  बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले तरकारी छिटो नाशवान् वस्तु भएकाले अहिलेको कानुनअनुसार खरिद र बिक्री मूल्य हेरेर मात्रै कारबाही गर्न नसकिएको स्वीकार गर्नुभयो ।
विद्यमान कानुनअनुसार तरकारी तथा फलफूलको अनुगमन गरेर मूल्यका विषयमा कारबाही गर्न सक्ने अवस्था नभएको भन्दै उहाँले भन्नुभयो, उपभोक्ता ऐनमा थोक र खुद्रा बजार मूल्य २० प्रतिशतभन्दा माथि हुनु गैरकानुनी हो तर तरकारी र फलफूल जस्तो छिट्टै नाश हुने वस्तुमा २० प्रतिशत मात्रै नाफा खाएर बिक्री गर्न भन्न त्यति उचित देखिँदैन, त्यसैले पनि हामीले तरकारी र फलफूलको अनुगमन नापतौल ठीक भए वा नभएको भनेर हेर्न बाहेक केही हेर्न सकिएको छैन ।  उपभोक्ता ऐन संशोधनका क्रममा रहेकाले ऐन आएपछि विभाग त्यही अनुसार अगाडि बढ्ने निर्देशक श्रेष्ठको भनाइ छ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना